अवैध कालीगण्डकी दोहनमा प्रहरीकै संरक्षण !

डम्मर बुढा मगर, बागलुङ
कालीगण्डकीको बहाव क्षेत्र धौलागिरीमा अवैध नदी दोहनमा स्थानीय प्रहरी प्रशासनकै संरक्षण हुने गरेको व्यापक आरोप छ ।

तर, मंगलबार कालीगण्डकी नदी किनारमा जे घटना र त्यसपछिको परिदृश्य देखिएको छ । त्यसले यो आरोप मिथ्या मात्र होइन । यथार्थ नजिक भएको रहस्य समेत उद्घाटित भएको छ ।

वर्खायाममा पनि नियम विपरित कालीगण्डकी नदी किनारमा बालुवा उत्खनन् गरिरहेका नागरिकको व्यापक गुनासो र दबाबका बीच मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीको नेतृत्वमा बागलुङका केही नागरिक अगुवा समेत कालीगण्डकी नदी किनारमा अनुगमनका लागि पुगेका थिए । टोली पुगेकै समयमा अवैध रुपमा नदी दोहन गरिरहेको अवस्थामा पाँच जना सहित डोजरको चाबी पर्वत प्रहरीले नियन्त्रणमा लियो । ग १ क ४४८३ नम्बरको डोजर नियन्त्रणमा लिइएको प्रहरी र उक्त डोजर निर्माण व्यवसायी लालबहादुर मल्लको भएको प्रहरीले बतायो पनि । जसको प्रत्यक्षदर्शी बने बागलुङका प्रहरी निरीक्षक नेतृत्वको नागरिक अगुवा सहितको टोली । अवैध रुपमा नदी दोहन गर्ने पाँच जनालाई नियन्त्रण लिए पछि सामाजिक सञ्जाल तात्यो । प्रहरी प्रशासनले अब अवैध नदी दोहनमा केही साहसिक कदम चाल्नेमा नागरिक आशावादी बने । तर, त्यो आशा केहि घण्टा पनि टिक्न सकेन ।

पक्राउ लगत्तै पर्वत प्रहरीलाई समाचारका लागि सम्पर्क गर्दा आफुहरुलाई यसबारे कुनै जानकारी नरहेको बेखबर जवाफ दियो । जिल्ला प्रहरी कार्यालय पर्वतले डोजरको चाबी मात्र नियन्त्रणमा लिइएको तर कसैलाई पनि पक्राउ नगरेको बतायो । ‘प्रहरीको यस्तो तर्कले एकाएक मालढुंगादेखि कुश्मा बीचको यति छोटो दुरीकै बीच कसको दबाब र प्रभावमा पर्वत प्रहरीले पक्राउ गरिएकालाई उन्मुक्ति दियो ?’ अधिकारकर्मी राम शर्माले भन्नुभयो, ‘यसले पर्वतको स्थानीय प्रहरी प्रशासनको भुमिका रहस्यमय देखियो, यो गम्भीर बिषय हो । सरकारको समयमै ध्यान जाओस् ।’ बालुवा ठेकेदारको प्रलोभन, दबाबमा परेर बाटैबाट पक्राउ परेकालाई छोड्ने र प्रहरीले चालक भागेको, कसैलाई पक्राउ नगरिएको स्पष्टिकरण दिइरहेको प्रत्यक्षदर्शीको दावी छ ।

यसो भन्छ पर्वत प्रहरी
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी उपरिक्षक विश्वराज अधिकारीले कालीगण्डकीको दोहन स्थलमा पुगेको प्रहरी टोलीले कुनै पनि व्यक्तिलाई पक्राउ नगरेको धौलागिरी जागरणलाई बताउनुभयो । त्यहाँ पुगेका प्रहरी टोलीले डोजरको चाबी नियन्त्रणमा लिएको र चालक भागेको डिएसपी अधिकारीको भनाई छ ।

नियन्त्रणमा लिएको डोजर मालिकलाई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति पर्वतमा पत्राचार गरिने उहाँले बताउनुभयो । ‘मान्छे नियन्त्रणमा लिएको होइन, मेसिनको चाबी मात्र हो,’ उहाँले भन्नुभयो ‘यसको अनुगमन र कारवाहीको अधिकार जिल्ला समन्वय समितिलाई भएकाले डोजर धनीलाई नियन्त्रणमा लिएर कारवाही गर्नको लागि समन्वय समितिमा पठाउने भनेका छौँ ।’

तर,प्रत्यक्षदर्शी र बागलुङ प्रहरीको जिकिर यस्तो छ
पर्वत प्रहरीले नदी दोहन गर्दै गरेका पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम केसीले बताउनुभयो ।

उहाँले आफूहरु सहित अन्य स्थानीयले पनि पक्राउ गरेको देखेको बताउनुभयो । ‘जेसिभी, स्काभेटर जम्मै खोलामा बालुवा उत्खनन गरिरहेका थिए, प्रहरीले उत्खनन गर्नेलाई पक्राउ गरेको हो, सबैले देखेका छन्’ उहाँले भन्नुभयो ।

कानुन विपरित काम गर्ने गिरोहको बचाउमा प्रहरी प्रशासननै लागेपछि नागरिकले कसको विश्वास र भरोसा गर्ने ? प्रहरी निरिक्षक केसीको प्रश्न छ । अधिकारकर्मी राम शर्माले पनि नियमानुसार बालुवा उत्खनन गर्न आपत्ति नभए पनि अहिले टेण्डर समेत नभएको अवस्थामा मनपरी हिसाबले नदीजन्य पदार्थ उत्खनन गर्नु गम्भीर बिषय भएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *