धौलागिरी रेफर, म्याग्दीमा उपचार ?

सम्पादकीय
धौलागिरी अस्पताल केही बर्ष अघि सम्म रेफर सेन्टरको रुपमा परिचित मात्रै थिएन । तिव्र आलोचित पनि थियो । प्रयाप्त जनशक्ति, व्यवस्थापन पनि फितलो हुँदा आम नागरिकबाट यस किसिमको गुनासो र आलोचना हुनुमा अन्यथा थिएन । तर, पछिल्लो केही बर्ष यता धौलागिरी अस्पतालमा अभूतपूर्व सुधारका संकेत र उदाहरण प्रशस्त देखिन्छन् । यद्यपी, यसबीचमै धौलागिरी अस्पताले एकै प्रकृतिको दुई घटना र नियति दोहोराएको छ । जसले फेरी एक पटक अस्पतालमा रेफर गर्ने प्रवृत्तिबारे बहस जन्माएको छ । २०७५ साउनमा धौलागिरि अस्पतालले पोखरा रिफर गरिएकी गर्भवतीलाई बेनीमा शल्यक्रिया मार्फत प्रसूति गराइएको थियो । जसका कारण म्याग्दी अस्पतालले ठुलै वाहवाही प्राप्त गरेको थियो । तर धौलागिरी अस्पतालको चर्कै आलोचना भयो । अहिले फेरी धौलागिरी अस्पतालले रेफर र म्याग्दीमा उपचार भएको सोही प्रकृतिको घटना दोहोरिएको छ ।

मंगलबार साँझ व्यथा लागेर धौलागिरी अस्पताल बागलुङमा आएकी बागलुङ नगरपालिका ८ सिगानाकी आरती मल्ललाई मंगलबार राती १२ बजे धौलागिरी अस्पतालमा लगियो । अस्पतालका स्वास्थ्यकर्मीले गर्भ ९ महिना पूरा नभएको र उल्टो बसेको बच्चा निकाल्ने डाक्टर नभएको भन्दै तत्कालै पोखरा रिफर गरे । हतार–हतार ट्याक्सी खोजेर पोखरातर्फ हिँडे । तर, पर्वतको कुश्मा नयाँपुलमा पहिरो खसेकाले उनीहरु पर्वत अस्पताल सम्म पनि अघि बढ्न सकेनन् । त्यसपछि पुनः बागलुङ फर्किने या के गर्ने भन्नेमा अन्यौलता भयो । यसमा तत्काल सम्भावित विकल्प खोज्नुको विकल्प थिएन । यही बीचमा अघिल्लो वर्ष यस्तै प्रसुतिको समस्या र प्राकृतिक प्रकोपका बीच म्याग्दीको बेनीमा सफल अपरेसन भएको खबर सुनेकाले केही आशा जाग्यो । र सरसल्लाह पश्चात उनीहरु म्याग्दी पुगे । राती २ बजे बेनी अस्पताल ल्याउँदा बच्चाको खुट्टा पाठेघरबाट बाहिर निस्किसकेको थियो । २१ वर्षीया मल्ल पहिलो पटक सुत्केरी भएकी हुन् । बिहान ३ बजे बच्चा निकालिएको थियो । ९ महिना (मास) नपुगेको र बच्चा उल्टो भएको अवस्थालाई चिकित्सकले जोखिमयुक्त मान्छन् । यसर्थमा धौलागिरी अस्पतालले पोखरा रेफर गर्नुलाई धेरै गम्भीर कमजोरी नै ग¥यो भन्ने अर्थमा मात्र बुझ्दा न्यायोचित नहुन सक्छ । पोखरामा थप सुविधा सम्पन्न उपकरणको उपलब्धता भएकाले जोखिमयुक्त अवस्थामा रेफर गरिएको धौलागिरी अस्पतालको जिकिर छ ।

एकै प्रकृतिको दोहोरिएको घटनाले धौलागिरी अस्पतालको सेवा प्रवाह र व्यवस्थापनका बिषयमा फेरी एक पटक सोचनीय बनाएको छ । बिशेषज्ञ डाक्टर, जिल्ला अस्पताल भन्दा बढि उपकरणहरु भएको धौलागिरी अस्पतालमा जोखिम बहन गर्न सक्ने क्षमता या इच्छा शक्तिको अभाव त होइन भन्नेमा प्रश्न, आंशका र स्वभाविक संशय पैदा गरेको छ । यदी बिशेषज्ञ चिकित्सक नभएको हकमा र रेफर गरिए पनि पोखरा–बागलुङ राजमार्ग अवरुद्व भएको अवस्थामा छिमेक जिल्लामा पनि धौलागिरी अस्पतालले समन्वय गरेर पठाउन सक्छ । यसो गर्दा धौलागिरी अस्पतालले रेफर गरेको जिल्ला अस्पतालले उपचार ग¥यो भन्ने नकरात्मक सन्देश रोकिन सक्छ । तर, अहिले उपप्रादेशिक अस्पतालको परिचय बनाउदै गरेको धौलागिरी अस्पतालले रेफर गर्ने, जिल्ला अस्पतालले सफल शल्यक्रिया गर्ने कर्म या घटना सामान्य होइन । यसमा धौलागिरी अस्पतालले यथेष्ट समिक्षा गरेर भोलीका दिनमा कमजोरी दोहो¥याउन नदिनेमा सचेत हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *