खुल्यो लकडाउनः ‘स्वास्थ्य सुरक्षामा ख्याल गरौ, ठट्टा नगरौ’

देशमा तीन महिना लामो जारी बन्दाबन्दी (लकडाउन) खुल्ला भएको छ । यद्यपी अन्तर जिल्ला सार्वजनिक सवारी साधन सञ्चालन भने अझै भएको छैन । नेपाल सरकारले हालै नयाँ निर्देशन जारी गर्दै राजधानी सहित अन्तर जिल्ला प्रवेशको सवारी पासमा कडाइ गर्न भनिरहेको छ । तर, नागरिक स्तरमा लकडाउन खुल्ला सँगै कोरोना जोखिमनै हटे जसरी यात्रा, भिडभाड र गतिविधि हुन थालेको छ । जसका कारण फेरी दैनिकजसो कोरोना संक्रमित संख्या बढ्दो छ । समुदायस्तरमा भयावह बढ्ने जोखिम तिव्र छ । अहिलेको अवस्थामा कोरोना भयावह र संक्रमणको जोखिमबाट कसरी बच्ने ? सरकार, सरोकारवाला र स्वयम् नागरिकले के–कसरी स्वास्थ्य सुरक्षा र सचेतता अपनाउन सक्छन् । आदर्शकर्मी साधना पन्तले स्वास्थ्यकर्मी सहित बिभिन्न क्षेत्रका व्यक्तिसँग संवाद गरेर फरक फरक सुझाव लिने प्रयत्न गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

डा.मिलन मल्ल ठकुरी
मेडिकल अधिकृत
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र,बागलुङ

लकडाउन खोलिएको छ । तर, कोरोनाको संकट भने हटेको छैन । त्यसकारण मानिसहरुले पहिला नेपाल सरकारले भने सुरक्षाका सामाग्रीहरु अपनाउन जरुरी छ । मानिसहरुले सामाजिक दुरी र भौतिक दुरी कायम गरेरै आफ्ना दैनिक कामहरु गर्नु पर्ने हुन्छ । हामीहरु घर देखी बाहिर निस्कने समयमा अनिवार्य माक्सको प्रयोग गर्नु पर्दछ । हामीहरु बिना काम बाहिर निस्किएको पाइन्छ । अति आवश्यक काम परेको समयमा मात्रै घर बाहिर निस्कनु पर्दछ । मानिसहरु बीच भिडभाड नगर्ने । भिडभाड भएको स्थानमा नजाने । खोक्दा वा हाच्छिउ गर्दा कुईनाले छेकेर गर्नेे, नियमित साबुन पानीले हात धुने बानी बसाल्नु पर्दछ । सेनिटाइजर प्रयोग गर्नु पर्दछ । विशेष गरेर हामीहरु अस्पताल, बैंक जस्ता धेरै मानिसहरु आवत जावत गर्ने स्थानमा अति आवश्यक काम नपरी जानु हुँदैन । परिवारमा कोही बिरामी हुनुहुन्छ, ज्येष्ठ नागरिक हुनुहुन्छ भने सिधै अस्पताल लाने गर्नु हुदैन । डाक्टर सँग सल्लाह लिएर काम गर्नु पर्दछ । अहिले नियमित वर्षाका कारण पानी धमिलो हुन सक्दछ । त्यसकारण रुघाखोकी लाग्दछ, ज्वरो आउन सक्छ । यस्ता खालका समस्यालाई समाधान गर्नका लागी पानी उमालेर मात्र खाने, स्वच्छ खानेकुरा खाने, सरसफाईमा ध्यान दिनु पर्दछ ।
यो अवस्था भनेको हामीहरु लकडाउन नभए पनि घरमै सुरक्षित साथ बस्नु पर्ने अवस्था हो । अहिले समुदायमा पनि कोरोना फैलिसकेको कुराहरु बाहिर आएको छ । त्यसकारण सबै भन्दा मुख्य कुरा भनेको अनावश्यक बाहिर निस्कनु हुदैन । बाहिर निस्कनु पर्ने भयो भने अनिवार्य माक्सको प्रयोग गर्नु पर्दछ । हामीहरुले सरसफाइमा ध्यान दिने हो भने कोरोना सँग मात्र नभएर अन्य खालका रोगबाट पनी बच्न सकिन्छ ।

अहिले लकडाउन नभए पनि स्थानीय सरकार कडाइका साथ लाग्नु पर्ने देखिन्छ । आफ्नो स्थानीय तहमा को मान्छे कहाँ बाट आए, अहिले के गर्दैछन् भन्ने कुरामा स्थानीय तहबाट ध्यान जानु पर्दछ । कोरोना नेपालमा आउने माध्यम भनेको बिदेशी भुमीबाट स्वदेश फर्किएका मानिसहरुले ल्याउने हो । अहिले के पाइन्छ भने बाहिरबाट आएका मानिसहरुलाई घरमै क्वारेन्टिन बनाएर बस्नका लागी भनिएको छ । तर, ती मानिसहरु घरमा गएर के गरिराखेका छन् भनेर कसैले वास्ता नगरेकाले समुदाय अहिले कोरोनाको जोखिममा परेको पाइन्छ । विदेशबाट आएका मानिसहर घर गएर गाउँ डुल्ने, साथीभाई भेट्ने काम गर्दछन्, अनि जोखिम धेरै हुन्छ । त्यसकारणले स्थानीय सरकारले यस विषयमा ध्यान दिएर आफ्नो पालिकामा आउने मानीसहरुलाई सुरक्षित क्वारेन्टिनको व्यवस्था गर्नु पर्दछ । विशेष गरेर बाहिरबाट आउने मानिसहरुलाई नाकामै कडाइका साथ चेक जाँच गर्न आवश्यक छ ।

हामीहरुले अझै ३,४ महिना सुरक्षित हुनु पर्दछ । हामीहरुले यति धेरै समय गरेको मेहेनत खेर जान सक्दछ । एक दुई वटा कुरामा चुकेको खण्डमा त्यसकारणले आम नागारीक, सरोकारवाला निकायहरु सचेत रहन आवश्यक देखिन्छ ।

केशवराज पराजुली
पूर्व अध्यक्ष
बागलुङ बार एशोसियसन

सबै भन्दा पहिले त आम नागरिक सचेत हुनु आवश्य देखिन्छ । लकडाउन खोलियो भन्दैमा जथाभावी हिँड्नु राम्रो होइन । कोरोना दिन प्रतिदिन नेपालमा बढ्दै गएको पाइन्छ तर मानिसहरु अनावश्यक काममा डुलेको पाइन्छ । त्यसकारणले मानिसहरुले सामाजिक दुरी कायम गर्नु पर्दछ । माक्स सेनिटाइजर प्रयोग गर्नु पर्दछ । सरसफाइमा ध्यान दिन आवश्यक छ । सरकारले गराएका नियमहरु पालना गर्नु पर्दछ मानिसहरुले । भिडभाड नगर्ने, भिड भएको स्थाननमा नजाने काम गर्नु पर्दछ ।

सरोकारवाला निकायले नियमहरुको कार्यान्वयनमा ध्यान दिनु पर्दछ । अहिले सार्वजनिक यातायात सूचारु भएका छन् । यातायातमा सामाजिक दुरी छैन । महङ्गो भाडा, धेरै मानिसहरु राख्ने, माक्सको प्रयोग नगर्ने, सामाजिक दुरी नराख्ने भएकाले यस्ता कुरामा सरोकारवालाको ध्यान जान आवश्यक छ ।

त्यसकारणले सरोकारवाला निकायले सरकारले बनाएका नियमहरुको मानिसहरुलाई कडाइका साथ पालना गराउनु पर्दछ ।

गीता श्रीस
महिला अधिकारकर्मी

अबको समय भनेको आम नागरिक आफै सचेत रहने समय हो । हामीहरु ३ महिना भन्दा बढी समय लकडाउनमा बसेका हौ । सबै समस्याको समाधान लकडाउन होइन । त्यसकारण पुनः हामीहरु लकडाउन गर्न नपर्ने वातावरण ल्याउने हो भने आफै सचेत रहनु पर्दछ ।
अहिले मानिसहरु बिना काम घर बाहिर निस्कने, भिडभाड गर्ने, रमाइलो गर्ने गरिएको पाइन्छ । यो समय भनेको सुरक्षित साथ आफ्नो काम गर्ने र घरमै बस्ने हो । नियमित माक्स प्रयोग गर्ने, सरसफाइमा ध्यान दिनु पर्दछ । सामाजिक दुरी कायम गरेर कामहरु गर्नु पर्दछ ।
अव मानिसहरु जोखिममा रहेको महशुस गरेको छु । किनकी अहिले समाजमा कोरोना फैलिएको रिपोर्ट दिन प्रतिदिन सुन्नमा पाइन्छ । त्यसकारण हामीहरु आफै सुरक्षित हुनु पर्दछ ।

सरकारी निकायले अहिले सार्वजनिक यातायात सञ्चालन गर्ने भनेको छ । यस विषयमा यातायत व्यवस्थापन गर्नु पर्दछ । जथाभावी यातायात चलाउने, मानिसहरु जथाभावी चढाउने प्रवृत्ति भएको पाइन्छ । यस विषयमा सरकारी निकायको ध्यान जानु पर्दछ । सार्वजनिक यातायात रोक्ने भनेको होइन तर यसलाई सुरक्षित साथ चलाउनु आवश्यक छ । सवारी साधनमा बस्दा पनि सामाजिक दुरी कायम गर्ने, माक्स प्रयोग गर्ने, सेनिटाइजर प्रयोग गर्ने कुरामा ध्यान दिने, चालकहरुको कोरोना परीक्षण गर्ने जस्ता विषयमा ध्यान दिनु पर्दछ ।

अहिले नेपालमा मृत्यु भए पछि कोरोना परीक्षण गरेर हेर्दा कोरोना पोजेटिभ भएको पाइन्छ । यस्ता खालका समस्या समाधान कसरी गर्ने सरकाले भन्ने कुरा गम्भीर हो । मृत्यु पछि कोरोना पोजेटिभ देखिन्छ, क्वारेन्टिन व्यवस्थापन राम्रो छैन, पीसीआर टेस्ट प्रभावकारी छैन । यस्ता खालका समस्याको समाधान गर्नु पर्ने देखिन्छ ।

शेखर खड्का (झलक)
सह–संयोजक
अनेरास्ववियू बागलुङ

कोरोनाको महामारी अवस्थामा राज्यले बनाएको नियमको उंल्लघन गरेर मानिसहरु सडकमा उत्रिएको अवस्था पनि थियो । यसले गर्दा सरकारको कार्यशैलीमै प्रश्न चिन्ह खडा भएको महशुस मैले पनि गरेको थिए ।

सरकारले अहिले लकडाउन खोलेको अवस्था छ । कोरोना महामारी नसकिए पनि सरकारले लकडाउन खोलेको अवस्थामा बिशेष सचेतता अपनाउनु पर्ने भएको छ । सरकारले बनाएका नियम पालन गर्नु पर्दछ । तर, मानिसहरु निडर भएर डुलेको देख्न पाइन्छ । यसले कोरोना फैलिने सम्भावना र जोखिम धेरै हुन्छ । मानिसहरु आफै सचेत हुन आवश्यक देखिन्छ । अहिले दैनिक समाचारमा पढ्न,सुन्न पाइन्छ कि कोरोना समुदायमा फैलिसकेको छ । तर, मानिसहरुले बेवास्ता गरेको देखिन्छ । माक्स,सेनिटाईजर प्रयोग नगर्ने, सरसफाइमा ध्यान नदिने प्रवृत्ति अझै देखिएको छ । यस्तै अटेरी प्रवृत्ति रहिरह्यो भने फेरी पनि लकडाउन गर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न । त्यसकारणले सरकारलाई सधै गाली गर्नु भन्दा पहिले आ–आफ्नो स्थानमा आफै केही गर्ने की ? आफु र आफ्ना परिवारको सुरक्षाको लागी अनावश्यक काममा घर बाहिर ननिस्कने, माक्सको प्रयोग गर्ने, सरसफाइमा ध्यान दिनु पर्दछ ।

सरकारले सार्वजनिक यातायात प्रयोग गर्दा माक्सको प्रयोग गर्नु पर्दछ । सामाजिक दुरी कायम गर्नु पर्दछ । सेनिटाईजर प्रयोग गर्नु पर्दछ । तर, यस्तो संवेदनशिल कुरामा अधिकांशले लापरवाही गरेर हिँड्ने गरेको पाइएको छ । अब सरकार र सरोकारवाला निकायको यस विषयमा ध्यान जानु पर्दछ । अहिले आम नागरिकको स्वास्थ्य सुरक्षा पहिलो बिषय र प्राथमिकता बन्नुपर्छ । हामी सवै आम नागारीक पनि स्वयम् सचेत र सुरक्षित हुन आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *