–सुमन जिसी
विश्वकै लामो दावी गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल, सञ्चालनका क्रममा रहेको विश्वकै दोस्रो अग्लो बन्जी, विश्वकै लामो र अग्लो स्काई साइक्लिङ लगायतका साहसिक खेल पनि बागलुङसँगै जोडिएर बन्नुले बागलुङलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने महत्वपूर्ण आधार र अवसर बनेको छ ।
प्रायः शनिवार अर्थात विदाको दिन प¥यो भने कुनै न कुनै ठाउँ घुम्न निस्कने योजना मेरो मश्तिष्कमा बनिहाल्छ । त्यस्तो कुनै दिन कतै नगई कोठामै बसेर वित्यो भने लाग्छ आजको दिन पुरै खेर गयो । बागलुङ बजारमा डेरा गरेर बसेको म एउटा वित्तिय संस्थामा काम गर्ने गर्दछु । लामो समयको विदा मिल्यो भने त टाढै जाने योजना बन्छ । तर, त्यस्तो मौका २०७६ फाल्गुणको मेरो अन्नपूर्ण आधार शिविरको एकल यात्रा पश्चात मिलेको छैन । नेपालमा कोरोनाको कहरको सुरुवातिमा भएको मेरो त्यो यात्रा पश्चात नेपाल पूर्ण रुपले लकडाउन भयो त्यसकारण ४ महिना कतै नजाने बाध्यात्मक परिस्थिति सिर्जना भयो । सुरक्षित हुने नाममा म लगायत हामी सबै जना घर भित्र बस्न बाध्य भयौ । कोरोनाको महामारी अहिले पनि समाप्त भएको भने छैन । तर पनि सरकारले लकडाउन खुकुलो बनाउदै गए पछि डरका बीच हामी सबैको जनजीवन फेरी सामान्य तर्फ विस्तारै उन्मुख छ । प्रायः बन्द रहेको कार्यालयहरु सुरक्षा सतर्कता अपनाएर खुलिसकेका छन् । सबैजना आफ्नो काममा फर्केसँगै बजारहरु पनि खुलेको स्थिति छ । मैलै थाहा पाउँदा यस्तो खालको ठुलो महामारी र भयाभह २०७२ सालमा भुइँचालो र अहिले २०७६ हुँदै २०७७ सालसम्म निरन्तर चलिरहेको कोरोना कहर मात्रै हो । आशा गरौं, यस पश्चात हाम्रो पुस्ता एवम् अब आउने पुस्ताले यस्तो खालको बिषम अवस्था भोग्न नपरोस् ।
सरकारले गरेको लकडाउन केही खुकुलो भएसँगै घर भित्रको चार दिवार भित्र बाध्यतावश थुनिएर बसेका बागलुङका म र म जस्तै घुम्ने ईच्छा भएका साथीहरु बाहिर निस्कन लागेको विषय सामाजिक सञ्जालमा स्पष्ट देख्न सकिन्थ्यो र सकिन्छ । सामाजिक सञ्जालले पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा ठुलो भुमीका खेलेको छ । त्यसको उदाहरण खोज्न कतै टाढा जानु पर्दैन । बागलुङमै रहेको संसारकोटलाई लिन सकिन्छ । सामाजिक सञ्जालबाटै व्यापकता पाएको संसारकोटमा लकडाउनको अवधिमा घुम्न ईच्छा राख्ने व्यक्तिहरु कमै मात्रमा नपुगेका होलान् । कोरोना कहरकै अवधिमा धैरैलाई बागलुङ वरिपरिकै घुम्ने गन्तव्यको बारेमा थाहा भयो । केही समय अगाडी साथीहरुले “पहिले गृह जिल्ला अनि देशका चार किल्ला” भनेर बनाएको नारालाई कोरोना कहरका बीचमै धेरैले सार्थकता दिए जस्तो मलाई लागेको छ । अघिपछि दशै तिहारमा मात्र भेट हुने र कतै टाढा घुम्न जाने साथीभाईहरुका लागि अहिले आफ्नै जिल्लाका कुना कन्दरा घुम्न भ्याई नभ्याई छ । दैनिकजसो साथीभाईहरु कुनै न कुनै नयाँ ठाउँलाई ‘एक्सपोलर’ गरिरहेका हुन्छन् । पछिल्लो समयमा घुमेर तस्विर लिने र त्यस ठाउँलाई सामाजिक सञ्जाल होस् या अन्य कुनै तवरले प्रचार प्रसार गर्ने ट्रेन्ड नै बसेको छ । जिल्लाको पर्यटन प्रर्वद्धनमा यसले पनि महत्वपूर्ण भूमिका खेलेको छ । र यो राम्रो पक्ष पनि भएकाले यस्ता खालका विषयलाई सरोकारवाला निकायहरुले संस्थागत गरेर अगाडी लैजान सके बागलुङको पर्यटन व्यवसाय फस्टाउने कुरामा दुइ मत छैन । होटलको कोठामा बसेर बैठक गरेर मात्र पर्यटन व्यवसाय बृद्धि हुने हैन, यसका लागि पर्यटकीय गन्तव्यहरुको पहिचान र निर्माण महत्वपूर्ण हुन्छ । जिल्लामा पर्यटकीय सम्भावना भएका धैरै ठाउँहरु छन् । ती ठाउँहरुको उचित प्रचार प्रसारको कमीले गर्दा जिल्लामा पर्यटकहरुलाई स्टे (क्तबथ) गराउन नसकिरहेको तितो यथार्थ हाम्रा सामु अहिले पनि छर्लङ्ग छ । कसैको व्यक्तिगत वा पार्टीगत स्वार्थ विना जिल्लाको पर्यटन व्यवसायलाई अगाडी बढाउनु पर्दछ । पर्यटन प्रवद्र्धनका लागि जिल्लामा गठन भएका संघ संस्थाहरुले पनि सोही अनुसार काम गर्नुपर्दछ । व्यक्ति वा पार्टीलाई अग्रभागमा भन्दा पनि जिल्लाको पर्यटन प्रर्वद्धनलाई प्राथमिकतामा राखियो भने बागलुङलाई पर्यटकीय जिल्ला बनाउन सकिन्छ ।
म आफै पनि घुम्ने, तस्विर लिने र सामाजिक सञ्जाल मार्फत नयाँ–नयाँ ठाउँहरुको प्रचार प्रसार गर्न औधी रुचाउने व्यक्ति हुँ । फोटो खिच्नु मेरो रुचीको विषय हो । साथीभाईहरुले मलाई फोटोग्राफर भनेर चिनेता पनि मलाई म फोटोग्राफर नै हुँ जस्तो लाग्दैन । किनभने मेरो प्रमुख पेशा यो भन्दा फरक विषय भएकाले पनि मैलै आफुलाई फोटोमा रुची भएको व्यक्ति भन्न मात्र रुचाउँछु । मन लाग्यो भने कहिलेकाँही गएका ठाउँहरुको बारेमा लेख्ने पनि गरेको छु । विदा मिल्यो कि मेरो मानसपटलमा घुम्न कहाँ जाने सोच आईहाल्छ, मिलेसम्म साथीभाईहरु सँगै घुम्न निस्कन्छु, त्यो पनि भएन भने एकल यात्रा पनि गर्न पछि हट्दिन । स्वच्छ हावापानी र प्राकृतिक रूपले सुन्दर ठाउँको यात्राले शरिरमा बेग्लै स्फुर्ति भरिदिन्छ । एकै दिनको भए पनि यात्रामा निस्कँदा बेग्लै रोमाञ्चकता प्राप्त हुन्छ । नयाँ ठाउँको भ्रमणबाट नयाँ–नयाँ ज्ञान र चेतनाको निर्माण भईरहेको हुन्छ । जीवनमा अनेक समस्या आउँछन्, जान्छन् तर कतिपय मानिसलाई जहाँ गए पनि समस्या उही त हो, पीर उही त हो, कतै जाँदैमा के हुन्छ र ? यात्रा गर्दैमा के नै हुन्छ र ? भन्ने लाग्न सक्छ । यात्रा गर्दा मनमा आउने अनेक भाव र सोचले आफैंलाई बुझ्न मद्दत गर्छ, आफ्नै जीवनलाई केलाएर हेर्ने फुर्सद पाइन्छ । कुनै नयाँ ठाउँमा पुग्दा नयाँ कामको सिर्जना र फरक–फरक अनुभव भएका व्यक्तिहरुसंगको भेटघाटले नौलो खालको अनुभुति मात्र होइन, नयाँ खालको उर्जा पनि मिल्दछ । यात्रा गर्दा सुख दुःख दुबै हुने गर्दछ । जस्तोसुकै परिस्थितिमा पनि रम्न सिक्नु पर्दछ ।
कोरोना कहरकै बीचमा साथीहरुसँग मिलेर मैले पनि गृह जिल्ला बागलुङ, म्याग्दी र पर्वतका केही ठाउँहरुको यात्रा गरे । यो बीचको यात्रा अन्य यात्रा भन्दा फरक थियो । अन्य यात्रामा भन्दा यस यात्रामा डर मिसिएको थियो । यस बीचमा केही पैदल यात्रा गरियो त केही सवारी साधानमा यात्रा गरियो । मौसम पनि फरक भएकाले चारैतिर हरियाली, खोलानाला, झरनाहरुको सुस्याहटले यात्रालाई अझै रोमाञ्चक बनाउने रहेछ । यस अवधिमा अन्य यात्रामा भन्दा फरक अनुभव गर्न पाइयो । सधैजसो बाहिरी जिल्लाका पर्यटकीय गन्तव्यहरु र विशेष गरेर हिमाली भेग नै रोज्ने मैले यस अवधिमा आफ्नै वरिपरिको सुन्दरता यसका सम्भावनाहरु बुझ्ने मौका मिल्यो । घुम्दै जाँदा त्यहाँको बस्तुस्थिती, चालचलन र सँस्कृतिको बारेमा पनी बुझ्न पाइयो । बागलुङ जति प्रकृतीले सजिएको छ, त्यतिनै सँस्कृतीले पनि धनी छ भन्ने कुरा यो अवधिमा महशुस गर्ने मौका मिल्यो । यात्रा गर्नु भनेको नयाँ भूगोल, हावापानी, सँस्कृति, चालचलन र खानपान सँग भिज्नु पनि हो ।
कोरोनाको कहरसँगै पर्यटन क्षेत्रमा बागलुङले नयाँ स्वरुप निर्धारण गर्ने देखिएको छ । जिल्लामा यस पूर्व रहेको पर्यटकीय गन्तव्यहरु र भर्खर मात्र सुरुवात भएको विश्वकै लामो दावी गरिएको बागलुङदेखि पर्वत जोड्ने झोलुङ्गे पुल र सुरुवातका क्रममा रहेको विश्वकै दोश्रो अग्लो बन्जी, विश्वकै लामो र अग्लो स्काई साइक्लिङ लगायतका साहसिक खेलहरु पनि बागलुङसँगै जोडिएर बन्नुले बागलुङलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने महत्वपूर्ण आधार बनेको छ ।
संसारभर कोरोना महामारीका कारण सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्यटन उद्योग छ । वायुसेवा, होटल क्षेत्र, यातायात र रेष्टुराँ जस्ता पर्यटनसँग जोडिएका क्षेत्रहरू शिथिल भएका छन् । विश्व पर्यटन सङ्गठनका अनुसार सन् २०२० मा विश्वभरि पर्यटन ६० देखि ८० प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । नेपालमा पनि पर्यटनसँग धेरैथोक जोडिएको छ जस्तै विमानसेवा, होटल तथा अन्य तमाम आपूर्तिका सञ्जाल यसमा जोडिएका छन् ।
यति हुँदा–हुँदै पनि पर्यटन क्षेत्रका लागि चुनौती सँगै सम्भावनाहरु पनि छन् । भनिन्छ–परिवर्तित परिस्थितिले ल्याएको समस्यालाई नै चूनौती दिएर अगाडी बढ, चुनौतीलाई परिवर्तित नगर (ऋजबििभलनभ तजभ अजबलनभरलयत अजबलनभ तजभ अजबििभलनभ) हरेक परिवर्तित परिस्थितिनै मानव जीवनमा महत्वपूर्ण अवसर बन्न सक्दछ ।
यो महामारीले कुनै भौतिक बस्तुको क्षति गरेको छैन । विश्वभर भएको लकडाउनका कारण वातावरण, हावापानीमा शुद्धिकरण भएको छ । यसले थोरै भए पनि मानव जातिको स्वास्थ्यलाई राम्रो गरिरहेको छ । देशभित्रै रहेका, वैदेशिक रोजगारीबाट फर्केका र वैदेशिक अध्ययनमा जानबाट रोकिएको जनशक्ति तुलनात्मक रुपमा हामीकहाँ सस्तो मूल्यमा उपलब्ध हुनेछ । यो जनशक्तिलाई पर्यटन र कृषि क्षेत्रमा लगाउन सक्दा देशको अर्थतन्त्रलाई तीव्र रुपमा उद्धार गर्न सकिन्छ भन्ने सम्भावना पनि छन् । कमजोर हुँदै गइरहेको वैदेशिक रोजगार र यसबाट प्राप्त हुने वैदेशिक मुद्रा आर्जनको बलियो वैकल्पिक क्षेत्रको रुपमा पर्यटन उद्योगलाई विकास गर्न सक्ने हो र ठोस योजना, कार्यक्रम, बजेट बिनियोजन र सार्वजनिक, सहकारी र निजी सबै क्षेत्रबाट पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने हो भने हामी पुनः उठेर अगाडी बढ्न सक्नेछौ ।