‘सुनको भाउ बढ्दा ग्राहकसँगै व्यवसायी चिन्तित’

महिलाहरुले साजसज्जामा प्रयोग गर्ने सुन । जसको भाउ अहिले उल्लेख्य बढेको छ । केही वर्ष अघि सम्म ५०/६० हजारमा कारोबार हुने सुनको मुल्य प्रति तोला अहिले १ लाख बढी नाघेको छ । बागलुङ सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार जिल्लामा छापावाल सुन प्रति तोला १ लाख ८ सय रुपैयाँ र तेजावी सुन १ लाख ४ सय २० रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ आकाशिए सँगै ग्राहक मात्र चिन्तित छ्रैनन् । कोरोनाका कारण ठुलो मार खेपेका सुनचाँदी व्यवसायी पनि अत्तालिन थालेका छन् । आदर्शकर्मी साधना पन्तले सूनचाँदी व्यवसायी सँग भेटेर सुनको बढ्दो भाउ, यसले व्यवसायिक जीवनमा परिरहेको प्रभाव र असरबारे कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
अशोक सुनार
बलेवा सुनचाँदी पसल, बागलुङ

अहिले सुनको भाउ अस्वभाविक रुपमा बढेको छ । नसोचेको सुनको भाउ बढेकाले हामी सुन व्यापारी समस्यामा परेका छौ । यो समय व्यापार हुने समय भए पनि व्यापार छैन । अघिल्लो तीजको समयमा हामीहरुलाई खाना खाने समय समेत पाइदैनथ्यो । ग्राहकहरु सुन किनबेच निकै कम छ । अहिले सुनसान छ सुनको बजार । तीज भनेको महिला दिदिबहिनीहरुको महान चाड हो । राम्रो लुगा, गरगहना लगाउने, मिठो खाने समय हो । सुन व्यापारी पनि तीजमा निकै व्यस्त हुने समय हो । तर, अहिले सुन पसल सुनसान जस्ता छन् । पोहोर सालको तीजमा ६६ हजार तोलाको सुन अहिले एक वर्षमै १ लाख भन्दा बढी हुन्छ भनेर सोचेका पनि थिएनौ हामी व्यवसायीले पनि । सामान्य कृषि गरेर, कुखुरा, बाख्रा, पाल्ने बेच्ने र थोरै भए पनि सुन जोड्छु भन्ने दिदी बहिनीहरुको पहँुच भन्दा धेरै माथी सुनको भाउ गईसकेको छ । म १३ वर्ष भयो यो व्यवसायमा लागेको । मेरो पसलमा धेरैथरी मानिसहरु आउनुहुन्छ । पैसा हुनेलाई त सुन लगाउने सौख हो । तर, गाउँमा दिनरात नभनेर काम गर्ने, बाख्रा पालेर बेचेर एउटा सानो भए पनि माइली तिलरी बनाउनु प¥र्यो बाबु भन्दै आउने आमाहरुको सम्पति बुढेसकालको साहारा हो । दुध बेचेर, कृषि गरेर, बाख्रा, खसी पालेर बेचेर सुन किन्ने अवस्था थियो पहिले तर अहिले त्यो अवस्था रहेन ।

सुनको भाउ धेरै बढे सँगै सुन व्यवसायीको व्यापार प्रत्यक्ष प्रभावित छ । कोरोना महामारीले ४ महिना लकडाउन भयो । लकडाउन खुकुलो हुन साथ सुनको भाउ बढेर आकाश छुन लाग्यो । हामी सुन व्यापारी जस्तो समस्यामा अहिले कोही व्यपारी छैनन् । हामीहरुलाई लगानी गर्नै समस्या भएको छ । पोहोर साल हामीले तीजमा १० लाख लगानी गरेर १८,१९ तोला सुन किनेर काम गरेको हो । तर, अहिले १५ लाख लगानी गर्दा १५ तोला पनि सुन आउदैन । लगानी गर्न पनि समस्या छ अहिले । हुन त अहिले सबे तिर समस्यानै समस्या छ कोरोनाका कारणले । यो अवस्थामा हामीहरुले नाफा भएन भनेर आशा गर्नु त राम्रो होइन । तर पनि एउटा व्यापारीको हिसाबले सोच्दा व्यापार छैन, महङ्गी धेरै छ भनेर चिन्ता भने बढ्दो रहेछ ।

मलाई याद छ मैले सुरुमा काम सिक्ने समयमा ७ हजार तोलाको थियो । त्यो समयमा ७ हजार पनि धेरैनै थियो । हेर्दा–हेर्दै ५० हजार भयो । त्यतिखेर पनि मानिसहरुले अब सुन लगाउन सकिदैन भन्दै पसलमा आउने गर्दथे । तर, सुनको भाउ बढ्दै गयो अहिले त १ लाख नै पुग्यो । तर, मानिसहरु सुन लगाउन त छोड्दैनन् । नेपालमा मानिसहरु धेरै सौखिन छन् । अहिले नेपालका युवाहरु धेरै जसो बिदेशमा हुन्छन् । उनीहरुले डलर कमाउँछन् । १,२ महिना होला सुन महङ्गो भयो भन्ने । तर पछि बिस्तारै मानिसहरु सुन किन्ने क्रम बढ्छ । पोहोर साल ७० हजार तोलाको सुन हुँदा मानिसहरु अत्यधिक सुन बेच्न आउनु भएको थियो । हामीहरुले आफ्ना ग्राहकहरुको मात्र सुन किनिदिएका थियौ । आफ्ना ग्राहकको त बिल लिए पछि सुन किनिदिनु पर्दछ हामीले तर अहिले यति धेरै सुनको भाउ बढ्दा पनि मानिसहरु सुन बेच्न आएको पाएको छैन मैले । बजारमा सुनको भाउ अझै बढ्छ तोलाको १ लाख २५ हजार हुन्छ भन्ने जुन हल्ला छ, त्यसकारणले अहिले मानिसहरु स्न बेच्न मेरो पसलमा आउनु भएको छैन । सुनको भाउ अहिले यति धेरै बढ्नुको कारण कोरोनाको महामारीले गर्दा विश्वमै आर्थिक मन्दी आउने भनिएको छ । यसलाई ब्यालेन्समा ल्याउनका लागी सुन भनेको कहिलै पनि बिग्रिने, खराब हुने सामान होइन । सुनमा लगानी गर्दा कहिल्यै घाटामा गईदैन भनेर ठुला–ठुला कम्पनीहरुले, धनाढ्य मानिसहरुले शेयर बजारमा भन्दा सुनमा लगानी गरेर यति धेरै महङ्गो भएको बुझिन्छ ।

धना सुनार
शुभलक्ष्मी सुनचाँदी गहना पसल, बागलुङ

कोरोना महामारीले गर्दा अहिले आर्थिक समस्या आएको छ । कोरोनाले ४ महिना जति लकडाउनमा बसियो । व्यापार सुरु गर्दा सुनको मुल्य बढेर व्यापार कम हुन थालेको छ । अहिले सुन किन्ने भन्दा बिक्री गर्ने ग्राहकहरु आउनु हुन्छ । सुनको मुल्य वृद्धी भएसँगै व्यापार ठप्पै भएको महशुस गरेका छौ । अहिले सुन व्यापारको सिजन हो यो । तीज नजिकिदै गर्दा अहिले व्यापार छैन । तीजमा दिदी बहिनीहरुले सुन किन्नेको भिड हुने थियो तर अहिले सुनसान छ । यो सिजन भनेको सुनको मुल्य कम हुने भन्ने परम्परा जस्तै मानिने थियो पहिले तर अहिले सुनको मुल्य यसरी बढ्यो कि हामी व्यापारीनै दङ्ग परेका छौ ।

हामीकहाँ गाउँ–गाउँबाट दिदीबहिनीहरु सुन खरिद गर्न आउनु हुन्छ । मानिसहरुको के सोचाई हुन्छ भने सुन जम्मा गरेर राख्दा बुढेसकालमा दुःख पर्दा बेचेर खान हुन्छ । सुन दुःख सुखको साथी हो भन्ने हुन्छ । महिला दिदीबहिनीहरुले आफुले दुःख सुख गरेर जम्मा गरेर सुन खरिद गर्ने सोचेका हुन्छ । तर, अहिले त्यस्ता मानिसहरुले सुन खरिद गरेर लगाउने वातावरण छैन जस्तो मलाई लागेको छ ।

आज भन्दा ५ वर्ष पहिलेको व्यापार गर्ने शैली र अहिलेको व्यापार गर्ने शैलीमा धेरै फरक हुन्छ । हामीहरुले भनेको भन्दा ग्राहकहरुको जसरी पनि कम बनाउने भन्ने मानसीकता हुन्छ । हामीहरुले नेपालभर जुन रेट हुन्छ त्यही रेटमा सुन व्यापार गरेका हुन्छौ । यही तीिकाले सुनको मुल्य वृद्धि हुने हो भने सुन खरिद बिक्री गर्न धेरै समस्या आउने देखिन्छ ।

अनिश खाती
अन्नपूर्ण सुनचाँदी पसल, बागलुङ

अहिले सुनको मुल्य अश्वभाविक रुपमा बढेको छ । कोरोना महामारीले गर्दा अहिले सवै मानिसहरुलाई आर्थिक समस्या परेको छ । अहिले सुन किन्ने मानिसहरु कहिकतै मात्रै देख्न पाईन्छ । आफ्नो सुनलाई नयाँ बनाएर लगाउने धेरै छन् । तर, नयाँ सुन किन्ने मानिसहरु छैनन् । अहिले सुन व्यापारी मात्र होइन, कालीगढहरु पनि समस्यामा छन् ।

कोरोनाले गर्दा लकडाउन भयो, लकडाउन खुल्दा साथ सुनको भाउले बजारमा सुन किन्ने भन्दा बेच्ने मानिसहरु पाइन थाले । असार साउनमा सुनको भाउ घट्छ भन्थे । सुनको भाउ घटेको पनि हुन्थ्यो । भदौबाट सुनको भाउ बढ्थ्यो । तीजको सिजन पनि भएकाले व्यापार हुने समय हो यो । तर, अहिले सवै कुरा जुर्न गए जस्तो लागेको छ । कोरोनाले गर्दा व्यापार ठप्प भयो, अब व्यापार हुने समयमा सुनको भाउले व्यापार भएको छैन ।

यो समयमा सुनको भाउ बढे पनि राम्रो सुन भने पाउन गाह्रो भएको छ । सुनको भाउ आकाशिएको छ र बजारमा सुनको कमी भएको छ । मानिसहरु धेरै अपेक्षा राख्ने हुन्छन् । सुन बेच्न आएको पाएको छैन मैले । सुन झन् बढेसी बेच्ने भन्ने कुरा सुनिन्छ तर अहिले तोलाको १ लाख हुदाँ सम्म सुन बेच्न भने आएका छैनन । तर, हाम्रा ग्राहकहरु सुन बेच्न चाहेमा हामीले किनिदिनु पर्दछ ।

कोरोना महामारीले गर्दा ४ महिना लकडाउन भएर व्यापारीहरु त्यसै मारमा परेको अवस्था थियो । त्यस पश्चात सुनको भाउ वृद्धी भयो । मानिसहरु सुन खरिद गर्नै नसक्ने जस्तो अवस्था आएको छ । त्यसै त कोरोनाले आर्थिक समस्या भोग्नुपर्ने अवस्था आएको थियो । यसले सुनचाँदी व्यवसायी र ग्राहक सबैलाई स्तब्ध बनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *