बागलुङ जिल्लाको तमानखोला गाउँपालिका । दुर्गम गाउँपालिकामा पर्छ । भौगोलिक रुपले सदरमुकामदेखि टाढा, छरिएका बस्ती, शिक्षा स्वास्थ्यको सहज पहुँच नहुँदा वर्षौदेखि स्थानीयले खेपिरहेका समस्या र सास्तीका बीच २०७४ सालमा नयाँ संघीय अभ्यास अनुसार तीन तहको सरकार बन्यो । स्थानीय तहको सरकार आए पछि आम नागरिकले विगत भन्दा परिवर्तनको अनुभूति गरिरहेका छन् । यद्यपी, नागरिकको सरकार प्रतिको अपेक्षा र गुनासो कायमै छ । तमानखोला गाउँपालिकाले कोरोना संकटका सामना, रोकथाम र नियन्त्रण कसरी गरिरहेको छ ? यही संकटका बीच विकास योजनाका काम कसरी अघि बढाइएको छ ? तीन वर्ष बित्दै गर्दा तमानखोलाका सोँच, सपना र भावी योजनाका बारेमा आदर्शकर्मी डम्मर बुढा मगरले गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरसँग लामो संवाद गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अशंः
अब कोरोना संकट विश्वव्यापी रुपमा फैलिराखेको छ । तमानखोला गाउँपालिकाले कोरोना संकटको सामना कसरी गरिरहेको छ ?
अहिले विश्वभर फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९)का कारणले नेपाल र हाम्रो तमानखोला गाउँपालिका पनि कोरोना नियन्त्रण र यसलाई पराजित गर्नका लागि हामी जुटिरहेका छौ । अहिले सम्म तमानखोला गाउँपालिका प्रत्यक्ष प्रभाव पारेको छ । हाम्रो तमानखोला गाउँपालिकामा भारतबाट आएका ४ जना र अन्य देशबाट आएर २ जनालाई अहिले सम्म कोरोना देखिएको थियो । हामीले उनीहरुको सफल उपचार गरेर घर पठाई सकेका छौ भने अहिले गाउँपालिकाको क्वारेन्टिनमा ८ जना रहनु भएको छ । हामीले उहाँहरुको छिट्टै स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी छ ।
हामीले कोरोनाले गर्दा आएका समस्याको समाधानका लागि प्रयासरत छौ । लकडाउनको अवधिमा पनि जोखिम रोक्न अहोरात्र सिंगो गाउँपालिका र मातहतका सबै जनप्रतिनिधि कर्मचारी परिचालन ग¥यौ । राहत वितरण, क्वारेन्टिन व्यवस्थापन, सचेतनामुलक कार्यक्रम तिव्र बनायौ ।
अहिले लकडाउत त हटेको छ । तर, कोरोना जोखिम फेरी बढेको छ ।। तपाईहरु के कस्तो सर्तकता व्यवस्थापन तयारीमा हुनुहुन्छ ?
कोरोना बाहिरबाट आएको भाइरस हो । यसकारण बिदेशबाट आउने र शंकास्पद व्यक्तिहरुलाई व्यवस्थित गर्नका लागि अहिले सम्म गाउँपालिका सफल भएको छ । अहिले लकडाउन खोलिएकाले गाउँपालिकामा पनि धेरै मानिसहरुको आवत जावत हुन थालेको छ । यसलाई व्यवस्थापन गर्नका लागी हामीले सामाजिक दुरी कायम गर्नका लागी, सरसफाईमा ध्यान दिने विषयमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेका छौ । अहिले नेपालमा विशेष गरेर समुदायमा कोरोना संक्रमण बढेको हुनाले हाम्रो गाउँपालिका पनि यसबाट के कसरी सुरक्षित राख्न सकिन्छ भनेर साँेच योजना बनाइरहेका छौ । अनावश्यक रुपमा गाउँपालिकाका मानिसलाई पालिका भन्दा बाहिर नजानका लागि र बाहिरबाट आउनेको तथ्यांक सहित बिशेष सचेत गराउने काम रहने छ ।
अहिले खास गरी कोरोना रोकथामको लागी ती तहको सरकारकै भुमिकाको बारेमा गुनासो आलोचना सुनिएको छ । जुन खालको भुमिका, पूर्व तयारी र व्यवस्थापन हुनु पर्दथ्यो, त्यस खालको भएन भन्ने छ । तपाई स्वंयम् स्थानीय तहको प्रमुखका हिसावले तीन तहको सरकाको भुमिकालाई कसरी हेर्नु भएको छ ?
यो महत्वपुर्ण प्रश्न र विषय हो । जब विश्वभर कोरोना संक्रमण बढ्न थाल्यो । त्यसपछी नेपालमा पनि कोरोना आउन सक्छ भनेर नेपाल सरकारले कोरोना भाइरसको बारेमा बिज्ञहरु सँग बिस्तृत छलफल गरेर पूर्व तयारी, व्यवस्थापनमा लागेको भए आज जुन तरिकाले कोरोनाको संक्रमण बढेको छ, त्यस हिसाबले बढ्ने थिएन होला । त्यसकारणले अहिले नेपालमा कोरोना संक्रमण बढी राखेको अवस्था छ । यसलाई नियन्त्रण गर्नका लागि ३ तहका सरकारलाई निकै चूनौतीको विषय बनिराखेको छ । त्यसकारण अब तीन तहको सरकारको उचित खालको समन्वय हुन जरुरी छ । स्थानीय सरकाले अहिले भारत र अन्य देशबाट आएका मानिसहरुलाई सुरक्षित व्यवस्थापन गर्नका लागि आजको दिन सम्म महत्वपूर्ण भुमिका निर्वाह गरेको मैले महशुस गरेको छु । त्यसमा पनि थप केही प्रदेश सरकार र संघीय सरकारको भूमिका देखिन्छ । र अझै पनि समन्वय,सहकार्यको कुरामा भारतबाट आउने मानिसको क्रम विस्तारै घट्दै छ । र अन्य देशबाट नेपाल आउने मानिसको संख्य बढ्दो छ । यसलाई व्यवस्थापन गर्नका लागि तीन तहको सरकारको समन्वय र व्यवस्थापन अझै प्रभावकारी बनाउनु पर्ने अवस्था छ ।
किन भने बिदेशबाट आएका नागरिकहरु बिमानस्थलमा उनीहरु कसरी आएका छन् ? उनीहरु कोरोना परीक्षण भएको छ कि छैन हेर्ने, होल्डिङ सेन्टरमा राख्ने, सम्बन्धित प्रदेश, जिल्ला र स्थानीय तहलाई जानकारी दिने बिषयमा भनेर संघीय सरकारले यथेष्ट ध्यान दिन सकेको देखिन्न । पहिले भनियो तर व्यवहारिक रुपमा हुन सकेन । धेरै मानिसहरु बीच बाटोमै अलपत्र परे । आफ्नो घर सम्म आउनका लागी महंगो भाडा तिर्नु पर्ने, सवारी साधन नपाउने, खानको समस्या, राती बस्न परेमा बास बस्नेको समस्याले धेरै दुःख र सास्ती पाएको अवस्था रह्यो । यस कारण तीन तहको सरकार बीच सहकार्य हुन जरुरी छ । हामी स्थानीय तहका तर्फबाट सक्दो भुमिका निर्वाह गर्ने प्रयासमा त छौ । तर अनुभवजन्य हिसावले नयाँ संकट भएकाले चुस्त व्यवस्थापन, तयारीमा केही कमजोरी भएको अवस्था पनि छ ।
अहिले स्थानीय सरकारको भुमिका जुन देखिन्छ । त्यसले संघीयताको औचित्य पुष्टि या खास अनुभूति तल्लो तह सम्म भयो भन्ने आवाज सुनिन्छ । यदी स्थानीय तह नभएको भए यो संकटको सामना यति सहज व्यवस्थापन हुने थियो जस्तो तपाई लाग्दछ ?
पक्कै पनि तपाईले भने जस्तो यो कोरोना बिशेष गरेर सरुवा रोग भएका कारण यसलाई व्यवस्थापन गर्न धेरै गाह्रो छ । स्थानीय सरकार भएका कारणले यो रोगलाई व्यवस्थापन गर्नका लागि मद्धत पुगेको मैले महशुस गरेको छु । अर्को अर्थमा भन्दा यस्तै संकटहरुको सहज व्यवस्थापन, तल्लो तह सम्म सरकारको अपनत्वबोध गर्न गराउन चाहिदो रहेछ भन्ने सबैमा भएको छ । यो सकरात्मक कुरा हो । यदी स्थानीय सरकार नभएर पहिलेकै संरचना हुन्थ्यो भने समुदायमा फैलिएर भयग्रस्त अवस्था आउने थियो । यद्यपी अहिले समुदायमा भाइरस फैलिसकेको छ । अझ भुमिका बढाउनु पर्ने अवस्था आएको छ । यसलाई नियन्त्रण गर्नका लागी सवै तहका सरकार लागिपरेका छन् । ।
अब गत आर्थिक वर्ष यहाँहरुले जुन खालको विकास निमार्णको योजनाका कामलाई अगाडी बढाउने योजना, सोँच, कार्यक्रम तय गर्नु भएको थियो । त्यो चैत ११ गतेदेखी लकडाउन सुरु भएसंगै प्रभावित भएको देखिन्छ । तमानखोला गाउँपालिकाको गत वर्षको विकास योजना कतिको प्रभावित भए ?
गत वर्षको आर्थिक वर्षमा गाउँ सभाले बनाएका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा हाम्रो सिजनेवल काम गर्ने प्रवृत्ति छ । असार मसान्तमा बजेट पारित हुन्छ, साउन भदौ वर्खा, असोज कात्तिक चाडवाड र मंसिर, पुस, माघमा जाडो हुन्छ । यो बीचमा सहज तरिकाले योजना कार्यान्वयन गर्न सकिदैन । फागुन, चैत महिनाबाट बल्ल राम्रोसँग योजना कार्यान्वयन गर्ने, विशेष गरी हाम्रो नेपालमा विकास निर्माणका काम यही सिजनमा हुने गर्दछ । तर, यो वर्ष ठ्याक्कै यही समयमा कोरोना भाइरस आयो, लकडाउन भयो । यसले गर्दा योजना कार्यान्वयन गर्न हामीलाई ठुलो धक्का लाग्यो । चैत ११ गते लकडाउन सुरु भयो । जेठ सम्म लकडाउन लम्बियो । म त त्यो बेलामा आत्तिएको थिए, हतोत्साही अवस्थामा पुगिसकेको थियो । धेरै काम बाँकी थियो । समय थिएन तर जनप्रतिनिधि, कर्मचारी, नागरिक र उपभोक्ता मिलेर सामाजिक दुरी कायम गर्दै जाँदा लगभग पूर्वाधारका काम धेरै सम्पन्न ग¥र्यौ । तर लक्षित बर्गका कार्यक्रम, तालिम, गोष्ठी र सचेतनामुलक कार्यक्रम गर्न सकिएन ।
गत वर्षको योजनाको विश्लेषण गर्दा गाउँपालिकाले सम्पन्न गरेका योजना र त्यसबाट प्राप्त गरेका महत्वपूर्ण उपलब्धि के–के छन् ?
विशेष गरी शिक्षा र स्वास्थ्यमा हामीहरुले अन्य क्षेत्रमा भन्दा बढी काम गरेका छौ । थुपै्र विद्यालयका भवन निर्माण गरेका छौ । स्वास्थ्यको क्षेत्रमा पनि वडा नम्बर ६ नर्जाको सामुदायिक स्वास्थ्य इकाईमा बर्थिङ सेन्टर स्थापना ग¥यौ । औपचारिक सेवा शुभारम्भको घोषणा गर्न मात्र बाँकी छ । यो महत्वपूर्ण उपलब्धी हो ।
तमानखोलाको मुख्य समस्या के हो ? र नेतृत्वका हिसावले प्राथमिकतामा के–के छन् ?
तमानखोला गाउँपालिकाको प्रमुख समस्या शिक्षा र त्यसपछि स्वास्थ्यमा छ । चूनौतीको रुपमा हाम्रो स्थानीय स्रोत छैन । अनुदानमा गाउँपालिका चलाउनु पर्ने बिवशतामा छाँै । यसका बाबजुद हाम्रो गाउँपालिकामा अधिकाशं दलित र जनजातिको बस्ती भएकाले शिक्षामा निकै पछि परेको अवस्था छ । मैले चाहेको विशेष गरी हाम्रो गाउँपालिकाका सबै नागरिकले उच्च शिक्षा पाउनुपर्छ र सबै नागरिक शिक्षित भए मात्र गाउँपालिकाको सम्वृद्धि सम्भव छ भन्ने हो । त्यसैले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर भवन निर्माण गर्ने, शिक्षकहरुको दरबन्दी लगाएतको विषयमा काम गरिरहेका छौ । अहिले सडक सुविधा जोडिए सँगै अब स्वास्थ्यमा पनि सहज पहुँच पु¥याउन प्रयासरत छौ ।
तपाई नेतृत्वको जनप्रतिनिधिको कार्यकाल तीन वर्ष पुरा भो क्यारे । यो अवधिमा गर्व गर्न लायक या महत्वपूर्ण उपलब्धिको यो काम ग¥यौ भनेर भन्नुपर्दा कुन कुन योजना काम सम्झिनुहुन्छ ?
हामी जनप्रतिनिधी भएर आए पछि आफ्ना स्थानीय तहका नागरिकका साना भन्दा साना समस्या सँग जुधिरहेका छौ, समाधानमा लागिरहेका छौ । हामीहरुले काम धेरै ग¥यौ, तर तपाईले भन्नुभएको जस्तो ठ्याक्कै भन्नु पर्दा मध्यपहाडी लोकमार्गको सडक बुर्तिबाङ सम्म विस्तार भएको थियो । त्यो लोकमार्गले निसीखोला छिचोल्दै रुकुम गएकाले त्यस तर्फ सहज सडक सुविधा विस्तार भयो । तर, तमानखोला दुर्गमता भित्र पनि ओझेलमा थियो । हामी आए पछि सांसद, बिभिन्न निकाय सँग पहल, समन्वय गरेर बुर्तिबाङबाट तमानखोला गाउँपालिकाको केन्द्र बोंगोदोभान सम्मको १० किलोमिटर सडक स्तरोन्नति ग्राभेल गरेर गाउँपालिकाको केन्द्र सम्म पु¥यायौ । सडकको बीचमा २ वटा पुल बनाउनुपर्ने थियो । हामी आउनुभन्दा पहिले ५ महिना त्यो सडकमा सवारी चल्ने अवस्था थिएन, तीन वर्षको अवधीमा अधिक महिना निर्वाध रुपमा गाउँपालिकाको केन्द्र सम्म गाडी चल्ने अवस्था बनाएका छौ । चालु आर्थिक वर्षमा पुल निर्माण गरेर बाह्रै महिना सवारी चल्ने वातावरण बनाउने गरी काम गरिरहेका छौ । गाउँपालिकाका सबै टोल–टोलमा सडक सञ्जालले जोडिसकेका छौ । गाउँपालिकाकै सबै भन्दा दुर्गम ठाउँ नर्जाको भित्रिबनमा पनि सडक पु¥यायौ । यो हाम्रा लागि अविस्मरणीय र सम्झनै पर्ने काम हो । नर्जामै १ घर १ धारा कार्यक्रम बनाएर १ सय १४ वटा धारा निर्माण गरेका छौ । स्वास्थ्य क्षेत्रमा बुङ्गादोभान स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनमा ल्याएका छौ । खुङ्खानी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएका छौ । ४ नम्बर वडामा स्वास्थ्य संस्थानै थिएन, सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याएका छौ । २ नम्बर वडामा पनि सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । सामुदायिक विद्यालयमा पनि अभिभावकहरुले शुल्क तिरेर, शिक्षक पालेर छोराछोरी पढाउने अवस्था थियो । त्यो समस्या समाधान गरेर गाउँपालिकाको स्थानीय स्रोतबाट ४६ जना शिक्षकहरुको व्यवस्थापन गरेका छौ । व्यवसायीक रुपमा कृषि गर्न चाहने कृषकहरुको लागि पनि उनीहरुलाई तालिम, विउ र औजार दिने काम गरेका छौ । गाउँपालिकाको पर्यटकीय स्थलको खोजी गरी पुर्वाधार निर्माणको काम सुरु गरेका छौ । वराहताल क्षेत्रमा मन्दिर, धारा, शौचालय बनाउने काम भएको छ । सोलेडाँडामा पनि खानेपानी निर्माण गर्ने र शौचालय निर्माण गर्ने काम भएको छ । सोलेडाँडालाई अझै आकर्षक बनाउनका लागि यो वर्ष थप काम गर्ने योजना छ । एउटा सहिद स्मृति पार्क निर्माणको काम समेत थालेका छौ ।
दुर्गम भनेर चिनिएको तमान तपाई आएपछि दुर पनि होइन भन्ने गरी सडक निर्माण देखि अन्य काम गर्नुभएको छ । तर, सडक टोल–टोल र बस्ती बस्तीमा पु¥याउँदा पहिरो प्रकोपको जोखिम देखिन थालेको छ, ठुलो मात्रामा जनधनको क्षती भएको छ । हामीले अभ्यास गर्दै आएको विकास मोडेल
फेर्नुपर्छ भन्ने जस्तो तपाईलाई लाग्दैन ?
हामीहरुले विकासको पूर्वाधार निर्माण गर्दै गर्दा त्यसबाट हुन सक्ने भवितव्य र सम्भावित जोखिमलाई मध्यनजर गर्दै न्यूनिकणको ख्याल पनि गरिरहेका छौँ । यसका बाबजुद पनि हामीले तयार गरेका पूर्वाधारबाट हामीलाईनै क्षति पनि भइरहेको छ । त्यस्तो क्षति न्यूनिकरणका लागि हामीहरुले सक्दो प्रयास गरिरहेका छौ । हाम्रो जस्तो स्रोत साधनको अभाव भएको, बजेट कम भएको, दीगो विकासको लागि काम गर्न हामीहरुलाई ग्राहो छ । समुदायको आवश्यकता, समस्या तत्कालै परिपूर्ती हुनुपर्छ भन्ने आम धारणा छ । हामीहरुले त्यही दबाबमा बजेट बिनियोजन काम गर्नुपर्ने अवस्था छ । तर,त्यसले दीर्घकालिन रुपमा खराब प्रभाव परिरहेको छ । यसमा सरकार र सरोकारवालाका बीचमा प्रयाप्त वहस जरुरी छ ।
पाँच वर्षको कार्यकाल सकिदाँको तमानखोला कस्तो हुनेछ ?
मेरो नेतृत्वको कार्यकाल तीन वर्ष पुरा भयो । अब करिब दुई वर्ष बाँकी छ । मैले अहिलेनै पुरै कायापलट गर्छु भन्ने भ्रम र महत्कांक्षामा थिएन म । यो कार्यकाल संघीय अभ्यासको पहिलो भएकाले आधार वर्षको रुपमा रह्यो । त्यसको आधार धेरै हिसावले तयार गरेका छौ । अहिले चुस्त सेवा प्रवाह, दीर्घकालिन योजनाको ठोस खाका, आधार सहित प्रणाली स्थापित गर्ने प्रयासमा छौ । त्यस हिसावले आवधिक योजनाका साथै ५ वर्षिय, १० वर्षिया, १५ र २० वर्ष सम्मको फरक फरक रणनीतिक योजना बनाउदै छौ । जसले भोली आउने नेतृत्वले तमानखोलामा त्यही आधार र योजनामा काम गर्न सकोस् । पाँच वर्षमा आधारभूत समस्या हल गरेर सुखद दिशा तर्फ जाने बातावरण चाही हामी तयार गर्न प्रयासरत छौ । तमानखोलाको दुर्गमता तोडेर नयाँ परिचय स्थापित हुनेछ ।