लोप हुँदै दुई सय वर्ष पुरानो ‘बुट्टेनली’

आदर्श अनलाइन, बागलुङ

जिल्लाको धेरै पहिचान छन् । जसमध्ये जिल्लाको बुट्टेनली देशभर प्रख्यात छ । तर, जिल्लाको पहिचानको रुपमा स्थापित बुट्टेनली पछिल्ला वर्षमा लोप हुने अवस्थामा पुगेको छ ।

बागलुङ भित्रिने जो कोहीले बुट्टेनलीका बारेमा चासो राख्छन् । जिल्लाको चिनोका रुपमा लैजान खोज्दछन् । तर, अहिले बुट्टेनली पाउनै छोडिएको छ ।

संस्कृति र परम्परागत हिसाबले महत्वपूर्ण मानिएको हस्तकला कौशलद्वारा बनाइने बुट्टेनली बागलुङको पहिचानका रुपमा राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा प्रख्यात रहे पनि पुस्ता हस्तान्तरण नहुँदा लोपोन्मुख अवस्थामा पुगेको हो ।

बुट्टेनली बनाउन स्थानीय युवा र अन्य व्यक्तिहरु आकर्षित नहुनु, कच्चा पर्दाथको अभाव लगायतका कारण बुट्टेनली लोप हुन थालेको स्थानीय अगुवा बताउँछन् । बागलुङमा बाहिरवाट आउने पर्यटक तथा पाहुनाहरुले सम्झनाको चिनो स्वरुप किनेर लैजाने र उपहार दिने बुट्टेनली बनाउने कलाकार तथा बुट्टेनली बनाउन प्रयोग हुने निगालो बाँसको पनि अभाव खड्किएको छ ।

अहिले बुट्टेनली बनाउने कला कौशल भएका बागलुङमा एक मात्र पात्र बसन्तजंग राजभण्डारी हुनुहुन्छ । बागलुङ बजारको स्थानीय वासीन्दा राजभण्डारीले विगत ३८ वर्ष देखि बुट्टेनली निर्माण र संरक्षणमा सक्रिय हुनुहुन्छ ।

काष्ठकला कुद्न सिपालु कलाकारले निगालो बाँसको नलीमा विभिन्न खाले ऐतिहासिक व्यक्तिका चित्र, जङ्गली जनावर, मयुर, फूल, दृश्य पौराणिककाल देखि आधुनिककालका सांस्कृतिक दृश्य, र प्राकृतिक सुन्दरतालाई कलात्मक तरिकाले कुँदेर तयार पारिएको बासलाई बुट्टेनली भनीन्छ । यस्ताखाले बुट्टेनली तयार पार्ने कलाकारकोे अभावका कारण मसिना बाँस वा निगालोमा विभिन्न चित्र र प्रारुप उतार्दै तयार पारिने बुट्टेनली छिटफूट मात्र देखिन थालेको छ । बुट्टेनलीमा देवीदेवता, पृथ्वीनारायण शाहदेखि विरेन्द्र शाहसम्मका राजा, नेपालका प्राकृतिक छटा र वन्यजन्तुका चित्र कोरेर कलात्मक समेत बनाउने गरिन्छ ।

‘केही वर्ष अघि सम्म बागलुङको चिनारीकोे रुपमा आगन्तुक पाहुनाहरुले खोजी खोजी किनेर लैजाने बुट्टेनली बनाउने व्यक्ति, उचित प्रचार प्रसार तथा स्रोत, साधनकोे अभाव हुँदा लोप हुने अवस्था आएको छ,’ राजभण्डारीले भन्नुभयो, ‘बुट्टेनली निर्माण गर्नेे सीप नयाँ पुस्तामा हस्तान्तरण नहुने र निकै महङ्गो पर्ने हुँदा पनि बुट्टेनली लोप हुने बिन्दुमा छ ।’ बुट्टेनलीको संरक्षणका लागि सबै गम्भीर बन्नुपर्ने अवस्था आएको राजभण्डारी बताउँनुहुन्छ ।

उहाँका अनुसार एउटा बुट्टेनली बनाउन ४ दिन देखि ५ दिन सम्म समय लाग्ने गरेको छ । विभिन्न खालका चित्रहरु कोरेर निर्माण गरिने नलीलाई ३ हजार देखि ५ हजार सम्म र बाँसुरी तथा मुरलीलाई २ हजार पर्ने उहाँको भनाई छ ।

बागलुङमा बुट्टेनली बनाउने कलाकार (कालीगढ) धेरैलाई तयार गर्न खोजे पनि आँफु एक्लो भएको राजभण्डारी बताउनुहन्छ । उहाँ भन्दा अगाडि बागलुङ बजारमा बाबुराम बज्राचार्य हुनुहुन्थ्यो । उहाँको देहान्त भइसकेको छ । बागलुङ उद्योग बाणिज्य संघ र बागलुङ हस्तकला संघले जिल्ला कारागार बागलुङका केही कैदीबन्दीलाई केही वर्ष अगाडी बुट्टेनली सम्बन्धि तालिम दिए पनि बजारको समस्याका कारण हराउन थालेको उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी बताउनुहुन्छ । बुट्टेनलीलाई बचाउन आर्थिक वर्ष २०७४÷७५ सालमा बागलुङ उद्योग वाणिज्य संघले जिल्लामा रहेको धौलागिरी बहिरा आवासिय विद्यालयका २० जना विद्यार्थीलाई समेत बुट्टेनलीको तालिम प्रदान गरिएको संघका अध्यक्ष राजभण्डारीको भनाई छ ।

हस्तकला सिल्पीहरुले तयार पार्ने बुट्टेनली, नेपाली कागज र अल्लोको धागो बागलुङका चिनोको रुपमा मानिन्छन् । बागलुङका हस्तकला तथा संरक्षणप्रेमी अब बुट्टेनली इतिहासमा मात्र सिमित हुने हो कि भन्ने चिन्तामा स्थानीय देखिन्छन् ।

विसं १९९० तिर एउटा बुट्टेनली बनाए बापत कलाकारले मोहोरमा बिक्रि गर्ने भएता पनि अहिले मुल्य बढेको तर एकजनाले मात्र बनाउने बुट्टेनलीले समेत बजार पाउन मुस्किल परेको बताइएको छ । बागलुङको चिनारीलाई संरक्षण र प्रर्बद्धन गर्न सकेमा पर्यटन विकासमा टेवा पु¥याउन सकिने बागलुङ हस्तकला संघका संरक्षक तथा साहित्यकार प्रेम छोटा बताउनुहुन्छ । अढाई सय वर्ष भन्दा पुरानो इतिहास बोकेको बुट्टेनलीलाई बागलुङकै पुरानो कला संस्कृतिको रुपमा लिइदै आएको छोटाले बताउनुभयो । यसको संरक्षण र सम्र्वद्धन र प्रर्वद्धनमा स्थानीय सरकारले नै बिशेष कार्यक्रम ल्याउनु पर्ने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *