सरकार गम्भीर बनोस्, नागरिक सचेत बनौँ

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको तीन महिना बढीको लकडाउन खुल्ला गरे सँगै कोरोना संक्रमणको दर बढ्दो क्रममा छ । अहिले सर्वसाधारणदेखि व्यवसायी सम्म हर क्षेत्र, पेशा, व्यवसायका मानिसहरु क्रमशः नियमित दैनिकीमा फर्किने क्रममा त छन् । तर, कोरोना संक्रमणको ठुलो भयावहका परिदृश्यले सबैलाई झस्काइरहेको छ । पछिल्लो समय विदेशबाट आएकालाई मात्रै होइन, समुदाय स्तरका साथै स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी सम्ममा संक्रमण फैलिदो छ । लामो सकसबीच लकडाउनबाट मुक्ति पाएका नागरिक बढ्दो कोरोना जोखिम, यसको रोकथाम, उपचार र नियन्त्रणबारे के भन्छन् ? अबको विकल्पमा लकडाउन कति उचित, कति अनुचित ? यसको अरु विकल्प के हुनसक्छ ? आदर्शकर्मी साधना पन्तले यसबारे बिभिन्न क्षेत्रका व्यक्तिसँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

लक्ष्मी जिसी कार्की
महिला अधिकारकर्मी

सरकारले विगतमा धेरै गल्ती गरिसकेको छ । सरकारले अरु विकल्प खोज्न भन्दा लकडाउन नै बिकल्प हो भनेर चैतमा लकडाउन ग¥यो । शुरुमै सरकारले विदेशमा भएका मानिसहरुको डाटा संकलन गरेर उनीहरुलाई देशमा सुरक्षित साथ ल्याउने प्रक्रिया चाल्नु पर्ने आवश्यक थियो । सिमानाहरुमा कडाई गरेर चेक जाँच गरेर मात्र प्रवेश गराउने बातावरण बनाउनु पर्ने थियो तर भएन । गल्ती भयो अब त्यसलाई सच्चाउनु पर्ने हुन्छ । अहिले मानिसहरु जथाभावी रुपमा हिडेको पाइन्छ । खास अहिले सचेत हुन आवश्य देखिन्छ ।

स्थानीय तहले पनी जुन किसिमको रणनीति अपनाउनु पर्ने थियो । त्यो किसिमको रणनीति अपनाएको देखिएन । स्थानीय सरकारले सुरुमै हतारिएर राहत वितरण गरेको हो । खास राहत अहिले बाँड्नु पर्ने अवस्था आएको छ । शुरुमा मानिसहरुले थोरै धेरै संकलन गरेर राखेको प्रयोग गर्ने थिए । तर, अहिले सवै सकिसकेको अवस्था छ । राहात अहिले बाँड्नु पर्ने अवस्था छ । स्थानीय सरकारले बनाएका क्वारेन्टिन प्रभावकारी भए जस्तो मलाई लागेको छैन । क्वारेन्टिन व्यवस्थापन राम्रो हुनु पर्ने थियो । खास क्वारेन्टिनबाट पनि धेरै मानिसहरु संक्रमित भएका छन् । संक्रमित र अन्य मानिसहरु सँगै बसेको पाइन्छ । त्यसले गर्दा अरुमा पनि कोरोना फैलियो । अहिले मानिसहरुले पनि लापरबाही गरेको पाइन्छ । जुन शुरुको अवस्थामा मानिसहरु डराएर घरमै बस्ने, माक्सको प्रयोग गर्ने, सेनिटाइजर प्रयोग गर्ने, सामाजिक दुरी कायम गरेको पाइन्थ्यो, त्यो अहिले छैन । यि कारणले अहिले कोरोना फैलिने धेरै सम्भावना छ ।

अब आ–आफ्नो सुरक्षा आफै गर्नु पर्ने हुन्छ । अव सरकाले गर्न सम्भव छैन । आम नागरिकहरु पनि सचेत हुन आवश्यक छ । अनावश्यक रुपमा घर बाहिर ननिस्कने, माक्सको प्रयोग गर्ने, घरेलु उपचार गर्ने, सरसफाइमा ध्यान दिनु आवश्यक छ । सरकार अब घर–घरमा गएर गर्न सक्दैन । अब आफ्नो ख्याल आफै गर्नु पर्दछ । अब कसैमा बिश्वास नगरी आफ्नै सुरक्षा आफै गरौ । बुढापाकाले भन्छन् नि “हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु” त्यही गर्नु पर्दछ अब ।
मासमा गर्नुपर्ने कार्यक्रमहरु रोक लागाउनु आवश्य देखिन्छ । अहिले धेरै त्यस्ता खालका कार्यक्रम भएका छन् । तिज नजिकिदै छ । तिजमा धेरै जम्मा हुने, रमाइलो गर्ने हाम्रो परम्परा पनि हो तर प्रशासनले यस्तो खालका गतिबिधिमा कोरोना महामारी नसकिने समय सम्म रोक लागाउने र स्वंयम् नागरिक पनि सचेत हुन आवश्यक छ ।

हामीहरु बजारमा घुम्दा सामान किन्दा ख्याल गर्नु पर्दछ । जुन पायो त्यो चिज समाती हाल्नु हुदैन । पसले पनि सचेत हुनु पर्दछ । आफ्नो पसल सुरक्षित बनाउनका लागि सबै खालका सुरक्षा सामाग्रीहरु अपनाउन आवश्यक छ । बजारमा देखिन्छ महिला दिदी बहिनी बजारमा डुल्दा बच्चा पनि साथमै लगाएर हिँड्नु हुन्छ । उहाँहरुले आफुले मात्र माक्स प्रयोग गुर्न भएको हुन्छ, बच्चालाई माक्स लगाइदिनु भएको हुन्न । यस्ता खालका लापरबाही गर्नु हुँदैन । र सरोकारवाला निकायको साना–साना कुरामा पनि ध्यान जान आवश्यक छ ।

यो समय डराउनु पर्ने समय हो तर मानिसहरु डराउनु भएको छैन । सरकारले समुदाय स्तरमा कोरोना परीक्षण तिव्र गतिमा गर्नु पर्ने छ । मानिसले आफ्नो सुरक्षा आफै गर्नु पर्दछ ।

दिपेन्द्र घिमिरे
प्रवन्ध निर्देशक
सफल हस्पिटल, बागलुङ

मेरो विचारमा प्रशासन, स्थानीय सरकार, केन्द्रीय सरकार र प्रादेशिक सरकालाई ताकेर कोरोना महामारी कम हुन्छ भनेर बस्ने हो भने कोरोना महामारीको समस्या समाधान हुदैन । यो महामारीबाट बच्नका लागी स्वयम् नागरिकनै अगाडी बढ्नु पर्दछ । सरकारले बनाएका मापदण्डमा रहेर मानिसहरुले आफ्नो काम गर्नु पर्दछ । अहिले मानिसहरु जथाभावी हिँड्डुल गरेको पाइन्छ । त्यसकारण मानिसहरु अनावश्यक रुपमा घर बाहिर निस्कनु हुँदैन । माक्सको प्रयोग गर्ने र सामाजिक दुरी कायम मात्रै गर्ने हो भने कोरोनाबाट बच्न सकिन्छ ।

कोरोनाको समस्या नेपालमा मात्र नभएर विश्वभरीको हो । यसले विश्वलाई नै आक्रान्त पारेको छ । यो अवस्थामा हामीहरु संयमित भएर कोरोना महामारीबाट बच्नु पर्दछ । मानिसहरुले फेरी लकडाउन गर्नु पर्दछ भन्ने कुरा पनि अहिले सुन्नमा पाइन्छ । लकडाउन मात्र समस्याको समाधान होइन । कोरोनाले गर्दा अर्थतन्त्रमा ठूलो असर गरिराखेको छ । यसकारणले सामान्य मानिसहरु लकडाउनले समस्यामा आउँछन् । त्यसकारणले कोरोनाले गर्दा लकडाउन होइन कि कोरोना सँग लडेर कोरोना सँगै जिउने, आफु वरीपरी कोरोनालाई आउन नदिने खालको स्वंयम् मानिसहरुले नै वातावरण सिर्जना गर्नु पर्दछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझै कोरोनाबाट लड्नका लागी हामीहरुमा उच्च मनोबलको आवश्यकता देखिन्छ । त्यसकारण हामीहरुले उच्च मनोबलका साथ आफ्ना कामहरु एकदमै संयमित भएर काम गर्ने । सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग गर्ने, सरसफाइमा ध्यान दिने हो भने हामीहरु कोरोनालाई जित्नेछौ ।

बिना कार्की
कार्यकारी निर्देशक
सेतो गुराँस बाल विकास केन्द्र,बागलुङ

अहिले कोरोनाले विश्वमा रहेका मानिसहरुलाई आतंकित बनाएको अवस्था छ । हाम्रो देश नोपाल झन् खुल्ला सिमानाका कारण कोरोनाले धेरै प्रभावित भएको हामीहरुले महशुस गरेका छौ । हामीहरुले लकडाउन पनि गरेर हेरिसकेका छौ । तर, लकडाउन समस्याको समाधान रहेनछ भन्ने कुरा आइसकेको छ । हामीहरु कोरोनाबाट आतंकित हुनु हुँदैन जस्तो मलाई लाग्दछ । हामी आम नागरिकले कोरोना बाट लड्न सरकारलाई कुर्नु हुँदैन । आफै सचेत हुन आवश्यक मैले देखेको छु । मानिसहरुले आफु र आफ्नो परिवारलाई कसरी सुरक्षित राख्ने भन्ने कुरामा आफै सचेत हुनु पर्दछ । मानिसहरु अति आवश्यक काम बाहेक बाहिर निस्कन नहुने देखिन्छ । आफु पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित महशुुस गराउने काम आम नागरिकलेनै गर्नु पर्दछ । कोरोनाबाट बच्नका लागि हामीहरुले सरकारलाई गाली गर्ने प्रशासनलाई लागि गर्नु भन्दा स्वंयम् आफु सचेत रहने हो भने समस्याको समाधान आफै हुने देखिन्छ ।

हाम्रा स्थानीय तहबाट विभिन्न प्रयासहरु भई राखेका छन् कोरोना महामारीबाट बच्नका लागि । यस्तो महामारीको अवस्थामा स्थानीय सरकार हुने थिएन भने आम नागरिकले भोग्नु पर्ने अवस्था आउने थियो । तर, स्थानीय सरकाले धेरै राम्रा कामहरु गरेका छन् । वडा स्तरबाटनै जनप्रतिनिधिले धेरै राम्रो कामहरु गर्नु भएको छ । क्वारेन्टिन व्यवस्थापन, आइसोलेसन व्यवस्थापन देखि लिएर राहात वितरण सम्म राम्रो भुमिका खेल्नु भएको छ । तर, भने जस्तो आम नागरिकले सोचे जस्तो नभएको होला । त्यो आफ्नो ठाउँमा छ । काम गर्ने कुरामा हुन्छन् कमिकमजोरी त्यसलाई सच्याउदै आगामी दिनमा प्रभावकारी रुपमा काम हुन्छ भन्ने पनि मैले विश्वास गरेको छु । अहिले सम्म भएका गल्ती कमिकमजोरीलाई छलफल गरेर अबको दिनमा झन् राम्रो सँग काम गर्नु पर्ने पनि छ ।

अब बाहिरबाट आउने मानिसहरुमा मात्र कोरोना नभएर समुदायमा पनि फैलिएको छ । काम गर्ने क्रममा स्वाथ्यकर्मीमा कोरोना देखिएको छ । उहाँहरुले काम गर्ने क्रममा साबधानी अपनाउदा अपनाउदै पनि कोरोनाबाट जोगिन सक्नु भएको छैन । त्यसकारण साबधानी अपनाउन आवश्यक छ । कोरोना लागेका मानिसहरु निको हुदै जानु भएको छ । त्यसले गर्दा अव हामीहरुले समुदायमा कोरोना फैलिन नदिनका लागी धेरै सावधान अपनाउनु पर्ने देखिन्छ । त्यसका लागी सरकार, प्रहरी प्रशासनले मात्र गरेर हुँदैन । अब हामी आम नागरिक सचेत हुने आवश्यक छ । आफ्नो सुरक्षा आफै गर्न आवश्यक छ । आम नागरिकले साबधानी अपनाउने हो भने कोरोनाबाट बच्न सजिलो हुन्छ ।
हामीहरुले प्रहरी प्रशासन, स्वाथ्यकर्मीलाई सहयोग गर्नु पर्दछ । प्रहरीहरुले आफ्नो ज्यान जोखिममा राखेर माक्सको भरमा हामीहरुको सेवामा लाग्नु भएको छ । पत्रकारहरु सही सुचना दिन दिनरात खट्नु भएको छ । जनप्रतिनिधि, कर्मचारीहरु व्यवस्थापनमा जुट्नुभएको छ । उहाँहरुलाई हामी आम नागरिकले सहयोग गर्नु पर्दछ । हाम्रो सुरक्षाका लागि खटिएका स्वाथ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र जनप्रतिनिधिका लागि हामीहरुले उहाँहरुलाई पनि सुरक्षित महशुस गराउनका लागि आम नगारिकले माक्स,सेनिटाइजर प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, सरसफाइमा ध्यान दिने, अनावश्यक बाहिर हिँड्डुल गर्नु हुदैन ।

मैले थोरै बालबालिकाको बारेमा पनि जोड्न चाहे । अहिले सवै भन्दा प्रभाव परेको बालबालिकामा हो जस्तो मलाई लाग्दछ । लामो समय घर भित्रै बसेका छन् बालबालिकाहरु । अझै हामीहरु अन्यौलमा छौ कहिले विद्यालयहरु खोल्ने भनेर । हुन त विद्यालयले अनलाइन मार्फत कक्षा सञ्चालन गरिराखेको छ । तर, कतिपय बालबालिकामा इन्टरनेटको पहँुच छैन । पुस्तकको पहुँच छैन । त्यसकारण अहिले रेडियो मार्फत खेल्दै सिक्दै भन्ने कार्यक्रम प्रसारण भईराखेका छन् । राष्ट्रिय सेतो गुराँसले रेडियो नेपाल मार्फत प्रसारण गरेको छ । अभिाभावक शिक्षा कार्यक्रम पनि छन् । हाम्रा लोकल रेडियोमा पनि बजिराखेका छन् । बालबच्चालाई फरक खालको सिकाई सिकाउने, माटोबाट भाँडाकुटी बनाउन भन्ने, चित्र बनाउन भन्ने र बच्चाले बनाएका कुराहरुलाई राम्रो छ भनेर प्रोत्साहित गर्नु पर्दछ । अभिभावकले सिकेर आँफ्ना बालबच्चालाई शिक्षित बनाउन यो समयमा आवश्यक भएका कारण अहिले बालबच्चालाई अभिभावकले आफ्ना बालबच्चालाई अलिकति समय छुट्याएर केही सिकाउनका लागी सम्पूर्ण अभिभाबकलाई अनुरोध गर्न चाहान्छु ।

यो पनि पढ्नुहोस्

सरकार गम्भीर बनोस्, नागरिक सचेत बनौँ

  1. Dipendra Ghimire sir le rakheko kura bata ma sahmat chu.. Waha le bhaneko kura aayo cha.. Mask lagaune, social distance maintain garne… Lockdown le Kehi hudaina, desh ko chhati bhahek.. Great sir..

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *