अलबिदा राष्ट्रकवि !

सम्पादकीय
नेपाली हामी रहौला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
यि र यस्ता कालजयी सिर्जनाका सर्जक राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलवार निधन भएको छ । जीवनका एक शताब्दी अर्थात १ सय २ वर्षको आयु बाँच्नु सामान्य कुरा थिएन । उसो त मानिसहरुको आयु उमेर र अवधिमा होइन, कर्मले नापिन्छ । स्वयम् राष्ट्रकवि घिमिरे सय वर्ष बाँच्नु ठुलो कुरा होइन भन्थे । यो यथार्थ बिषय पनि हो । तर, राष्ट्रकवि घिमिरेले आफ्ना जीवनकाल कति सिर्जनशिल बाँचे, त्यो आजको समयमा प्रष्ट देखिएको छ । उनको देहान्त अघिका सयौ पुरस्कार र प्रतिष्ठित सम्मानहरुले त्यसलाई थप ओझिलो बनाएको छ ।

१९७६ मा जन्मिएका घिमिरे जीवन यात्राको भौतिक जीवन र काव्ययात्रामा शतोपरि एक वर्षमा अर्थात २०७७ असोज ७ गते १०२ वर्षमा प्रवेश गर्ने)क्षणमा पूर्ण विराम लागेको छ । यसले सम्पूर्ण नेपाली स्तब्ध तुल्याएको छ । अत्यन्त सक्रिय र सद्भावपूर्ण रहेर स्रष्टा घिमिरेको सिर्जना यात्रा साढे आठ दशक सम्म अनवरत चल्नु आफैमा सामान्य बिषय होइन । त्यसमा पनि धिमा गतिमा लेख्ने तर कालजयी रचना सृजना गर्ने उनको वैशिष्ट्यले नेपाली काव्यजगतलाई अविस्मरणीय गुन लगाएको छ । कवि शिरोमणि लेखनाथ पौड्यालको परिष्कारवादी शैली तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्वच्छन्दतावादी भावधाराको समीकरण गरेर सुन्दर, स्तरीय र चिरस्मरणीय कविता, गीत र खण्डकाव्य सृजनामा राष्ट्रकवि घिमिरेले अद्वितीयता प्राप्त गरेका छन् । उनका शास्त्रीय र लोकछन्दमा रचित ९ वटा खण्डकाव्य पापिनी आमा, नयाँ नेपाल, गौरी, राजेश्वरी, राष्ट्रनिर्माता, धर्तीमाता, गौंथली र गजधम्मे, बोराको परदा र इन्द्रकुमारीमध्ये पत्नी शोकमा रचित गौरी उनको सर्वाधिक लोकप्रिय खण्डकाव्य हो । ऐतिहासिक पृष्ठभूमिका राजेश्वरी र राष्ट्रनिर्माताले मानवीय मूल्य र जीवनबोध तथा राष्ट्रिय अखण्डताको अपरिहार्यतालाई सौन्दर्यपूर्ण शैलीमा प्रस्तुत गरेका छन् । उनका अधिकांश फुटकर कविता र गीत पनि उस्तै कर्णप्रिय, गम्भीर र सोचनीय छन् ।

राष्ट्रकवि घिमिरेको जीवन पनि प्रशंसा र आलोचनाको कसीमा भने रह्यो । उनको सिर्जनशिलताको कदर सम्मान स्वरुप राष्ट्रकविको उपाधि सम्मान दिने देखी घिमिरेलाई अलौकिक अवतारको संज्ञा दिने ठुलो समूह छ भने सत्ताको सेवामा सदा ‘हाजिर’ र जनताको परिवर्तनका आकांक्षामा सदा ‘गयल’ हुने कोटीमा घिमिरेलाई राख्ने पनि गरिएको छ । यसमा वस्तुनिष्ठ मूल्यांकनको तराजुमा आज र भोलीको समयले जोख्ने छ नै । कवि कृष्ण सेन ‘इच्छुक’को हत्या गर्ने ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनले दिएको ‘राष्ट्रकवि’ उपाधि धारण गरेर उनले खासमा सारा नेपाली कविहरूको अपमान गरेको संगीन आरोप उनी माथि छ । त्यसमाथि, बार्धक्यको उचाइतिर उनले मानार्थ सहायक रथी पनि स्वीकार गरे । यद्यपी राष्ट्रकवि घिमिरेको शब्द–शिल्प, मिठास सिर्जनाले भने सिंगो नेपाल र नेपाली कायल बनिरह्यो । यस सत्यको आलोकमा उनी सदा सम्मानित रहिरहनेछन् । अलबिदा राष्ट्रकवि !

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *