गुरुकुलमा जातका आधारमा कसैलाई निषेध नगरिओस्

सम्पादकीय
बागलुङ जिल्ला सँग सामाजिक आन्दोलनका सन्दर्भमा गर्विलो इतिहास छ । चाहे त्यो भगत सर्वजित बिश्वकर्माले शुरु गरेको समानताका लागि दलित आन्दोलनको अभियान होस्, या बलेवामा ब्राह्मण परिवारका हेमराज शर्माले गरेको हलो क्रान्तिको अभियान होस् । यसले देशभरमै तत्कालिन समाजमा विकृत रुप धारण गरेर बसेको परम्परा, सँस्कार, सँस्कृति, चिन्तनमा परिवर्तन ल्याउन अभूतपूर्व भुमिका खेल्यो । भगत सर्वजतिले शुरु गरेको दलित आन्दोलनले अहिले देशमा छुट्टै उचाई र उपलब्धि हासिल गरेको छ । वि.स. २००३ सालमा दलित भित्रको एक जात संगठित भएर सुरु गरिएको आन्दोलन २००४ सालमा पुग्दा पहाडका दलित भित्र पर्ने सबै जातहरु एउटै संगठनमा बस्न सक्ने स्तरमा पुग्यो । ०२४ सालमा पुग्दा आर्य खस, दलित, मधेसी दलित र नेवार भित्रको दलित एउटै राष्ट्रिय स्तरको संगठनमा गोलवद्ध हुने स्तरमा विकास भयो । छुवाछुतको विरोधबाट शुरु भएको आन्दोलन २०२४ सम्म पुग्दा यसले राज्यका निकायमा आरक्षण दाबी हुँदै आज धेरै परिवर्तन र समानतामा आइपुग्यो । यता,बागलुङकै बलेवाका हेमराज पौडेलले २००७ सालको परिवर्तन पछि हलो क्रान्ति चलाउनुभयो । ब्राम्हण परिवारका पौडेलले हलो जोत्दा तत्कालिन समयका मुखिया, ठालुहरुले उहाँलाई सामाजिक बहिष्कार समेत गरेका थिए ।

आज फेरी बागलुङ नगरपालिका ४ स्थित मुक्तिनाथ सँस्कृत वेद बिद्याश्रममा समान शिक्षाको अभियान र, धार्मिक अभियन्ता बीचको शित युद्ध तथा वहसले चर्चा पाएको छ । वेद बिद्याश्रममा दलित जनजाति समुदायका बालबालिकालाई पढाउनका लागि स्थानीय युवा चन्द्रकान्त पौडेलले आवाज बुलन्दित गरेका छन् । नेपालको संविधान, वर्तमान व्यवस्था अनुसार र फेरी आजको समयको आवश्यकताका हिसावले पनि यो स्वभाविक र जायज माग हो । तर, नेपाली समाजको प्रवृत्तिका हिसावले यो एक किसिमको सामाजिक आन्दोलन या विद्रोह बन्न पुग्नु चाही नेपाली समाजको बिडम्बना हो । त्यसको कँुडुलेका स्थानीयले गरेको बिरोध र आक्रोशले पनि प्रष्ट गर्दछ । र व्यवस्थाहरु बदलिए पनि अझै हाम्रो समाज कस्तो सोच, चिन्तन र व्यवहारमा छ भन्ने बुझ्न यही उदाहरण काफी छ । उसो त पौडेल आँफै छाडा हिसावले सामाजिक सञ्जाल, सञ्चार माध्यममा पोेखिदाँ यो अभियान पवित्र हुँदा–हुँदै पनि यसको अन्र्तय अरु नै केही हो कि भन्ने पनि संशय र द्धिविधा पैदा भएको छ । पण्डित पौडेलले यो सामाजिक अभियानमा स्वामी कमलनय आचार्य र ऋषि प्रपन्नचार्य ढोंगी भएको र यसमा अवरोध गरेको संगीन आरोप लगाएका छन् । यदी प्रत्यक्ष या घुमाउरो रुपमा निषेध गर्ने नियत अन्र्तनिहित साँच्चिकै छ भने त्यो गम्भीर सोचनीय बिषय हो । मुक्तिनाथ वेद विद्याश्रममा संस्थापकदेखि हाल सम्ममा यि तिनैको मात्रात्मक रुपमा धेरै थोरै होला तर कुनै न कुनै रुपमा अमुल्य भुमिका र योगदान छ । अहिले धार्मिक यि अभियन्ताका बीचमा आरोप प्रत्यारोप घृणाको स्तरमा पुगेको छ । यो राम्रो संकेत र सन्देश होइन ।

हामी सबैले बुझ्नुपर्ने तथ्य के हो भने सँस्कृत वेद विद्याश्रम सरकारी विद्यालय भएकाले कुनै जातका आधारमा नपढाउने या पढाउदैनौ भन्ने बिषय नै रहन्न । फेरी यसमा कुनै धर्मले पनि भेद गरेको छैन । अर्को सत्य के हो भने आजको दिन सम्म कुनै दलित या जनजातिका सन्तानले पढ्ने चाहना हुँदा–हुँदै पढ्न बञ्चित गरेको घटना छैन । विद्यालयले अरु जातका बिद्यार्थी र महिला अहिले सम्म सँस्कृत पढ्नका लागि नआएको जनाएको छ । यद्यपी, अहिलेको गुनासोका सन्दर्भमा विद्यालय परिवार, बागलुङ नगरपालिका, स्थानीय प्रशासनले सहज बातावरणका लागि पहल र समन्वय गर्न जरुरी छ । यदि कसैले संविधानलाई चूनौती दिन्छ भने त्यसको छुट्टै कानुनी उपचार पनि छ । तर, कुनै व्यक्तिगत आग्रह पूर्वाग्रह लिएर कसैलाई अपराध करार गर्ने कसैको नियत छ भने त्यो गम्भीर बिषय हो । तसर्थ गुरुकुलमा सबैले पढ्न पाउँछन्, पाउनुपर्छ । यसमा व्यक्तिगत कुण्ठा वा अरु बिषय मिश्रित गरेर ‘सेन्टिमेन्ट ब्लाकमेलिङ’ गर्ने दुस्साहस कसैबाट नहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *