ढोरपाटन, विपतको पीडा र राहत

सम्पादकीय
हरेक वर्ष जसरी क्यालेण्डरका पाना फेरिन्छन् । उसैगरी प्रकृतिले पनि मौसम फेर्छ । तर, त्यो फेरिने मौसममा हरेक वर्षको वर्षायाम निकै सकसलाग्दो हुन्छ । कहिले बाढी, कहिले पहिरोले नागरिक जीवनमा आक्रान्त तुल्याउँछ । गरिब, बिपन्न, दिनदुखीका बस्ती उठाउँछ । कतिको परिवारनै सखाप बनाउँछ । कतिको जीवन अंगभंग अचकल्टो बनाइदिन्छ । कतिको जीवन उजाड, उदास बनाएर छोड्छ । यस्तो लाग्छ कि प्रकृति निर्मम छ । र हामी त्यसको दास हौ । जे पर्छ, त्यो सहनु बाहेक हाम्रा विकल्प छैनन् । फेरी विपत्ति बाजा बजाएर पनि आउँदैन । यो जुनसुकै पल, क्षणमा जुनसुकै ठाउँमा आउन सक्छ । त्यसैले यसको कुनै भौगोलिक सीमा छैन । तर, यो सत्य हो की जहाँ भुगोल कमजोर छ, जटिलता अप्ठ्यारा भीर, पाखा पखेराहरु छन् । त्यहाँ गरिब, विपन्न, दिनदुखीहरुनै बस्न बाध्य छन् । जसको शिकार पनि उनीहरु हुन बाध्य भएका छन् ।

बुधवार राति बागलुङको पश्चिम ढोरपाटनमा अकल्पनीय विपत्ति आइलाग्यो । ढोरपाटन शिकार आरक्षको देउराली नजिकैको पहाड खसेर खोला थुनिएर एकै साथ खुल्दा स्थानीय भुजीखोलामा ठुलो बाढीको रुप लियो । जसमा ढोरपाटन नगरपालिकाका १४ जना नागरिकले एक निमेषमै ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ३८ जना अझै बेपत्ता छन् । सिंगो ३१ घर बगाएको छ । अरु १ सय बढी घरमा बाढीको पानी पसेर बस्न कठिन अवस्था छ । यस्तो अवस्थामा सरकारदेखि नागरिक सम्मको जिम्मेवारीपूर्ण भुमिका जरुरी हुन्छ । अहिले स्थानीय बेपत्ता भएका नागरिकको तत्काल खोजी तथा उद्धारमा जुट्ने कार्य नै मुख्य हुन्छ । यस बाहेक बाढीको बितण्डाबाट प्रभावित बनेका नागरिकलाई कसरी तत्काका लागि अस्थायी बसोबास र दीर्घकालिन बसोबासको व्यवस्था मिलाउने कुरा पनि उत्तिकै संवेदनशिल छ । यसका साथै बिस्थापित भएका, परिवार गुमाएकाहरुलाई कसरी सम्हालेर राख्ने, खानपानको व्यवस्थापन गर्ने बिषय पनि गम्भीर छ ।

अहिले पहिरो सँगै आएको बाढीका कारण पश्चिम क्षेत्रमा जुन खालको क्षति भएको छ । यो सम्भवतः जिल्लावासीका लागि मात्रै होइन, प्रदेश र देशमै यस वर्षकै सबै भन्दा ठुलो क्षतिको रुपमा आउन सक्ने आँकलन गरिएको छ । बाढीबाट मानवीय क्षतिको कुरा मात्रै होइन, भौतिक क्षतिको पनि कुनै आँकलन छैन । घरका साथै सडक सञ्जालमा पनि ठुलो क्षति भएको छ । बुर्तिबाङबाट ढोरपाटनका ६,७,८ हुँदै ९ सम्म पुग्न सडक क्षतबिक्षत अवस्थामा छ । यसबाट अब नेपालकै एक मात्र शिकार आरक्ष पनि सडक सञ्जालबाट सम्पर्क बिच्छेद भएको छ । यि सडक निर्माण गरेर पुर्ववत अवस्थामा फर्काउन निकै ठुलो चूनौती अहिले देखिएको छ । यसमा लाग्ने खर्चका हिसावले स्थानीय सरकार मात्रैले यो सम्भव देखिन्न । कतिपय स्थानमा त पैदल यात्रा गर्न समेत भीरको बाटो प्रयोग गर्नुपर्ने अवस्था देखिएको छ । त्यसैले सहज आवागमन गर्ने बातावरण जतिसक्दो छिटो बनाउने तर्फ तीन तहको सरकार र सरोकारवालाको ध्यान जानुपर्छ । जसले राहतदेखि अरु पूर्वाधार निर्माणका लागि पनि सहजता हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *