ढोरपाटन स्थलगत रिपोर्टः बाढी पीडितलाई तत्काल अस्थायी तर चुस्त बास र गाँसको प्रबन्ध

डम्मर बुढा मगर, बागलुङ

जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर-९ को देउराली छेउको पहाड खसेर खोला थुनियो । ठूला–ठूला रुखसँग झरेको पहाडले भूजीखोला करिब डेढ घण्टा थुनिए पछि एक्कासी फुट्यो । खोला थुनिएर बनेको ताल एकै साथ बग्न थाले पछि बाढीको रुप लियो ।

जसले भूजीखोलाका तटिय क्षेत्रका बस्तीमा अकल्पनीय क्षति पु¥यायो । बाढीले ढोरपाटनका १६ जनाको ज्यान गयो । २२ जना अझै बेपत्ता छन् । ८० घर बगाएको छ ।

बाढीले उठिवास लाएपछि भूजीखोलाबासी कोही आफन्त र अधिकले यतिबेला सडकको कुनामा आश्रय लिएका छन् । खाली खुट्टा, एकसरो कपडामा पानीले भिझेका बालबालिका थुरथुर काँप्दै बलिन्धारा आँशु झारिरहेका थिए । केही युवा उद्धार कार्यमा दौडधुप गरिराखेका थिए भने केही बृद्धबृद्धा आफ्ना बाढीमा परेका आफन्त भेटिने आशमा टोलाई रहेका देखिन्थे ।

ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारबाट करिब १ घण्टाको यात्रापछि दोगाडीबाट माथि तिर लागियो भने बाढीले बढी क्षति पु¥याएका भौतक संचरनाहरु देख्न सकिन्छ । खोला छेउमा रहेका अधिकांश घर पूर्ण रुपमा भत्किएका छन् भने कतिपयको आधा भाग बगाएको छ । बोबाङ गाउँदेखि माथि झनै ठूलो क्षति भएको छ । अझ बढी क्षति त वडा नम्बर ८ को होकटदेखि माथिको वडा नम्बर ९ को क्षेत्रमा भएको छ । होकट भन्ने स्थानमा मानवीय क्षति नभए पनि धेरै घरहरु भत्किएको र दर्जनौँ पशुचौपाया बगाएको स्थानीय बताउँछन् ।

होकट भन्दा माथि फल्लेघर सम्मको तटिय क्षेत्रका ३१ घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने करिब ४० भन्दा बढी घरमा क्षति भएको छ । अहिले ८० परिवारका नागरिकहरु मध्ये केहीले आफन्तको आश्रय लिएका छन् भने धेरैजसो बाढी पीडितहरु सडक र बारीका पाटामा पाल टाँगेर रात काटिरहेका छन् । प्रारम्भिक राहत स्वरुप दिएका केही खाद्य सामग्रीले गाँस टरेको छ ।

नेपाल प्रहरी, नेपानी सेना, सशस्त्र प्रहरी बल र स्थानीय वासिन्दा उद्धार र बेपत्ताको खोजीमा छन् भने पीडित नागरिक भोकभोकै खुला आकाश मुनी छन् । मानवीय संवेदनाको हिसाबले पनि सबै भन्दा पहिले घाइतेको उपचार र अन्य नागरिकलाई अस्थायी रुपमा भए पनि पुर्नस्थापना गर्नु पर्ने हो ।

तर, त्यो कार्य भने प्रभावकारी देखिएको छैन । वर्षात्को समय छ । जतिबेला पनि वर्षा हुन सक्छ तर उनीहरु ओतिने ठाउँ छैन । उनीहरुलाई आफन्त गुमाएको, बस्ने बास गुमाएको पीडाको त कति हो कति छ । तर, त्यसमाथि बाँच्नु पर्ने, खानुपर्ने गाँस, सुत्नुपर्ने बासको चिन्ताले पनि उत्तिकै चिन्तित तुल्याइरहेको छ ।

बाढीग्रस्त भएको क्षेत्रमा पुगेका सुरक्षाकर्मीहरु उद्धारका लागि सक्रिय छन् भने राहत लिएर जानेको लर्को पनि बाक्लै देखिन थालेको छ । उनीहरुमा सबैभन्दा पहिले बाढी पीडितलाई के कसरी व्यवस्थापन गर्ने भन्नेमा व्यवहारिक योजनामा ध्यान नपुगेको देखिन्छ । बेपत्ता भएकाहरुको खोजी सँगै बाढीबाट प्रभावित परिवारको उद्धारका लागि सबैभन्दा पहिले अस्थायी बास र गासको व्यवस्थापन गर्नुपर्छ ।

तर, बाढीको अवलोकन गर्ने र फोटो खिचाउनेहरुको संख्या बढी छ । स्थानीय थमप्रकाश सुनारले सबै भन्दा पहिले सम्बन्धित निकायले पीडितलाई तत्काल बस्ने व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले घरबार बिहिन भएका नागरिकहरुको सबै सम्पति बाढीले बगाएकाले उनीहरुलाई खान बस्नको सुनिश्चित गरेर अरु दीर्घकालिन योजनामा सरकार र सम्बन्धित निकायले काम गर्नुपर्ने बताउनुभयो । ‘तलबाट सरहरु सबै आउनुभयो, भत्केको घर हेरेर जानुभयो । तर, उनीहरुलाई बस्न र खानको कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा चित्त बुझ्दो जवाफ र तयारी मैले पाइन,’ उहाँले भन्नुभयो ‘घर सहित सबै बाढीले लग्यो, अब हामीले के खाने ? कहाँ बस्ने ? यो बारेमा भन्दा अरु कुरामा जोड दिनुभयो ।’

बाढीले क्षति गरेको क्षेत्रमा तीन वटा टोली हेलिकप्टर मार्फत ढोरपाटन पुग्यो । यसले यो घटनालाई केही गम्भीर र महत्वपूर्ण रुपमा लिएको आभाष त भयो । तर, अब प्रभावित परिवारलाई तत्काल र दीर्घकालिन के कस्तो व्यवस्थापन हुन्छ भन्नेमा पीडितहरु अन्यौलमै रहेका छन् ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को टोली हेलिकप्टर मार्फत भूजीखोला पुग्यो भने शनिवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ राहत सामग्री सहित पुग्नुभयो । त्यसअघि पीडितलाई सान्त्वना र राहत प्रदान गर्न नेपाली कांग्रेसका नेता जीत शेरचन र दोर्ण कुवँरको टोली पनि बिहिबारनै हेलिकप्टर मार्फत घटनास्थल पुग्यो ।

गाडी मार्फत बाढीग्रस्त क्षेत्रमा राहत पु¥याउन अहिले निकै चुनौतीपूर्ण छ । त्यहाँ पुग्ने सडक बाढीले बगाउँदा तत्काल गाडी मार्फत पु¥याउन गाह्रो देखिन्छ । सडक सुचारुको लागि सम्बन्धित निकायले तत्काल काम अगाडी बढाउन सकेन भने हेली बाहेक अरु विकल्प देखिदैन ।

यसको विकल्प सडक खुलाउनु नै हो । सडक पनि बाढीका कारण धेरै स्थानमा मान्छे समेत हिँड्न नमिल्ने भासिएका छन् । यस कारण सडक सञ्चालन गर्न पनि धेरै समय लाग्ने देखिन्छ । तत्काल संचालनको लागि सम्बन्धित निकायले तदारुकताका साथ धेरै मेसिनहरु प्रयोग गरेर काम सुरु गरेमा भने सम्भावना निकट हुन सक्छ ।

बाढीले सडको विभिन्न स्थानमा बगाउँदा पैदल यात्रा गर्न समेत सकसपूर्ण छ । ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने अवस्था छ । राहत छिटो भन्दा छिटो पु¥याउनका लागि नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारले बाटो तत्काल खुलाउनु पर्ने वडा नम्बर ८ का अध्यक्ष नन्दे सुनारले बताउनुभयो । ‘नसोचेको विपत्ति भयो, हामीले यस्तो घटना होला भन्ने त सोँचेका पनि थिएनौँ, अकल्पनीय भयो,’ वडा अध्यक्ष सुनारले भन्नुभयो ‘यो विपद्को घडीमा सबैले सहयोग गर्न आग्रह गर्छु, अहिले त घरबार बिहिन भएकाहरुसँग खाने बस्ने केही छैन, यस्तो बर्खाको समय छ, उनीहरुको व्यवस्थापनका लागि लागिरहेका छौ ।’

उहाँले अहिले विस्थापित भएका परिवारलाई ढोरपाटन राख्ने सकिने विकल्प भएको बताउनुभयो । यसको लागि संघीय सरकारले नै बिशेष पहल गर्न आवश्यक रहेको उहाँको भनाई थियो । ‘यहाँका धेरै नागरिकहरु दुई सिजनमा लेक र औल बसाइँ गर्ने गर्छन्, वर्षामा ढोरपाटन र हिउँदमा बोबाङ, लगायतको ठाउँमा बसाई छ’ उहाँले भन्नुभयो ‘विस्थापित परिवारलाई ढोरपाटननै व्यवस्थापन गर्न ठूलो सरकारले योजना बनाउनु पर्छ, यतिबेला सबै औल झरेको भए धेरैको ज्यान जान सक्थ्यो ।’

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बाढी पीडितको व्यवस्थापनको लागि नगरपालिकाले सही रुपमा व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले सबै पीडितहरुको तथ्याङ्क तयार पारेर त्यस अनुरुप व्यवस्थापनमा लाग्ने बताउनुभयो । ‘यसवर्ष दुख घटना भयो, यस घटनाले सबैलाई दुखित बनाएको छ, पीडित परिवारलाई व्यवस्थापनाका लागि हामीले योजना बनाएर लाग्नु पर्ने हुन्छ,’ मेयर नेपालीले भन्नुभयो ‘धेरैजसोको ढोरपाटनमा पनि घर छ,त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा हामी छलफल गर्दैछौँ, पीडितहरुलाई सहज हुने तरिकाले व्यवस्थापन गर्छौँ ।’

भिडियो पनि हेर्नुहोस्

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *