संकटमा सहकारी बहस : अबको बाटो र विकल्प ?

कोरोना भाइरस (कोभिड १९) का कारण मानिसको जनजीवन लयमा छैन । विश्व अर्थतन्त्र प्रभावित छ । नेपालमा पनि पछिल्लो ६ महिना यता कोरोना संक्रमण र जोखिमका कारण जीवन र दैनिकी सकसपूर्ण बनिरहेको छ । कोरोनाका कारण धौलागिरीमा स्थापित सयौ सहकारी आफ्ना शेयर सदस्यलाई मुनाफा बाँड्ने बेला सम्म अब के गर्ने भन्ने अन्यौल र द्विविधामा देखिन्छन् । अहिलेको कोरोना संकटमा सहकारीको साधारणसभा कसरी गर्ने ? लामो समय अर्थतन्त्र प्रभावित भइरहेको संकटको समयबाट सहकारीलाई कसरी पुरानै लयमा फर्काउने ? आफ्ना शेयर सदस्यलाई यो कठिन क्षणमा कसरी सहयोग गर्ने र सहकारीको पृथक योगदानको अपनत्व र अनुभूति दिलाउने ? यी र यस्ता प्रश्नको सेरोफेरोमा आदर्शकर्मी साधना पन्तले धौलागिरीका बिभिन्न सहकारीकर्मीहरुसँग सहकारीको अबको बाटो र विकल्पमा केन्द्रीत रहेर कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

रुद्र गुरुङ
प्रबन्धक
कुमारी बहुउदेश्यीय सहकारी संस्था, म्याग्दी

कोरोनाले गर्दा सवै क्षेत्रमा समस्या छ । कोरोनाले गर्दा लकडाउनको समयमा पनि हामीले कार्यालयमा एक जना कर्मचारी खटाएर सदस्यलाई सेवा दिएका थियौ । अहिले थोरै खुकुलो भएता पनि सजगता भने अपनाउनु पर्नेछ । हामीहरुले सुरक्षाका सामग्रीहरु अपनाएर ७ हजार सदस्यलाई सेवा दिएका छौ ।

सहकारीले पौष मसान्त भित्रमा साधारण सभा सम्पन्न गर्नु पर्ने हुन्छ । यो समयमा हामीहरुले कसरी साधारण सभा गर्ने भनेर सञ्चालक समितिको बैठक बसेका थियौ । हामीहरुले क्षेत्रिय रुपमा, सामाजिक दुरी कायम गरेर साधारण सभा गर्ने निर्णय गरेका छौ । हामीहरुले क्षेत्रीय रुपमै प्रतिवेदन दिने, सदस्यसँग राय सल्लाह सुझाव संकल गरेर छलफल गराउने कुरा भएको छ । हामीहरु सहकारी विभागले भने बमोजिम र कोरोना रोकथामका लागि सरकारले बनाएको मापदण्ड अनुसार साधारण सभा गर्ने निर्णय भएको छ ।

हाम्रो सहकारी बहुउद्देश्यीय सहकारी संस्था हो । हामीले नेपाल सरकारको सहकारी ऐन नियम अनुसार, हाम्रो विनियम विधि, विधानमा तोकिए अनुरुप काम गरेका छौ । हामीले हाम्रो सदस्यहरुका लागि अतिरिक्त क्रियाकलापमा हित कोषको निर्माण गरेका छौ । शेयर सदस्यको कोरोना बिमा गरेका छौ । र यो साल हामीले नयाँ अभ्यासको रुपमा क्षेत्रीय रुपमा साधारणसभा गर्ने निर्णय गरिएको छ । हामी यो वर्षको हाल सम्मको कामहरु कार्यक्रमको मुल्याङ्कन गरी आगामी योजना बनाउने प्रकृयामा छौ । कृषी, शिक्षा जस्ता विभिन्न क्षेत्रमा लगानी गर्ने योजना छ । हामीले विभिन्न सहकारीसंग सम्वादमा छौ । कोरोनाले गर्दा सहकारीमा तरलता धेरै भएको छ । यसलाई जलबिद्युतमा पनि लगानी गर्ने की भनेर सोचेका छौ र छलफलमा नै छौ हामी अहिले ।

अहिलेको कुरा गर्दा सबै लगानीकर्ताहरु हतोत्साहित भएको अवस्था हो । नयाँ सदस्यले पनि यो समयमा कुन क्षेत्रमा लगानी गर्ने, कसरी काम गर्ने भनेर अन्यौल भएको हामीहरुले महशुस गरेका छौ । हामीहरुले पहिले पनि विभिन्न सामाजिक, सरकारी, गैरसरकारी संघ संस्था सँगको सहकार्य र समन्वयमा व्यवसाय प्रर्वद्धन गर्ने, कृषिमा आधुनिकरण गर्ने तालिम सञ्चालन गरेका थियौ । व्यवसाय गर्ने मानिसहरुलाई व्यावसायिक सीप सिकाउनका लागि तालिमको व्यवस्था गर्ने गरेका छौ । यो हामीले निरन्तर चलाई राख्नेछौ । सदस्यलाई सहज रुपमा सेवा प्रदान गर्दै आएका पनि छौ । आगामी दिनमा पनि हामीले सदस्यलाई सुलभ तरिकाले सेवा दिनेछौ । कोरोनाले गर्दा देशमा धेरै समस्या आएको छ । ती समस्यालाई समाधान गर्नका लागि सवै निकायहरु एक भएर काम गर्नु पर्दछ जस्तो मलाई लागेको छ ।

अशोक गोविन्द राजभण्डारी
अध्यक्ष
बागलुङ बहुउद्देश्यीय सहकारी संस्था बागलुङ

हाम्रो सहकारीले कोरोना कहरका बीचमा हाम्रा सदस्यहरुलाई असार मसान्त सम्मका लागि ब्याजमा १० प्रतिशत छुट दिएका थियौ । कोरोना महामारीको बीचमा हाम्रा सदस्यलाई सदस्यको आवश्यकता अनुसार अप्ठ्यारो परेको समयमा हामीहरुले २ लाख सम्म लगानी समेत गर्ने भनिएको थियो । यस बीचमा हाम्रो सहकारीले मानव सेवा आश्रममा पनि १० हजार सहयोग गरेका छौ । हाम्रो सहकारीमा बाढी पिडीत ढोरपाटनमा ५ हजार सहयोग गरेका छौ । अहिले कोरोनका कारण हामीहरुले ब्याज दर घटाएका छौ । हामीले यो संकटका बीच पनि हाम्रा सदस्यलाई १८ प्रतिशत मुनाफा दिने लक्ष्य बनाएका छौ ।

हाम्रो सहकारीको साधारणसभा त्यसमा पनि यो वर्ष निर्वाचन गर्नु पर्ने समय हो । नियम अनुसार पौष मसान्त सम्म समय छ । त्यो समय सम्म केही गरी बजार खुकुलो भयो, समान्य अवस्था भयो भने हामीहरुले दशै तिहार पछि गर्नेछौ । होइन, अहिलेको जस्तो अवस्थानै हुन्छ भने हामीहरुले सरकारले जस्तो किसिमले गर्ने भन्छ, सोही अनुसार गर्नेछौ । हामीहरुले लेखा परीक्षण सकिसकेका छौ । हाम्रो सहकारीको किराना पसलबाट राम्रो विक्री वितरण भएको छ । त्यस कारणले हामीहरुले यो वर्ष पनि सदस्यलाई राम्रो मुनफा दिने आशा गरेका छौ ।

कोरोनाले गर्दा यो समयमा हामीहरुले धेरै तयारी, योजना बनाउन पाएका छैनौ । अहिलेको परिस्थितिमा बैंकले व्याजदर घटाइ सके पछि सहकारीमा अहिले निक्षेप मात्र धेरै आएको छ । लगानी छैन । यसले गर्दा मानिसहरुको आम्दानीको स्रोत घटे पछि व्यापार पनि राम्रो सँग उठ्न सकेको छैन । सहकारीले कर गर्ने कुरा पनि हुँदैन । यस्तै अवस्था रहिरहने हो भने आगामी सालमा हामीहरुले सदस्यलाई मुनाफा उन्नत हिसाबले दिन गाह्रो हुन्छ । सहकारीमा विभिन्न कोषहरु भएका हिसाबले सहकारी बलियो छ । अब बागलुङमा सहकारीहरुको स्थिति दयनिय हुन सक्दछ । सहकारीमा पैसा जम्मा गर्न मात्र आउने मानिसहरु धेरै हुने भएकाले लगानी नभए पछि ब्याज आउँदैन । बैंकले हिजो १२ प्रतिशतमा लगानी गर्नेले आज ७, ८ प्रतिशतमा झारेकाले यस्तो अवस्था भएमा सहकारीलाई अप्ठ्यारो पर्दछ । अहिलेको परिस्थितिमा सहकारीहरु धेरै नाजुक अवस्थामा छन् । अहिले ठूलो सहकारीमा निक्षेप जम्मा हुने लगानी नहुने र साना सहकारीलाई कसैले नपत्याउने अवस्था भएको छ ।

अहिले कोरोनाले गर्दा मानिसहरु के गरौ ? कसो गरौ भन्ने अवस्थामा छन् । आम्दानीको श्रोत बन्द भएका छन् । बसेर खाने मात्र भएको छ । हामीले यस्तो अवस्थामा बसेका हाम्रो शेयर सदस्यलाई सहज रुपमा व्याज दिन सक्दछौ । बिना धितो भनेको २ लाख सम्म मात्र हो जुन पनि सहकारीले । हामीले हाम्रा सदस्यलाई यस्तो अप्ठ्यारो समयमा व्याज दिनै पर्छ भनेर भन्न मिल्दैन । त्यस कारणले हामीले सदस्यलाई व्याज नभई हुँदैन भन्ने वातावरण सृजना गरेका छैनौ । यो समय भनेको कठिन समय भएकाले सवै एकजुट भएर नयाँ काम गर्ने मानिसहरुलाई प्रोत्साहित गर्नुपर्दछ । सहज रुपमा ऋणको व्यवस्था मिलाउनु पर्दछ जस्तो मलाई लाग्दछ ।

मिना श्रेष्ठ
प्रवन्धक
गल्कोट बहुउद्देश्यीय सहकारी संस्था गल्कोट, बागलुङ

कोरोना महामारीले गर्दा सुरुवाती चरणमा हामीले सूचना प्रकाशन गरेर २ हप्ता जति कार्यालय बन्द गरेका थियौ । कार्यालय बन्द गरे पनि हामीले सदस्यलाई म आफैले घरबाट अति आवश्यक परेकालाई आकास्मिक सेवा दिएको थिए । त्यस पश्चात हामीले कार्यालय खोलेर बजारमा नजाने तर कार्यालय भित्र ३ जना कर्मचारीले सदस्यलाई सेवा प्रदान गरेका हौ । कर्मचारीको सुरक्षाको ख्याल गरेर माक्स, सेनिटाइजर, ग्लब्स प्रयोग गरी हामीहरुले काम गरेका छौ । हामीहरुले सदस्यलाई दिने ब्याज र लिने ब्याज दुवै घटाएका छौ ।

सहकारीलाई सवै भन्दा समस्याको कुरानै साधारण सभा कसरी गर्ने भन्ने छ । मन्त्रालयबाट सहकारीको साधारण सभाको विषयमा एउटा निर्देशिका आएको छ । त्यसलाई नै मध्यनजर गरी सदस्यहरुलाई साधारण सभामा कसरी सहभागी गराउन सकिन्छ भनेर संचालक समितिमा पनि छलफल भईराखेको छ । हामीले सदस्यलाई संस्थाको प्रतिवेदन घर घरमा पु¥याएर संस्थाको लागी सदस्यले दिएको सुझाबहरु संकलन गरी साधराण सभामा छलफल चलाउने सोचेका छौ । अहिले अनलाइन मार्फत धेरै बैंठक, कार्यक्रम भएका छन् । तर, साधारणसभा सम्भव नहुने हामीले बुझेका छौ । हाम्रा सदस्यहरु सवै इन्टरनेटको पहुँचमा नभएकाले भर्चुअल साधारण सभा सम्भव नहोला । साधारण सभामा ५१ प्रतिशत सदस्यको सहभागिता जरुरी भएकाले हामीहरुले कसरी गर्ने भन्ने कुराको अझै छलफलमा छौ ।

हामीले सदस्यलाई सेवा दिने कुरामा विभिन्न योजना बनाएर कसरी सदस्यलाई सुविधा दिने भनेर काम गरेका थियौ । तर, अहिले कोरोनाले बाधा सिर्जना गरिदियो । कोरोनाले सहकारीलाई प्रत्यक्ष रुपमा प्रभाव पा¥यो । हामीले सोचेका थियौ सवै बन्द भए पछि अब सदस्यहरु बचत फिर्ता गर्न आउनु हुन्छ । तर, हामीले सोचेको भन्दा उल्टो भयो । सहकारीमा फिर्ता गर्ने भन्दा बचत गर्ने धेरै आउनु भयो । यसले गर्दा सहकारीमा तरलता धेरै भयो । यस्ता खालको समस्याले गर्दा सहकारीमा अहिले समस्या आएको छ । अब हामीहरुले यो समस्यालाई कसरी समाधान गर्ने भनेर संचालक समिति सँग छलफल चलाएका छौ ।

कोरोना हाम्रो नेपालको मात्र समस्या नभएर विश्वकै समस्या हो । यसले गर्दा विभिन्न समस्या ल्याएको छ । यसले विशेषतः अर्थतन्त्रमा ठूलो समस्या ल्याएको छ । यसबाट पनि हामीले केही सिक्न सकिन्छ । हाम्रो सहकारीका सदस्यहरु विभिन्न पेशा व्यवसाय गर्नु हुन्छ । उहाँहरुको समस्या कस्तो छ भनेर हामीहरुले समस्याको बारेमा बुझेका छौ । ऋण लिएका सदस्यको क्षमता कस्तो छ ? कहिले सम्म हामीलाई ऋण तिर्न सक्नुहुन्छ भनेर पनि बुझेका छौ । उहाँहरु सँग बसेर छलफल गरेर उहाँहरुले भने अनुसार असार मसान्तबाट यता हामीहरुले व्याज मात्र लिएका छौ । सक्नेले सबै दिनु भएको छ, नसक्नेले जे जति सक्नु हुन्छ त्यति नै लिएका छौ । हाम्रो सहकारीले हर्जना कहिल्यै लिदैनौ । यो समय सबैलाई समस्या भएको छ । त्यसकारण हामीहरु जहाँ जुन ठाउँमा भए पनि जे जति सकिन्छ, आफ्नो तर्फबाट सबैलाई सहयोग गर्न सकिन्छ जस्तो मलाई लाग्दछ । तर, स्थानीय प्रदेश र केन्द्र सरकारले कोरोनाले असर पारेको समयमा सरकारी पक्षबाट कुनै पनि मानिसहरुलाई सहयोग नगरेको समयमा सहकारीले ठूलो भूमिका खेलेको छ । बालुवा गिट्टी उठाउने मानिसदेखी ठूला ठूला कारखाना चलाउने मानिसलाई सहकारीले सबै प्रकारको सहयोग गरेको छ । र आगामी दिनमा पनि गर्नेछ ।

शारदा शर्मा
प्रवन्धक
दिदिबहिनी बचत तथा ऋण सहकारी संस्था, म्याग्दी

हामीले कोरोना महामारीको समयमा हाम्रो संस्थाले सञ्चालन गरेको मुठ्ठीदान कार्यक्रमबाट लगभग ४५ हजारको स्वास्थ्य सामाग्री म्याग्दी अस्पताललाई हस्तान्तरण गरेका थियौ । सहकारीका सदस्यलाई हामीहरुले असार मसान्त सम्मको व्याजमा १० प्रतिशत छुट दियौ । कोरोनाले गर्दा हाम्रा सदस्यलाई समस्या नपरोस् भनेर १२ प्रतिशतमा ऋण लगानी गर्ने भनेर निर्णय गरिएको छ । कोरोनाले गर्दा सहकारी क्षेत्रमा पनि ठूलो समस्या ल्याएको छ । यस्तो समयमा हामीहरु हाम्रा सदस्यको साथमा रही सदस्यलाई नियमित सेवा दिएका छौ । हाम्रो संस्थाको अहिले लेखा परीक्षणको काम भईराखेको छ । अब संस्थाको साधारणसभा गर्नका लागी हाम्रो संचालक समितिको बैंठक भए पछि हामीहरुले सूचना प्रकाशन गर्ने छौ । मन्त्रालयबाट पनि सहकारीको समाधारण सभा गर्ने विषयमा नयाँ निर्देशन आएको हुँदा सोही अनुसार गर्ने सल्लाह भएको छ ।

हाम्रो दिदी बहिनी सहकारी भनेको नाफा कमाउने उद्देश्यले भन्दा पनि महिला दिदी बहिनीलाई सबल बनाउने उद्देश्यले सञ्चालन गरिएको हो । दिदीबहिनीलाई आर्थिक हिसाबले कसरी समुन्नत गराउन सकिन्छ भनेर विभिन्न कार्यक्रम गरिरहेका छौ । हामीहरुले युवा स्वरोजगार, महिला दिदी बहिनीका लागी चुरा पोते बनाउने लगायतका सीपयुक्त तालिम बेला बेलामा गर्दै आएका छौ । आगामी दिनमा व्याजमा केही भए पनि सहज बनाउने, आर्थिक रुपमा महिला दिदी बहिनीहरुलाई सबल बनाउनका लागी विभिन्न किसीमका तालीम, कार्यक्रम गर्ने योजना छ ।

सहकारी होस् वा अन्य क्षेत्र । महिलालाई प्राथमिकता दिएर महिला स्वंयम् स्वरोजगार हुने खालका तालिमहरु सञ्चालन गराउनु अति आवश्यक छ । अहिले महिलाले मात्र एक्लै काम गरेर घर परिवार चलाएका महिला दिदी बहिनीहरु पनि धेरै हुनुहुन्छ । महिलालाई सबल बनाउन, आफ्ना लागि आफै काम गर्नका लागि सहज वातावरण सृजना गर्नू पर्दछ । सिप सिकाउनु पर्दछ, सहज रुपमा व्यवसाय गर्ने महिलालाई ऋण उपलब्ध गराउनु पर्दछ जस्तो मलाई लाग्दछ । महिलालाई घर भित्र मात्र सिमित गराउनु भएन । कति महिला दिदी बहिनीहरु म गर्छु भनेर अगाडी आए पनि साथ सहयोग हौसला नदिने गर्दा उहाँहरु पछि हटेको पाइन्छ । त्यसकारण सवैले सहयोग साथ दिन आवश्यक देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *