संकटमा सहकारी बहसः अबको बाटो र विकल्प ?

कोरोना भाइरस (कोभिड १९) का कारण मानिसको जनजीवन लयमा छैन । विश्व अर्थतन्त्र प्रभावित छ । नेपालमा पनि पछिल्लो ६ महिना यता कोरोना संक्रमण र जोखिमका कारण जीवन र दैनिकी सकसपूर्ण बनिरहेको छ । कोरोनाका कारण धौलागिरीमा स्थापित सयौ सहकारी आफ्ना शेयर सदस्यलाई मुनाफा बाँड्ने बेला सम्म अब के गर्ने भन्ने अन्यौल र द्विविधामा देखिन्छन् । अहिलेको कोरोना संकटमा सहकारीको साधारणसभा कसरी गर्ने ? लामो समय अर्थतन्त्र प्रभावित भइरहेको संकटको समयबाट सहकारीलाई कसरी पुरानै लयमा फर्काउने ? आफ्ना शेयर सदस्यलाई यो कठिन क्षणमा कसरी सहयोग गर्ने र सहकारीको पृथक योगदानको अपनत्व र अनुभूति दिलाउने ? यी र यस्ता प्रश्नको सेरोफेरोमा आदर्शकर्मी साधना पन्तले धौलागिरीका विभिन्न सहकारीकर्मीहरुसँग सहकारीको अबको बाटो र विकल्पमा केन्द्रीत रहेर कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

लक्ष्मी छन्त्याल
सह–प्रबन्धक
यातायात सहकारी संस्था लि. बागलुङ

बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणवाट नेपाल पनि अछुतो रहन सकेन । अन्य देश भन्दा ढिलो गरी नेपालमा प्रवेश गरेको भाइरस यतिखेर भयावह बनिरहेको छ । नेपालको सन्दर्भलाई हेर्न हो भने हालसम्म ६ हजार भन्दा माथिमा संक्रमण देखिएको छ । करिब ५ सयको हाराहारीमा संक्रमितहरुले ज्यान गुमाएका छन् । भाइसरका कारण मुलुक यतिखेर केही हदसम्म लकडाउनको अवस्थामा रहिरहेको छ । व्यापार व्यवसाय प्रायः ठप्प जस्तै बनिरहेको छ । जसका कारण देशको अर्थतन्त्रमा पनि ठूलो असर परेको छ । यसैगरी, बागलुङ जिल्लामा पनि संक्रमण देखिए पछि लकडाउन र समुदायमा फैलिए पछि निषेधाज्ञाका कारण प्रायः सवै क्षेत्रमा प्रत्यक्ष असर भयो । यो मारमा सहकारीहरु पनि परेका छन् । यो अवस्थालाई मध्यनजर गरी हाम्रो सहकारीले शेयर सदस्यहरुलाई सके सम्म सेवा प्रवाह गर्ने प्रयास ग¥यौ । स्थानीय तह र जिल्ला प्रशासन तथा जिल्ला सहकारी संघले निर्देश गरे अनुरुपमा रहेर सेवा दिने काम भयो ।

विगतका वर्षलाई हे¥यौ भने यतिखेर करिव करिव प्रायः सहकारीहरुले आफ्नो बार्षिक साधारण सभाको तयारी गरिरहेका हुन्थे । तर, कोरोना संक्रमणका कारण सवै सहकारीहरुको वार्षिक साधारणसभा प्रभावित हुने देखिएको छ । सँगै हाम्रो यातायात सहकारी पनि प्रभावित बनेको कुरालाई नकार्न सकिदैन । तथापी, हामीले अहिले प्रचलनमा आएको जुम अर्थात भर्चुअल माध्यमवाट गर्ने की भन्ने सोच बनाएका छौ । र परिस्थितीको मुल्यांकन गरी काम गर्ने तयारी भैरहेको छ । र अन्य बिषय पनि प्रभावित बनिरहेको अवस्था छ । थप सहजताको पर्खाइमा छौ ।

देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको वर्तमान अभ्यासलाई हेर्ने हो भने विगतका अभ्यास भन्दा अलि फरक रुपमा गइरहेको छ । सहकारीहरुमा पनि परिवर्तन आवश्यक देखिएको सन्दर्भलाई मुल्यांकन गर्ने हो भने पनि सहकारी ऐन, नीति, नियममा रहेर काम गरेका प्रायः सहकारी देखिदैनन् । त्यसैले परिवर्तनको खाँचो छ । चाहे त्यो हामी हौ या अरु, सहकारीको नीति नियममा बाँधिएर काम गर्न सहजता नहुन सक्छ । तर, पालना जरुरी नै देखिन्छ । हामीले पनि हाम्रो उद्धेश्य अनुरुप काम गर्ने प्रयासमा रहिरहेको सन्दर्भमा कोरोनाका कारण केही समस्या सिर्जना भएको छ । आगामी दिनमा त्यसलाई सार्थकता दिने प्रयास गरिरहेका छौ । सहकारीलाई केही हदसम्म माथी उठाउनका लागि संचालक समिति, अन्य उपसमिति, शेयर सदस्य र कर्मचारी बीचको सम्वन्धलाई सुमधुर बनाउँदै योजनाबद्ध रुपमा जाने प्रयास रहनेछ ।

कोरोना संक्रमणका कारण अर्थतन्त्र प्रायः ठप्प नै छ । र यसले समग्र देशको विकास गतिलाई समस्या पारिरहेको छ । अर्थतन्त्र चलायमान हुन नसक्दा सहकारीका मात्र होइन, देश विकासको गतिविधिमा पनि नराम्रो असर परिरहेको सन्दर्भमा सहकारी मार्फत नागरिकलाई माथी उठाउनका लागि उनीहरुको मनोभावना बुझेर उत्पादनका क्षेत्रमा लगानी गर्नका लागि ऋण प्रवाह गर्न सक्यौ र तरलताको सही सदुपयोग गर्न सक्यौ भने पक्कै पनि नागरिकको जीवनस्तरलाई माथी उठाउन सकिनेछ । नाफामुखी भन्दा पनि बढी सेवामुखी भई काम गर्न सकेको खण्डमा सहकारी प्रतिको आकर्षण पनि बढ्दै जाने छ ।

अर्जुन पोखरेल
प्रवन्धक
त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लि. बुर्तिबाङ बागलुङ

गत वर्षको चैत्र ११ गते देशब्यापी लकडाउन भइसके पछि करिब १ हप्ता जति त सम्पुर्ण क्षेत्र पुर्ण रुपमा सुनसान नै भयो । त्यसपछि सहकारी बिभाग तथा नियामक निकायको निर्देशन बमोजिम सके सम्म त हामीले सदस्यलाई घरमै बस्नका लागि अनुरोध ग¥यौं । उहाँहरुलाई चाहिएको रकम फोन माफर्त कुरा गरेर घरमै लगि नगद दिएर चेक लिएर पनि चलायौं । कार्यालयमा सिमित कर्मचारी उपस्थित भएर सदस्यलाई साबुन पानी वा स्यानिटाइजर, माक्स प्रयोग, भौतिक दुरी कायम गराइ सेवा प्रवाह गराइरहेका थियौ । पछि संघिय सरकार तथा सरोकारवाला निकायले लकडाउन खुल्ला पारी अर्थतन्त्रलाई चलायमान गराउने उद्धेश्यले जनजीवन साधारण बनाउने प्रयास गरेता पनि कोरोना भाइरसको जोखिम नघटेकोले हामीले हाल सम्म पनि भौतिक दुरी, माक्स, स्यानिटाइजर जस्ता विधिलाई सदस्यहरुलाई अनिवार्य नै गरी कामकाज गरिरहेका छौं ।

लेखा परीक्षण, रिपोर्टहरु लगायत अन्य आन्तरिक तयारीहरु करिब सकिसक्यो । सदस्यलाई निरन्तर सम्पर्क गरिरहेका छौं । तुलनात्मक रुपमा कम साक्षर र इन्टरनेट पहुँच पनि कम भएको क्षेत्र भएकोले भर्चुअल पनि सम्भव छैन । संघीय तथा स्थानीय सरकार र सहकारी विभागको ठोस निर्देशन कुरिरहेका छौं । अन्य गतिविधिमा कर्जाको विषयमा हामीले असार मसान्तमा सबै ऋण सदस्यहरुलाई सोध्यौं । अवस्था बुझेर तिर्न आग्रह गरेका थियौं । यसले हाम्रो उठ्न बाँकी व्याज सोचे भन्दा भन्दा राम्रो उठ्यो । हामीले कसैलाई पनि कर गरेका छैनौं, बरु सदस्यहरुलाई व्यवसाय पुर्नउत्थान ऋण आवश्यक छ की भनेर सोधपुछ गरेका छौं । कोरोनासँगै बाँच्ने हो, आवश्यक सुरक्षा सर्तकता अपनाएर व्यवसायलाई निरन्तरता दिन हामीले सदस्यहरुलाई सक्दो सहयोग गरिरहेका छौं । अहिले पनि राम्रो वित्तिय कारोवार चलिरहेको छ ।

बिषेशतः हामीले कृषि, साना तथा मझौला उद्यमी र लघु जलविद्युतलाई प्राथमिकतामा राखी कारोवार गरिरहेका छौं । आउँदो ३ बर्ष भित्रमा कुल लगानीको कम्तीमा ३५ प्रतिशत ब्यावसायिक कृषिमा लगानी गरी सदस्यलाई आत्मनिर्भर बनाउने योजनाका साथ अगाडि बढिरहेका छौं । र सदस्यको लगानी अनुरुपको प्रतिफल पनि दिइरहेका छौं ।

सहकारीहरुले सदस्यको घर–घरमा पुगेर उहाँहरुको आर्थिक तथा अन्य समस्याहरु संकलन गरी गम्भीर ढंगले अध्ययन गर्न जरुरी छ । जीवनस्तर उकास्नका लागि सदस्यको आर्थिक सहयात्रीको रुपमा सहकारी अगाडी बढ्नुपर्ने देखिन्छ । यसो भन्दैमा ऋण लगानीको नाममा सदस्यको रकम गलत नियत भएका व्यक्तिहरुको हातमा नपुगोस् भन्ने कुरामा पनि सहकारी चनाखो हुनुपर्ने जरुरी देखिन्छ । यसका अलावा व्यापारिक भिजन सल्लाह, सुझाव, सीपमुलक तालिम, आन्तरिक रोजगारिको सिर्जना जस्ता कुरामा सहकारीले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । ऋणको किस्ता बुझाउन वास्तविक अप्ठ्यारो परेका सदस्यहरुको परिवारमा ऋणको किस्ताको कारण मानसिक तनाव देखि अन्य पारिवारिक दुर्घटना हुन नदिने कुरामा पनि सहकारी चनाखो हुनुपर्ने देखिन्छ ।

नरेन्द्र कँडेल
प्रबन्धक
सहारा बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङ

कोरानाको संक्रमणमा सहारा सहाकारीले आफना कर्मचारीलाई कोरोनाको संकमणवाट जोगाउदै सुरक्षाका सामग्रीको प्रयोग गर्दै शेयर सदस्यको फोनको भरमा घर–घरमा वचत रकम पु¥याउने काम गरियो । लकडाउनको समयमा पनि शेयर सदस्यहरुलाई साना तिना रकमको खाँचो नपरोस् भनेर भरपुर प्रयत्नशिल रह्यौ ।

कोरोनाको समयमा सहकारीका गतिविधिलाई सहकारी विभागले गरेको निर्देशन अनुसार शेयर सदस्यलाई निरन्तर रुपमा सेवा प्रदान गर्ने कुरालाई मुख्य योजना बनाई अगाडी बढ्ने योजना छ । र अब रह्यो साधारण सभाका कुरा यो अवस्था हेरिकन जति सम्भव सहज बनायर गर्ने योजनामा छौ ।
वर्तमान अवस्थामा सहकारीहरु बल्ल बामे सर्दै गरेको अवस्था छ नियामक निकायले अझै राम्रो सँग काम गर्ने सकेको अवस्था छैन । यस अवस्थामा सहकारीका पनि धेरै कमी कमजोरीहरु छन् । सहकारीले आगामी दिनमा सहकारी ऐन २०७४ को पालना गर्दै आफनो शेयर सदस्यको जीवनस्तर उकास्नका लागि उनीहरुलाई व्यावसायिक बनाउदै लैजाने योजना छ ।

आज विश्वको अर्थतन्त्र नै कोभिडकाका कारणले अस्तव्यस्त भइरहेको वर्तमान अवस्थामा सहकारीहरु पनि यसको शिकार भइरहेका छन् । त्यसकारण सहकारीले आफनो स्पष्ट वित्तिय नीति बनाउँदै नागरिकलाई व्यावसायमा लाग्नका लागि सस्तो ब्याजदरमा ऋण लगानी गरेर उनीहरुलाई त्यसतर्फ अग्रसर बनाउन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *