घरेलु मदिराबारे पहिले कानुन सच्याउ

अहिले बागलुङ जिल्लामा नयाँ प्रहरी प्रमुखको आगमन भएको छ । प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको आगमन सँगै घरेलु मदिरा बरामद, फरार अभियुक्त पक्राउमा बिशेष जोड र सक्रियता देखिएको छ । तर, घरेलु मदिरा नष्टका बिषयमा नागरिक स्तरबाट आलोचना भइरहेको छ । के जिल्लामा नयाँ प्रहरी प्रमुख आउँदा साथ चर्चाको भोक हुन्छ ? घरेलु मदिरा बरामदको निशाना बनाइरँहदा अबको प्रहरी प्राथमिकता केके हुन्छ ? आदर्श अनलाइनकर्मी डम्मर बुढा मगरले नवआगन्तुक प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठ सँग पाँच प्रश्न गरेका छन् ।

१. घरेलु मदिरा नष्टको विषयमा स्थानीयद्धारा र सामाजिक सञ्जाल मार्फत पनि व्यापक विरोध भइरहेको छ नि ? यसलाई कसरी लिनुभएको छ ?
‘जिल्ला प्रहरी कार्यालय बागलुङको अठोट, शान्ति सुरक्षा अपराध नियन्त्रित बागलुङ जिल्लाको बनोट’ मा जिल्ला प्रहरी कार्यालय बागलुङ लागेको छ । यो एउटा हाम्रो मुख्य काम अपराध नियन्त्रण, शान्ति सुरक्षा नेपाल प्रहरी संगठनको, गृह मन्त्रालयको, नेपाल सरकारको हो । यो अनुसार हामी अगाडी बढेका छौँ ।

हाम्रो कानुनले संविधान अनुसार जुन पनि अपराधिक क्रियाकलाप अथवा शान्ति सुरक्षामा पर्ने र नियम कानुनले दिएको कुराहरु नियन्त्रित गर्नु एउटा सुरक्षा निकायको हिसाबले नेपाल प्रहरीको जिम्मा हो । घरले मदिरा नेपालको कानुन र नेपाल सरकारले वैधानिकता दिएको छैन । कानुनले नै घरेलु मदिरालाई अवैध हो भनेको छ । यदि त्यो अन्त शुल्कबाट ब्राण्डेड हो भने त्यसलाई नियम अनुसार गर्नुप¥यो । अहिले त्यस्तो हामीले केही गरेका छैनौ । धेरै गर्न बाँकी छ । त्यो गर्ने तयारीमा छौँ र भइ पनि रहेको छ । हामीले सुरुमा पसलहरुमा गएर घरेलु मदिरा विक्री वितरण नगरिदिनु होला । यो कानुन विपरित हो भनेर पसल–पसलमा गएर सम्झाउने काम गराएका छौँ । अहिले जुन मदिरा नष्ट गर्ने काम भएको छ, यो हामीले नियम कानुन बमोजिम गरेका छौँ ।

२. सर्वोच्च अदालतले पनि ५ लिटर रक्सी र १० लिटर जाँड बनाउन दिनु भन्ने आदेश जारी गरेको छ । तपाईहरुले बरामद र नष्ट गर्नुपर्ने कारण चाही ?
हामीले जुन काम गरेका छौँ, त्यो कानुन अनुसारनै गरेका छौँ । हामीले मदिरा नष्ट गर्नुको कारण अपराध नियन्त्रण तथा शान्ति सुरक्षा हो ।

३. यसलाई अवैध होइन, ब्राण्ड बनाएर करको दायरामा ल्याउनुपर्ने बहस व्यापक उठेको छ नि । यसमा यहाँको भनाई ?
सरकारको निमय कानुन अनुसार अगाडी बढ्दा सफल बन्न सकिन्छ । यसमा उद्योगी, व्यापारी तथा स्थानीय तह र नेपाल सरकारको नियम परिवर्तन भए हामी सोही अनुसार अगाडी बढ्छौ । त्यसो भयो भने कसैले पनि बन्देज गर्न सक्दैन । प्रहरी जहिले पनि अवैध ऐन कानुन नियम विपरितका सबै खालको गतिविधि रोक्न समर्पित हुन्छ । यो हाम्रो दायित्व र जिम्मेवारी हो । कानुन सच्याएर आए जो कसैले खुल्ला रुपमा पनि गर्न सक्छन् ।

४.नयाँ प्रहरी प्रमुख आए पछि रक्सी बरामद गरेर नष्ट गर्ने लगायतका अभियान केही समय चलाउने फेसन जस्तो भएको गुनासो छ । यो सत्य हो ?
यो त मलाई थाहा भएन । तपाईहरुलाई थाहा होला त्यो । विगतमा के भयो । अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको लागि जे–जे कुरा आवश्यकता हुन्छ र फ्रन्टलाईनमा जे–जे देखिन्छ, त्यहीबाट काम गर्दै जाने हो । अहिले त तपाईहरुले घरेलु मदिरा मात्रै देख्नुभएको छ । म आएदेखि धेरै फरार अपराधी पक्राउ भयो खै त त्यसको चर्चा ? त्यो तपाईहरुको हातमा छ ।

५. अब जिल्लामा यहाँको मुख्य प्राथमिकताको विषय केके रहन्छ ?
अपराध नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी लिएर आएको छु । त्यसको लागि आवश्यक पर्ने कानुन र नियमले दिएको अधिकार प्रयोग गर्ने र कानुन र नियमले बन्देज गरेकाहरुलाई चाहीँ नियन्त्रित गर्ने । यसमा घरेलु मदिरा प¥यो । फरार अपराधी प¥यो । लागु औषध पर्छ । त्यसमा विभिन्न कुराह पर्छन् । जसले सामाजिक बनावटमा खलबल पुराउँछ र निमय कानु विपरित काम गर्छ ती सबैमा लाग्छौँ । अहिले भर्खरै योजना नभनौँ । तपाईहरुले नतिजा पाउँदै जानुहुन्छ । अर्को एउटा कुरा के भने नागरिकको सुरक्षित गन्तव्य पनि नेपाल सरकारको जिम्मा हो । नेपाल सरकारको यो एउटा निकाय भएकोले त्यसको लागि पनि व्यवस्थापन गर्न हामी लाग्ने छौँ । अब चाडपर्व आउँदै छ, यो अवधीमा अतिनै दुर्घटना हुने गर्छन् । दुर्घटना न्यूनिकरण तथा सुरक्षित गन्तव्य पनि हाम्रो योजनामा छ ।
(आदर्शकर्मी डम्मर बुढा मगरसँगको कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *