युवा, अमेरिका सपना र सकस

सम्पादकीय
अमेरिका आजका अधिक युवाको सपनाको देश र गन्तव्य हो । युवा मात्र होइन, अभिभावकहरुको पनि सके सम्म आफ्ना सन्तान अमेरिका जस्तो ठुलै देशमा पुगोस् भन्ने चाहना र कामना दुवै हुन्छ । जहाँ पुग्नका लागि युवाहरु जे जस्तो कदम र जोखिम उठाउन पनि तयार हुन्छन् भन्ने अनगिन्ती उदाहरण छन् । आफ्नो ज्यानको समेत कुनै प्रवाह छैन, ठुलो धनराशी खर्चिन्छौ, जो बीचमा थोरै मात्र समस्या भए पनि फर्किएर जीवन लयमा हिँडाउन निकै मुश्किल हुन्छ । तर पनि नेपालीको एक विवशता र परिवन्दकाबीचि कैयन उडेर मात्र होइन, दर्जनौ चुनौती मोलेर हिँडेर समेत अमेरिका पुगिरहेका छन् ।

अमेरिका पुग्ने सपनाले आज कैयन युवाको जीवन चौतर्फी तनाव र दबाबको दोसाधमा छन् । पुगेकाहरुको जीवन के कस्तो चल्दो छ ? त्यो खोज अध्ययनको बिषय होला । तर, अमेरिका सपनाले बाटो तय गरेर दलाल मार्फत ठगिएर नेपालमै रोकिएका, बीच बाटोबाटै फर्काइएकाहरुको जीवन र भविष्य अझ कहाली लाग्दो छ । पछिल्लो समय मात्रै १४ वटा देशको ट्रान्जिट हुँदै अमेरिका छिर्न खोजेका ६ नेपाली युवा लाखौँ सिध्याएर दुई वर्ष जेल बसी स्वदेश फर्केका छन् । मानव तस्कर समूहको पछि लागेर मेक्सिकोबाट अमेरिका छिर्न खोजेका उनीहरूलाई अमेरिकाका सुरक्षाकर्मीले नेपाल नै ल्याएर छाडिदिएका छन् । गत १४ असोजमा चार्टड विमानमार्फत अमेरिकाले उनीहरूलाई नेपाल ल्याइदिएको हो । दाङ, झापा, रुकुम पूर्व, बागलुङ र दोलखाका युवा यसको सिकार भए । उनीहरूलाई मानव तस्करको समूहले विभिन्न देश हुँदै अमेरिकाको सीमासम्म पु¥याएको थियो । नेपालबाट सुरुमा कतार हुँदै इथियोपिया, दुबई हुँदै फ्रान्स, चिली, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै अमेरिकाको छिमेकी देश मेक्सिको पु¥याइएको थियो । त्यहाँबाट अमेरिका छिर्ने क्रममा उनी पक्राउ परे । मुद्धा लडे र हारे । यसबीचमा २७ लाख रुपैयाँ सकिएको पीडित युवाहरु बताउँछन् । करिब २२ महिना जेल बसेर नेपाल आएका युवाहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसक्दा पनि हातमा हत्कडी लगाइएको थियो । यसमा अर्को गम्भीर बिषय उनीहरु जो मार्फत अमेरिका हिँडे, त्यो गिरोहविरुद्ध निकट नाता पर्ने भन्दै प्रहरीमा उजुरी दिन मानिरहेका छैनन् ।

अमेरिका सपनाले जीवन बिफल मात्र बनाइदिएको छैन । लडेपछि उठ्न निकै कठिन बनाएको छ । अमेरिका यात्रामा पक्राउ परेर स्वदेश फर्किएका मध्ये कतिपयमा डिप्रेसनको समस्या देखिएको छ । ऋणधन गरेको पैसा पनि डुबेको र अमेरिका पुगेर जेल बस्नु परेकाले उनीहरूमा चर्को निराशा स्वभाविक हो । तर, यस्ता दर्जनौ घटना हुँदा पनि यो क्रम रोकिएको छैन । मेक्सिको हुँदै अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने सयौँ नेपाली हरेक वर्ष पक्राउ पर्छन् । कतिपय बाटोबाटै फर्किन्छन् । कतिपयलाई अमेरिका लैजाने भन्दै अफ्रिकी देशमा लगेर बन्धक बनाइन्छ । र पनि युवाहरुमा अमेरिका सपनाको लहड उस्तै देखिन्छ । उसो त नेपालमा व्यवस्थाहरु बदलिए पनि अवस्था र प्रवृत्तिहरुमा ठुलो बदलाव आउन सकिरहेको छैन । बेरोजगार, व्यथिति उस्तै छ । तीन तहको सरकार बने पनि युवाहरुलाई आफ्नै गाउँ ठाउँमा बस्न आकर्षित र प्रोत्साहित गर्ने चुस्त योजना छैन । यसमा सरकार जिम्मेवार र स्वयम् युवाहरु पनि सचेत हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *