हाँडीकोट प्रर्वद्धनमा जैमिनी जागोस्

तस्बिरः राम अविरल

सम्पादकीय
बागलुङ जिल्लाको दक्षिण क्षेत्र । विकास, पूर्वाधार, राजनीतिक नेतृत्व र पहुँचका हिसावले तुलनात्मक रुपमा पछि रह्यो । दक्षिण क्षेत्र यस्तो ठाउँ हो, जहाँ ४० को दशक यता सांसदहरु निर्वाचित गर्दा पनि स्थानीय होइन, पटक–पटक आगन्तुक नेतालाई संसद र सरकारमा पठाइरह्यो । अस्वश्थ राजनीतिले बारबार गिजोलिरह्यो । यद्यपी अपेक्षित विकास र परिवर्तनमा खासै ठुलो बदलाव देखिएन । तर, पछिल्लो केही वर्ष यता कालीगण्डकी करिडोर निर्माण सँगै केही सुखद सम्भावना र अवसरहरु दक्षिण क्षेत्रका बासिन्दालाई प्राप्त भएको छ । मुलुकमा तीन तहको सरकार बनेपछि थप विकास र सुविधाको अवसर छ । अब समृद्धि हासिल गर्ने सपना सहित पर्यटन विकासलाई बिशेष आधार बनाउने भनिएको छ । यसमा जिल्लाबाट समग्रतामा दक्षिण क्षेत्रको पर्यटकीय सम्भावना खोतल्दा निराश परिदृश्य देखिएको आभाष भइरहन्थ्यो । दक्षिण क्षेत्रलाई राम्ररी नचिन्दा या नघुम्दाको लघुताभाष रहेछ भन्ने कुरा जैमिनीको हाँडीकोट टापुको प्रचुर सम्भावनाका बारेमा सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत उजागर भए पछि प्रष्ट भएको छ ।

जिल्लामा आयोजना हुने ठुला उत्सव महोत्सवमा राखिने पर्यटकीय स्थलका सम्भावना र तस्बिर दक्षिण क्षेत्रका शुन्य प्रायः हुन्थ्यो । कतै केही उल्लेख या स्थल बताइए पनि त्यसका प्रति उति धेरै आशा, उत्साह देखिन्नथ्यो । सर्वसिद्धिधाम पञ्चकोट होस् या भकुण्डे भ्यू टावर होस् या घुम्टे लेक होस् वा ढोरपाटन या बेलढुंगा होस् । यि र यस्ता अनेकन पर्यटकीय स्थलका बारेमा चर्चा परिचर्चा र बहस हुँदा दक्षिण क्षेत्रका सम्भावनाका बारे सायदै चर्चा हुन्थ्यो । अब निसंकोच जिल्लाको जैमिनी नगरपालिकाको सबै भन्दा उच्च शिर हाँडीकोट टापुबारे चर्चा हुनेछ । खासै धेरै उचाईमा नभए पनि चौतर्फी आकर्षक हिमश्रृंखलादेखी सुन्दर मनोरम प्राकृतिक दृश्य, पाल्पा, गुल्मी लगायतका अनगिन्ती गाउँ शहर देखिने टापु जैमिनी नगरपालिका वडा न.१० रांखानी, वडा न.७ जैदी र वडा न. ८ छिस्तीको संगमस्थलमा छ । टापुबाट देखिने दृश्यले जो कसैको मन लोभ्याउँछ । विश्वव्यापी कोरोना कहरका बाबजुद पनि अहिले हाँडीकोट पुग्ने संख्या बढ्दो छ । तर, यहाँ पानी, शौचालय, फोहोर व्यवस्थापन, चिया कफी स्टेशन लगायतको तत्काल अभाव खड्किएको देखिन्छ । यद्यपी यस क्षेत्रको सम्भावनालाई आत्मसाथ गर्दै जैमिनी नगरपालिकाले विस्तृत लागत योजना (डिपिपआर) तयार गरेको छ । डिपिआर अनुसार हाँडीकोटमा गण्डकी प्रदेश सरकारले भ्यू टावर निर्माण थालेको छ । टापुमै विश्वमा बढी मानिने धर्म हिन्दु, बुद्ध, मुस्लिम र क्रिस्चियनको चार वटा ढोका सहितको भित्र पृथ्वीको मात्र पुजा गर्ने गरी मन्दिर समेत निर्माण गरिदैछ । टापुबाट प्याराग्लाइडिङ, म्युजियम, बगैंचा निर्माण गर्ने योजना पनि छ ।

हाँडीकोट टापु २१ सय ९५ मिटरको उचाईमा भएर पनि समथर छ । जहाँबाट चारै तर्फ हरियाली होस् या हिमालहरु होस् या मौसम अनुसार बादलको उपत्यका बनेको दृश्य होस् या दर्जनौ गाउँ शहरका सुन्दर दृश्यहरु होस् । एकै स्थानबाट अनेक सुन्दर मनोरम दृश्य देखिने यति आकर्षक ठाउँ जिल्लामा सायदै छन् होला । अब यसको मुख्यतः पूर्वाधार निर्माणमा स्थानीय सरकार र स्थानीय वासिन्दाले बिशेष ध्यान दिनुपर्ने देखिन्छ । पूर्वाधार निर्माण गर्ने मात्र कुरा पनि प्रमुख होइन, ति पूर्वाधार कति पर्यटनमैत्री र दीर्घकालिन सोँचका हिसावले निर्माण गर्छौ भन्ने बिषयले ठुलो अर्थ र महत्व राख्नेछ। त्यसमा पनि अझ आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने कला सापेक्ष पूर्वाधार निर्माण गर्न सके यो जिल्लाकै उत्कृष्ट र आकर्षक गन्तव्य बन्नेमा दुई मत छैन । तर, अहिले मोटरबाटो नै टापुमा जोड्न थालिएको छ । सडक टापुमै नलगेर केही तल सम्म मात्रै सिमित गरेर केही मिटरको पदमार्ग मार्फत पैदल जाने गराउँदा पर्यटकले बढी आनन्द लिन सक्नेछन् । समथर भुभागभरी संरचना बनाउने भन्दा पनि अपरिहार्य संरचना बनाएर अरु प्राकृतिक हिसावमै छोड्दा यसको सौन्र्दयता काफी हुनेछ । -जागरण देनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *