बडादसैंको शुभकामना

सम्पादकीय
नेपालीहरूको महान् पर्व बडादसैंको आज सबै भन्दा मुख्य र महत्वपूर्ण टीका जमरा लगाउने दिन । तर, विगत वर्षहरुमा जस्तो चहल पहल र रौनकता छैन । बालबालिकादेखि बुढापाका सम्ममा कोरोना भाइरस ९कोभिड १९० का कारण सन्त्रासमा छन् । दसैं पनि के कसरी मनाउने भन्ने द्धिविधा धेरैमा देखिन्छ । परदेशमा भएका र घरदेशमै भएका पनि कोरोना संक्रमणको भयले घर गाउँ सार्वजनिक यात्रा गरेर जाने कि नजाने भन्ने अन्यौलमा छन् । उसो त सरकारले पनि यसपटक दसैं जहाँ छौ, त्यहीँ दसैं मनाउन भनिरहेको छ । स्वास्थ्य सुरक्षा सचेतताका हिसावले पनि यसो गर्दा राम्रै हुन्छ । तर, वर्षदिनमा एकपटक आउने पर्व हो । यसमा पनि परिवारसँग भेटघाट हुने चाह, मोह र अपेक्षा स्वभाविक हुन्छ । त्यसैले पनि विगतमा जस्तै उत्साह र रौनकता नभए पनि दसंै आ–आफ्नै हिसावले मनाइदैछ ।

हुन त संघीय गणतन्त्र स्थापना पछि नेपाल धर्मनिरपेक्ष मुलुक घोषित भएको छ । अहिले मानिसहरु हर धर्म मान्न स्वतन्त्र छन् । तर पनि नेपालमा दसैं हिन्दुधर्मालम्बीका लागि मात्र होइन, अन्य धर्मालम्बीका लागि पनि ठुलो उत्सव र अवसरको रुपमा लिएर राष्ट्रिय पर्वकै रूपमा मनाउने गरिन्छ । यसकारण बडादसैं पर्वको नेपाली समाजमा छुट्टै स्थान र महत्व छ । दसैं धार्मिक भन्दा सांस्कृतिक र सामाजिक पर्वका रूपमा बढी मनाइन्छ । पूर्वको ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म उत्तिकै उल्लासपूर्वक मनाइने, वर्षभरिको मेहनत र कमाइ खर्चिएर भए पनि खुसी र हर्षोल्लासपूर्वक जीवन बाँच्ने अवसराका रुपमा लिइन्छ । आफ्ना मान्यजनबाट टीका जमारा सहित आर्शिवाद ग्रहण गर्ने यसको अर्को बिशेषता हो । यसका साथै बडादसैं वर्षौदेखि छुट्टिएका या बिभिन्न पेशा,व्यवसाय, रोजगारीको शिलशिलामा टाढा भएकाहरुको पारिवारिक पुनर्मिलनको पर्व पनि हो ।

नेपाल साँस्कृतिक विविधताले सुसज्जित मुलुक हो । यहाँका कला, संस्कृति, अनेक चालचलन, परम्परा, भेषभुषा हरेक जातजाति,समुदाय अनुसार भिन्न छन् । र पनि बिबिधता बीच एकता खोजेर बाँच्ने नेपाली सँस्कार अरु देशका लागि पनि अनुकरणीय बन्दै आएको छ । अहिले त सारा विश्व कोरोना महामारीको भुमरीमा छ । नेपाल र नेपालीले पनि कोरोनाको ठुलो सकस बेहोरिरहेका छौ । यस्तो बेलामा स्वभाविक दसैं केही खल्लो त हुनेछ नै । यसका बाबजुद पनि संकटको सामना गरेर प्रतिकुल परिस्थितिलाई पनि अनुकुलतामा बदलेर अघि बढ्न आजको समय र संकटले पनि सिकाएको छ । यो सिंगो मानव समुदायकै लागि ठुलो शिक्षा हो । अतः विगत जस्तो सहज परिवेशमा दसैं मनाउन नपाउने अवस्थामा हतास र निराश नभई सचेत र सुरक्षित रहेर दसैं मनाऔं । अबश्य हाम्रा बीचमा छिट्टै सहज र सुखद दिनहरु फिर्नेछन् । आशा गरौ, यो पर्वले हामीलाई सत्य, न्यायको पक्षमा उभिन प्रेरित गरोस् । नेपाली बीचको बिद्यमान वैमनश्य अन्त्य होस् । आपसी सद्भाव, एकता र भाइचारा कायम गर्दै विकास र समृद्धिको अग्रपथमा लाग्न उर्जा प्रदान गरोस् । नवदुर्गा भवानीले सबैमा सकरात्मक सोच र समृद्धिको सञ्चार गराउन सकोस् । सबैलाई शुभ बडादसैंको हार्दिक मंगलमय शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *