गलकोटको दुर्गम गाउँ रमुवा : विद्यालय पुग्न बास बस्नुपर्ने !


खेमराज गौतम, बागलुङ

जिल्लाको गलकोट नगरपालिका भित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या छ ।

जिल्लाका अधिकांश विद्यालयमा कक्षा १० सम्मको अध्ययनका लागि धेरै टाढा धाउन नपर्ने भए पनि गलकोट नगरपालिका–१० पाण्डवखानीको रमुवाका विद्यार्थीहरु कक्षा १० सम्मको शिक्षा लिन समेत बास बस्नुपर्ने अवस्था छ । पाण्डवखानीको रमुवा गाउँमा आधारभूत विद्यालय भए पनि कक्षा ९ र १० अध्ययनका लागि समेत बास बसेरै अध्ययन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

उच्च शिक्षाका लागि घर छाड्नुपर्ने नेपालीको नियती भए पनि कक्षा १० सम्मकै अध्ययनका लागि समेत दुर्गम गाउँका विद्यार्थीको नियती बनेको छ । दुर्गम गाउँका रुपमा रहेको रमुवामा कक्षा ८ सम्म मात्रै अध्यापन हुँदा यहाँका विद्यार्थीलाई पाण्डवखानी आउनुपर्ने समस्या रहेको गलकोट नगरपालिका–१० पाण्डवखानीका वडा अध्यक्ष तिलक घर्तीले बताउनुभयो । “रमुवामा कक्षा ८ सम्म मात्र पढाई हुन्छ, त्यसपछि पाण्डवखानी माध्यमिक विद्यालय पुग्न करिब तीन घण्टा पैदल लाग्छ,” घर्तीले भन्नुभयो “आउन जान सम्भव छैन, त्यसैले त्यही स्कुल आसपासमा बास खोजेर अध्ययन गर्नुपर्ने अवस्था छ ।”

अहिले रमुवाका २० भन्दा बढी विद्यार्थीले पाण्डवखानी माध्यमिक विद्यालयको ९ देखि १२ कक्षा सम्म बास खोजेर अध्ययन गर्दै आएको छ । २०३३ सालमा स्थापना भएको रमुवा आधारभूत विद्यालयमा १० कक्षा सम्म अध्यापन गराउन सकेमा विद्यार्थीलाई बास बस्नुपर्ने समस्या हटेर जानेछ । कक्षा १० देखि माथी नगरपालिकाको केन्द्र हटिया देखि अन्य शहर बजार गएर पढ्न सकिने भए पनि गाउँमै १० कक्षा सम्मको विद्यालय सञ्चालन गर्न आवश्यक रहेको रमुवा आधारभूत विद्यालयका शिक्षक रेशम रानाले जानकारी दिनुभयो ।

रमवा गाउँमा १२६ घर छन् । गाउँमै विद्यालय नहुँदा कक्षा ८ मात्रै अध्ययन गरेर छोडेको रमुवाका २१ वर्षिय युवा राजेश विकले जानकारी दिनुभयो । उहाँले चार वर्ष अघि रमुवा आधारभूत विद्यालयबाट ८ कक्षा पास गर्नुभएको थियो । “गाउँमा विद्यालय भएन, बास बसेर अध्ययन गर्दा धेरै खर्च लाग्ने भएपछि विद्यालय छोड्नुपर्ने बाध्यता प¥यो” बिकले भन्नुभयो ।

कक्षा ९ र १० अध्ययन गर्न समेत घरै छोडेर आउनुपर्ने हुँदा धेरै समस्या भोग्दै आएको पाण्डवखानी माध्यामिक विद्यालयमा अध्ययनका लागि कोठामा बस्दै आउनुभएका प्रेमबहादुर श्रीसले बताउनुभयो । “घरबाटै विद्यालय जान पाए धेरै खर्च जोगिन्थ्यो,” श्रीसले भन्नुभयो “घर छोडेर उच्च शिक्षा लिन पाए त हुन्थ्यो, १० कक्षा पढ्न गाउँनै छोड्नुपर्ने अवस्था छ ।” श्रीस जस्तै बास बसेर चन्द्रा पटेल, इश्वर क्षत्री सहित रमुवाका २२ विद्यार्थीले पाण्डवखानी माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन् ।
रमुवा आधारभूत विद्यालयमा हाल १ सय ६३ जना विद्यार्थी रहेको विद्यालयका प्रधानध्यापक खगप्रसाद घर्तिले जानकारी दिनुभयो । प्रधानध्यापक घर्तीका अनुसार, विद्यालयमा हाल तारबार र शौचालयको समेत समस्या छ ।

आर्थिक वर्ष २०७७/०७८ मा आवासिय रुपमा अध्ययन गर्नुपर्ने समस्यामा रहेका विद्यार्थीका लागि खान र बस्नका लागि तीन लाख रुपैयाँ बजेट बिनियोजन गरिएको वडा अध्यक्ष तिल घर्तिले जानकारी दिनुभयो । घर्तिका अनुसार पाण्डवखानी माध्यमिक विद्यालयमा आवासिय सुविधा सहितको निःशुल्क शिक्षा र रमुवामा १० कक्षा सम्मको शिक्षा दिनेगरी पहल गरीरहेको घर्तिको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *