सम्पादकीय
धेरै वर्ष पहिलेदेखि पढिदै र पढाइदै आइएको बिषय हो–नेपाल कृषि प्रधान देश हो । यद्यपी पछिल्लो समय कृषक प्रधान देश जस्तो देखिन्छ । कृषक हौ भन्नेहरु धेरै तर असली काम गर्नेहरु कम हुँदैछन् । कृषि पेशा व्यवसाय प्रति विकर्षण बढ्दो छ । गाउँघरका धेरै खेतबारीहरु बाँझा हुन थालेका छन् । श्रीमान, छोराछोरी विदेश पसेर रेमिट्यान्स पठाउन थाले पछि श्रीमति र परिवार शहर बजारमा बिलासिताको जीवन बाँच्ने क्रम जारी छ । जसका कारण उर्बर खेतबारीहरु उपयोगहिन अवस्थामा पुगिरहेका छन् । गाउँघरमा समेत परनिर्भरता बढ्दो छ । शहर बजारबाट चामल मात्र होइन, खाजाका लागि प्रयोग गर्ने सरसामान समेत शहरियानै प्रयोग गर्ने प्रचलन बढिरहेको छ । यो नेपाली समाजका लागि मात्रै होइन, स्वश्थ जीवनका लागि समेत जोखिमको बिषय हो ।
अब यस्तो दैनिक जीवनको अभ्यास र बाटो बदल्ने कसले ? मैले या हामीले भन्न या जिम्मेवारीबोध गर्न हामी बिर्सिरहेका छौ । र यो पाटो पनि सरकारतिरै देखाउन उद्धत हुन्छौ । हामी यति परनिर्भर भएका छौ कि सानातिना स्वयम् गर्नुपर्ने काम भुमिका र जिम्मेवारीहरु पनि सरकारले गरिदिओस् या गरिदिनुपर्छ भन्ने ठाउँमा देखिन्छ । यद्यपी, यो बीचमा निराशा मात्र होइन, कतिपय आशावादी हुने अभ्यास, प्रयासहरु पनि भइरहेका छन् । जसमा एक उदाहरण बागलुङ बजार नजिकैको गैडकोट पावर हाउस सेरोफेरोको गाउँलाई हेर्न सकिन्छ । जुन ठाउँ बि.स.२०६० साल अघि केबल खेतबारीका रुपमा मात्रै सिमित थियो । त्यो ठाउँको सम्भावनालाई नियालेर दक्षिणका कृषक गंगा थापा आए पछि करिब १५ वर्षको अन्तरालमा यो गाउँ ठाउँले कृषिमा ठुलो उभार ल्याएको छ । जहाँ कुनै एक व्यक्ति मात्र होइन, ठुलो समुदायले आफ्नो परिवारलाई आत्मनिर्भर बनाउँदै व्यावसायिक जीवन अँगालेका छन् ।
नेपाल सरकारको सपना सुखी नेपाली, समृद्ध नेपालको छ । यसका लागि तीन तहको सरकारले ल्याउने नीति, कार्यक्रम र योजनाले मात्रै समृद्ध नेपाल, सुखी नेपाली कदापी सम्भव छैन । हामी स्मार्ट समाज, जिल्ला र देश चाहन्छौ भने हामी स्वयम् पनि स्मार्ट बन्न सक्नुपर्छ । तर, अहिले नेपाली समाज र देश बदलिएको देख्न चाहने, आँफु बदलिनु नपर्ने प्रवृत्ति हाबी छ । तसर्थ, समाजमा अगुवा कृषक गंगा थापा जस्तै गाउँ समाजमा नमुना आइडल बन्न साहस मात्र होइन,कतिपय अवस्थामा समाजको समृद्धिका लागि दुस्साहस पनि गर्न सक्ने युवाहरु अहिले चाहिएको छ । यसका लागि युवाहरुले आँफुलाई नयाँ नयाँ आत्मनिर्भर र व्यावसायिक कर्मका लागि दृढ इच्छा शक्तिका साथ समर्पित गर्नुपर्छ । समाजमा आत्मनिर्भर र व्यावसायिक साँेच, योजना, उत्साह भर्न सरकारले पनि प्रोत्साहित गर्नुपर्छ । तब मात्र हाम्रा गाउँ ठाउँ र शहर राम्रा बन्न सक्छन्, सबल र आत्मनिर्भर बन्न सक्नेछन् ।