४३ वर्षदेखि भेडापालनमा भीमबहादुर

डम्मर बुढा मगर, बागलुङ
बोङ्गादोभानबाट सोलेडाँडा तर्फ जाँदा तमान गाउँ सुरु हुन्छ । त्यही यात्राको क्रममा पाखाभरि सेताम्मे भेडा देखिन्छन् । भेडाको बीच–बीचमा केही काला र खैरो रंगका पनि मिश्रित छन् । भेडाको ठुलो बथान देख्दा जो कोहीलाई निकै रमाइलो लाग्ने गर्छ । जहाँ चार सय भन्दा बढी भेडा र केही बाख्रा रहेको स्थानीय बताउँछन् ।

भेडाको यति ठूलो बथान देख्दा धेरैलाई यो पनि लाग्न सक्छ । यी भेडाबाख्रा एक जनाको कदापी होइन र एक जनाले यतिधेरै पाल्नै सक्दैन । तर, यो एक पशुपालक कृषककै कर्मको परिदृश्य हो । तमानखोला गाउँपालिका वडा नम्बर ३ तमान रोका टोलका भीमबहादुर रोका विगत ४३ वर्षदेखि भेडा पाल्दै आउनुभएको छ ।

उहाँ अहिले ५५ पुरा भएर ५६ मा लाग्नुभएको छ । उहाँले १३ वर्ष हुँदादेखि भेडाँ पाल्दै आएको बताउँनुहुन्छ । आफ्नो काहिँला काकाबाट प्रभावित भएर भेडा पालनमा लागेको उहाँको भनाई छ ।

‘बाउ बाजेले यति धेरै भेडाहरु पालेका थिएनन्, मेरो काहिँलो काकाले धेरै पालेका थिए, उनले ६० वर्षसम्म पालेका थिए,’ रोकाले भन्नुभयो ‘काकाले मलाई सिकाए, मैले उनको दोग धाने, यसैगरी मेरो जिन्दगी बित्यो हजुर ।’

भेँडालाई नुन खुवाउँदै भीमबहादुर

पछिल्लो समय युवा पुस्ताले यो पेशा अँगाल्न नचाँहदा परम्परागत भेडा पालन बिस्तारै हराउँदै गएको छ । केही समय अगाडी सम्म बागलुङको उच्च पहाडी क्षेत्रहरुमा भेडा गोठाले र भेडाहरु प्रशस्त मात्रामा भेट्याउन सकिन्थ्यो । पहिले पहिले भेडीगोठ जाँदा धेरै जिल्लाका धेरै ठाउँका भेडी गोठालेहरुको जमघट हुने गरेको तर पछिल्लो समय गोठाले कम भएको उहाँको भनाई छ ।

‘केही वर्ष अगाडीसम्म भेडा लगेर माथि बुकी तिर जाँदा म जस्तै धेरै भेडा गोठालेहरुको भेट हुन्थ्यो अहिले त ह्वात्तै कम भएको छ, बुढाहरु मरे होलान्, अहिलेका केटाकेटीले यस्तो काम गर्दैनन्,’ उहाँले भन्नुभयो, ‘यस्तै हो भने त हामी मरेपछि त भेडाहरु पनि पाल्न छोड्छन् होला अहिलेका मान्छेले ।’

रोका बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भेँडाकै स्याहार सुसार गर्नुहुन्छ । भेडाको सुरक्षाका लागि ५ वटा कुकुर समेत पाल्नुभएको छ । उहाँ जता जानुहुन्छ, भेडा र कुकुर पनि रोकाले उतै लैजाने गर्नुहुन्छ । उहाँ यसै साता लेकबाट भेँडा लिएर गाउँ आउनुभएको थियो ।

रोकाले घरभन्दा केही तर रहेको बारीमा सानो टहरो बनाएर बस्नुभएको छ । उहाँ राती सुत्ने बेला पनि भेँडा उनकै छेउँछाउमा बस्ने गर्नुहुन्छ । भेडाको बथानमा केही ठूला, केही साना र भर्खर सुत्केरी भएका बाख्रा समेत छन् ।

रोका भेडासँगै घुम्ती गोठ बनाएर घुमिरहनुहुन्छ । भेडाहरु कहिले काही बिरामी हुँदा उहाँ निकै दुःखी भएको र निको नभएसम्म निद्रानै नलाग्ने अनुभव सुनाउनुहुन्छ । उहाँको दुई छोरा, तीन छोरी छन् । उनीहरु सबैले बिहे गरेका छन् । अहिले बुढाबुढी मात्रै भेडा पालनमा सक्रिय छन् ।

आफ्नै पहिरनमा भीमबहादुर


‘मेरा २ भाई छोरा ३ बहिनी छोरी हुन्, सबैको बिहे भयो, अहिले त हामी बुढाबुढी मात्रै छौँ, कहिलेकाही गोठ सार्दा खेरी छोराहरुले पाठापाठीहरु बोकेर सहयोग गर्छन्’ रोकाले भन्नुभयो ।

सरकारले कृषकहरुलाई अनुदान समेत दिने गरेको छ । टाठाबाठा कृषकहरुले अनुदान लिने गरेका छन् । भीबहादुर रोका जस्ता दुर्गम ठाउँका कृषकहरुलाई अनुदान भनेको थाहा नै छैन । उनीहरुलाई सरकारले सहयोग गर्छ भन्दा अनौठो मान्छन् । सरकारले सहयोग गर्छ र भन्दै उल्टै प्रश्न संशय व्यत्तः गर्नुहुन्छ ।

‘सरकारले अनुदान दिन्छ दिन्छ त भन्छन्, अहिलेसम्म मैले केही पाएको छैन हजुर, मैले त आफ्नै कमाइमा आफ्नै श्रमले भेँडा पालेको छु,’ उहाँले भन्नुभयो, ‘म त केही बोल्न पनि जान्दैन कुरा गर्न पनि जान्दै न हजुर, दियो भने त राम्रै हुन्थ्यो, केही सौलियत हुन्थ्यो होला ।’

भेडा विषेशगरी मासुकै लागि प्रयोग हुने गर्छ । पछिल्लो समय भेडाको मुल्य वृद्धिसँगै मासुको भाउ समेत बढेको छ । भेडाको मासु स्वास्थ्यको लागि अति महत्वपूर्ण मानिन्छ । भेडा विशेष गरी उच्चपहाडी क्षेत्रमै पालिने गरिन्छ ।

रोकाले भेडा मात्रै बेच्दैनन् । उनले भेडाको उनबाट बनाइएको कपडाहरु समेत बिक्री गर्ने गरेको बताउँनुहुन्छ । थारा भेडा मात्रै बेच्ने गरेको भन्दै समय–समयमा भेँडाको उनबाट बनाएको कपडाहरु पनि बेच्ने गरेको उहाँको भनाई छ ।

‘मासुको लागि थारा भेँडाहरु बेचिन्छ, अरु त भेँडा बढाउन चाहिन्छ बेच्दैन,’ रोकाले भन्नुभयो, ‘भेडाको उनबाट कपडाहरु बनाउँछु र हामीलाई चाहिने राख्छौँ र केही बेचिन्छ ।’ रोकाले ऊनबाट बनाएको कम्लब, हापदुला (भेँडाको रौँबाट बनेको कपडा) काम्लो, घुम, ज्यागेट लगायतका कपडाहरु देश विदेशमा बेच्ने गरेको समेत बताउनुभयो ।

‘केही काठमाडौँ पोखरामा विक्री हुन्छन् भने केही विदेशमा पनि जान्छन्,’ उहाँले भन्नुभयो, ‘धेरै बनाउन सकिन्न थोरै थोरै बनाइन्छ, विदेश पठाउने भनेको त्यही दुई÷चार वटा हो ।’ ऊनबाट बनेको ज्याकेटको नेपाली बजारमा एउटाको सात हजारसम्म पर्ने उहाँको भनाई छ ।

रोका जेठ महिना सुरु हुँदा साथ सपिङखगर, थालखर्क, चालुगे लगायतका उच्च पहाडी र हिमाली क्षेत्रमा जाने गर्छन् । अहिले जाडोको सिजन भएको हुँदा बागलुङ र म्याग्दीको सिमाना क्षेत्रमा गोठ बसाल्ने उहाँ बताउँनुहुन्छ ।

उहाँले सरकारले केही सहयोग गरे विभिन्न स्थानमा जस्तापाताले गोठ बनाउन सक्ने बताउनुभयो । गोठ भयो भने भेडा र आफु खुला आकाश मुन बस्न नपर्ने उहाँको भनाई छ । ‘सरकारले केही सहयोग गरे त अहिलेको जस्तो खुल्ला आकाश मुनी सुत्न पर्ने थिएन, भेडाहरुलाई पनि गोठमै राख्न सकिने थियो,’ उहाँले भन्नुभयो, ‘चिसाको समयमा बाहिरै सुत्ने गर्दा हामी बिरामी पर्ने र भेडाहरु पनि बिमारी हुने गर्छन्, त्यो समस्या हट्ने थियो होला आश त्यत्ति लाग्छ हजुर ।’

उहाँले भेडापालनबाट सबै घर खर्च चलाएर वार्षिक ७/८ लाख आम्दानी गर्ने बताउनुहुन्छ । ‘कमाइ धेरै हुँदैन हजुर घर खर्च चलाउनु प¥यो, त्यही हो आफु मरेपछि छोराछोरीलाई ऋण नलागोस्, क्रिया खर्च राम्रै चलोस्’ उहाँले हाँस्दै भन्नुभयो ‘यही बाटै जीविका गुजारा भएको छ, पढ्ने लेख्ने गरिएन हजुर ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *