डम्मर बुढा मगर, बागलुङ
जिल्लाको तमानखोला गाउँपालिका वडा नम्बर–६ पात्ले गाउँकी मनिषा घर्र्ति मगर अहिले कक्षा ९ मा पढ्नुहुन्छ । उहाँलाई हरेक दिन विद्यालय जान आउन मात्रै ६ घण्टा लाग्छ । घर भन्दा विद्यालय धेरै टाढा हुँदा प्रत्येक दिन ६ घण्टा यात्रा गरेर पढ्नु पर्ने बाध्यता रहेको उहाँ बताउँनुहुन्छ ।
उहाँले वडा नम्बर ६ नर्जाखानीको विष्णु आधारभूत विद्यालयमा कक्षा–८ सम्मको पढाई सकेर यसै शैक्षिक सत्रदेखि वडा नम्बर–५ खुङ्खानीमा रहेको शान्ति माध्यमिक विद्यालयमा अध्ययन गर्दै आउनुभएको छ । घर्तिले कक्षा १ देखि ३ सम्म पात्ले गाउँमै र ४ देखि ८ कक्षा सम्म नर्जाखानीमा पढ्नु भएको हो । नर्जाखानीमा रहेको विष्णु आधारभूत विद्यालयमा ८ पास गरेर अहिले खुङ्खानीको शान्ति माध्यमिक विद्यालयमा पढ्नुहुन्छ ।
उहाँ जस्तै नर्जाखानी, भित्रिवन र पात्ले गाउँका दर्जनौँ विद्यार्थीहरु ९ र १० कक्षा पढ्नका लागि ३/४ घण्टा गएर वडा नम्बर–५ को शान्ति माध्यमिक विद्यालयमै जान विवश छन् । हरेक दिन विद्यालय पुग्न र घर फर्किदा थकाइले गर्दा पढाईमा समेत असर पुग्ने गरेको मनिषा बताउँनुहुन्छ ।
‘विद्यालय टाढा छ, आवतजावत गर्दा थकाई लागेर पढ्ने बातावरणनै बन्दैन, ६/७ घण्टाको थकाइले पढ्ने तिर भन्दा आराम गर्ने तर्फ बढी ध्यान हुन्छ, कहिलेकाहीँ बाटोमा पनि समस्या आउँछ,’ मनिषाले जागरणसँग भन्नुभयो, ‘स्कूल पुग्दा कहिले ढिला भएर हाजिर छुटेको हुन्छ, कहिले १/२ पिरियड नै छुटेको हुन्छ ।’
सोही गाउँका थम्मन घर्ती मगर अहिले १० कक्षामा पढ्नुहुन्छ । गत वर्ष कक्षा ९ मा भर्ना हुन शान्ति माविमा पुग्नुभएका थमन घरबाटै विद्यालय आउजाउ गर्दा निकै समस्या भोगिरहेको अनुभव सुनाउँनुहुन्छ । ‘८ कक्षा सम्म पढ्दा त धेरै हिँड्नु पर्दैनथ्यो, अहिले त ३/४ घण्टा हिँड्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘सुरु–सुरुमा त हिँड्दा–हिँड्दै थकाई लाग्थ्यो, जसले गर्दा पढाईमा समेत असर पुगेको थियो, अहिले त बानी प¥यो तर टाढाको यात्राले गर्दा हामीलाई निकै समस्या छ ।’
हिउँदको समयमा जसोतसो विद्यालय पुगे पनि वर्षात्को समयमा आफुहरुले निकै समस्या भोग्नु परेको उहाँको भनाई छ । वर्षातको समयमा बाढी पहिरो र खोलानाला बढ्ने हुँदा ज्यान जोखिममै राखेर विद्यालय जाने गरेको उहाँले बताउनुभयो ।
‘हामीलाई वर्षात्को समयमा निकै समस्या पर्छ, हिँउदमा त जसरी पनि विद्यालय पुग्न सकिन्छ, वर्षाको समयमा खोला बढेर आउँछ र पुलनै बगाइ दिन्छ, त्यसले गर्दा वारपार गर्न गाह्रो हुन्छ,’ थम्मनले भन्नुभयो, ‘खोला तर्न नसक्दा स्कूल सम्म पनि पुग्न नसकेको धेरै घटनाहरु छन्, कहिलेकाहीँ त पहिरोले गर्दा स्कूल पुग्न पनि सक्दैनौ ।’
विद्यालय टाढा हुँदा खाजा र खाना खाने समय समेत नमिल्ने गरेको भन्दै स्वास्थ्यमा समेत कहिलेकाही समस्या आउने गरेको विद्यार्थीहरुको गुनासो छ ।
मुस्कान सिर्पाली पनि अहिले शान्ति माविमै कक्षा ९ मा पढ्नुहुन्छ । कक्षा ८ सम्म नर्जाखानीमा पढे पनि त्यसभन्दा माथिको शैक्षिक योग्यता बढाउनको लागि खुङ्खानीनै पुग्नुको विकल्प छैन । टाढाको दुरीमा विद्यालय हुँदा बिहान बेलुका काम गरेर पढ्न सक्ने अवस्था नभएको सिर्पालीले बताउनुभयो । हुने खानेका छोराछोरी विद्यालयको नजिकै कोठा लिएर बस्ने गरे पनि गरिबका छोराछोरीलाई समस्या हुनेको गरेको उहाँको भनाई छ ।
‘विहान उठेर स्कुल हिँड्नु पर्छ, ७ बजे हिडिएन भने ढिला पुगिन्छ, सबेरै हिँड्नु पर्छ, साँझ पनि बेला माथि नै हिँड्नु पर्छ, नत्र राति हुन्छ,’ उहाँले भन्नुभयो, ‘बर्खामास त झन् नियमित स्कलु जानै सकिन्न, कहिले पहिरो, कहिले खोलाले पुल बगाउँछ त्यसले गर्दा झन् गाह्रो हुन्छ ।’
स्कुल टाढा हुँदा छात्रालाई भन्दा छात्रहरुलाई थप समस्या हुने गरेको स्थानीय बताउँछन्् । वर्षात्को समयमा खोला पार गर्दा केटाहरु जसोतसो तरेर विद्यालय पुगे पनि केटीहरुलाई निकै गाह्रो हुने गरेको छ ।
‘केटा साथीहरु त बरु जसरी भए पनि खोला पहिरो पार गरेर स्कूल पुग्छन् हामी केटीहरुलाई त निकै समस्या हुन्छ,’ मुस्कानले भन्नुभयो, ‘बाटोघाटो पनि सजिलो छैन,कतै जंगल छ, कतै खोला छ, त्यसले गर्दा झन् डर बढी हुन्छ ।’ सरकारले टाढाका विद्यार्थीहरुका लागि गाडी र आवासको व्यवस्था गर्न सके आँफुहरुलाई सहज हुने बताउनुभयो ।
गाउँपालिकाको वडा नम्बर–६ मा ३ वडा मात्रै विद्यालय छन् । नर्जाखानीमा एउटा आधारभूत तहसम्मको विद्यालय छ । जहाँ कक्षा–८ सम्म पढाई हुन्छ । भित्रिवनमा प्रावि तहसम्म छ । यहाँ कक्षा–५ सम्म पढाई हुन्छ र पात्ले गाउँमा ३ सम्म पढाई हुने विद्यालय छ ।
भित्रिवनका बालबालिका कक्षा–५ पास गरेर र पात्ले गाउँका ३ पास गरेर नर्जाखानी आउनुपर्छ । भित्रिवनबाट नर्जाखानी आउन १ घण्टाको पैदल यात्रा गर्नु पर्छ भने पात्ले गाउँबाट आउन करिब ४५ मिनेट लाग्छ ।
भौगोलिक हिसाबले जिल्लाकै सबैभन्दा दुर्गम मानिने नर्जाखानी स्वास्थ्य शिक्षा लगायतका विकासका पूर्वाधार विस्तारै निर्माण हुँदै गएको छ । नर्जाखानी, भित्रीवन र पात्ले गाउँका बालबालिका आधारभूत शिक्षा १ घण्टाको यात्रा गरेर लिए पनि त्यसभन्दा माथिको शैक्षिक योग्यता बढाउनका लागि वडा नम्बर–५ को खुङ्खानी स्थित शान्ति मावि र वडा नम्बर २ को बोङ्गादोभान स्थित जनजागृति माविमा जानुको विकल्प छैन ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले भौगोलिक विकटता, छरिएर रहेको वस्ती र कम जनसंख्या भएका कारण शिक्षाको सहज पहुँच नपुगेकाले शिक्षाको सहज पहुँच र गुणस्तरिय शिक्षा प्रदानका लागि काम भइरहेको बताउनुभयो ।
‘यो ठाउँ अलिकति भौगोलिक बनावट र विकटताले गर्दा सबैमा सहज शिक्षाको पहुँच पुग्न सकेको छैन, तर पनि हामीले कसरी हुन्छ सबैमा सहज र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि परेका छौँ,’ अध्यक्ष बुढाले भन्नुभयो ‘हामी आएदेखि धेरै ठाउँका विद्यालय भवनदेखि लिएर शैक्षिक गतिविधि परिर्वतन भएका छन्,यहाँको लागि पनि हामीले कसरी गर्ने भन्नेमा योजना बनाउँदै छौँ ।’