दुर डाँडामा टनेल खेती

आदर्श अनलाइन, बागलुङ
जिल्ला सदरमुकामबाट दुर पालिकामा पर्छ तमानखोला गाउँपालिका । भौगोलिक बनावटका हिसावले यहाँका गाउँहरु अझै अनकन्टार छन् । त्यही मध्येमा पर्छ तमानखोलाको कटेरी गाउँ । जहाँ गाउँपालिकाको केन्द्र बोंगादोभानबाट २ घण्टा बढि समय उकालो हिँडे पछि मात्रै पुग्न सकिन्छ । यो गाउँ र भेगमा परम्परागत पुख्यौली खेती त स्थानीयले गरिरहेकै थिए ।

तर, दुर गाउँमा टनेल प्रविधि भित्राएर व्यावसायिक सम्भावना र सोच सहित काम गर्ने सत्प्रयास भने तमानखोला गाउँपालिका वडा नम्बर २ कटेरी गाउँका चुडामणी छन्त्यालले गरे । उनले उमेरले हालै ४० पार गरे । उमेरले ४० पुग्नु या काट्नुसँग एउटा गीत निकै सम्बन्धित र चर्चित छ ।

सुन साइली परदेशबाट म आउला
चालिस कटेसी रमाउला ।

यो गीतसँग चुडामणीको जीवनका केही हिस्ता मेल खान्छ । उनी पनि घर परिवारको सुख, दैनिकी, जीवन सहजताको सपना बोकेर २२ वर्षको उमेरमा परदेशिएका थिए । सन् १९९५ सालमा पहिलो पटक धन कमाउने सपना सहित मलेसिया पुगेका थिए छन्त्याल । मलेसियाको क्याम्बोल हाइलेण्ड स्थित कम्पनीमा कृषि काममै तीन वर्ष बिताए । र फर्किए सन् १९९८ मा ।

त्यसपछिका केही वर्ष काठमाण्डौंतिरै बिताए । जिविकाका लागि खर्च व्यवस्थापन गरेर परिवार चलाए । काठमाण्डौंकै बसाई र संगतबाट उनी फेरी सन् २००५ मा कोरिया उडे । जहाँ साढे ८ वर्ष बिताए । २०१३ मा नेपाल फर्किएका उनी केही वर्ष त काठमाण्डौं तिरै घर जोडेर बसे । दुई छोरालाई विदेश पठाउनु पर्ने भए पछि उक्त घर बेचे । अनि फेरी गाउँको यात्रा र बसाई सुरु भयो ।

कृषि कर्मको यात्रा
देशमा राजनीतिक स्थिरता कायम हुने अवस्था बन्दै थियो । देशमा तीन तहको सरकार बन्यो । रित्तिदै गएको गाउँघरमा नयाँ उभार ल्याउने गरी गाउँ गाउँमा सिहंदरबारको नारा घन्कियो । अनि घन्कियो घर घरमा रोजगार । यो नारा कति व्यवहारमा रुपान्तरित भयो ? यसका बारेमा पक्ष बिपक्षमा लामो बहस होला ।

तर, तमानखोला कटेरी गाउँका चुडामणी छन्त्यालले पनि नयाँ व्यवस्था परिवर्तन सँगै आफ्नो सोँच र सपना बदले । र २३५० मिटर उचाईमा रहेको तमानखोला वडा नम्बर २ को कटेरी गाउँमा कृषि क्रान्ति थाले । विदेशबाट फर्किए लगत्तै गाउँमै तरकारी खेती गर्छु भन्ने अठोट थियो । तर प्रयाप्त आर्थिक भएन,पछि काठमाण्डौ पोखरा आसपासमा गर्छु भन्ने सोच थियो । तर गाउँ फर्किए पछि आफ्नै घर गाउँमै गर्न मन लाग्यो ।’

गाउँघरको स्वच्छ हावापानी, अर्गानिक खानाले सहर बिर्साउने उनको अनुभव छ । ‘गाउँ प्रतिको माया मनको अन्तर कुनामा कायमै थियो,त्यो काठमाण्डौ सहरमा बस्दा पनि गाउँकै अर्गानिक खानेकुरा जिब्रोले खोस्थ्यो,विदेशमा रहँदा पनि गाउँलाई निकै मिस गर्थे’ छन्त्यालले भने,‘फेरी पहिले जस्तो दुःख भएको भए यहाँ फर्किएर व्यावसायिक रुपमा कृषिमा लगानी गरेर गाउँ बस्न मन लाग्थ्यो कि लाग्थेन ? तर अहिले सडक,बिद्युत, सञ्चार जस्ता आधारभूत आवश्यकता सबै गाउँ पुगिरहेका छन्, अनि आफुलाई बदलेर दुर गाउँमा कृषि कर्मका लागि तयारी गरे ।’

व्यावसायिक तरकारी खेती सुरु गर्दा एउटा टनेलबाट काम आरम्भ गरे । अहिले ठुला ठुला ३ वटा टनेलमा लटरम्म खेती छन् । १३ लाख रुपैयाँ बराबरको लागतमा व्यावसायिक सोचका साथ खेती थालिएको चुडामणी बताउँछन् । यसमा गण्डकी प्रदेश सरकारबाट अनुदान समेत प्राप्त गरेको उनको भनाई छ । छन्त्यालले कटेरीमा ४ रोपनी र बुंखानीमा २ रोपनी जग्गामा गोलभेँडा, खुर्सानी,मुला,बन्दा,काउली लगायतका तरकारी लगाएका छन् ।

यसमा उनका भतिज विनोद छन्त्याल, बुहारी नरमाया छन्त्यालले दरिलो साथ दिँदै आएका छन् । उत्पादित कृषि उपज बिक्री भने उल्लेख्य नभएको उनी बताउँछन् । ‘उत्पादन भएको चिज गाउँ छिमेकमै सकिन्छ, तरकारी लगायतका कृषि उपज यही गाउँले छिमेकीहरुले लैजान्छन्’ छन्त्याल भन्छन्,‘सबैबाट नगद पैसा नआए पनि आफुलाई घरमा चाहिने अरु स्थानीय उत्पादन र सामग्री ल्याउने गरेको छु । हालै मात्र सडक गाउँमा आइपुगेकाले अब अलि ठुलो बजार सम्म पु¥याउने गरी काम गर्छु ।’ उनी बजार नपाएका अकबरे खुर्सानीको अचार बनाउँछन् ।

उनले दुर गाउँमा पहिलो पटक चूनौती सहित व्यावसायिक कृषि कर्म थालेका थिए । बुर्तिबाङबाटै टनेल र यसका लागि आवश्यक सामान कठिन पूर्वक बोेकेर गाउँ पु¥याएका थिए । ‘दुर्गम गाउँमा यसरी खेती थालेको चार वर्ष बढी भयो । पहिले पहिले त यसले के गर्दैछ भन्थे,अनौठो मान्थे’ उनले भने, ‘अहिले बल्ल यो त राम्रो हुँदोरहेछ, हामीले पनि गर्नुप¥यो भन्न थालेका छन्, सबैजसो यसको पछि लाग्न थालेका छन् । यस्ता टनेल गाउँघरमा थिएनन् । अहिले गाउँपालिकाभर टनेलको अभ्यास र माग बढ्दो देखिएको छ ।’

अहिले परीक्षण सफल हुँदै गए पछि अरु छिमेकी र गाउँलेले पनि व्यावसायिक टनेल खेतीमा चासो र ध्यान दिन थालेको छन्त्यालको भनाई छ । ‘हामीले अहिले सम्म गरेको उत्पादनको एकिन आम्दानीको हिसाव राखेका छैनौ,’ उनले भने,‘अब लगानी र आम्दानीको राम्रो हिसाव किताव राख्छौ । उत्पादित कृषि उपज बिक्रीका लागि तमानखोला गाउँपालिकाको केन्द्र बोंगादोभान र ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार सम्म पठाउने गरी अझ बिस्तार गर्छौ ।’

यसरी व्यावसायिक सोँचका साथ काम गर्दा बाझो जमिनको समेत उपयोग भएको छन्त्यालको भनाई छ । ‘गाउँमा आफ्नै घरमा बसेर काम गर्दा मजा आइरहेको छ,त्यति धेरै विदेशमा जस्तो दुःख पनि गर्नु परेको छैन,’ उनले थपे, ‘म आफैले विदेशमा दैनिक १२ देखि १८ घण्टा सम्म काम गरे, जम्मा महिनामा एक दिन मात्र बिदा पाइन्थ्यो । विदेशमा जति समय दिएर काम गर्न सके यही मनग्गे कमाई गर्न सकिन्छ । यहाँ कम्तीमा ८ घण्टा मात्र खट्ने हो भने पनि कति हो कति राम्रो गर्न सकिन्छ ।’

कृषि पेशा आफुलाई मन पर्ने र जग्गा आफ्नै भएकाले यस काममा समर्पित हुँदाको सन्तुष्टि पृथक भएको उनको भनाई छ । व्यावसायिक खेतीका लागि शहरको जग्गा लिजमा लिँदा समेत महंगो हुने भएकाले आफ्नै पाखाबारीमा केही गर्दा सहज र सफल हुने उनी बताउँछन् ।

उसो त छन्त्यालसँग कृषकको परिचय सँगै परदेशी हुनुको अनुभव पनि छ । यति मात्रै होइन, उनी यस क्षेत्रको नेता पनि हुन् । छन्त्यालको पुरानो इतिहास सहित नेपाली कांग्रेसको राजनीतिमा समर्पित व्यक्ति हुन् । बोंगादोभान स्थित कक्षा ८ का जनजागृत माविमा ०४८ सालमै नेपाल विद्यार्थी सघंको इकाई अध्यक्ष भएर काम गरे ।

पछि नेवि संघको क्षेत्रीय अध्यक्षसम्म भएको गर्विलो इतिहास छ । उनले तरुण दल, कोरियामा रहँदा आदिवासी जनजाति महासंघ, छन्त्याल संघमा आवद्ध रहेर पनि काम गरे । ‘राजनीतिमा चासो र ध्यान छ तर यसकै लागि मरिहत्य गर्दिन’, उनले भने,‘म राजनीतिलाई समाजसेवाको रुपमा आत्मसाथ गर्न चाहन्छु, काम गर्दै जाँदा आउने अवसर फरक कुरा हो तर राजनीतिक अवसरकै लागि जे पनि गर्ने भन्ने सोचमा छैन, अर्को तर्फ कामले त्यस्तो फुर्सद पनि हुँदैन ।’ हरेक राजनीतिककर्मीले राजनीतिसँगै उत्पादनहरुमा जोडिन सके मात्रै देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, कमिसन जस्ता विकृति विसंगति अन्त्य गर्न सकिने उनको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *