संसद विघटन: बागलुङका संघीय सांसद पनि विभाजित !

डम्मर बुढा मगर, बागलुङ

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरे पछि देश तरंगित छ ।

करिब दुई तिहाइ जनमत पाएको आफ्नै नेतृत्वको सरकारको संसद विघटन गर्ने निर्णयले पुनः देश अस्थिरता तर्फ जाने जोखिम बढेको छ । फेरी देश अस्वस्थ राजनीतिको क्रिडास्थल बन्न थालेको भन्दै नागरिक पनि चिन्तित देखिएका छन् । सत्ताको बागडोर सम्हालेको नेकपा बिभाजनको औपचारिक घोषणाको सम्मुखमा भए जस्तो प्रतित हुन्छ । यसबेलामा पाँच वर्षका लागि बागलुङबाट जनमत लिएर प्रतिनिधिसभामा पुगेका सांसदहरु समेत दुई धारमा बिभाजित देखिएका छन् ।

संसद पुर्नस्थापित हुन्छ–देवेन्द्र पौडेल
बागलुङ क्षेत्र नम्बर २ का संघीय संसदमा प्रतिनिधित्व गर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले संसद विघटन संविधान विपरित भएको बताउनुहुन्छ । उहाँले धौलागिरी जागरणसँग कुरा गर्दै संसद विघटन सम्बन्धी संविधानले कुनै पनि त्यस्तो प्रकारको धारा उल्लेख गरेर अधिकार नदिएकाले संविधानको अवमुल्यन गरेको बताउनुभयो ।

‘संविधानको मर्म, लोकतन्त्रको मूल्य मान्यता यो सबैलाई कतै पनि मध्यनजर नगरी निर्वाचित संसद विघटन गरियो,’ सांसद पौडेलले भन्नुभयो ‘यसले लोकतन्त्र, हामीले प्राप्त गरेका उपलब्धी मानवअधिकार र संविधान उल्लङ्घन गरेको हामीले बुझेका छौँ ।’

प्रधानमन्त्रीलाई संसद नै विघटन गर्नुपर्ने त्यस्तो कुनै पनि प्रतिकुल अवस्था नभएकाले यो बेला निर्वाचनको औचित्य र आवश्यकता नभएको बताउनुभयो । पौडेलले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव समेत पेस नभएको भन्दै अदालत र कानुनी प्रक्रियाबाट संसद पुर्नस्थापना हुने बताउनुभयो ।

‘प्रधानमन्त्रीलाई कुनै त्यस्तो प्रतिकुल अवस्था थिएन, भदौ २६ गतेको बैठकले उहाँ नै ५ वर्षसम्मका निम्ति प्रधानमन्त्री हुने भनेर निर्णय गरेको थियो, बाहिर प्रचार भए जस्तो अविश्वास प्रस्ताव दर्ता गरिएको पनि होइन,’ उहाँले भन्नुभयो ‘निर्वाचनको आवश्यकता र औचित्य नभएको बेलामा संसद विघटन गरिएको छ, संसद पुर्नस्थापना हुनुपर्छ, अदालत र कानुनी प्रक्रिया छन् ती अपनाएर संसद पाँच वर्षका लागि पुनस्थापित हुनुपर्छ भन्नेमा हामी दृढ छौँ ।’

उहाँले संसद विघटनबारे अदालत सम्म योे विषय पुगेको भन्दै अदालतले संसद पुर्नस्थापना गर्ने बताउनुभयो । ‘अदालतमा पुगेको छ, राष्ट्रपतिबाट संविधानको संरक्षण भएको हुँदा सोँच विचार पु¥याएको भए हुन्थ्यो, विचार नपु¥याइकन हतारमा गरिएको निर्णय भएको हुँदा सार्वजनिक रुपमा नै संसद विघटनको वत्तव्य जारी भएइसकेपछि यसको निकास भनेको अदालत हो, हामी विश्वासमा छौँ, अदालतले संसद पुर्नस्थापना गर्छ ।’

पौडेलले प्रधानमन्त्री ओली बिरुद्धको अविश्वास प्रस्तावमा पनि हस्ताक्षर गर्नुभएको छ । यद्यपी उहाँले आफू कुनै पनि गुट, उप–गुटको पक्षमा नभई सिङ्गो नेकपाको संगठित पक्षमा लाग्ने बताउनुभयो । ‘हामी छलफल गर्दैछौँ, धार, समूह भन्दा पनि नेकपाको अहिलेको संरचना छ, केन्द्रीय समिति, संसदीय दल, स्थायी समिति सबै संरचनाको संस्थापन नेकपाको पक्षमा नै म छु,’ उहाँले भन्नुभयो ‘हामी कुनै गुट, उप–गुटभन्दा सिङ्गो नेकपालाई संगठित गर्ने पक्षमा लाग्नेछौँ ।’

बाध्यात्मक परिस्थितिको उपज–डा.सूर्य पाठक
बागलुङ क्षेत्र नम्बर १ बाट संघीय संसदमा प्रतिनिधित्व गर्नुभएका सूर्य पाठकले संसद बिघटन प्रधानमन्त्रीले चाहेर नभई बाध्यताले गर्नु परेको तर्क राख्नुहुन्छ ।

पाठकले धौलागिरी जागरणसँग कुराकानी गर्दै यो घटना दुःखदायी भएको भन्दै पार्टीको आन्तरिक किचलोका कारण संसद बिघटनसम्म पु¥याएको बताउनुभयो । ‘संसद बिघटन प्रधानमन्त्री चाहेर या हामी कसैले चाहेर भन्दा एउटा बाध्यात्मक परिस्थितिको उपजको रुपमा यो आयो, यो घटना चाहीँ दुःखदायी घटना नै हो,’ सांसद पाठकले भन्नुभयो ‘लामो समयको अस्थिरताले गर्दा जनताले सरकारलाई लामो समय शासन गर्न दिनुपर्छ भनेर हामीलाई मतदान गर्नुभयो, तर हाम्रो पार्टी भित्रको आन्तरिक किचलोले हामीलाई एउटा निश्कर्षमा पुग्नु पर्ने खालको बिन्दुमा पु¥यायो ।’

उहाँले पार्टीका नेताहरुको पद मोहका कारण गर्दा अहिले यो खालको स्थिति उत्पन्न भएको बताउनुभयो । पाठकले आगामी बैशाखमा निर्वाचन भए सांसदमा उम्मेद्वारी दिने आशय समेत व्यक्त गर्नुभयो ।

‘एउटा राजनीतिकर्मी राजनीतिक दौराहमा लागिरहँदा जनताको बीचमा जाने कुरालाई अन्यथा मान्ने चलन पनि छैन, मान्नु पनि भएन,’ पाठकलले भन्नुभयो ‘पार्टीले के निर्णय गर्छ, कस्तो फैसला गर्छ, त्यो आधारमा निर्वाचनमा होमिने कुरा तय हुने भयो, तर स्वभाविक रुपमा लोकतन्त्रमा जनताको बीचमा बारम्बार जानु पर्छ भन्ने प्रति म दृढ छु ।’

उहाँले जसरी भए पनि अब निर्वाचनको बातावरण सिर्जना गर्नु पर्ने बताउनुभयो । प्राप्त उपलब्धीलाई संस्थागत गर्न निर्वाचनमा जाने गरी प्रधानमन्त्रीले अहिले गरेको संसद विघटनको निर्णय अधिकार भएको उहाँको जिकिर छ । ‘अब निर्वाचनको बातावातरण सिर्जना गर्नुपर्छ, प्राप्त उपलब्धीलाई संस्थागत गर्न निर्वाचनमा जान जरुरी छ, हाम्रो देशको परिस्थिति हेर्दाखेरी यति लामो समयसम्म राजनीतिक अस्थितरताको कारणले गर्दा होला, दुनियाँँको पार्लामेन्ट्री सिस्टममा हे¥यो भने जहाँ पनि प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार हुन्छ,’ उहाँले भन्नुभयो ‘यो सबैलाई अस्वभाविक लाग्न सक्छ, यसलाई अस्वभाविक मान्नु पर्ने मलाई लाग्दैन, अब मुलुक निर्वाचन तर्फ अगाडी बढ्छ ।’

उहाँले पार्टी एकता गर्दा सिद्धान्ततः कता कता अलमलिएको जस्तो भएको भन्दै अब सैद्धान्तिक रुपमा जनताको बहुदलिय जनवादको रक्षा, विकास मार्फत देश बदल्ने धार तिर आफू आउने बताउनुभयो ।

‘अहिलेनै पार्टी औपचारिक रुपमा विभाजन भइनसकेको छैन, विभाजन हुन्छ भन्ने लगभग–लगभग निश्चित जस्तो देखिन्छ,’ उहाँले भन्नुभयो, ‘स्वभाविक रुपमा त्यतिबेला सैद्धान्तिक हिसाबले, दृष्टिकोणका हिसाबले, संगठनका हिसाबले र हिजोको पृष्ठभूमिको हिसाबले जनताको बहुदलिय जननवादको रक्षाका लागि मेरो समर्थन रहन सक्छ ।’

असहयोगको हदको नतिजा–मनकुमारी केसी
समानुपातिक तर्फबाट संघीय संसदमाा प्रतिनिधित्व गर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य मनकुमारी केसीले सांसद विघटन सरकारलाई पार्टी भित्रैबाट असहयोगको हदको नतिजा भएको बताउनुहुन्छ ।

सरकारलाई सहयोग नगर्ने, राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउने खेल भएपछि संसद विघटनको निर्णयमा प्रधानमन्त्री केपी ओली बाध्य भएर पुग्नु परेको बताउनुभयो ।

‘सुरुदेखिनै सरकारलाई सहयोग भएन, त्यो शीर्ष नेताहरुबाट कुनै छनक देखिएन, संसदमा बोलिएका, अभिव्यक्तिहरुमा पनि देखिएन,’ उहाँले भन्नुभयो ‘राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउने खेल खेल्दा यो अवस्था सिर्जना भयो ।’

उहाँले आगामी निर्वाचनामा पार्टीले आवश्यक ठानेको खण्डमा निर्वाचनमा जाने बताउनुभयो । उहाँले पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै आएको र अब आउने दिनमा पनि जस्तोसुकै जिम्मेवारी पूरा गर्न तयार रहेको बताउनुभयो ।

‘निर्वाचनमा जाने त भर्खरै मैले भनिराख्नु उपर्युक्त हुँदैन, त्यो हतार पनि हुन्छ, तर पार्टीले के कसरी निर्णय गर्छ ? कसरी जाने भन्छ ? त्यही अनुसार जाने हो,’ उहाँले भन्नुभयो ‘पार्टीले आवश्यक ठानेको खण्डमा चाँही कुनै पनि कुरामा पछि हट्नु हँुदैन भन्ने त राजनीति गर्नेहरुलाई हुन्छ नै, आवश्यक परे अगाडी बढ्न सक्ने स्थिति रहन्छ ।’

उहाँले पार्टी विभाजनकै संघारमा पुगेको भन्दै विभाजन नहुनेमा झिनो आशा समेत रहेको आशय व्यक्त गर्नुभयो । उहाँले सकभर मिलेर एकै ठाउँ हुनुपर्ने बताउनुभयो । ‘पार्टी विभाजनकै संघारमा पुगेको छ, तर बिभाजन नहुन पनि सक्छ, सकभर त हामी एकै ठाउँमा हुनुपर्छ,’ केसीले भन्नुभयो ‘त्यस्तो भएन भने पनि आफूले लिएको उद्धेश्यलाई पूरा गर्न दृढ छौँ ।’

केसीले नवौँ महाधिवेशनमा केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन भएको र त्यहीबाट आफू निर्वाचित भएको भन्दै आजसम्म पनि केपी शर्मा ओलीकै नेतृत्वमा अगाडी बढेको बताउनुभयो ।

‘समूह त के रह्योे र ? नवौँ महाधिवेशनमा केपी शर्मा ओलीको नेतृत्वमा हामी निर्वाचनमा थियौ, त्यसबाट हामी निर्वाचित भयौ,’ उहाँले भन्नुभयो ‘हामीले त नवौँ महाधिवेशनले चुनेको नेतृत्वलाई नै अर्को महाधिवेशन नहुँदासम्म त्यही नेतृत्व अन्र्तगत रहेर काम गर्नु हाम्रो कतव्य हो, यसमा यो समूह त्यो समूह भन्नै परेन ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *