सुरुवाती इतिहास र संघर्ष
नेपाल पत्रकार महासंघको शाखा स्थापनाको पहल र प्रयास २०५४ साल यता भएको हो । त्यो बेलामा बागलुङका मात्र पत्रकारको संख्या कम थियो । शाखा स्थापनाका लागि जिल्लामा अपुग भए पछि धौलागिरी शाखा बनाउने गरी प्रयत्न भए । नेपाल पत्रकार महासंघ स्थापना भएको ४२ वर्ष पछि २०५४ सालमा राजेशचन्द्र राजभण्डारीको संयोजनमा तदर्थ समिति गठन गरी पत्रकारको लगत संकलन गरेर केन्द्रमा पठाउने काम गरियो ।
त्यसको दुई वर्ष पछि २०५६ मा २० जना पत्रकारलाई सदस्यता प्रदान गरियो र शाखा स्थापनाको स्वीकृती प्राप्त भयो । त्यसपछि केन्द्रीय प्रतिनिधिको उपस्थितिमा २०५७ असार २५ गतेको भेलाले विदुर खड्काको संयोजकत्वमा पत्रकार महासंघ धौलागिरी शाखाको तदर्थ समिति गठन गरियो । यस समितिले म्याग्दी, पर्वतका पत्रकारलाई समेत सहभागी बनाएर धौलागिरी शाखाको प्रथम अधिवेशन २०५८ सालमा ग¥यो । अधिवेशनले नारायणदत्त कंडेलको अध्यक्षमा पहिलो कार्यसमिति चयन गरेको थियो । त्यसयता राजेशचन्द्र राजभण्डारी (२०६१–२०६३) मा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभयो ।
२०६३ मै पर्वत र म्याग्दी जिल्लामा छुट्टाछुट्टै शाखा गठन भयो । र बागलुङ शाखाको रुपमा अघि बढ्यो । २०६४ सालमा तेस्रो अधिवेशनले हरिनारायण गौतमको अध्यक्षमा नयाँ कार्यसमिति बन्यो भने २०६७ सालमा रामबहादुर जिसी नेतृत्वको कार्यसमिति बनेको थियो । यी सबै नेतृत्वले पत्रकार महासंघ भवनका लागि जग्गा खोजीको निरन्तर प्रयत्न गरे पनि सार्थक रुप लिन सकेन । तर, २०७० मा निर्वाचित मुकेशचन्द्र राजभण्डारी नेतृत्वको कार्यकालमा जग्गा व्यवस्थापन र २०७३ फागुनमा नेतृत्व सम्हालेका दिल शिरीषको नेतृत्वमा भवन निर्माण भएको छ ।
यस्तो छ भवन निर्माणको संघर्ष र सफलता
पत्रकार महासंघको बोर्ड राख्ने ठाउँ पनि नपाएको नमिठो अनुभूति अग्रजहरुको । एउटा झोलामा कार्यालय (कागज पत्र) बोकेर भाडाको कोठा हुँदै अगाडी बढेको पत्रकार महासंघ बागलुङको अहिले एक करोड बढीको लागतमा निर्माण गरिएको सुविधा सम्पन्न आफ्नै भवन छ । तीन तहका सरकारको केही सहयोग सहित नागरिक स्तरबाट गरिएको सहयोग संकलनबाट निर्माण गरिएको भवनको गत मंसिर ३० मा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् ।
पत्रकार महासंघको दुई दशक लामो अवधीका बीच पत्रकार महासंघ बागलुङको आफ्नै घर छ । यो कसरी सम्भव भयो त ? अघिल्लो कार्यसमितिको कार्यकालको अन्तिम समयमा लामो प्रयत्न पछि जग्गा व्यवस्थापन भयो । निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको विशेष पहलमा जिल्ला बाल कल्याण समितिको बागलुङ नगरपालिकाले ५० वर्षका लागि भोगचलनका लागि लिएको जग्गा महासंघलाई दिने सहमति भयो ।
यो महासंघको संस्थागत विकासमा एक महत्वपूर्ण कोशेढुंगा थियो । जग्गा व्यवस्थापन भएर अधिवेशनको सम्मुखमा २०७३ सालको माघमा भवन शिलन्यास समेत गरियो । त्यसपछि महासंघमा नयाँ नेतृत्वका लागि अधिवेशन भएर दिल शिरीष नेतृत्वको कार्यसमिति बन्यो । यही समितिको काँधमा भवन निर्माणको मुख्य कार्यभार आयो । तर, भवनको विस्तृत डिजाइन, लागत स्टिमेट केही तयार भइसकेको थिएन । यसका लागि चुस्त आर्थिक योजनाको जरुरी थियो ।
‘भवन नक्सा डिजाइन ग¥यौ, १ करोड ३० लाख रुपैयाँको लागत स्टिमेट बन्यो,’ नेपाल पत्रकार महासंघ बागलुङ शाखा अध्यक्ष दिल शिरीषले भने, ‘कार्यकाल सुरु गर्दा नै संस्थागत ऋणभार थियो, भवन निर्माण सुरु गर्दा कत्ति पैसा थिएन, शुन्य अवस्थाबाट भवन निर्माण अघि बढाएका हौ, धेरै कठित र चूनौतीपूर्ण यात्रा पार गरेर भवन निर्माणको सपना पुरा गरेका हौ ।’
अहिले बागलुङ बजारको सरकारी अड्डाहरुको व्यस्त बस्तीमा पत्रकार महासंघको घर छ । यो जिल्लाका पत्रकारहरुका लागि गौरवको बिषय त हुँदै हो । समाजमा सामाजिक संस्थाले नागरिक स्तरमा अभियान सञ्चालन गरेर यति बृहत्तर अहिलेको समयमा हासिल गरेको महत्वपूर्ण उपलब्धी हो । ‘मेरो कार्यसमितिको टीम युवा पुस्ता तर आफै पेशागत संघर्षमै भएकाहरुको थियो ।
हामी स्वयम्सँग ठुलो रकम, कारोबार गर्ने हैसियत थिएन, करोडको कुरा त धेरै ठुलो लाग्थ्यो,’ अध्यक्ष शिरीषले भन्नुभयो, ‘कार्यकाल सुरुवातको कैयन महिना राम्ररी निद्रा पनि परेन, यो मेरो व्यक्तिगत जीवनकै अग्नी परीक्षा थियो । जसरी भए पनि भवन निर्माण त गर्नुपर्ने नै थियो । त्यसैले भवन निर्माणका लागि देश विदेशमा आर्थिक सहयोग जोहो गर्न मैले एउटा नारा बनाए–‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ । धेरैले शिरीषको यो नारा मन पराए । नारा मात्र मन पराएनन्,आफ्नो क्षमता हैसियत अनुसार सक्दो सहयोग गरे ।
चिया पसलेदेखि ठुला उद्योगी व्यवसायी सम्म, देशदेखि विदेश भएका सम्म, जन्मदिनको खर्चदेखि अरु प्रतिष्ठित पुरस्कारको रकम समेत पत्रकार महासंघ भवनका लागि हार्दिकता साथ सहयोगको लहर चलेको अध्यक्ष शिरीष बताउनुहुन्छ । शिरीष र उनको कार्यसमितिका सबै नयाँ पुस्ताका पत्रकारहरु महासंघको नेतृत्वको प्रबल आंकाक्षी र उम्मेदवार हुँदा उनीहरु माथि भवन निर्माण, यसका लागि ठुलो रकम संकलन गर्नुपर्ने जिम्मेवारी रहेकाले सरोकारवाला निकाय, आम नागरिकले विश्वास र भरोसा गर्दैनन् भन्ने ठुलो आरोप र आंशका अग्रजहरुको थियो ।
‘त्यो म र मेरा साथीहरु सँगको क्षमता, हैसियत माथिको प्रश्न मात्रै थिएन । नयाँ पुस्ता प्रतिको विश्वास र भरोसा माथिको प्रश्न, आशंका र संशय पनि थियो । त्यो सुने पनि नसुने झै गरेर चुपचाप रह्यौ,’ अध्यक्ष शिरीष भन्नुहुन्छ,‘यात्रामा सोधिने सबै प्रश्नको जवाफ म तत्काल दिन जरुर ठान्दिन । कति प्रश्नको जवाफ यस्तो हुन्छ, जुन समय आफैले दिन्छ । मलाई लाग्छ, अहिले हामीले एक करोड बढी रकम संकलन गरेर सुविधा सम्पन्न पत्रकार महासंघ भवन निर्माण गरेका छौ । आज समय आफैले ती अविश्वास र आंशका गर्नेहरुलाई जवाफ दिएको छ ।’ यो नयाँ पुस्ता हर चूनौतीलाई अवसरमा बदल्न सक्षम छन् भन्ने उदाहरण भएको उहाँको भनाई छ ।
‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियान विशेष तयारी र योजना सहित आक्रामक रुपमा सुरु गरेर पहिलो दिनमै पाँच लाख बढी रकम संकलन गरिएको थियो । त्यसयता देश विदेशबाट अभूतपूर्व साथ, सहयोग प्राप्त भयो । नागरिक स्तरमा स्वतःस्फुर्त चलेको अभियानबाट एक करोड बढी रकम संकलन गर्न सफल भएको पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष बिजय राना बताउनुहुन्छ ।
‘हामीले भवन निर्माण मात्र गरेनौ, यसभित्र आवश्यक अपरिहार्य समय सापेक्ष पूर्वाधार र सामग्री पनि जोड्यौ,’ कोषाध्यक्ष रानाले भन्नुभयो,‘यसको उदाहरण महासंघ भवनको आधुनिक सूचना केन्द्र हो । सभाहलमा तालिम सञ्चालनका लागि पनि प्रविधिमैत्री व्यवस्था गर्ने प्रयास छ ।’
यसरी गरियो पत्रकार भवनको जग्गा व्यवस्थापन
आफ्नै भवन अनि व्यवस्थित कार्यालय । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको यो सपना धेरै पहिलेदेखि थाती थियो । मैले २०७० सालमा बागलुङ शाखाको नेतृत्व गर्दा कार्यालय डेरामा थियो । व्यवस्थित थिएन । न त महासंघ सञ्चालन र व्यवस्थापन गर्न गतिलो कोष थियो ।
थोरै तलबमा कर्मचारी राखेका थियौं । समयमै तलब दिन नसक्दा कर्मचारीले छोड्ने र कार्यालय बन्द हुने अवस्था थियो । त्यति बेला एफएम, दैनिक पत्रिका र केही साप्ताहिक पत्रिका मात्र प्रकाशन–प्रसारण हुन्थे । धेरै पत्रकारले विनातलब काम गर्नुपर्ने बाध्यता थियो । जति टिकेका थिए, ती रहर र पत्रकारिताको आकर्षणले मात्र बसिरहेकाहरू थिए ।
एफएम र दैनिक पत्रिकाहरू विस्तारै व्यावसायिक हुन लाग्दा जिल्लामा संस्थागत रूपमा पत्रकार महासंघ र त्यसको नेतृत्वको आवश्यकता बढेर गयो । पत्रकारहरू विभिन्न कारणले जोखिममा पर्दा महासंघको भूमिका र महत्त्व बढ्यो । तर २०–२५ वर्षदेखिको महासंघको आफ्नै घर बनाउने सपना यति मात्रैले पूरा हुने अवस्था थिएन । पूर्वअध्यक्षहरूले धेरै मेहनत गर्दा पनि जग्गा प्राप्त हुन सकेको थिएन । पुरानो हुलाक घर, अहिलेको हुलाक घर, मरेपीपल, चिप्लेटी, रुदे्रपीपल, हारेपाखातिर निकै जग्गा हेरिए । तर सम्भव भएन ।
भागीरथ पाण्डे प्रजिअ हुँदा युवराज अधिकारी बागलुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । अन्त सम्भव नभएपछि जनस्वास्थ्य कार्यालयअगाडिको बालकल्याण समितिको नाममा रहेको जग्गाका लागि प्रयास गरियो । त्यहीँ नगरपालिकाले सडक बालबालिकालाई राख्न भवन बनाउने योजना तय गरेको रहेछ ।
मैले प्रजिअ पाण्डेलाई महासंघ भवनको आवश्यकता दर्साउँदै उहाँलाई विशेष अनुरोध गरेँ । त्यसपछि उहाँले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई आफ्नै क्वार्टरमा बोलाएर उक्त जग्गाका विषयमा गहन छलफल गराउनुभयो । त्यो छलफलमा मोटामोटी सहमति पनि भयो । तर राजनीतिक दलका नगरस्तरीय प्रतिनिधि र नगरपालिकाका कर्मचारीलाई सहमत गराउन बाँकी थियो ।
सबैसँग एकल अनि सामूहिक छलफल र अन्तरक्रियापछि जसोतसो सहमति जुट्यो । त्यसपछि प्रजिअ पाण्डेले आफ्नै कार्यकक्षमा युवराज अधिकारी र युक्त सुवेदीलाई बोलाउनुभयो ।
हमतिपत्रको ड्राफ्ट सुवेदी दाइले नै तयार पार्नुभयो । उक्त ड्राफ्टले महासंघको आफ्नै घर बनाउने हाम्रो सपनालाई भेट्टाउने बाटो तयार पारिदियो । यो सबैको सहयोगले नै सम्भव भएको थियो । यद्यपि सबै जनाले हस्ताक्षर गरेको उक्त सहमतिपत्रलाई एक वर्षसम्म हामीले गोप्य राख्यौं ।
परिस्थिति थप अनुकूल बन्दै गएपछि तत्कालीन अध्यक्ष महेन्द्र विष्ट दाइबाट शिलान्यासको अवसर जु¥यो । उक्त समारोहमा केन्द्रीय समितिका पदाधिकारीको लगभग सिंगो टोली नै आएको थियो । उजिर मगर, खिलबहादुर भण्डारीलगायत सबै साथीहरू आउनुभएको थियो ।
त्यति बेला हालेको त्यही जगमा आज हाम्रो आफ्नै भवन सम्भव भयो, दिल शिरीषको नेतृत्वमा । यो सबै हामी सबैको सकारात्मक प्रयास र मेहनतका कारणले हो । जग्गा प्राप्त गर्न र भवन बनाउन नेतृत्व गर्ने शिरीषको टिम र सहयोग गर्ने सबै धन्यवादका पात्र छन् ।