धौलागिरीमा नेकपा भर्सेज नेकपा

-कुन जिल्लामा को बलियो ? -दुई दर्जन बढी नेता ‘पर्ख र हेर’

आदर्श अनलाइन, बागलुङ

झण्डै दुई तिहाइको सत्ता बागडोर सम्हालेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनसँगै धौलागिरीमा पनि नेताहरुबीच हिसाव किताब सुरु भएको छ ।

२०७४ सालको तीन तहको निर्वाचनमा बामपन्थी प्यानल बनाएर ऐतिहासिक जित हासिल गरेको साविक धौलागिरीमा अन्ततः नेकपा विभाजन सँगै केन्द्रीय, जिल्ला र स्थानीय स्तरमा समेत नेता कार्यकर्ता विभाजित हुन थालेका छन् । यद्यपी, तल्लो तहका नेता, कार्यकर्ता नेकपाबीचको एकताकै पक्षमा देखिन्छन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले करिब दुई तिहाईको बहुमत प्राप्त प्रतिनिधि सभा विघटन गर्नुभयो । त्यसयता ओली र कार्यकारी अध्यक्ष प्रचण्ड–माधवकुमार नेपाल पक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बसेर एक अर्कालाई कारबाहीको निर्णय गरे सँगै नेकपा औपचारिक रुपमा विभाजनको अवस्थामा पुगेको हो । विभाजनसँगै केन्द्रीय स्तरमा दुई पक्षबीच पार्टीको नाम, चुनाव चिन्ह लगायतको दाबी सहित आरोप प्रत्यारोप तिव्र छ । पार्टी संगठन विस्तार गर्ने गरी प्रदेश भेला, जिल्लाका अगुवा कार्यकर्ता भेला लगायतका गतिविधि दुवै पक्षबाट हुन थालेका छन् ।

साविक धौलागिरीमा पनि केन्द्रमा जस्तै एक पक्षले अर्को पक्षलाई कमजोर दाबी गर्न थालेका छन् । भलै यसका बारेमा अझै जिल्ला र स्थानीय तहका नेताहरु प्रष्ट सँग खुलिसकेका छैनन् । अहिले नै को बलियो भन्ने टिप्पणी हतारो हुन सक्छ । यद्यपी, अहिलेको परिदृश्यले भोलीको अवश्य संकेत गर्नेछ ।

अहिलेको अवस्थामा साविक धौलागिरीमा कुनै एक पक्षको मात्र पल्लाभारी हुने प्रारम्भिक संकेत देखिदैन । नेकपामा धौलागिरीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय स्तरमा प्रभाव राख्ने नेता, मन्त्री, सांसदहरु अधिकांश ओली पक्षमा देखिएका छन् भने जिल्ला कमिटीमा प्रचण्ड माधव नेपाल पक्ष बलियो देखिएको छ । धौलागिरीका जिल्ला स्तरका दुई दर्जन नेता भने ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिएका छन् ।

संस्थापन को हुने र सुर्य चिन्ह कस्ले पाउँछ भन्ने कुरा महत्वपूर्ण हुने भन्दै म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङका केही नेता अहिलेसम्म मौन बसिरहेका छन् ।

बागलुङ
बागलुङमा तत्काल हेर्दा जिल्ला तहका नेताहरुमा प्रचण्ड–नेपाल पक्ष बलियो देखिएको छ ।

तत्कालिन एकिकृत माओवादी केन्द्र र नेकपा एमाले एकीकरण पछि बनेको ७ सदस्यीय बागलुङ जिल्ला कार्यालय मध्ये अधिकांश प्रचण्ड र माधव नेपाल पक्षमा उभिएका छन् । जिल्ला इन्चार्ज बलावती शर्मा प्रचण्ड नेपाल पक्षमा हुनुहुन्छ भने सह–इन्चार्ज मनकुमारी केसी केपी ओली पक्षमै हुनुहुन्छ ।

७ कार्यालय सदस्य मध्ये जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, सचिव ज्ञामनाथ गैरे, कार्यालय सदस्य लालबहादुर थापा, बिष्णु भुषाल, फमलाल न्यूरे, चन्द्र बुढा प्रचण्ड नेपाल पक्षमा प्रष्ट लाग्नुभएकाे छ भने केपी ओली निकट मानिएका अर्का कार्यालय सदस्य कृष्ण पाठक अझै प्रष्ट खुल्नुभएको छैन ।

आइतबार बागलुङमा प्रचण्ड माधव नेपाल पक्षको जिल्ला कमिटी बैठक तथा अगुवा कार्यकर्ता भेलामा दुई तिहाई बढी सदस्यको उपस्थिति रहेको जिल्ला अध्यक्ष तथा प्रचण्ड माधव नेपाल पक्षका नेता इन्द्रलाल सापकोटाको दाबी छ ।

उसो त ओली पक्ष तत्कालिन नेकपा एमाले हुँदै जिल्लामा कमजोर मानिन्थ्यो । एमाले जिल्ला अधिवेशनमै माधव नेपाल प्यानलले जित हासिल गरेको थियो । यद्यपी, ओली पक्षिय केही नेताहरुले भने परिस्थितिजन्य घटनाक्रम र तथ्य बुझे पछि नेता, कार्यकर्ताको ठुलो पंक्ति यतै आउने दाबी गरेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बागलुङबाटै १० जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । यद्यपी १० जना मध्ये तीन केन्द्रिय सदस्यहरु खुलेर प्रचण्ड पक्षमा लागिसकेका छन् भने दुई केन्द्रीय सदस्य मौन अवस्थामा छन् । बागलुङबाट केन्द्रमा प्रतिनिधित्व गर्ने संघीय सांसद देवेन्द्र पौडेल प्रचण्ड माधव पक्षको सबै भन्दा माथिल्लो स्तरका नेता समेत हुनुहुन्छ । अर्का संघीय सांसदद्धय मनकुमारी केसी र डा. सुर्य पाठक भने ओली पक्षमा हुनुहुन्छ।

पर्वत
पर्वतमा दुबै पक्षको उपस्थिति बराबर जस्तो हुने नेताहरु दाबी गर्छन् । झट्ट हेर्दा जिल्लाबाट राष्ट्रिय राजनीतिमा उदाएका राष्ट्रिय सभाका अध्यक्ष सहित प्रदेश सरकारका मन्त्री, सांसदहरु ओली पक्षमा देखिएकाले यो समूह बलियो भए जस्तो देखिन्छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, संघीय सांसद तथा नेकपा जिल्ला अध्यक्ष पदम गिरी, जिल्ला समन्वय समितिका प्रमुख मनोहर बि पौडेल, पूर्व सांसद कल्पना चापागाई लगायतका नेता ओलीका पक्षमा रहेकाले पर्वतमा ओली पक्ष बलियो देखिएको जिल्ला नेता गोविन्द पहाडी बताउनुहुन्छ ।

तर, ७ सदस्यीय जिल्ला कार्यालयमा इन्चार्ज गुप्त हमाल प्रचण्ड नेपाल पक्ष, अध्यक्ष पदम गिरी ओली पक्ष र सचिव सुदिप कंडेल प्रचण्ड नेपाल पक्षमा हुनुहुन्छ । अरु जिल्ला कार्यालय सदस्यहरु भक्त कुँवर, पदमपाणी शर्मा, सृजनशील कुँवर, उमाकान्त भूर्तेल प्रचण्ड माधव नेपाल पक्षमा हुनुहुन्छ । १ सय ३१ जिल्ला कमिटी मध्ये ८१ जना प्रचण्ड माधव नेपाल पक्षका रहेको प्रचण्ड नेपाल पक्ष निकट एक नेताले दाबी गरे ।

म्याग्दी
म्याग्दीमा ओली प्रचण्ड पक्ष दुवैको उपस्थिति बलियो हुने देखिएको छ । पुराना महिला नेतृ तथा पूर्व मन्त्री थममाया थापा, केन्द्रीय सदस्य तथा संघीय सांसद भूपेन्द्र थापा, हरिकृष्ण श्रेष्ठ लगायतका केही नेता कुनै पनि पक्षमा प्रष्ट खुल्नुभएको छैन ।

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री रहनुभएकी नरदेवी पुन, संविधानसभा सदस्य नवराज शर्मा लगायतका नेता ओली पक्षमा देखिएका छन् भने जिल्ला अध्यक्ष गोविन्द पौडेल, कार्यालय सदस्यहरु रेशम जुग्जाली, देवराज सुवेदी, बालकृष्ण सुवेदी लगायतका जिल्ला नेता प्रचण्ड पक्षमा उभिएका छन् । अर्का कार्यालय सदस्य देवेन्द्र केसी भने तटस्थ हुनुहुन्छ ।

९५ जनाको जिल्ला कमिटी रहेको म्याग्दीमा ५० जना सदस्य प्रचण्ड नेपाल पक्षको भएको एक नेताले दाबी गरे । झट्ट हेर्दा म्याग्दीमा ओली पक्ष बलियो देखिए पनि जिल्लाको स्थानीय तह र गाउँ–गाउँको सम्भावित परिदृश्यलाई हेर्ने हो भने प्रचण्ड माधव नेपाल पक्षको उपस्थिति पनि बलियो हुने आँकलन छ । ओली पक्षबाट नरदेवी पुन, नवराज शर्मा, सन्तोष रावल र हरिकृष्ण श्रेष्ठलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । उनीहरु मध्ये हरिकृष्ण श्रेष्ठ तटस्थ रहेको दाबी गर्नुहुन्छ ।

मुस्ताङ
हिमाल पारीको जिल्लाका रुपमा रहेको मुस्ताङमा भने ओली पक्ष बलियो हुने आँकलन छ । पार्टी इञ्चार्ज श्रीमाया थकाली, जिल्ला सचिव सत्यनारायण शेरचन प्रचण्ड नेपाल पक्षमा रहनुभएको छ । प्रदेश सांसद रहेका जिल्ला अध्यक्ष चन्द्रमोहन गौचन, संघीय सांसद प्रेम तुलाचन, प्रदेश सांसद महेन्द्र थकाली, इन्द्रधारा विष्ट ओली पक्षमा देखिएका छन् । ओली पक्षले अध्यक्ष गौचन, संघीय सांसद तुलाचन र घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित समेत गरेको छ ।

९५ सदस्यीय जिल्ला कमिटी रहेको मुस्ताङमा कार्यालय सदस्य र सचिवालय भने विवाद भए पछि बन्न सकेको थिएन । जिल्ला कमिटीका अधिकांश सदस्यहरु ओली पक्षमा रहेका छन् । मुस्ताङमा ओली पक्ष तत्कालका लागि बलियो देखिए पनि केही नेताहरु पर्ख र हेरको अवस्थामा रहेको नेकपाका जिल्ला नेता विशाल बिकले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *