डम्मर बुढा मगर, बागलुङ
ढोरपाटन नगरपालिका–९ का होमबहादुर बिकको नाममा अहिले न धन सम्पति बाँकी छ, न पुख्यौली जग्गा जमिन नै । अनि छैनन् जीवनभर दरिलो साथ दिने संकल्प गरेकी जीवन संगिनी पनि । छ त केबल उनको गहभरी आँशु छ, मनभरी पिर ।
गत भाद्र १७ गते राति आएको बाढीले होमबहादुरको जीवन संगिनी कुमारी बिकलाई मात्र सदाका लागि बगाएन । उनको भए भरको जायजेथा र सम्पति पनि बगाइदियो । र परिवार र गाउँ उजाड जस्तो बनाइदियो ।
होमबहादुरका ६ र ८ वर्षका साना छोरा छन् । यो कठ्याङ्ग्रिने जाडोमा स्याउलाले बारेको छाप्रोमा आश्रय लिएर रात काटिरहेका छन् । स्याउलाले बारेर बस्दै आएको जमिन पनि उनको होइन । ‘बाढीले सबै जग्गा जमिन बगाएपछि एउटा छाप्रो बनाएर बस्ने थाडथलो समेत छैन,’ होमबहादुर भक्कानिनुभयो ।
बाबाआमा र दाजुभाईसँग भागबण्डा गरेर छुट्टिएर बसेका होमबहादुर गत वर्षसम्म राम्रैसँग जिन्दगी चलाई रहनुभएको थियो । परिवारलाई जसोतसो सुख खुसीमै राखेका थिए । सन्तान, श्रीमती र आफ्नो थप सुनौलो भविष्य खोज्दै विदेशमा पुग्नुभएकाे थियाे । श्रीमतीले घर धन्दा चलाउने र होमबहादुरले विदेशमा कमाउने गर्दा परिवार राम्रै चलेको थियो । विदेशमा रहेका होमबहादुरलाई गाउँमा बाढी आए पछिको समय निकै पीडादायी र कष्टप्रद भएर आयो । गाउँमा श्रीमतीसहित भए भरको सम्पति बाढीले बगाउँदा पनि कोरोना कहरका कारण होमबहादुर चाहेर पनि तत्काल गाउँ आउन सक्नुभएन ।
७ महिना कोरोनाका कारण लकडाउनले बेरोजगार भइ हातमुख जोड्न धौ–धौ भइरहेको बेला घरमा परेको यस्तो महाविपत्तिले उहाँलाई थप असह्य पीडा भयो । कोरोना कहरकै बीच बाह्य उडान सुरु हुना साथ घर फर्किनुभयो ।
ठूलो सपना बोकेर विदेश पुग्नुभएका उहाँ रित्तो हात गाउँमा फर्किए । गाउँ फर्किएपछि उहाँले आफ्नो सम्पत्ति, घर, जग्गा कहाँनेर थियो भनेर पत्ता लगाउन सकेनन् । किनकि उहाँको घर जग्गा भएको ठाउँ अहिले पुरै ठूला ढुङ्गा मुढाले भरिएर बगर बनेको छ ।
गाउँ फर्किए पछि होमबहादुर त्यो भयानक दृश्यले भावविह्ल बनेको बताउँनुहुन्छ । ‘जति पीडा, दुःख, दर्द परे पनि जसोतसो सम्हालिनुको विकल्प रहेनछ’ उहाँले भन्नुभयो, ‘साना नाबालक सन्तानको मुख र भविष्य हेरेर बाँचिरहेको छु ।’
बाढीले भूजीखोला छेउमै रहेको किराना पसल, गाई गोठसहित आफ्नो अंशमा भएको सबै सम्पति बाढीले बगाएको उहाँको भनाई छ । ‘यहीनेर घर, पसल थियो, गोठ पनि नजिकै थियो, त्यसभन्दा अलि पर जग्गाहरु थियो,’ उहाँले ढुङ्गा मुढाहरुले भरिएको ठूला बगरलाई देखाउँदै भन्नुभयो, ‘अहिले यस्तो भएको छ हजुर, के गर्ने दैव पनि मै माथि आइलाग्यो, मेरो पासमा दुई छोरा बाहेक अरु केही छैन ।’
अहिले बाढीले बगाएर बगर बनाएको जग्गा माथि भाईको सानो जग्गामा स्याउलाले बारेर सानो छाप्रो बनाउनुभएको छ । छाप्रोको एकातिर गाई बाँध्ने दाम्लोहरु र अर्कोपट्टि पुराना पाटे तुनेका थाग्ना भोक्टा देखिन्छन् ।
होमबहादुर दुई छोराहरु सहित यही छाप्रोमा रात बिताउँछन् । उनीहरुले त्यही पुराना थाग्ना भोक्टा लगाएर जाडो छेक्न बाध्य छन् । छाप्रोमा पनि मान्छे उनीहरु मात्रै बस्दैनन् । एकापट्टी भाईको पशुचौपाया समेत बाँधिएको छ । ‘मेरो त केही छैन, बस्ने खाने ठाउँनै छैन, यो कटेरो बनाएको पाटो पनि भाइको हो, उता पट्टि गाई बाँध्छन्, यता पट्टी हामी सुत्छौँ,’ स्याउलाले बारेको छाप्रो छेउमा पुग्दै भन्नुभयो, ‘यस्तो होला भन्ने सोचेको पनि थिएन, पसल पनि राम्रो चलेको थियो, केही समस्या थिएन, अहिले म यस्तो हालतमा छु, यस्तो बज्र त शत्रुलाई पनि नपरोस् ।’
होमबहादुरलाई लत्ताकपडा, खाना पकाउने भाँडा र खानेकुरा विभिन्न सहयोगीले उपलब्ध गराएका थिए । अहिले त्यही खानेकुरा पनि सकिन थालेको बताउनुहुन्छ । होमबहादुरले खानेकुरा सकियो भने भोकभोकै बस्ने स्थिति समेत आउन सक्ने बताउनुभयो । ‘अस्तीनै केही सहयोगीहरुले चामल, दाल दिएका थिए, अहिलेसम्म यसैले गुजारा चलायौँ, त्यही पनि सकिन थालेको छ,’ उहाँले भन्नुभयोे ‘दिन दिनै चिसो बढेको छ, अलि तातो कपडा पनि छैन, बच्चाहरुको पनि त्यस्तै छ, एउटा गतिलो लुगा किन्दिउँ भनेको पनि पैसा छैन, के अवस्था आयो यस्तो ?’
विभिन्न व्यक्तिले खाद्यान्न र केही लत्ता कपडा दिएको तर नगरपालिकाबाट कुनै पनि सहयोग नपाएको दुखेसो गर्नुभयो । होमबहादुरले पीडितहरुका लागि उठेको रकम समेत आफूहरुले नपाएको बताउनुभयो । ‘नगरपालिकाबाट अहिलेसम्म खासै सहयोग पाएका छैनौँ, विभिन्न संस्थाले नगरपालिकालाई दिएको सहयोग त हामीले पाउनु पर्ने हो,’ होमबहादुरले भन्नुभयो ‘समयमै पाए हामीलाई केही राहत मिल्ने थियो, चिसो मौसम छ, हुरी बतास चल्छ, पानी प¥यो भने त यि बच्चाहरुको बिचल्ली हुन्छ ।’
उहाँले मृत्यु बापतको २ लाख रुपैयाँ भने पाएको बताउनुभयो । उक्त रकम छोराहरुको भविष्य र पठनपाठनका लागि बैंकमा खाता खोलेर राखिदिएको बताउनुहुन्छ छ । उहाँलाई विभिन्न संघ संथाले घर छाउने जस्तापाता दिएको छ । तर उनको घर बनाउने ठाउँनै नभएपछि उक्त जस्तापाता यतिकै थन्किएको छ । ‘घर छाउने भनेर टिनको पाता त दिनुभयो, घर बनाउने ठाउँनै छैन, यतिकै यहीँ छ,’ उहाँले भन्नुभयो ‘यो छाप्रो बनाएको जमिन पनि भाइको हो, यहाँ बस्ने पनि ठेगान छैन, कति दिन हुन्छ, आफ्नो भए पो यति समय बसिन्छ भन्ने हो ।’
चिसो मौसम बढ्दै गए पछि छोराहरु र आफुलाई पनि समस्या हुँदै गएको बताउनुभयो । उहाँले तातोतातो खाने, लाउने सामानहरु नहुँदा दैनिकी निकै कष्टकर बन्दै गएको दुखेसो पोख्नुभयो । ‘आफ्नो घर भए पो जति बेला खान मन लाग्छ, उति बेला पकायो खायो, बास त यस्तो छाप्रोमा बस्नु परेको छ, त्यही पनि अरुको जमिनमा,’ उहाँले निराश मुद्रामा थप्नुभयो, ‘यस्तो ठाउँमा एक गाँस खान र एक सरो लगाउन पनि धेरै मुस्किल छ, राम्रो लागउने मिठो खाने भन्ने त सोँचाई र सपना मात्र हुने अवस्था आयो, छोराहरुले भनेको पनि केही गर्न सकेको छैन, जाडोले गर्दा बिरामी पर्छन् ।’
नगरपालिका, केन्द्र र प्रदेशबाट आउने नेताहरुले घर बनाइ दिने आशा देखाए पनि अहिलेसम्म कुनै पनि प्रतिक्रिया पाउन नसकेको उहाँको गुनासो छ । उहाँले सरकारले सहयोग गर्ने भए तत्काल गरिदिए आफु जस्ता पीडितहरुको उद्धार हुने उहाँ बताउँनुहुन्छ । ‘नेता सरहरु त आउनुहुन्थ्यो पहिले–पहिले, अहिले त कसैको पनि अनुहार देख्न पाएका छैनौँ, सहयोग गर्छौँ । घर बन्छ त भन्नुहुन्थ्यो’ होमबहादुरले भन्नुभयो, ‘अहिलेसम्म केही था थिएन, जाडो बढेको छ, हिउँ प¥यो भने त धेरै समस्या हुन्छ, घर बनाई दिने भए त छिट्टै बनाई दिए हुन्थ्यो ।’