डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिका वडा नम्बर ६ भल्कोटका भाजविर घर्ती मगर ७३ वर्ष हुनुभयो । उमेरले बुढ्यौली लागे पनि गाउँले खानपानले गर्दा उहाँ अझै हट्टाकट्टा हुनुहुन्छ । आफ्नै रहनसहनमा रमाउने र आफ्नै भाषा बोल्ने भाजविर निकै हँसिलो मुद्रामा देखिनु हुन्थ्यो । जीवनका अधिकांश समय गाई भैसी र भेडाबाख्राको गोठालो गरेरै बिताएका उहाँलाई सहर बजार भन्दा आफ्नै गाउँ, रनबन, पाखापखेरा रमाइलो लाग्छ ।
वर्षात्को समयमा लेक तिर र हिउँदको समयमा गाउँमा झर्ने भाजविर अहिले गाउँमै हुनुहुन्छ । बुढेसकाल लागे पनि रंग रमाइलो र खानपान गर्न निकै सोखिन भएको बताउनुहुने उहाँले जीवनका अनेक रोचक र प्रेरणादायक किस्सा सुनाउँदै भन्नुभयो–‘जीवनकका अनेकौँ अनुवभहरु छन् । उतिबेला भोगेका कयौँ अनुभव अहिले आफैलाई नौलो लाग्छ ।’
आफूले भोगेका सयौँ अनुभवहरु मध्ये एक अनुभव आफ्नाका लागि पनि अविस्मरणीय भएको उहाँ बताउनुहुन्छ । १५ दिनको पैदल यात्रा गरेर बुटवल पुगेर नुन बोकेर उपभोग गरेको अनुभव उहाँको मानसपटलमा अझै ताजै छ । उहाँले यो दुःख चाहेर पनि भुल्न सक्नुहुन्न । दुर्गम गाउँ, त्यसमाथि पनि सरकारी निकायको ध्यान कम पुगेको गाउँ । विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौँ संघर्ष पछि बल्ल अहिले गाउँसम्म बिजुली बत्ती र सडकको सहज पहुँच पुगेको छ ।
गाउँमा यसरी मोटर गाडी गुड्ला, बिजुली बत्तीले गाउँ घर झिलिमिली होला भन्ने उहाँले कहिल्लै कल्पना गर्नुभएको थिएन । तर अहिले गाउँ घरमै सररर गाडी गुड्दा, बिजुली बत्तीले झिलिमिली हुँदा भाजविर दंग मात्रै होइन, हर्षित पनि हुनुहुन्छ ।
१५/१६ वर्षको उमेरमा बुटवल नुन लिन जाने क्रममा गाडी गुडेको, बिजुली बलेको देख्नु भएका घर्ती मगर अहिले घरमा बसीबसी त्यसको उपभोग गर्न पाउनु अहोभाग्य भएको बताउनुहुन्छ । उहाँले आफ्नो बैंशकाललाई सम्झिँदै भन्नुहुन्छ–‘हाम्रो पालामा यस्तो सुविस्ता थिएन, मैले त बटौली नुन लिन जाँदाखेरी गाडी देखेको थिएँ, बिजुली बत्ती पनि उतिबेलै देखेको हो ।’
घर्तीले गाउँमा यति ठूलो परिवर्तन आउला । विकास होला भन्ने कहिल्लै सोच्नु भएको थिएन । तर अहिले सबै तिर परिवर्नत आएपछि, गाउँ ठाउँले मुहार फेरेपछि घर्ती निकै खुसी हुनुहुन्छ ।
‘हाम्रो ठाउँमा यस्तो विकास होला भन्ने त मैले कहिल्यै सोचेको थिएन, तर अहिले त हेर्नुस् गाडी सरर चल्छन्, बिजुली बत्ती पनि थिएन त्यतिबेला, हामीले त भाँङ, दियालो बालेर उज्यालो गराउँथ्यौँ, अहिले बिजुली बत्तीले झिलिमिली छ, एक दिन लाइन आएन भने अन्धकारमा बसे जस्तो हुन्छ,’ उहाँले मुस्कुराउँदै भन्नुभयो ‘बटौलीमा गाडी देख्दा डराउँथ्यौँ, अहिले त केको डराउनु ? थोरै यात्रा गर्ने, तल जानु प¥यो भने पनि हिँड्नै मन लाग्दैन, गाडीमै जाम् भन्ने हुन्छ, गाडी नहुँदा, कोषौ टाढा हिँडियो, अहिले सुबिस्ताले गर्दा २/४ पाइला पनि हिड्न गाह्रो लाग्छ ।’
उहाँले जिल्ला सदरमुकाम बागलुङ बजार आउजाउ गर्न दुई साता लागेको सुनाउँदै तत्कालिन समयमा पश्चिम बागलुङका जनताले निकै दुःख पाएको सुनाउनुहुन्छ । ‘कागज पत्रको काम गर्न बागलुङ बजार जानुपथ्र्यो, उतिबेला गाडीको बाटो आएकै थिएन, हिँड्दै जानु पथ्र्यो, यहाँबाट हिँडेर बागलुङ पुग्दा ७ दिन, फर्किदा ७ दिन लाग्थ्यो, बाटोमा चोर लाग्ने गर्ने, निकै डर पनि हुन्थ्यो, आमाइमाई केटाकेटीलाई झन् धेरै समस्या हुन्थ्यो,’ घर्तीले भन्नुभयो ‘अहिले त बिहान सरर गाडीमा जान्छौ, काम सकेर साझँ आटो खान घरै आइन्छ, यस्तो सुविस्ता होला भन्ने त कसले सोचेको थियो होला र ?’
अहिले गाउँ–गाउँमा मोटर गाडी आउन थालेपछि १५ दिन लगाएर नुन ल्याउनु पर्ने बाध्यता हटेको भन्दै यसले आफ्नो चोला फेरिएको जस्तो आभाष भएको उहाँको भनाई छ । ‘पहिलेको दुखलाई सम्झिँदा खेरी त अहिले जुनी फेरिएको जस्ता लाग्छ, पहिलो कस्ता थिए ति दिन ?, अहिले कस्तो भयो ?, उतिबेला भोगेको दुःखलाई सम्झिँदा अहिले त कथा जस्तो लाग्छ,’ घर्तीले भन्नुभयो ‘अहिले त सबथोक छ, के छैन ?, उति बेला घ्यू बोकेर १५/१५ दिन लगाएर बटौली पुगेर नुन, चामल बोकेर आउने दिन गए, अहिले त घरमै जे भन्यो त्यही एकै छिनमा आउँछ ।’
घर्तीले आफूले गाई गोठ, भैँसी गोठमा धेरै समय बिताएको भन्दै अबका पुस्ताले आफूहरुको बिडो नथाम्ने चिन्ता व्यक्त गर्नु हुन्छ । ‘मैले जन्मेको ५/६ वर्षदेखिनै गाई भैँसीको गोठालो गर्न थालेको हुँ, हाम्रो जमानामा पढ्ने लेख्ने भन्ने केही थिएन, अहिले त, जन्मिदाको केही वर्षमै पढ्न जान्छन्,’ उहाँले भन्नुभयो ‘यस्तो पढ्ने लेख्ने केटाकेटीले के गाई भैँसी, भेडाबाख्राको गोठालो गर्थे ? अब पछि–पछि त यो गाई भैँसी भन्ने चिज पनि पाइँदैन कि क्या हो ।’
उहाँले आफ्नो जवानीको रमाइलो कुरा समेत सुनाउनुभयो । ‘हाम्रो बैंशमा त गोठमा बस्ने, धेरै गाई भैसी पाल्ने, ठूला–ठूला ठेकीमा मही पार्ने, साँझ परेपछि भाँङ बालेर तरुनीहरुसँग गीत गाउँन जान्थ्यौँ, अब ति दिन त कहिले आउलान् र ? अहिले त त्यो सबै हराउँदै गयो,’ उहाँले विगत स्मरण गर्दै भन्नुभयो ‘कस्ता थिए ति दिन, अहिले त आफू पनि बुढो भैयो, उतिबेलाका दमाली पनि अहिले कता–कता छन् ?, केही बिति सके, अहिले त त्यही पुरानो कुरा सम्झेर चित्त बुझाउन बाहेक के गर्न सकिँदो रहेछ र ?’