‘खड्किएको खोज पत्रकारितामा जागरण जागोस्’

धौलागिरी जागरण दैनिक आजदेखि १५ औं वर्षमा प्रवेश गरेको छ । आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित जागरण अनेकन उतार चढावका बीच नागरिकलाई सही समयमा सही सूचना प्रवाह गर्ने दायित्वमा अविचलित प्रतिवद्व र समर्पित छ । २०६३ साल फागुन २३ बाट प्रकाशन यात्रा आरम्भ गरेको धौलागिरी जागरणले पाठकका माझ आफूलाई कसरी प्रस्तुत गरिरहेको छ ? अहिलेको दैनिक समाचार, सामग्री, भूमिका कस्तो छ ? र डिजिटल युगको अध्यायले तिव्रतर गति लिँदै गर्दा धौलागिरी जागरण दैनिक पत्रिका अब के कस्ता समाचार, सामग्रीका साथ आओस् भन्ने पाठक र सामाजिक अगुवाहरुको अपेक्षा छ ? यसै सन्दर्भमा जागरणकर्मी डम्मर बुढा मगरले तयार गरेको समिक्षात्मक सामग्रीः

विजय राना
कोषाध्यक्ष
नेपाल पत्रकार महासंघ, बागलुङ

सर्वप्रथम धौलागिरी जागरण दैनिक पत्रिका १४ औँ वसन्त पार गरि १५ औँ वर्षमा प्रवेश गरेकोमा बधाई तथा सफलताको शुभकामना । पछिल्लो समय धौलागिरी जागरण दैनिकले आफ्नो रुप बदलेको छ । आम पाठकको अघि चिटिक्क साजसज्जाले सुसज्जित भएर पुग्छ । पहिलेको तुलनामा उल्लेख्य सुधार आएको छ । । अनुहार, संरचना, भाषाशैली, विषयवस्तु यी सबैमा बदलिएको छ ।
बागलुङबाट प्रकाशित जागरण दैनिकले आफू किशोरावस्थामा प्रवेश गर्दै गर्दा आफूलाई भरिलो देखाईरहेको छ । त्यो म जस्ता आम पाठकले अनुभूति गरिरहेको कुरा हो । विषयगत रुपमा विविधता, उद्यम/व्यवसाय र उत्प्रेरणामुलक सामाग्रीलाई प्रथामिकता दिएर समाजलाई उद्यमशील बनाउन मार्गदर्शन गरिरहेको छ ।

राजनीतिक आग्रह/पूर्वाग्रह, कुन्ठा देखिदैन अर्थात् जागरण दैनिकले आफू लाई बढिभन्दा बढि व्यावसायिक बनाईरहेको छ । यो सिङ्गो बागलुङको पत्रकारिता जगतका लागि खुसीको कुरा हो । पत्रकारितामा सत्य तथ्य, सन्तुलन, विश्वसनीय, निष्पक्ष, व्यावसायीक, स्वतन्त्र भयो भने त्यसले समाजलाई सोही अनुरुप मार्गदर्शन गर्दछ । परिणामतः समाज रचनात्मक बन्न पुग्दछ । जागरणको भूमिका त्यो उन्मुख छ ।

‘जागरण’ शब्द आम मानिसलाई जागरुक बनाउन उर्जा भर्ने शब्द हो । समाजमा भएका भ्रष्टाचार, अनियमितता, घुसखोरी, बलत्कारी, अपारदर्शी क्रियाकलापका विरुद्धमा आम नागरिकलाई जागरुक बनाउने हुनु पर्दछ । त्यस्ता क्रियाकलापका विरुद्ध आम मानिसमा चेतना प्रवाह गरिनु पर्दछ । त्यसको लागि खोजी पत्रकारिता एक अनिवार्य आवश्यकता बनेको छ ।

थुप्रै चूनौती/सफलतालाई छिचोल्दै १४ औँ वर्षमा पार गरेको जागरणले बागलुङमा खड्किरहेको खोजी पत्रकारिताको अभावलाई पूर्ति गर्ने गरी काम गर्ने योजना बनाओस् । फेरि पनि १४ औँ वार्षिकोत्सवको शुभकामना ।

सरोजराज पन्त
धौलागिरी बहुमुखी क्याम्पस,बागलुङ

सर्वप्रथम धौलागिरी जागरण दैनिकको १४ औं वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना व्यतm गर्दछु । पत्रिकाले आगामी दिनमा थप उचाइ हासिल गर्न सफल रहोस् हार्दिक शुभकामना । धौलागिरी जागरण दैनिकका सामग्रीले क्रमशः सबै तह, क्षेत्र, वर्गलाई समेट्र्दै आएका छन् । यद्यपि समय प्रतिस्पर्धी छ । विगतमा गरेका काम तथा पत्रकारिताका गतिविधिमा समय सापेक्ष सुधार गर्नु पर्ने कार्य पनि छन् । धौलागिरी जागरण १४ औं वर्षमा आइपुग्दा यसले अनेकौं उतार चढावहरु भोग्दै आजको दिनसम्म आएको कुरा हामी पाठक सामु सर्वविदितै छ । देशको राजनीतिक सांस्कृतिक आर्थिक सामाजिक पक्षका साथै विकासका गतिविधि शैक्षिक, सामाजिक, सास्कृतिक, आर्थिक,राजनितीक, कानुनी लगायतका विविध पक्षमा कलम चलाउने, उठाउने र लोकतन्त्रको संरक्षणमा तथा संस्थागत विकासका लागि आवाज बुलन्द गर्न यो पत्रिका निरन्तर लागेको देखिन्छ ।

समय परिवर्तनशील छ । समय अनुसार पत्रकारिता पनि निकै प्रतिस्पर्धी बन्दै गएको छ । देशको चौथो अंगको रुपमा प्रतिष्ठित पत्रकारिता अत्यधिक पारदर्शी विश्वसनीय, खोजमुलक बन्नु पर्ने अबस्था छ । समय, सन्दर्भ अनुसार विश्वव्यापी पत्रकारितामा आएका परिवर्तनलाई अंगिकार गर्दै डिजिटल पत्रकारिता, खोज अनुसन्धानात्मक पत्रकारितामा विशेष जोड दिनुपर्र्ने देखिन्छ । धौलागिरी जागरणले गरेका कार्य पक्कै पनि प्रशंसनीय छन् । तथापि अबको पत्रकारिता, राष्ट्रको सञ्चार नीति र स्रोत बाँडफाँड योजनाको उचित संयन्त्रको अभावमा पत्रकारिता शिक्षा हासिल गरेको जनशक्ति पुर्ण प्रयोग भएको देखिदैन ।

यस सन्दर्भमा अनलाइन पत्रकारिताको विकल्प नभए पनि अहिले यसमा नैतिकताको प्रश्न जोडिएको छ । प्रकाशनको गतिमा चल्ने सोसल माध्यममा पत्रकारिताको अत्यावश्यक मात्र नभइ गुण विश्वसनीयता, प्रमाणिकता र सञ्चार क्षेत्रको वेग तथा प्रवाहसित सन्तुलत राख्नु अहिलेको गहन चूनौती बनेको छ । व्यावसायिक पत्रकारिता, शासक, जनता र सत्तामा साँचो, सत्य कुरा स्पष्ट बाहिर ल्याउन जटिलता छ । अब सूचनासँगै विकास पत्रकारितामा बिशेष ध्यान दिनु पर्ने देखिन्छ जसमा बिद्युत आयो, सडक बन्यो भनेर मात्र होइन ती बनाउँदा कति वटा रूख कटान भए ? बिजुलीका तार टाँगिए मात्र होइन यसबाट कति घर लाभान्वित भए ?आदि प्रभाव (इम्मप्याट) विश्लेषण गर्न जरुरी छ । लोपोन्मुख, अल्पसंख्यक जातजाति, महिला, बालबालिका, टुहुरा, तथा विधुवाहरूको समस्या, अवसर, व्यवस्था र सुविधा आदिको अध्ययन, अनुसन्धान र अनुगमन गरी समाचार कन्टेन्टहरू र ती विषयमा आलेख, समाचार तथा विचारहरू पोष्ट गर्ने र सबैको साझा सञ्चारमाध्यम बन्न जरुरी छ । विकास पत्रकारितामा ध्यान दिएर पुल शिलान्यास, बाटो उद्घाटन, मन्दिर निर्माण मात्र होइन । विकास सुशासनमा थप कलम चलाउन पर्ने देखिन्छ । अल्पविकसित मुलुकले वन, जंगल, जडिबुटी, जल,जनशतिm, हिमालय, विश्वबाटै लोप हुँदै गएका जनावर, किराफटयाग्रा आदिमा कलम चलाउन आवश्यक छ । रोजगार सृजना, प्रेरक प्रसङ्खमा थप जोड दिदा राम्रो हुने देखिन्छ ।

गर्भ देखि चितासम्मका बिषयलाई समय सन्दर्भ अनुरुप समेट्ने निरन्तर प्रयत्न जरुर प्रशंसनीय हुन्छ । सिद्धान्त र व्यावहारिक ज्ञानलाई सन्तुलित गर्ने, कुना कन्दराका आवाजहरु बोल्ने, विकासमा खबरदारी गर्ने भ्रष्टचार, अत्याचार जस्ता सामाजिक बिकृतिहरुमा खबरदारी गर्ने, हिजोको भोगाइ, आजको बुझाइ र भोलिको रोजाइमा परेर यस पत्रिकाले सवैलाई समन्याय दिन र सक्षम पत्रिकाको रुपमा जिल्लामै अग्रपंक्तिमा सदा उभिई रहन सफल रहोस् भन्ने पुनः शुभकामना व्यक्त गर्दछु ।

राम शर्मा
अधिवक्ता

धौलागिरी जागरण दैनिक जिल्लामा आफ्नै पहिचान, महत्व र स्थान बनाउन सफल भएको पत्रिका हो । यसले समयक्रमसँगै आफूलाई परिमार्जित गर्दै अघि बढाएको छ । पछिल्लो समय आदर्श सञ्चारले धौलागिरी जागरण दैनिक सँगै अग्रसर साप्ताहिक र आदर्श सञ्चार अनलाइन मार्फत हरेक बर्ग र क्षेत्रका नागरिक समक्ष सूचना समाचार दिन गरेको प्रयत्न प्रंशसनीय छ । पछिल्लो समय डिजिटल प्लाट फर्म तयार गरे पछि जिल्ला र आञ्चलिक रुपमा हुने घटना तत्कालै इन्टरनेटको माध्यमबाट हेर्न, पढ्न र सुन्न सकिने सुविधा दिएको छ । समाजमा हुने गरेका घटनाबारे तत्काल र समसामयिक विषयमा दिने बिभिन्न लेख रचना र सामग्रीले पनि पाठकको मन जित्न सफल भएको छ । सञ्चार सहकारीले संचालन गरेको पत्रिका हुनाले सहकारीका कुरा धेरै देख्न, पढ्न पाइन्छ ।

छिल्लो समय युवाहरुले गरेका सत्प्रयास, कृषि कर्म लगायतका बारेमा पनि विभिन्न खालका लेख र समाचार प्रकाशनमा विशेष प्राथमिकता दिँदै आएको छ । यसले समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्नेछ । यस खालका विषय र सामग्रीलाई प्राथमिकता र निरन्तरता दिओस् ।
यसले महिला, बालबालिका, पिछडिएका वर्गका आवाजहरुलाई पनि बुलन्द गरेको छ । समसामायिक विषयमा समाजका विभिन्न प्रकारका मान्छेहरुलाई देशको गतिविधि, समाजका गतिविधिको बारेमा सूसुचित गराउँदै आएको छ । यसलाई अब प्रविधिको विकाससँगै आफ्ना माध्यम र प्रकाशन साजसज्जा र शैलीमा पनि ध्यान दिओस् । पाठकको थप ध्यान आकर्षित गर्ने र मन जित्ने गरी रंगिनमा प्रकाशन भए अझै राम्रो हुने थियो ।

काजीगाउँले श्रेष्ठ
संयोजक, नागरिक समाज बागलुङ

प्रविधिको तिव्रतर विकास भए पनि डिजिटल माध्यम सबै मान्छेहरुको हात र पहुँचमा पुगि सकेको छैन । थोरै सिमित मान्छेको हातमा मात्रै यो पुगेको छ । त्यस कारण धौलागिरी जागरण जसरी छापा मार्फत आउँछ, यसले मोवाइल प्रविधिको पहुँच सबै वर्गको माझमा पुग्न टेवा पुगेको छ ।
छापा माध्यममा आउने हुँदा यसको महत्व अझै सकिएको छैन । भोलीका दिनमा पनि यसको महत्व निकै छ । हाल सम्मको धौलागिरी जागरण दैनिकको भूमिका राम्रो छ । अबका दिनमा पनि सार्वजनिक चासो, सरोकारका विषय सवालमा निरन्तर प्राथमिकता दिएर पाठकको मन जित्ने गरी त्यस किसिमको सामग्री प्रकाशन गर्न पर्छ ।

जिल्लाको पत्रकारिताको कुरा गर्दा यसले निकै महत्वपूर्ण भूमिका खेलेको छ । डिजिटल माध्यमबाट आउने सामग्री फुर्सदमा हेर्ने धेरै छन् । तर, जुन अहिले धौलागिरी जागरणले छापा माध्यमबाट जनतालाई सूसुचित गराउने काम गरेको छ, यो निकै महत्वपूर्ण छ ।

अझ जिल्लाका सबै स्थानीय तहको गतिबिधिलाई एकरुपताका साथ यो संचार माध्यमबाट प्रकाशन गरेर जिल्लावासीलाई सूचित गराउन पर्ने देखिन्छ । जिल्ला मात्रै नभई प्रदेशकै घटना, विषय र सवाललाई छिटो र तथ्य सहित सूचना दिन सक्नुपर्छ ।

शकुन्तला शर्मा
अध्यक्ष
नेपाल महिला संघ, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था मार्फत प्रकाशन हुँदै आएको यो जिल्लाको पुरानो पत्रिका हो । यसले जिल्लाका दुरदराजका गतिबिधिलाई समावेश गरेर जनतालाई सूचना दिँदै आएको छ । यसले सबै जातजाति, लिंग, वर्ग, क्षेत्र, राजनीति लगायतका विषयलाई उठान गरेर समाजमा सूचना प्रवाहका साथ बहस पैरवी गर्दै आएको छ । धौलागिरी जागरण दैनिकले सम्प्रेषण गरेका लेख, समाचार, सफलताका कथाले नागरिकलाई उत्प्रेरित र उत्साह भरेको छ ।

यसबाट समाज परिर्वतनमा महत्वपूर्ण टेवा पुगेको छ । कहिले कृषिसँग जोडिएका कुरा, कहिले विकाससँग जोडिएर आएका कुरा त कहिले अनियमितता र अपारदर्शिताको भण्डाफोर गर्ने विषयलाई प्राथमिकता दिएर प्रकाशन गर्दै आएको छ । यसले सबैलाई सजग र पारदर्शी हुन प्रेरित गरेको छ । धौलागिरी जागरण दैनिक सहित अग्रसर र आदर्श सञ्चार अनलाइन समेत सञ्चालन गरेर पत्रकारिताको क्षेत्रमा धौलागिरीमै अग्रणी भूमिका खेलेको छ । पत्रिका पढ्ने मात्रै नभएर अनलाइन खबर मार्फत् पनि जनतालाई सुचित गर्न प्रभावकारी भूमिका खेलेको छ । यसले पाठकलाई सूसुचित गराउनुका साथै धेरै दक्ष पत्रकार सञ्चारकर्मी पनि उत्पादन गरेको छ । सबल सक्षम पत्रकारहरु भएकाले आदर्श सञ्चारका सबै मिडिया र माध्यमले पाठक, दर्शकको विश्वास जित्न सफल भएको छ । भोलीका दिनमा अझै प्रभावकारी भूमिका खेल्न सकोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *