प्रस्तुतिः डम्मर बुढा मगर
‘त्यतिबेला खासै पढ्ने प्रचलन थिएन, स्कुल पनि कम थिए, घरमा बुबाआमा र मामा घरको हजुरबुबाको प्रेरणाले गर्दा मैले पढ्ने अवसर पाएँ, घरमा पढ्ने वातावरण पनि राम्रै मिल्यो, तर पढ्नका लागि टाढा जानु पर्ने बाध्यता थियो, जसले गर्दा अलिकति कष्टप्रद पनि भयो ।’
बुर्तिबाङ क्षेत्रमा चर्चित नाम हो, नवीन जिसी । ‘नविन सर’ भनेर नचिन्ने सायदै होलान् । बालकदेखि बृद्धासम्मले उहाँलाई चिन्छन् । जिसी पेसाका हिसावले विगत २५ वर्षदेखि शिक्षण पेशामा हुनुहुन्छ । २०५२ सालमा निजी विद्यालयबाट पढाउन सुरु गर्नु भएका जिसीले बुर्तिबाङमा रहेको जनता बोर्डिङ स्कूलबाट पढाउन सुरु गर्नु भएको थियो ।
ढोरपाटन नगरपालिका वडा नम्बर ३ का जिसी शिक्षण पेसामा लागेको २५ वर्ष बढी भयो । एउटै पेसामा २५ औँ वर्षदेखि निरन्तर लाग्नु भएका जिसीले समाज र देशका लागि धेरै जनशक्ति उत्पादनमा महत्वपूर्ण टेवा पनि दिनुभयो । उहाँले पढाएका विद्यार्थी अहिले विभिन्न क्षेत्रमा पुगेर ‘उच्च पद र सफलता’मा छन् । तर जिसी जहाँको त्यँही अर्थात आफ्नै गाउँमा अध्यापनमै समर्पित हुनुहुन्छ । यसले लगनशीलता र धैरेता देखाउँछ ।
गाउँ घर, घाँस, दाउरा र मेलापात गर्दै माध्यमिक शिक्षा हाँसिल गर्नु भएका जिसीले त्यसभन्दा माथिको योग्यता हासिल गर्न सहर छिर्नुभयो । गाउँको भर्खरको किशोर सहरमा गएर पढ्दा उहाँले निकै संघर्ष गर्नुप¥यो । गाउँको मान्छे सहरमा गएर घुलमिल हुनु आफैमा जटिलता हुन्छ भने उच्च शिक्षा हासिल गर्दा झनै बाधा ब्यवधान भेल्नु पर्छ । त्यो जिसीले अनेक व्यवधान छिचोल्दै अघि बढ्नु भयो ।
गाउँमा विद्यालय नहुँदा जिसी ५ वर्षकै उमेरमा मामा घरमा बसेर कक्षा १ उत्तिर्ण गर्नु भयो । उहाँले हालको निसीखोला गाउँपालिका वडा नम्बर २ स्थित अर्नाकोट प्राविमा कक्षा १ उत्तिर्ण पश्चात कक्षा २ घोसाखानीमा पढ्नु भयो । प्रायजासो गाउँमा विद्यालय नहुने र भए पनि सानो कक्षासम्म मात्रै हुने भएको हुँदा उहाँले धेरै विद्यालयमा धाउनु प¥र्यो ।
जिसीले कक्षा ३ सिलगुम प्राबि, कक्षा ४ देखि ७ सम्म प्रकाश मावि हुन्द्राफेँदी र कक्षा ८, ९, १० उत्तरगंगा मावि बुर्तिबाङबाट अध्ययन गर्नुभयो । गाउँमा प्रर्याप्त विद्यालय नभएको कारण धेरै ठाउँमा पुगेर अध्ययन गर्दा निकै कष्टपूर्ण भएको जिसी बताउनुहुन्छ । ‘मैले धेरै ठाउँहरुमा पुगेर पढेँ, त्यो बाध्यता थियो, गाउँमा विद्यलाय थिएन, अहिलेको जस्तो गाउँ–गाउँ विद्यालय भएको भए सहज हुन्थ्यो होला’ जिसीले विगत स्मरण गर्दै भन्नुभयो ‘धेरै ठाउँमा पुगेर पढ्दा मैले धेरै दुःख भोग्नु प¥र्यो, एकै ठाउँमा धेरै कक्षासम्म पढाई हुने गरेको भए, त्यस्तो समस्या मैले भोग्नु पर्ने थिएन ।’
उहाँले शिक्षाको सहज पहुँच नहुँदा २/३ घण्टाको यात्रा गरेको अनुभव सुनाउँदै विगतको तुलनामा अहिले शिक्षा क्षेत्रमा उल्लेख्य परिवर्तन आएको बताउनुहुन्छ । २०४६ सालमा एसएलसी दिनुभएका जिसीले त्यस बेलासम्म बुर्तिबाङ क्षेत्रमा एसएलसी दिने परीक्षा केन्द्र थिएन । परीक्षा केन्द्र बुर्तिबाङमा नहुँदा जिसी गलकोटको हटियामा आएर एसलसी दिनुभएको थियो ।
एसएसी पछिको उच्च शिक्षाका लागि जिसी बुटवल झर्नु भयो । बुटवलमा झरेपछि त्यहाँ घुलमिल हुन उहाँलाई निकै समय लाग्यो । जतिसुकै समस्या आइपरे पनि जिसीलाई उच्च शिक्षा हासिल गर्नु थियो । उहाँले आइएड बुटवल बहुमुखी क्याम्पसबाट गर्नु भयो । बुटवलमा त्यसमाथिको तहको पढाई नहुने भएपछि उहाँ स्नातक तहको शिक्षा हासिल गर्नका लागि फेरी पृथ्वी नारायण क्याम्पस पोखरामा आउनुभयो ।
पोखरामा स्नातक तहको पढाई सकेर जिसी मास्टर डिग्रीका लागि काठमाडौँ प्रस्थान गर्नुभयो । काठमाडौँ गएर उहाँले त्रिभुवन युनिभर्सिटी किर्तिपूरबाट २०५४ सालमा मास्टर्स् सकाउनु भयो र गाउँ फर्कनुभयो ।
पढाईसँग सँगै शिक्षक सेवा आयोगमा तिर पनि तयारी गर्दै आउनुभएका जिसीले २०५२ सालको शिक्षक सेवा आयोगको परीक्षा दिनुभयो । २०५२ मा दिएको परीक्षाको नतिजा २०५३ सालमा आयो र उहाँको नाम समेत निस्कियो । लिखित परीक्षामा नाम निकाल्नु भएको जिसीले अन्र्तवार्तामा पनि नाम निकाल्न सफल हुनुभयो ।
देशको राजनीतिक परिवर्तनका कारण २०५३ सालमा लिखित तर्फ नाम निकाल्नु भएका जिसीले २०५६ मा अन्तरवार्ता दिनुभयो र ४ वर्षपछि २०६० सालमा नतिजा आयो । अन्ततः जिसी सफल हुनुभयो र स्थायी रुपमा शिक्षण पेसामा लाग्नुभयो । २०५३ सालमा लिखित तर्फ नाम निकाल्नु भएका जिसीले २०५५ जेठ १२ गतेदेखि उत्तरगंगा माध्यमिक विद्यालयमा पढाउन सुरु गर्नु भयो ।
जहाँ अहिले पनि निरन्तर पढाई राख्नु भएको छ । उत्तरगंगा माविमा जिसीले अध्यापन गराउन थालेको अहिले २२ वर्ष बिति सक्यो । जिसीले २३ वर्षकै उमेरदेखि शिक्षण पेसामा आबद्ध भएर पढाउँदै आउनु भएको छ । उहाँ अहिले ४८ वर्ष पुग्नुभयो ।
समय परिवर्तनसँगै पश्चिम क्षेत्रमा शैक्षिक संस्था पनि स्थापना हुन थाले र पढाई तिर स्थानीयको पनि आकर्षण बढ्दै गयो । जिसी २०५६ सालदेखि निसीभूजी जनता क्याक्पसमा पनि अध्यापन गराउन थाल्नुभयो । समय परिस्थिति बदलिँदै गए तर जिसीको पेसा कहिलै बदलिएन । सधै विद्यार्थीलाई क,ख सिकाउने हातहरु कहिल्यै डगमगाएनन् । र त अहिले सबैले चिन्छन् । सबैले मान्छन् ।
जिसीले अहिलेको जस्तो पढ्ने वातावरण आफ्नो पालामा नभएको भन्दै त्यतिबेला शिक्षा क्षेत्रमा निकै चूनौति रहेको बताउनुहुन्छ । ‘अहिले जस्तो सहज शिक्षाको पहुँच थिएन, पढ्नका लागि एउटा गाउँदेखि अर्को गाउँ घण्टौँ लगाएर धाउनु पथ्र्यो, बाटोघाटो पनि सजिलो थिएनन्,’ जिसीले भन्नुभयो ‘अहिले निकै परिवर्तन भएको छ, सहज शिक्षा पुग्दैछ ।’
उहाँले कापी कलम पनि सहज रुपमा पाउन नसक्दा कालो पाटी, चक, खरी प्रयोग गरेर पढेको स्मरण गर्नुभयो । ‘हाम्रो पालामा कापी कलमको सहज उपलब्धता थिएन, सानो–सानो कक्षामा पढ्दा त मैले पनि कालो पाटी खरी र चकले लेखेर गुजारा गरेको थिए, अहिलेको जस्तो कापी, कलमको सुविधा थिएन,’ जिसीले भन्नुभयो ।
आफूले निकै दुःखका साथ, गाउँघरमा, मेलापात, घाँस दाउरा गरेर पढेको सुनाउँदै जिसीले अबका पुस्ताले त्यस किसिमको दुःख गर्न नपर्ने बताउनुहुन्छ । उहाँले उतिबेलाको भन्दा अहिलेको शिक्षा पद्धतिमा निकै परिवर्तन आएको भन्दै अबको शिक्षा फेरिनु पर्ने बताउनुहुन्छ । ‘हाम्रो पालामा भन्दा अहिलेको शिक्षा पद्धतिमा धेरै परिवर्तन आएको छ, तर अबको शिक्षा अहिलेको भन्दा फेरिनु पर्छ,’ जिसीले भन्नुभयो ‘नयाँ प्रबिधि र वैज्ञानिक जमाना छ, अबको शिक्षा सोही अनुसारको हुनुपर्छ, पुरानै शैलीमा भयो भने शिक्षाको अर्थ त्यत्ति हुँदैन ।’
उहाँले अबको शिक्षा जीवन उपयोगी, प्राबिधिक र वैज्ञानिक हुनु पर्ने भन्दै शिक्षकहरु पनि आधुनिकता अनुसार चल्न र शिक्षण गर्नु पर्ने बताउनुभयो । उहाँले अब प्रबिधिको प्रयोग गरेर शिक्षण गर्नु पर्नेमा जोड दिनुभयो । ‘पहिला हामीले कालो पाटीमा चक र खरी प्रयोग गरेर विद्यार्थीलाई पढाउने गथ्यौँ भने अहिले ‘ह्वाइट बोर्ड’ र मार्कर प्रयोग गरेर सिकाउँछौँ,’ उहाँले भन्नुभयो ‘अब प्रबिधिको प्रयोग गरेर प्रोजेक्टर, आइसिटीको प्रयोग गरेर शिक्षण गर्नुको विकल्प छैन, समय र परिस्थिती बदिलिँदै जाँदा सबैथोक बदलिँनु पर्दो रहेछ ।’
उहाँले यो पेसामा आफूलाई आनन्द भएको भन्दै आफू धेरै पैसा कमाउने तर्फ ध्यान नदिएको बताउनुहुन्छ । ‘यो त पैसा भन्दा पनि सेवाका लागि गरिएको छ, पैसा कमाउनकै लागि हो भने त धेरै पेसा छन्, त्यो पेसा रोज्थे होला तर म पैसाको लागि भन्दा पनि सेवाका लागि शिक्षण पेसा गरि राखेको छु शिक्षण पेसालाई पैसासँग होइन, सेवासँग तुलना गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
जिसीले शिक्षक पेसा निस्वार्थ र स्वाभिमान पेसा भएको भन्दै यस पेसा प्रति मान्छेको बुझाई गलत भएको दुखेसो पोख्नुभयो । ‘यो पेसा निवास्र्थ र स्वाभिमानी पेसा हो, यसलाई मान्छेहरुले गलत रुपमा बुझ्ने गरेका छन्, कतै कुनै जागरि पाइएन भने शिक्षण पेसामा आउने भन्ने छ । तर त्यो होइन, यो मर्यादित छ ।’ जिसीले भन्नुभयो ।
शिक्षण देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने पेसा भएको जिसी बताउनुहुन्छ । यो पेसालाई सामान्य रुपमा लिन नहुने उहाँको तर्क छ । ‘हाम्रो पेसा देशका लागि जस्तोसुकै दक्ष जनशक्ति उत्पादन गर्ने पेसा हो, शिक्षकले शिक्षकदेखि डाक्टर, पाइलट, इन्जिनियर र देश चलाउने नेता उत्पादन गर्छ,’ जिसीले भन्नुभयो ‘मैले यस्तो पेसा गरीराखेको छु, जुन पेसा गर्नुमा मलाई गर्व छ ।’
उहाँले शिक्षण पेसामा लिने नहुने दिने हुने भन्दै सरकारले पनि शिक्षक प्रति हेर्ने दृष्टिकोण फरक भएको बताउनुभयो । ‘सरकारले शिक्षा र शिक्षक प्रति हेर्ने दृष्टिकोण फरक छ, यसलाई परिवर्तन गर्नु पर्छ । उहाँले भन्नुभयो ।’
जिसीले आफूले पढाएका विद्यार्थीहरु अहिले कोही डाक्टर, कोही इन्जिनियर, कोही पत्रकार र कोही आफूसँगै शिक्षण पेसामा छन् । आफूले पढाएका विद्यार्थी आफसँगै अध्यापन गराउँदा गर्वको महशुस हुने गरेको बताउनुहुन्छ ।
‘कुनै पनि शिक्षकलाई आफ्नो विद्यार्थीले गरेको प्रगतिभन्दा अरु खुसीको कुरा केही हुन सक्दैन, मैले पढाएका धेरै विद्यार्थी भाईबहिनीहरु अहिले मसँगै शिक्षण पेसा अँगाली रहेका छन्, उनीहरुको त्यो प्रगति देखेर मलाई निकै खुसी लाग्छ, गर्वको अनुभव हुन्छ ।’ शिक्षक आफू कमजोर भएर पनि अरुलाई बलियो र दरिलो बनाउने व्यक्ति भएको भन्दै यस प्रति हेरिने दृष्टिकोण परिवर्तन हुन जरुरी रहेको जिसीको भनाई छ ।