डम्मर बुढा मगर, बागलुङ
गत भदौ १७ गते राति ढोरपाटन नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ मा भीषण बाढी आयो । बाढीले सयौँलाई घरबार, आफन्त बिहिन बनायो । घरबारबिहिन बनेकाहरु अझै पनि छिमेकीकै आश्रय लिएर बसेका छन् । बाढीले घरखेतसँगै सम्पूर्ण जायजेथा बगाउँदा पीडित बनेकाहरु अझै पनि बस्ने बास समेत बनाउन सकेका छैनन् । उनीहरु आफन्तकै भरमा दैनिकी कटाउन बाध्य छन् ।
आफन्तकहाँ दैनिकी कटाईरहेका ढोरपाटन नगरपालिका वडा नम्बर ९ का कुल बहादुर विक लामो समय भएकाले अप्ठ्यारो लागिरहे पनि बस्न बाध्य भएको गुनासो गर्नुहुन्छ । विकको सम्पत्तिको नाउँमा गाउँभन्दा माथि केही पाखो बारी मात्रै छ । तर, त्यो बारी घर बनाउनका लागि उचित छैन । बाढीले भए भरको सम्पत्तिसँग छोराछोरी, बुहारी र नातिनी समेत बगाएको थियो ।
आफन्त र सम्पत्ति बिहिन बनेका कुलबहादुरको आँखा अझै पनि थामिएका छैनन् । उहाँलाई घर सम्पत्तिको भन्दा बढी परिवारका सदस्य गुमाएको पीडा बढी छ । मनमा जतिसुकै पिर ब्यथा भए पनि बाँच्नै प¥यो, खानै प¥यो, बस्नै प¥यो । बिकको परिवार आफन्तकोमा आश्रय लिएको ६/७ महिना बिति सक्यो । अहिले उहाँले आफन्तकै सानो जग्गामा घर बनाउन थाल्नु भएको छ । उहाँसँग घर बनाउने पैसा छैन तर पनि ऋण धन गरेरै भए पनि घर बनाउनु नै छ । अहिले उहाँले मामा पर्ने निमलाल बिकको सानो जग्गामा घर बनाउन थाल्नु भएको छ ।
‘बाढीले भए भरको सबै जग्गा जमिन बगायो, मेरो त घर बनाउने ठाउँ पनि छैन, अहिले मामाको सानो जग्गा मागेर पछि पैसा तिर्ने गरि घर बनाउन लागेको छु’ बिकले भन्नुभयो ‘ऋण धन गरौँ भने धितो राख्ने केही छैन, ऋण धन पनि कसले पत्याउँछ र ?’
नेताहरु आएर घर बनाउने आश्वासन दिए पनि अहिलेसम्म कसैले एक रुपैयाँ सहयोग नगरेको बिकले गुनासो गर्नुभयो । उहाँले आफूहरु समस्यामा परेको बेला अन्य सहयोग दाताले भाँडाकुडा तथा खाद्यान्न र लत्ता कपडा दिए पनि सरकारी पक्षबाट केही सहयोग हुन नसकेको बिकले बताउनुभयो ।
‘केही धितो राखेर ऋण निकालेर घर बनाउँ भने पनि धितो राख्ने जग्गा जमिन केही छैन, यत्तिकै ऋण कसैले दिँदैन, हामी विपदमा पर्दा देश विदेशबाट सहयोग दाताले धेरै सहयोग गर्नुभयो तर सरकारले केही गरेन’ कुलबहादुरले भन्नुभयो ‘अहिलेसम्म सरकारबाट सामान्य राहत बाहेक अरु केही पनि आएको छ्रैन, जो नेता आए पनि घर बनाउने आशा दिनुहुन्छ तर गएपछि फर्किनु हुन्न ।’
बिकले आफू जस्ता पीडितका लागि विभिन्न संघ सस्थाले दिएको राहत पनि ढोरपाटन नगरपालिकाले रोकेको उहाँको आरोप छ । बिकले सिधै पीडितसामु राहत आएको भए अहिलेसम्म घर ठडिने अवस्था रहे पनि नगरपालिका मार्फत आउँदा घरको जगसमेत बसाल्न नसकेको उहाँ बताउनुहुन्छ । नगरपालिकाले सहयोगी दाताहरुबाट संकलन भएको रकमबाट पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ दिएको भन्दै त्यो रकमले आफूहरुको समस्या समाधान हुन नसेको बिकले गुनासो गर्नु भयो ।
‘हाम्रो लागि देश विदेशबाट धेरै पैसा आयो तर पुरै रकम पीडितहरुमा आएन, नगरपालिकामा आयो, सिधै पीडित सामु आएको भए अहिलेसम्म घर बन्थ्यो होला तर नगरपालिकामा आउँदा अहिलेसम्म घर ठडिनु त त्यस्तै हो, जग खन्न पनि गाह्रो भएको छ,’ उहाँले भन्नुभयो ‘नगरपालिकामा जम्मा भएको रकमबाट पहिलो किस्ता भनेर ५० हजार पायौँ, यो ५० हजारले के गर्नु घरको जग खनौँ भने पनि पुग्दैन, ढुङ्गा माटो बोकाउँ भने पनि पुग्दैन, यतिले त के हुन्छ र ?’
सामान्य घर बनाउन ५/६ लाख लाग्ने भए पनि आफूसँग कत्ति पनि पैसा नहुँदा घर बनाउन समस्या भएको उहाँको भनाई छ । सरकारले थोरै भए पनि सहयोग गरे आफू जस्ता पीडितहरुको लागि ठूलो राहत हुने बिक बताउनुहुन्छ ।
बाढीमा घरबास गुमाएका अर्का पीडित रामबहादुर पुनको ब्यथा पनि उस्तै छ । बाढीले घरबारी सबै बगाएपछि अहिले उहाँको परिवारले पनि आफन्तको आश्रयमा छन् । घर बनाउने थोरै जमिन भए पनि घर ठडाउनका लागि आर्थिक समस्या भएको पुन बताउनुहुन्छ ।
सहयोगदाताबाट प्राप्त भएको लत्ताकपडा, खाद्यान्नबाट दैनिकी गुजार्दै आएको भन्दै पुनले सरकारले बाढी पीडितलाई उपेक्षामा पारेको बताउनुभयो । ‘बाढीले घर बगाएको पनि महिनौँ बितिसक्यो, अहिलेसम्म सरकारले हाम्रा लागि केही गर्न सकेन, हामी निकै पीडामा छौँ, बस्ने बास छैन, खाने गासको पनि ठेगान छैन,’ पुनले निरास हुँदै भन्नुभयो ‘हाम्रा लागि सरकार छ भनौ कि छैन भनौँ, सरकार भएको भए त यस्तो पीडामा सहयोग हुनु पर्ने हो ।’
पीडितका लागि संकलन भएको रकम नगरपालिकाले किस्तामा वितरण गर्दा पीडितहरुले सही रुपमा राहत पाउन नसकेको उहाँको गुनासो छ । संकलन भएको रकम पनि पहिलो, दोस्रो किस्ता भन्दै वितरण हुँदा पीडितहरु थप मर्कामा पर्ने पुनले बताउनुभयो । पहिलो किस्ता भनेर नगरपालिकाबाट ५० हजार पाएको भन्दै अरु कहिले पाउने भन्नेमा अन्यौल रहेको उहाँको भनाई छ ।
‘सरकारले त सहयोग गरेन–गरेन, सहयोगीहरुले संकलन गरेको रकम पनि नगरपालिकाले रोकेर राखेको छ, थोेरै–थोरै किस्तामा दिएर के हुन्छ ? केही काम पनि हुँदैन, उल्टै पीडित पीडामा पर्ने अवस्था आउँछ,’ पुनले भन्नुभयो ‘आएको पैसा त नगरपालिकामा नराखी सिधै पीडितलाई दिए बल्ल राहतको महशुस हुन्थ्यो, थारै रकमले काम गर्नै अलमल भएको छ ।’
उहाँले जाडो महिना जसोतसो कटाए पनि बर्खामा खुल्ला आकाशमुनी दिन कटाउनु पर्ने अवस्था आउन सक्ने बताउनुभयो । पुनले सरकारले तदारुकताका साथ पीडितलाई सहयोग नगरे आफूहरुको पीडा जहाँको त्यहीँ हुने बताउनुहुन्छ । ‘पुस माघको जाडो त बल्लतल्ल काटियो, फेरी बर्खा लाग्ने बेला हुन थाल्यो, अहिलेसम्म घर बन्ने सुरसार छैन, कहिले सरकारले सहयोग गर्छ र घर बन्ने हो,’ पुनले भन्नुभयो ‘हामीलाई डर लाग्न थालि सकेको छ, बर्खामा पनि बाहिरै बस्नु पर्ने हो की भनेर ।’
बाढी आएको बेला गृहमन्त्री, मन्त्री तथा संसादहरु आएर घर बनाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै पनि सहयोग हुन नसेको भन्दै उनीहरुबाट सहयोगको आशा पनि मरेको पुनले गुनासो गर्नुभयो । ‘सुरु–सुरुमा त मन्त्रीहरु माननीयहरु आउनुभयो हुन्थ्यो, हामी सहयोग गछौँ, हामी घर बनाइ दिन्छौँ, भन्नुहुन्थ्यो, अहिले कसैको मुख पनि देख्न पाइँदैन,’ उहाँले भन्नुभयो ‘उहाँहरुले सहयोग गर्नुहोला भन्ने आश पनि हराई सक्यो, हाम्रो क्षेत्रका माननीयहरु कता हुनुहुन्छ, के गर्नु भएको छ, केही थाहा छैन, एक पटक आएर सान्त्वना पनि दिनु भएन ।’
पुनले सहयोगदाताबाट संकलन भएको पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ पाएको र त्यसबाट ढुङ्गा व्यवस्थापन गर्न थालेको भन्दै घर बनाउनका लागि अझै ४÷५ लाख रुपैयाँ आवश्यक पर्ने बताउनुहुन्छ ।
ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बाहिरी मान्छेले हल्ला फैलाएको तर पीडितहरु राहत पाएपछि खुसी भएको बताउनुहुन्छ । ‘पीडितहरुको केही गुनासो छैन, अहिले राहत पाएपछि उनीहरु खुसी भएका छन्, यो हल्ला मात्रै हो,’ मेयर नेपालीले भन्नुभयो ।
नेपालीले पीडितलाई २/२ लाख दिने भने अनुसार ५० हजार पहिलो किस्ता वितरण गरेको भन्दै घर बनाउन थालेपछि ५० हजार दिने र बनि सकेपछि प्राबिधिकले निरीक्षण गरेपछि थप एक लाख रुपैयाँ प्रदान गर्ने बताउनुभयो ।
‘सबै पीडितहरुलाई दुई लाख दिने भन्ने हो, अहिले पहिलो किस्ता बापत ५० हजार दिइसकेका छौँ, बन्न थालेपछि थप रकम दिने हो,’ उहाँले भन्नुभयो ‘बनि सकेपछि थप एक लाख दिने भनेका छौँ, पीडितहरुले अहिले घर बनाउन सुरु गरेका छन् ।’
मेयर नेपालीले एक सय जना पीडितको घर व्यक्तिगत रुपमा जस्तापाताले छाई दिने भन्दा आफू बिरुद्धमा लागेकाहरुले अनावश्यक भ्रम फैलाउन थालेको जिकिर गर्नुभयो । उहाँले केन्द्रबार रकम आएपछि एकै पटक वितरण गर्ने भनि रोकिँदा राहत वितरणमा ढिलाई भएको स्वीकार गर्नु भयो ।
‘मैले आफै एक सय जनाको घरमा जस्तापाता हाल्दिने पहिले पनि उद्घोष गरेको थिएँ, अहिले पनि उद्घोष गर्छु,’ उहाँले भन्नुभयो ‘केन्द्रबाट रकम आयो भने एकै पटक वितरण गर्ने भन्दा केही ढिला भने भएको हो तर पीडितलाई राहत नै वितरण नगेको भने होइन ।’