बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन र जनशक्ति अभाव

डम्मर बुढा मगर, बागलुङ
दोस्रो लहरको कोरोना संक्रमणको दर केही दिनयता ह्वात्तै बढेको छ । संक्रमण दर बढेसँगै देशका धेरै अस्पतालहरुमा अक्सिजनको अभाव भएको छ । अक्सिजन अभावका कारण धेरैले ज्यान गुमाउनु परेको छ । यो परिस्थितिलाई सहज बनाउन सरकार र सरोकारवला निकायको ध्यान अझै पुग्न नसकेको पाइएको छ ।

बागलुङको पश्चिम बुर्तिबाङमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले अक्सिजनको अभाव छ । अहिले कोरोना संक्रमित बिरामी त छैनन् तर सम्भावित संक्रमण जोखिमलाई समेत सामान्य आँकलन गरिएको छ । यसले भोलीका दिनमा गम्भीर क्षति बेहोर्नु पर्ने अवस्था आउन पनि सक्छ ।

बागलुङमा पछिल्लो समय कोरोना संक्रमणको दर तीव्र गतिमा बढेको छ । धौलागिरी अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजन प्लान्ट मार्फत उपचार गरिएको छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा हाल पाँच वटा सिलिण्डरमा अक्सिजन रहेको र अन्य पाँच वटा खाली सिलिण्डर रहेको स्वास्थ्य केन्द्र प्रमुख डा. मिलन मल्लले बताउनुभयो ।

‘अहिले हामीसँग पाँच वटा सिलिण्डरमा अक्सिजन छ, पाँच वटा खाली छन्, खाली भएका भर्न पनि समस्या छ,’ डा. मल्लले भन्नुभयो ‘यहाँ रहेका पाँच सिलिण्डर जटिल खालको बिरामी आयो भने उसैलाई मात्र लाग्छ, यहाँ राख्न सक्ने अवस्था हुँदैन, बिरामीले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था हुन सक्छ ।’

डा. मल्लले अझै थप केही अक्सिजन सिलिण्डर भए स्वास्थ्य केन्द्रमा आउने बिरामीलाई पर्याप्त अक्सिजन भएको ठाउँमा पु¥याउन सकिने भन्दै त्यसको व्यवस्थापनका लागि आफू लागिरहेको बताउनुभयो । उहाँले यस विषयमा नगरपालिकामा पनि माग गरेको बताउनुभयो ।

‘यहाँ भएका १० वटै सिलिण्डरमा अक्सिजन भएको भए, जटिल केसका बिरामीलाई पर्याप्त अक्सिजन भएको अस्पतालसम्म पु¥याउन सकिने थियो तर चार÷पाँच वटा खाली छन्, पाँच वटाले केही पनि हुँदैन,’ उहाँले भन्नुभयो ‘अक्सिजन अभावको विषयमा नगरपालिका र मेयर सापसँग कुरा गरेका छौँ ।’

अक्सिजनसँग स्वास्थ्य केन्द्रमा कर्मचारी र स्वास्थ्य सामग्रीको पनि समस्या भएको मल्लको भनाई छ । उहाँले कोभिडका बाहेकका बिरामीलाई जसोतसो सेवा दिइराखेको र अबको थप भयावह बढेको अवस्थामा अहिलेको जनशक्तिले थेग्न नसक्ने बताउनुभयो । स्वास्थ्य केन्द्रमा हाल २० जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

‘अहिले त बिरामीलाई सबैले आलोपालो गरेर उपचार गरिराखेका छौँ, अब कोभिडको समयमा काम गर्न सकिदैन, त्यसले गर्दा केही चिकित्सक र स्वास्थ्यकर्मी थप गर्नु पर्ने हुन्छ, कोभिडको बाहेक, डेलिभरीका केस, अन्य बिरामीहरु पनि आउनु हुन्छ,’ डा. मल्लले भन्नुभयो ‘अहिलेको जनशक्तिले भ्याउने अवस्था नहुन सक्छ र स्वास्थ्य सामग्रीको पनि अभाव छ ।’

उहाँले स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्रीको पनि समस्या आउन थालेको र नगरपालिकामा माग गरेको बताउनुभयो । कोभिडका बिरामीको उपचारका गर्दा स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपिई लगायतका सामग्री पनि कम भएको उहाँको भनाई छ ।

स्वास्थ्य केन्द्रमा अझै१५ जना जति चिकित्सक तथा स्वास्थ्यकर्मी आवश्यक पर्ने केन्द्रले जनाएको छ । पाँच जना चिकित्सक, पाँच जना स्वास्थ्यकर्मी र पाँच जना प्यारामेडिक्स भए पछि कोभिडका र अन्य बिरामीको सहजै उपचार गर्न सकिने उहाँको भनाई छ ।

‘अहिले जताततै कोरोना संक्रमितको दर तीव्र गतिमा बढेको छ, भोली यहाँ पनि त्यो अवस्था आउन सक्छ र स्वास्थ्यकर्मी पनि संक्रमित हुने अवस्था आउन सक्छ, त्यो समयमा अर्को समस्या हुन सक्छ, त्यसले गर्दा अझै चिकित्सक र स्वास्थ्यकर्मी थप्न जरुरी छ,’ मल्लले भन्नुभयो ‘केही किचित्सक र स्वास्थ्यकर्मी थपिए पछि सबै खालका बिरामीलाई सहज रुपमा सेवा दिन सकिन्छ ।’

स्वास्थ्य केन्द्रमा हाल पाँच बेडको आइसोलेसन संचालनमा छ । नगरपालिकाले थप २५ बेडको आइसोलेसन थप्ने भनेको छ । डा. मल्लले गत वर्ष सरकारले कोभिडका बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने भने पनि अहिलेसम्म आफूहरुले पाउन नसकेको बताउनुभयो ।

‘गत वर्ष सरकारले स्वास्थ्यकर्मीलाई जोखिम प्रोसात्हन भत्ता दिने भनेको थियो तर अहिलेसम्म हामीले पाएका छैनौँ, अहिले झन् अहिले कडा खालको संक्रमण फैलिएको हुँदा स्वास्थ्यकर्मीमा पनि डर छाएको छ,’ उहाँले भन्नुभयो ‘अहिले पनि सरकारले दिने त भनेको छ तर पाइएला जस्तो लागेको छैन, तर पनि हामी हाम्रो जिम्मेवारीबाट डगमगाउने छैनौँ ।’

स्वास्थ्य केन्द्र व्यवस्थपान समितिका अध्यक्ष तथा ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष चित्रबहादुर भण्डारीले कोभिडको सामना गर्न पश्चिम बागलुङका चार वटै पालिका व्यवस्थापनमा लाग्नु पर्ने बताउनुहुन्छ । भण्डारीले यस स्वास्थ्य केन्द्र ढोरपाटन नगरपालिकामा भए पनि धेरैजसो बिरामी अन्य पालिकाबाट आउने भन्दै स्वास्थ्य सामग्री लगायतका व्यवस्थापनमा चार वटै पालिका खटिनु पर्नेमा जोड दिनुभयो ।

‘यो अस्पताल ढोरपाटन नगरपालिकामा भएको मात्रै हो, धेरै जसो बिरामी अन्य पालिकाबाट आउनुहुन्छ, त्यसले गर्दा चार वटै पालिकाले सहकार्य गरेर व्यवस्थापनमा लाग्नुपर्छ,’ अध्यक्ष भण्डारीले भन्नुभयो ‘चारै वटा पालिकाले सहकार्य लागियो भने अहिलेको परिस्थतलाई पार लगाउन सकिन्छ ।’

उहाँले स्वास्थ्य केन्द्रमा भएका समस्याका बारेमा नगर कार्यपालिकाको बैठकमा राखेको र मेयरसँग पनि छलफल गरेको भन्दै अक्सिजन लगायत स्वास्थ्य सामग्री व्यवस्थापन तत्काल गरिने बताउनुभयो । बुर्तिबाङ स्वास्थ्य केन्द्रमा ढोरपाटन नगरपालिकाका बिरामीभन्दा निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाबाट बढि आउने गरेका छन् ।

अध्यक्ष भण्डारीले ढोरपाटनका ३० प्रतिशत र अन्य पालिकाका ७० प्रतिशत बिरामीले यस स्वास्थ्य केन्द्रबाट सेवा लिने गरेको बताउनुभयो । उहाँले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै केन्द्र र प्रदेश सरकारले पनि सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

‘अहिले परिस्थिति स्थानीय पालिकाले मात्रै पार लगाउन सक्दैन, यसका लागि केन्द्र र प्रदेश सरकारले पनि सहयोग गर्नुपर्छ, स्रोत र साधान कम र बिरमी धेरै हुन थाल्यो भने जटिल अवस्था सिर्जना हुन सक्छ,’ अध्यक्ष भण्डारीले भन्नुभयो ।

स्वास्थ्यकर्मीलाई गत वर्ष जोखिम भत्ता दिने आश्वासन मात्रै दिएको भन्दै अहिले उनीहरु निराश भएका छन् । यस्तो समयमा सरकारले स्वास्थ्यकर्मीको मनोबल बढाउनु पर्नेमा स्थानीयको जोड छ ।

ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम चालिसेले संक्रमण न्यूनिकरणका लागि आवश्यक आइसोलेसन निर्माण गर्नेदेखि अन्य स्वास्थ्य सामग्री व्यवस्थापनमा लागेको बताउनु भयो । उहाँले २५ बेडको आइसोलेसन बेड निर्माण गर्ने भन्दै अक्सिजनको समेत व्यवस्थापनमा लागेको बताउनुभयो ।

उहाँले आवश्यक सामग्रीहरु पर्याप्त नहुँदा ठूलो मात्रामा आएका जटिल खालका संक्रमितलाई एकै पटक उपचार गर्न समस्या पर्ने भन्दै आवश्यक तयारी गरिरहेको बताउनुभयो । ‘हामीले सबै प्रकारका तयारी थालेका छौँ, अक्सिजनको पनि जोहो गरिरहेका छौँ,’ उहाँले भन्नुभयो ‘स्रोत र साधन कम हुँदा ठूलो मात्रामा जटिल प्रकारका बिरामी आए भने समस्या पर्न सक्छ कि भन्ने छ ।’

उहाँले देशैभर अक्सिजन अभाव भएको र यहाँ पनि निकै कम भएको भन्दै बुर्तिबाङ बजारका निजी अस्पतालबाट भए पनि सिलिण्डर संकलन गरेर भर्ने बताउनुभयो । चालिसेले गत वर्ष सरकारले दिने भनेको जोखिम भत्ता नदिँदा स्वास्थ्यकर्मीलाई काम गराउन समस्या भएका भन्दै त्यसको पनि व्यवस्थापन गर्ने बताउनुभयो ।

‘स्वास्थ्यकर्मी पनि कम हुनुहुन्छ, त्यसमा पनि गत वर्ष सरकारले जोखिम भत्ता दिने आश्वासन दिएको थियो । अहिलेसम्म पाउनु भएको छैन, त्यसले गर्दा अहिले काम गर्न लगाउन पनि गाह्रो भएको छ, तर पनि उहाँहरु काम गर्न तयार हुनुहुन्छ,’ उहाँले भन्नुभयो ‘हामीले सकेको व्यवस्थापन भने हामी गरिरहेका छौँ ।’

धौलागिरी अस्पताल पछिको बुर्तिबाङ स्वास्थ्य केन्द्र पश्चिम बागलुङकै सबैभन्दा ठूलो अस्पतालको रुपमा परिचित छ । यस स्वास्थ्य केन्द्रमा ढोरपाटन नगरपालिमा मात्र नभई निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका लगायत छिमेकी जिल्ला गुल्मी र पूर्वी रुकुमका बिरामीले समेत सेवा लिँदै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *