वर्षौँदेखि निसी प्रहरी चौकीको पैसामा व्यक्तिको मनोमानी : तर, अझै भएन जग्गा व्यवस्थापन

डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिका वडा नम्बर ५ मा रहेको निसी प्रहरी चौकीको जग्गा व्यवस्थापन नहुँदा चौकीमा कार्यरत प्रहरीहरु जीर्ण भवनमा जोखिम मोलेर बस्न बाध्य छन् । तत्कालीन निसी गाउँ विकास समितिले चौकीको जग्गा व्यवस्थापनका लागि बजेट बिनियोजन गरे पनि स्थानीय नेताहरुले राजनीतिक चलखेल र मनमानी गर्दा अझै पनि जग्गा व्यवस्थापन हुन सकेको छैन ।

निसी गाउँ विकास समितिले विभिन्न आर्थिक वर्षमा छुट्याएको ७ लाख ५० हजार रुपैयाँ वर्षौँदेखि स्थानीय थम्मन घर्ती मगर, टंक पुन मगर र हिराबहादुर पुनले व्यक्तिगत रुपमा चलाउँदै आएका छन् । यही कारणले प्रहरी चौकीको जग्गा अझै पनि व्यवस्थापन हुन नसकेको स्थानीयको आरोप छ । चौकीको जग्गा व्यवस्थापनका लागि आएको रकम स्थानीय थम्मन घर्तीले ४ लाख, हिराबहादुर पुनले १ लाख र टंक पुनले साढे २ लाख व्यक्तिगत रुपमा वर्षौदेखी राखेको पाइएको छ ।

तत्कालीन गाविस सचिव इन्द्रलाल शाक्यले चौकीको जग्गा व्यवस्थापनको लागि बिनियोजन गरेको चार लाख रुपैयाँ कृषि सडकको खातामा जम्मा गरिएको थियो । जसको अध्यक्ष थम्मन घर्ती हुनुहुन्थ्यो । घर्ती तत्कालीन चौकी व्यवस्थापन समितिका कोषाध्यक्ष पनि हुनुहुन्छ । ।

३ वर्ष बढी कृषि सडकको खातामा चार लाख रुपैयाँ राखेको र २ वर्ष अगाडी समितिलाई बुझाउने भनेर खाताबाट रकम झिकेको उहाँले बताउनुभयो । तर, रकम समितिलाई बुझाईएन । गत वर्ष नयाँ व्यवस्थापन समिति गठन भए पश्चात कैयन वर्ष पछि उक्त रकमको साँवा मात्रै बुझाए । अर्का स्थानीय टंक पुनले साढे दुई लाख रुपैयाँ चलाइएको पाइएको छ ।

उहाँले जग्गा व्यवस्थापनका लागि भनेर दुई लाख पचास हजार रुपैयाँ लगेको तर जग्गा भने व्यवस्थापन गर्न नसकेको थम्मन घर्तीले बताउनुभयो । टंक पुनले जग्गा व्यवस्थापन गर्न नसके पनि वर्षौँदेखि उक्त रकम चलाउँदै आएको बताउनुभयो । अर्का स्थानीय हिराबहादुर पुनले एक लाख रुपैयाँ चलाएको स्वीकार गर्नुभयो ।

तत्कालीन गाविसबाट चौकीकै जग्गा व्यवस्थापनको लागि छुट्याएको रकम दलित सञ्जालको खातामा राखिएको र दलित संजालको खाताबाट पुनले काम चलाउन लगेको तत्कालीन दलित सञ्जालका अध्यक्ष भुल बहादुर विकाले बताउनुभयो ।

विकले सो समयमा गाउँ विकास समितिबाट एक लाख ९० हजार रुपैयाँ विनियोजन भएकोमा ९० हजारको चौकीमा प्रतिक्षालय लगायतका भौतिक संरचना बनाएको र एक लाख खातामै भएकाले हिराबहादुर पुनले केही समय व्यक्तिगत प्रयोजनका लागि चलाउने भन्दै लगेको बताउनुभयो ।

‘त्यतिबेला एक लाख ९० हजार रुपैयाँ छुट्याइएको थियो, त्यसबाट मैलेनै चौकीमा प्रतिक्षालय बनाउने लगायतका काम गरियो, खातामा बाँकी एक लाख थियो, पछि हिराबहादुरले केही समय काम चलाउँछु भनेर लैजानु भएको हो,’ विकले भन्नुभयो ‘लामै समय चलाउनु भयो, अहिले त नयाँ समितिलाई बुझाउनु भयो भन्ने छ ।’

तत्कालीन जग्गा व्यवस्थापन समितिका कोषाध्यक्ष तथा कृषि सडकका अध्यक्ष थम्मन घर्तीले चौकी व्यवस्थापनका लागि गाविसबाट चार लाख रुपैयाँ छुट्टिएको र चौकीको आफ्नै खाता नहुँदा कृषि सडकको खातामा राखेको बताउनुभयो । उहाँले लामो समय खातामा बिना ब्याज पैसा राखेको भन्दै दुई वर्ष अगाडि समितिलाई बुझाउने भनेर झिकेको बताउनुहुन्छ ।

‘गाबिसले चौकी व्यवस्थापनका लागि चार लाख रुपैयाँ छुट्याएको थियो, चौकीको आफ्नै खाता नहुँदा यहाँ एउटा कृषि सडकको खाता थियो, म त्यसको अध्यक्ष थिएँ, त्यसमा राखेको हो,’ उहाँले भन्नुभयो ‘खातामा राखेको रकमको कुनै ब्याज आएको होइन, दुई वर्ष अगाडि खाताबाट झिकेर समितिलाई बुझाउन खोजेको, तर भएन त्यसपछि मैसँग त्यो रकम पेन्डिङ थियो, भदौमा नयाँ समितिलाई बुझाएँ ।’

उहाँले अहिले नयाँ समिति बनेको तर आफू पुरानो समितिको कोषाध्यक्ष भएको हुँदा समिति बनाउँदा आफूलाई कुनै जानकारी नदिएको गुनासो गर्नुभयो । घर्तीले चार लाख रुपैयाँ आफूले खाताबाट झिकेर राखेको स्वीकार गर्नुभयो । ‘मैले जानी जानी राखेको होइन, समितिलाई बुझाउने भनेर खाताबाट निकालेको हो तर दिन्न होइन छैन भनेको छैन’ घर्तीले भन्नुभयो ।

उहाँले एक वर्षको ब्याज मागे ४ लाखको ब्याज समेत दिन तयार भएको बताउँनुहुन्छ । जग्गा व्यवस्थापनमा आफू प्रतिबद्ध भएको भन्दै आफूले थप सहयोग गर्ने समेत बताउनुभयो । ‘ब्याज दिन पर्छ भन्छन् भने एक वर्षको ब्याज दिन पनि तयार छु, अध्यक्षलाई बुझाउनको लागि खाताबाट पैसा निकाले त्यो मेरो गल्ती हो’ उहाँले भन्नुभयो ।

तत्कालीन निसी गाबिसका सचिव इन्द्रलाल शाक्यले प्रहरी चौकीको जग्गा व्यवस्थापनका लागि ४ चाल विनियोजन गरेको बताउनु भयो । उहाँले चौकीको खातामा रकम जम्मा गर्न नमिल्ने भए पनि कृषि सडकको खाडामा रकम जम्मा गरेको बताउनुभयो । कृषि सडकको अध्यक्षमा थम्मन घर्ती मगर रहेको शाक्यको भनाई छ ।

‘प्रहरी चौकीको जग्गा व्यवस्थापनका लागि मैले ४ लाख विनियोजन गरेको हुँ, चौकीको खातामा रकम राख्न नमिल्ने भएपछि कृषि सडकको खातामा रकम जम्मा भएको हो’ शाक्यले भन्नुभयो । उहाँले २५ औँ गाउँ परिषद्बाट उक्त रकम चौकी व्यवस्थापनका लागि छुट्याएको बताउनुभयो ।

स्थानीय हिराबहादुर पुनले २५ औँ गाउँ परिषद्बाट विनियोजन भएको एक लाख रुपैयाँ सर्वदलीय समितिले आफूलाई अर्को व्यवस्था नहुँदासम्म राख्न भनेर दिएको जिकिर गर्नुभयो । तर, स्थानीय वासिन्दा यो कुरा गलत भएको बताउँछन् । दलित सञ्जालको खातामा भएको एक लाख तत्कालीन अध्यक्ष भुलबहादुर विकबाट लगेको खुलेको छ ।

‘२५ औँ गाउँ परिषद्बाट आएको पैसा हो, त्यो अन्तिम बजेट हो, त्यसपछि जननिर्वाचित जनप्रतिनिधि आइहाल्नु भयो, उहाँहरु आइसकेपछि उहाँहरुलाई पैसा बुझाउने भनेको ढिला गर्नुभयो, त्यसो हुँदा त्यो पैसा कार्यान्वयन हुन सकेन, समितिलाई बुझाउन खोजेको समितिले पैसा पनि बुझेनन्, नबुझेपछि त्यत्तिकै बाटोमा फाल्न भएन, अर्को व्यवस्था भएको थिएन,’ पुनले भन्नुभयो ‘त्यसो भएको हुँदा मसँग रहेको हो त्यो एक लाख रुपैयाँ ।’

पुनले गत वर्ष उक्त एक लाख रुपैयाँ ब्याजसहित समितिलाई बुझाएको दाबी गर्नुभयो । तर अहिलेसम्म तीनै जना कसैले पनि ब्याज नदिएको प्रहरी चौकी निसीका प्रमुख लालमणि भट्टटाईले बताउनुभयो । पुनले आफूसँग एक लाख रुपैयाँ तीन वर्षदेखि रहेको र नेपाल बैंकको १.५ का दरले ब्याजसहित समितिलाई बुझाएको बताउनुभयो ।

टंक पुनले साढे दुई लाख रुपैयाँ वषौँदेखि चलाएको पाइएको छ । उहाँले जग्गा व्यवस्थापनका लागि भनेर साढे दुई लाख रुपैया लगेको र जग्गा व्यवस्थापन गर्न नसकेपछि आफूले व्यक्तिगत रुपमा चलाउँदै आएको बुझिएको छ । पुनलाई यस विषयमा बुझ्न सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

निसीखोला गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष हर्कमान घर्ती मगरले ब्याज असुलिका लागि सरकारी दर अनुसार दिनको लागि छलफल भएको बताउनुभयो । अध्यक्ष घर्तीले समाजिक रकम कसैले पनि प्रयोग गरेमा त्यसको अतिरिक्त रकम तिर्नु भन्दै उनीहरुलाई सहमतिमा ल्याएको बताउनुभयो ।

उहाँले जग्गा व्यवस्थापनको लागि आफूहरुले धेरै ठाउँमा खोजि गरेको र वडा नम्बर ५ र ६ को सिमानामा जग्गा पाए पनि मापदण्ड पूरा नभएका कारण रोकिएको बताउनुभयो । घर्तीले एकै ठाउँ तीन रोपनी जग्गा भेटाउन गाह्रो भएको हुँदा चौकी व्यवस्थापनमा समस्या भएको बताउनुभयो । अझै पनि जग्गा व्यवस्थापनका लागि स्थानीयहरुसँग छलफल भइ रहेको अध्यक्ष घर्तीको भनाई छ ।

प्रहरी चौकी निसीका प्रमुख लालमणि भट्टराइले तीनै जनाले सावाँ रकम मात्रै बुझएको भन्दै अहिलेसम्म ब्याज नदिएको बताउनुभयो । उहाँले ब्याज दिन आनकानी भइ रहेको बताउनुभयो । उनीहरुले बुझाएको साढे सात लाख रुपैयाँ मध्ये जग्गा व्यवस्थापन समितिका अध्यक्ष देविराम घर्तीको खातमा चार लाख रुपैयाँ र साढे तीन लाख चौकी व्यवस्थपन समितिको खातामा भएको चौकी प्रमुख भट्टराईको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *