यस्तो छ बागलुङका १० पालिकाको बजेट

आदर्श डेक्स
बागलुङका १० वटै स्थानीय तहले नीति, कार्यक्रम सँगै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । असार १० गते सम्मका बजेट ल्याइसक्नु पर्ने व्यवस्था अनुसार पालिकाले बिहीबार एकैसाथ नीति, कार्यक्रम तथा बजेट ल्याएका छन् । केही पालिकाले भने यस अगाडि नै नीति कार्यक्रम सार्वजनिक गरेको हुँदा बजेट मात्रै ल्याएका छन् ।

बरेङ गाउँपालिकाले जिल्लामा सबैभन्दा पहिला नीति, कार्यक्रम र बजेट ल्याएको थियो । बरेङले असार ५ गतेनै नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको थियो ।

बागलुङ नगरपालिका
बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब ५ करोड ६८ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले यसपाली गत वर्षको भन्दा बढी बजेट ल्याएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा ९४ करोड ७७ लाख ८६ हजार ३३७ रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । गत वर्षको भन्दा यो वर्ष १० करोड छ ।

उपप्रमुख सुरेन्द्र खड्काले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास तर्फ २३ करोड ५ लाख र कृषिमा १ करोड, ५९ लाख, पशु विकासका लागि ६९ लाख, पर्यटनमा १ करोड १० लाख, उद्यम विकास तथा रोजगार प्रवद्र्वनका लागि ४ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन गर्नुभएको छ ।

यस्तै शिक्षामा ३९ करोड ५१ लाख बजेट विनियोजन भएको छ । नगरपालिकाले आगमी वर्षदेखि बालविकास केन्द्रका सहजकर्तालाई केन्द्र सरकारले घोषणा गरेको मासिक पारिश्रमिकमा ७ हजार थप गरी १५ हजार पु¥याएको ।

स्वास्थ्य तर्फ ९ करोड ५८ लाख, ६५ हजार, युवा तथा खेलकुद विकास विकासतर्फ बाङेचौर खेल मैदान निर्माणका लागि ३ करोड ४२ लाख, मेयर कप कार्यक्रम र राष्ट्रपति रनिङ शिल्ड, खेलकुद मैदान सुधार र विस्तारका लागि ९३ लाख ५० हजार रुपैयाँ बजेटको विनियोजन गरेको छ ।

खानेपानी आयोजनाका लागि ५८ लाख विनियोजन गरिएको छ । नगरपालिको यस वर्षको बजेटमा स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधार विकासलाई नै बढी प्राथमिकतामा राखेको छ ।

ढोरपाटन नगरपालिको
ढोरपाटन नगरपालिकाको बिहिबार नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । उप्रमुख करमती पुनले ४४ करोड, ६५ लाख, १० हजारको बजेट प्रस्तुत गर्नुभएको छ ।

नगरपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई बढी प्रथामिता दिँदै शिक्षा, रोजगार, पूर्वाधार निर्माण र पर्यटनलाई समेत महत्व दिइएको छ । ढोरपाटन नगरपालिका अन्तर्गत सञ्चालनमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ शैयाको प्रदेश स्तरीय अस्पतालमा स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूति कक्षमा बिरामी कुरुवाका लागि एसी सहितको क्याबिन निर्माण गरिने, डिजिटल एक्सरे जडान, मेडिप्रो सिस्टम तथा डिजिटल मनिटरिङ सिस्टमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने नगर प्रमुख देवकुमार नेपालीले प्रस्तुत गरेको नीति कार्यक्रमा उल्लेख छ ।

नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका प्रत्येक स्वास्थ्य संस्थामा मापदण्ड बमोजिमका खोप केन्द्र स्थापना गरिनेछ । नगरपालिका भित्रका अति विपन्न तथा फरक क्षमताले सक्षम नागरिकका १०० परिवारलाई ‘मेयर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत एक लाखको स्वास्थ्य बीमा गरिने भएको छ ।

ढोरपाटन वडा नम्बर ९ ढोरपाटन स्थित पाखाथरमा १५ शैया सहितको अस्पताल निर्माण गर्ने भएको छ । पोषणयुक्त खानेकुराको अभावमा कुपोषणको शिकार भएका बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पोषण सम्बन्धी कार्यक्रम संचालनमा ल्याइनेछ ।
शिक्षालाई पनि नगरपालिकाले उत्तिकै प्राथमिकतामा राखेको छ । “मेयर शैक्षिक सुधार कार्यक्रम” अन्तर्गत विद्यालय व्यवस्थापन समितिको प्रतिवद्धताको आधारमा प्रत्येक वडामा “एक वडाः एक नमूना विद्यालय कार्यक्रम” लागु गरिने नीति कार्यक्रममा छ ।

नगर स्तरिय प्रतिभा पहिचान कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ । सो कार्यक्रम मार्फत विद्यार्थीको प्रतिभा पहिचानका लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ । नगरपालिकाले सञ्चालन गर्दै आइरहेको विद्यार्थी सिकाइ उपलब्धि परीक्षा, वार्षिक परीक्षा र कक्षा ८ को परीक्षा तथा मूल्याङ्कनलाई थप प्रभावकारी बनाइनेछ ।

यसैगरी, नगर भित्रका पर्यटकीय स्थल र क्षेत्रको पहिचान, खोज तथा प्रचार प्रसारका लागि स्थानीय सञ्चार माध्यमसँग आवश्यक सहकार्य गरी प्राथमिकताका साथ प्रवद्र्धनमा जोड दिइनेछ । महत्वपूर्ण पर्यटकीय क्षेत्रको नगरपालिकाले डकुमेन्ट्री तयार गर्नेछ ।

नगरपालिका क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा योगदान पु¥याउने सञ्चार माध्यमसँग सहकार्य गरी “मिडिया मिसन, गन्तव्य ढोरपाटन“ कार्यक्रममा सहकार्य गरीने नीति अवलम्बन गरिने कार्यक्रममा उल्लेख छ ।

कोभिड–१९ को महामारी रोकथाम भएमा उद्योग तथा व्यापारसँग प्रत्येक वर्ष हुँदै आएको कोजाग्रत पूर्णिमा मेला र जनैपूर्णिमा मेलाको सञ्चालनलाई निरन्तरता दिइनेछ । पर्यटन प्रवद्र्धनसँग जोडिएका ढोरपाटन क्षेत्रमा रहेका महत्वपुर्ण स्थल ताल, हिमाल, गुम्बा, मन्दिर जोड्ने पर्यटकीय पैदल मार्ग निर्माण गरिनेछ ।

पर्यटनको क्षेत्रमा उच्च सम्भावना बोकेको यस क्षेत्रमा पर्यटन विकासका लागि पूर्वाधारको निर्माण, पर्यटकीय क्षेत्रहरुको पहिचान एवम् प्रचारप्रसार तथा पर्यटकमैत्री समुदाय निर्माणलाई विशेष प्राथमिकता दिइनेछ ।

पर्यटन क्षेत्रलाई रोजगारी एवम् आय–आर्जनसँग जोड्न बिभिन्न वडाहरुमा सञ्चालित होमस्टेलाई व्यवस्थित बनाउँदै लगिनेछ । साथै आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षण गर्न बिभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ ।

ढोरपाटन उपत्यका ढोरबराह मन्दिर, रुद्र ताल, धोर्जेको धुरी, अर्नाकोट बयचौर क्षेत्र तथा वडा नं. ४ स्थित रिखुवा महखोला झरना लगायतका विभिन्न पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार तथा संरक्षणमा जोड दिइने नीति कार्यक्रमा समावेश छ ।

गलकोट नगरपालिका
गलकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को ६१ करोड ७६ लाख ७१ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौं नगर सभाबाट उपप्रमुख रेनुका काउचाले बजेट सार्वजनिक गर्नुभएको हो ।

नगरपालिकाले आन्तरिक आयतर्फ २ करोड ३३ लाख अनुमान गरिएको छ भने कर शुल्क तथा दस्तुर १ करोड ६० लाख तथा अन्य आय बाट ७३ लाख अनुमान गरिएको छ ।

राजश्व बाँडफाडबाट १० करोड ३ लाख ४९ हजार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ नेपाल सरकारबाट प्राप्त समानिकरण १२ करोड २५ लाख, ससर्त तर्फ ३२ करोड ७४ लाख, प्रदेश सरकार समानिकरण १ करोड ४२ लाख २२ हजार नेपाल सरकार विशेष अनुदानबाट २ करोड ४९ लाख अनुमान गरिएको नगर सभामा जानकारी गराईएको थियो ।

नगरपालिकाले सामाजिक बिकास तर्फ ३ करोड २९ लाख ९० हजार, पूर्वाधार विकास तर्फ ७ करोड १३ लाख सुशासन तथा अन्तरसम्वन्धीत विषयमा २५ लाख ५० हजार तथा वन वातावरण तथा विपद् व्यवस्थापनको लागि ४० लाख ३१ हजार रुपैया विनियोजन भएको छ ।

बजेटमा गलकोट नगरपालिकाले विशेष विकास कोषमा १ करोड ३० लाख, नगरको जग्गा व्यवस्थापन तथा भवन निमार्णको लागि १ करोड २० लाख फाहोर मैला व्यवस्थापन को लागि १५ लाख, युवा तथा खेलकुद बिकासको लागी १३ लाख, विनियोजन गरेको छ ।

नगर शिक्षा कार्यक्रमको तर्फ १ करोड १५ लाख ९० हजार विनियोजन भएको छ । विपद व्यवस्थापन कार्यक्रमको लागि ३० लाख भु संरक्षण कार्यक्रम ७ लाख ५० हजार र विपन्न परिवार स्वासथ्य बीमा कार्यक्रमका लागि २ लाख ८१ हजार बजेट विनियोजन गरिएको छ ।

जैमिनी नगरपालिका
जैमिनी नगरपालिकाले बिहिबार नगर सभाबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेट बजेट सार्वजनिक गरेको छ । उपप्रमुख लिला रानाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य, रोजगार, पर्यटन, कृषि लगायतलाई प्राथमितामा राखेको छ ।

नीति तथा कार्यक्रममा स्वास्थ्य तर्फ नगरपालिकाले विश्वव्यापी महामारीको रुपमा रहेको र कोभिड १९ रोगको रोकथाम तथा नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन गरेको उल्लेख छ । आधारभुत स्वास्थ्य सेवा पु¥याउन पहुँच कम भएको नगर क्षेत्र भित्र शहरी स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा प्रयोगशाला सेवाको शुरुवातको अवधारणा ल्याईने छ ।

वडा नम्बर ३ मा रहेको शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गराउने प्रक्रियामा लगिने छ । नगर क्षेत्रभित्र सुरक्षित प्रसुति सेवा उपलब्ध गराई मातृ तथा नवशिशु मृत्युलाई शुन्यमा कायम राखिरहन सबै वडामा बर्थिङ सेन्टरको अवधारणा अनुरुप बाँकी रहेको वडामा पनि बर्थिङ सेन्टर स्थापना गर्ने नीति कार्यक्रममा उल्लेख छ ।

कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र नगरपालिकाको रेफर सेन्टर समेत भएकाले यसलाई अस्पतालमा स्तरोन्नती तथा आवश्यक भौतिक उपकरण तथा मानव संशाधन व्यवस्थापन गरिने छ । सबै स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मीको पद पूर्ति गरिनेछ ।

बिपन्न नागरिकलाई मुटुरोग, क्यान्सर, मृगौला आदि निर्धारित रोगको उपचारको लागि सहज रुपमा प्रेरित गरी एक लाख सम्मको सहुलियतको लागि सहजिकरण कोषको व्यबस्था गरिने र ६० वर्ष माथिका जेष्ठ नागरिकलाई टेलिमेडिसिन परामर्श कार्यक्रम शुरुवात गरिने कार्यक्रममा उल्लेख छ ।

शिक्षा तर्फ कोभिड १९ महामारीका बीच वैकल्पिक शिक्षण सिकाई पद्दतिलाई प्रभावकारी रुपमा अवलम्बन गरिन विद्यालयको एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीलाई यथार्थपरक र वस्तुनिष्ठ बनाउदै लगिनेछ ।

बालमैत्री स्थानीय शासन कार्यक्रम क्रमशः लागु गर्दै लगिनेछ । भौगोलिकता, विद्यार्थी संख्या तथा आवश्यकताका आधारमा विद्यालय समायोजन गरिने, कक्षा थपघट गरिनुका साथै सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीहरुको दरबन्दी मिलान, व्यवस्थापन, पुर्नवितरण गरिनेछ ।

गाभिएका वा बन्द भएका विद्यालयहरुको सम्पत्ती आवश्यकताको आधारमा अन्य विद्यालयमा समायोजन गरिने नीति कार्यक्रममा छ ।

बडिगाड गाउँपालिका
बडिगाड गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र आर्थिक बजेट सार्वजनिक गरेको छ । नगपालिकाले ६२ करोड १ लाख २५ हजारको बजेट नवौं गाउँसभाले पारित गरेको छ । बडिगाड गाउँपालिकाको गाउँसभामा गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष अम्मर बहादुर श्रीसले प्रस्तुत गरेको बजेट सभाले सर्वसम्मत पास गरेको हो ।

जस अन्र्तगत बजेट तर्फ चालु तर्फ १० करोड ८३ लाख, सशर्त अनुदान तर्फ २९ करोड २६ लाख र पुँजीगत खर्च तर्फ २१ करोड ९२ लाख २५ हजार विनियोजन गरेको हो । बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीसले प्रस्तुत गरेको बजेटलाई सभाले सर्वसम्मत पारित गरेको हो ।

बजेटमा आम्दानी तर्फ आन्तरिक राजश्ववाट १ करोड ३५ लाख, नेपाल सरकारको राजश्व बाँडफाँडबाट ९ करोड ७ लाख ९९ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ६६ लाख ३० हजार, नगद मौज्जादवाट ४ करोड ५० लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारको वित्तीय सम्मानीकरण अनुदान ११ करोड ७८ लाख, प्रदेश सरकारवाट प्राप्त हुने वित्तीय सम्मानीकरण अनुदान तर्फ १ करोड ३५ लाख ९६ हजार, संघीय सरकारको सशर्त अनुदान २९ करोड २६ लाख, संघीय सरकारको विशेष अनुदान २ करोड ३७ लाख, प्रदेश सरकारको विशेष अनुदान ६० लाख, संघीय सरकारको समपुरक कोषबाट ६५ लाख र प्रदेश सरकारको समपुरक कोषबाट ४० लाख गरि ६२ करोड १ लाख २५ हजार आय प्रस्ताव पास गरेको हो ।

जसअन्तर्गत सुरक्षित नागरिक आवास तर्फ खरका छाना हटाउने कार्यक्रमका लागि २ करोड २५ लाख विनियोजन गरेको छ । बडिगाड गाउँपालिकाको प्रशासनिक भवन सम्पन्न गर्न २ करोड १० लाख तथा गाउँपालिका भित्रका सवै वडामा वडा कार्यालय निर्माण सम्पन्न गर्न दुइ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

महिला तथा बालबालिका लक्षित कार्यक्रमका लागि १५ लाख, आदिवासी जनजाती लक्षित कार्यक्रमका लागि १० लाख, दलित लक्षित कार्यक्रममा १० लाख विनियोजन गरेको गाउँपालिकाले जेष्ठ नागरिक लक्षित कार्यक्रमको लागि ८ लाख बजेट विनियोजन गरेको छ । युवा लक्षित कार्यक्रममा १० लाख, अल्पसंख्यक लक्षित कार्यक्रममा ५ लाख, मुस्लिम लक्षित कार्यक्रममा ५ लाख, अपाङ्गता भएका व्यक्ति लक्षित कार्यक्रमको लागि ८ लाख विनियोजन गरेको पालिकाले सहिद परिवार एवम् द्धन्द्धपीडित तथा अति विपन्न परिवारको राहतको लागि ४ लाख बजेट छुट्याएको छ ।

बडिगाड गाउँपालिका भित्र पहिलो पटक डम्पिङ साइट निर्माण गर्न ४० लाख वजेट विनियोजन भएको छ । पूर्वाधार तर्फ सडकमा पुरानोगाउँ फोर्सा सडकको लागि २५ लाख, रणसिंह भेडिखोर सडकका लागि २५ लाख, दर्लिङ निगालपानी सडकमा २५ लाख सिरनी शिसाखानी सडकको लागि २५ लाख रकम विनियोजन भएको छ ।

कृषि तथा पशुपालन र पुर्वाधार विकास बडिगाडको प्रगति एवं समृद्धिको निकास भन्ने नारा सहितको निति तथा कार्यक्रममा अति गरिव परिवारको लागि साझा सुविधा केन्द्र सञ्चालन गर्ने लगायतका कार्यक्रम समेटेको छ । अघिल्ला वर्षमा लिएको हरेक महिना एक दिन अनिवार्य जनश्रमदानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । एक घर १० फलफबल वोट, विसंगति विकृति विरुद्धको अभियानलाई पनि निरन्तरता दिइएको छ ।

निसीखोला गाउँपालिका
निसीखोला गाउँपालिकाले बिहिबार आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट आठौँ गाउँसभाबाट पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष शोभा कुमारी कार्कीले ४४ करोड ८४ लाख, २३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको थियो ।

गाउँपालिकाले यसवर्ष स्वास्थ्य, शिक्षा, रोजगार, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रममा भौतिक संरचना निर्माणदेखि गत वर्षका भन्दा केही फरक कार्यक्रम ल्याएको छ ।

विद्यालयका भवन निर्माण, शैक्षिक क्षेत्रको स्तर वृद्धि, आफ्नै पालिकाको भाष, संस्कृति समेटिएको पाठ्यपुस्तक निर्माण तथा पठनपाठन गर्नेदेखि गाउँपालिका शैक्षिक गुरुयोजना निर्माण लगायतका कार्यक्रमलाई समेटिएको छ ।

पालिका अध्यक्षसँग बालबालिका कार्यक्रम, विभिन्न सचेतना कार्यक्रम, युवा रोजगार, कृषि समेत प्राथमिकता दिएको छ । पालिकाले विद्यालयको भौतिक संरचना निर्माण, घेराबार, सडक स्तरोन्ती तथा विस्तार कार्यक्रमलाई जोड दिएको छ ।

यस वर्ष खरको छानामुक्त गाउँपालिका अभियान थालेको पालिकाले पर्यटन प्रर्वद्धन अन्तर्गत पदमार्ग निर्माण, पर्यटकीय क्षेत्रमा पूर्णधार निर्माण तथा प्रचारप्रसारका लागि बजेट विनियोजन गरेको छ । कृषकको लागि उन्नत जातका बिउ भिवन, आवश्यक तालिम प्रदान गर्ने भएको छ ।

पालिकाले कोभिड १९ लाई नियन्त्रण गर्नलाई मुख्य प्राथमिकतामा राखेको छ । कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रोहोत्सान भत्ता तथा महिला स्वास्थ्य स्वयम सेवीकालाई प्रोत्साहन गर्ने कार्यक्रम लिएको छ ।

पालिकाका जनप्रतिनिधिको क्षमता वृद्धि, मेलमिलाप केन्द्र स्थापना, कला संस्कृर्तिको पहिचान र प्रर्वद्धनमा समेत पालिकाले नीति तथा कार्यक्रममा समावेश छ । महिला, वेराजगार युवा, उद्धम विकास लगाएतका क्षेत्रमा क्षमता विकास तालिम लगाएतका कार्यक्रम समावेश गरिएको छ । वडा तर्फको बजेटमा विशेष गरी सडक र विद्यालयको पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएको पाइएको छ ।

ताराखोला गाउँपालिका
जिल्लाको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु.३५ करोड, ५१ लाख ८६ हजार ९९८ बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाले बिहीबार नवौ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिल कुमारी पुनले आगामी वर्ष संघीय सरकारले प्रदान गर्ने अनुदान, गण्डकी प्रदेश सरकारले प्रदान गर्ने अनुदान र गाउँपालिकाको अनुमानित आम्दानी, राजश्व बाँडफाँट लगायतको आधारमा बजेट सार्वजनिक भएको छ ।

गाउँपालिकामा आगामी आर्थिक वर्षमा प्राप्त हुने सशर्त अनुदानको रु.१५ करोड ६५ लाख, वित्तीय समानीकरण अनुदान ७ करोड ३८ लाख, राजश्व बाँडफाडको ५ करोड ५५ लाख, गण्डकी प्रदेशको समानिकरण अनुदान तर्फ ७५ लाख ४९ हजार, राजश्व बाँडफाँड बाट ३१ लाख ७४ हजार प्राप्त हुने भएको छ । यस आर्थिक वर्षमा चालु र पूजिगत तर्फ रु.२ करोड ७६ लाख मौजाद रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको आगमी आर्थिक वर्षको बजेटमा आन्तरिक आम्दानी ४३ लाख १० हजार हुने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षको चालु खर्च तर्फ ५ करोड ८० लाख, पूजिगत तर्फ १० करोड ९१ लाख, चालु खर्च ससर्त अनुदान तर्फ रु.१८ करोड, ८० लाख अनुमान गरिएको छ । यस्तै, कोरोना नियन्त्रणका लागि विपद् व्यवस्थापन कोषमा १० लाख विनियोजन भएको छ ।

आर्थिक विकास र कृषि कार्यक्रम तर्फ ६८ लाख ५० हजार, सामाजिक विकास तर्फ शिक्षामा रु एक करोड २७ लाख, स्वास्थ्यमा ७२ लाख ८६ हजार, युवा तथा खेलकुदमा ६२ लाख, खानेपानी तथा सरसफाईमा रु.४ लाख विनियोजन गरिएको छ ।

पूर्वाधार तर्फ सशर्त अनुदान बाहेक रु.२ करोड १७ लाख विनियोजन भएको छ । सुशासन र संस्थागत विकास तर्फ ४२ लाख, प्रशासनिक खर्चका लागि रु.६ करोड २२ लाख विनियोजन भएको छ । गाउँपालिकाले ताराखोला कृषि बगैचा, युवालाई रोजगारी उत्पादन थरी थरी कार्यक्रममा २२ लाख, पशु तथा कृषि पकेटमा ३३ लाख विनियोजन भएको छ ।

करिमेलालाई नमूना पर्यटकीय गाउँ विकास गरी स्टोन भिलेजकौ रुपमा अगाडि बढाइने भएको छ । जसका लागि रु. १५ लाख विनियोजन भएको छ । छेजी करिमेला, म्याग्दी रुमा सडक स्तरोन्नती गर्न रु. ८० लाख विनियोजन भएको छ ।

तमानखोला गाउँपालिका
तमानखोला गाउँपालिकाको १० औँ गाउँसभा बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष मानसरी शेरचनले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि २७ करोड ४० लाख ८१ हजार १ सय ५० रुपैँयाको बजेट प्रस्तुत गर्नु भएको छ ।

नीति तथा कार्यक्रममा यस वर्ष शिक्षा, स्वास्थ्य, यातायात, कृषि, पर्यटन लागयतका क्षेत्रलाई प्राथमिकता दिएको छ । “सुखी र समान समृद्ध तमान” भन्ने उदेश्य सहित दीगो विकासको लक्ष्यलाई पुरा गर्ने उदेश्य सहित नीति कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित गरिएको हो ।

आर्थिक ऐन २०७८, विनियोजन ऐन २०७८, आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट, स्थानीय शिक्षा ऐन प्रथम संशोधन २०७८ र समग्र पालिकाका विषयवस्तु माथि छलफल गर्दै पारित गरेको छ ।

पालिकाले स्वास्थ्य क्षेत्रतर्फ १ करोड २६ लाख १६ हजार ६ सय ५० बजेट विनियोजन गरेको छ । जसमा कोभिड व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषबाट खर्च हुने गरी ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

स्वास्थ्य क्षेत्रको प्रभावकारिता वृद्धि गर्न कर्मचारीको २ हजार र महिला स्वास्थ्य स्वंयम्सेविकाको निम्ती प्रदेश र संघ सरकारले उपलब्ध गराउने प्रोत्साहन भत्तामा १ हजार थप गर्ने निर्णय सभाबाट पास भएको छ ।

स्वास्थ्य चौकीमा फार्मेसी सेवा सञ्चालन गरी अत्यावश्यक औषधिको सहज उपलब्धतालाई सुनिश्चित गर्ने उदेश्य सहित अध्यक्ष फार्मेसी कार्यक्रम अगाडि बढाइने भएको छ । त्यस्तै, उपाध्यक्ष सुत्केरी भेटघाट कार्यक्रम, बहुक्षेत्रीय पोषण कार्यक्रम, पूर्ण खोप सुनिश्चतता कार्यक्रम, स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी वनाउने, तमानखोला गाउँपालिका अध्यक्ष फेलोसिस कार्यक्रम अगाडि बढाउने नीति कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाले शिक्षा क्षेत्रको विकासमा विभिन्न कार्यक्रम अगाडी सारेको छ । शैक्षिक क्षेत्रमा भौतिक पूर्वाधार सहित शैक्षिक गुणस्तर बृद्धि, विद्यार्थी प्रतिभा पहिचान, परम्परागत सीपलाई आधुनिक सिपमा विकास गर्न परम्परागत कृषि प्रणालीलाई आधुनिक आधुनिक प्रणालीमा रुपान्तरण गर्न सिपको विकास सहित एक विद्यार्थी, एक सीप, एक विद्यालय एक उत्तपादन कार्यक्रमलाई जोड दिइने निती कार्यक्रममा उल्लेख छ ।

एक घर एक धारा कार्यक्रमलाई अगाडी सारेको गाउँपालिकाले विभिन्न संघसंस्थासँगको समन्वयमा कार्यक्रम प्रभावकारी बनाउने गरी १९ लाख बजेट विनियोजन भएको छ । पालिकाका सबै वडा–वडामा खानेपानी विस्तारका विभिन्न कार्यक्रम समेत अगाडि बढाइने छ । कुवा, खोला लगायतका स्थानबाट पानी प्रयोग गर्दै आएका नागरिकहरुको घरघरमा धारा निर्माण गरिने छ ।

गाउँपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा कृषि, पशुपालन क्षेत्रलाई पनि उत्तिकै महत्वका साथ कार्यक्रमा समावेश गरेको छ । पालिकाले व्यवसायिक, यान्त्रीकरण, जैविक विषाधिको प्रयोग सहित उत्पादन र अन्नवाली तथा नगदेबालीलाई व्यवसायिक बनाउन कार्यक्रम समावेश गरिएको छ । कृषकलाई उन्नत जातका बिउ भिजन र अवाश्यक तालिक परामर्श दिइने छ ।

काठेखोला गाउँपालिका
काठेखोला गाउँपालिकाले बिहिबार नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५३ करोड ३१ लाख १४ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको छ ।

गाउँपालिकाले स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले पूर्वाधार विकासका कार्यक्रमको लागि ३ करोड ११ लाख ७८ हजार, सामाजिक विकासका कार्यक्रमको लागि १ करोड ५५ लाख विनियोजन गरेको छ ।

वन वातावरण तथा विपद् व्यवस्थापनको लागि ३५ लाख ९७ हजार, सुशासन तथा संस्थागत विकासका लागि ३५ लाख ९७ हजार, आर्थिक विकासका लागि १ करोड ५५ लाख ८९ हजार, वडाका गौरवका आयोजनाका लागि २ करोड ५१ लाख ८२ हजार विनियोजन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *