कांग्रेसमा बढ्दै महाधिवेशन रौनकः बागलुङमा नेतृत्वका आधा दर्जन आंकाक्षी

डम्मर बुढा मगर, बागलुङ
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी साउन १२ गतेदेखि गर्ने तय गरे सँगै जिल्ला तहमा पनि चुनावी रौनक सुरु भएको छ । केन्द्रले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि बागलुङमा पनि कांग्रेस नेता, कार्यकर्ताका बिचमा विस्तारै चुनावी सरगर्मी बढ्न थालेको छ ।

अहिले बागलुङमा सभापतिका लागि आधा दर्जन बढी आंकाक्षी भएको चर्चा छ । १४ महाधिवेशनमा आफूलाई पुनः सभापतिमा उठाउने दाउमा वर्तमान पार्टी सभापति दिपेन्द्रबहादुर थापा हुनुहुन्छ भने अघिल्लो अधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका जगदिशचन्द्र उपाध्याय, पूर्व जिल्ला सभापति तथा संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, वर्तमान पार्टी सचिव नवराज पौडेल, क्षेत्र नम्बर २ का वर्तमान सभापति दोर्ण कुँवर, क्षेत्र नम्बर १ का सभापति चिरञ्जिवी गौतम, महाधिवेशन प्रतिनिधि जगन्नाथ आचार्य आंकाक्षी देखिनुभएको छ । यसअघि सभापतिको प्रत्यासी रहेर दोस्रो चरणकोय निर्वाचनमा दिपेन्द्र थापालाई समर्थन गर्नुभएका गण्डकी प्रदेश सांसद मणिभद्र शर्मा कंडेल भने यसपटक आफू सभापतिको रेसमा नरहेको बताउनुहुन्छ ।

दिपेन्द्रबहादुर थापा
वर्तमान पार्टी सभापति थापाले १४ औँ महाधिवेशनमा आफूलाई पुनः एक पटक सभापतिमा प्रस्तुत गर्ने बताउनुभएको छ । थापा पार्टी सभापति शेरबहादुर देउवा निकट नेता मानिनुहुन्छ । उहाँले पुनः नेतृत्वका विषयमा नेता, कार्यकर्तासँग छलफल भइरहेको बताउनुभयो ।

महाधिवेशनका लागि यसपटक पनि जिल्लामा दुई समूह बन्न थालेको र आफू इतरको समूहले प्रचार सुरु गरे पनि आफू अहिले नै प्रचारमा भने नजुटेको थापा बताउनुहुन्छ । ‘एउटा समूहले म हुँ भन्दै हिँडि सक्यो, म पनि नहुने भन्ने त भएन, निर्वाचनको समयमा अहिले पनि दुई समूह जसरी पनि हुने देखियो, हामी साथीभाइ सँग बसेरै छलफल गरेर कसलाई उठाउने ? को हुँदा ठीक हुन्छ भन्ने विषयमा छलफल गरेका छौँ,’ सभापति थापाले भन्नुभयो ‘म पनि नहुने भन्ने भएन, पार्टीको विधान अनुसार दुई पटक हुन पाइन्छ भन्ने छ, हुने भनेर प्रचार प्रसारमा हिँडेको पनि छैन । हुँदैन भनेर चुप लागेर पनि बस्ने कुरा पनि भएन, साथीभाइसँग छलफल गरेर निर्णय अगाडि बढ्छ ।’

जगदिशचन्द्र उपाध्याय
महासमिति सदस्य तथा गत महाधिवेशनमा पराजित हुनु भएका उपाध्यायले यस पटक पनि आफूलाई सभापतिको उम्मेदवारको रुपमा प्रस्तुत गर्नु भएको छ । उहाँले यस पटकको महाधिवेशनमा सभापतिको दाबेदार हुनु स्वभाविक भएको भन्दै नेता तथा कार्यकर्तासँग छलफलमा जुटेको बताउनुभयो ।

उपाध्यायले पार्टी संगठनलाई मजबुत बनाउन आफ्नो उम्मेदारी रहेको बताउनुहुन्छ । ‘१३ औँ महाधिवेशनमा सभापतिको प्रत्यासी हुँ, केही मतान्तरले पराजित भएको थिएँ, त्यसले गर्दा म १४ औँ महाधिवेशनको स्वभाविक रुपमा सभापति पदको उम्मेद्वार हुँ’ उहाँले भन्नुभयो ‘मैले सभापतिको जिम्मेवारी दिई सके पछि अरु कुनै पनि पदमा आफूलाई नराखी सिङ्गो पार्टीको मात्रै काम गरेर संगठनलाई चुस्त दुरुस्त बनाउने भन्ने मेरो उद्देश्य छ ।’

उहाँले आफूले स्थानीय स्तरबाटै कार्यकर्ता र नेताहरुको सहयोग रहेको भन्दै यस पटक आफू जसरी पनि सभापति हुने दावी गर्नुहुन्छ । उपाध्यायले आफू विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा सक्रिय भएर लागेकाले यस पटक निर्वाचन भए पनि सर्वसम्मत भए पनि आफू सभापति हुने उहाँको भनाई छ ।

‘मलाई धेरै सिनियर नेताहरुले साथ दिइराख्नु भएको छ, म आफू पनि विद्यार्थी राजनीतिदेखि तरुण हुँदै पार्टीमै लागेर काम गरेको छु, त्यसले गर्दा सबैबाट सहानुभूति पाएको छु, सबैको सहानुभूतिले गर्दा पनि म एक पटक सभापति पदको उम्म्दवारी हुँ’ उपाध्यायले भन्नुभयो ‘यसपाली मैले चुनाव जित्छु, मलाई लाग्छ अझ नेतृत्व तहमा बसेर छलफल ग¥यौँ भने सर्वसम्मत रुपमा सभापति हुन्छ ।’
नेता उपाध्याय कांग्रेसर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुनुहुन्छ । उहाँलाई निर्वतमान पार्टी सभापति प्रकाश पौडेल लगायतका नेता तथा कार्यकर्ताले साथ साथ दिएको पाइन्छ ।

नवराज पौडेल
वर्तमान पार्टी सचिव नवराज पौडेलले पनि यो महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताउनुभएको छ । उहाँले अहिले सचिवमा रहेको काम गरेको हुँदा सभापतिमा दाबी गर्नु स्वभाविक भएको बताउनुभयो । पौडेलले यसका लागि नेता तथा कार्यकर्तासँग छलफलमा रहेको र यसमा सबैको सहयोग सद्भाव रहने बताउनुहुन्छ ।

पौडेलले राजनीतिक शक्ति सन्तुलन गर्ने र पुस्ता हस्तान्तरणको विषयलाई जोड दिँई आफू सभापति हुनेमा ढुक्क रहेको बताउनुहुन्छ । सकेसम्म सर्वसम्मत नभए निर्वाचनबाटै भए पनि सभापति हुने उहाँको भनाई छ ।

‘साथीहरुको बिचमा छलफल भइरहेको छ’ अहिले सचिवमा रहेर काम गरेको हुँदा सभापति हुनु स्वभाविक प्रक्रिया हो, सके सम्म सर्वसम्मत रुपमा होला, नभए चुनावै भए पनि म सभापति हुन्छु,’ पौडेलले भन्नुभयो ‘राजनीतिक शक्तिलाई पनि सन्तुलित गर्ने, पुस्ता हस्तान्तरणको कुरा पनि छ, त्यसले गर्दा यस पटक म सभापतिको उम्मेदवार हो ।’ पौडेल केन्द्रीय राजनीतिमा सिटौला पक्ष निकट भए पनि जिल्लामा पार्टी सभापति थापासँग नजिक रहनुभएको छ ।

जगन्नाथ आचार्य
लामो समय शिक्षण पेसामा रहेका र अवकाश पाउनुभएका आचार्यले यस पटकको महाधिवेशनबाट आफू सभापति हुने बताउनुभयो । ३३ सालदेखि आफू निरन्तर पार्टीमा लागेको र आफूसँग नेतृत्व गर्ने भिजन, क्षमता भएको हुँदा यस पटक सभापतिमा आफूलाई प्रस्तुत गर्ने बताउनुहुन्छ ।

उहाँले गुटले पार्टीलाई कमजोर बनाएको भन्दै यसको समस्या समाधान गर्न आफ्नो उम्मेदवारी रहने बताउनुभयो । आचार्यले नेता तथा कार्यकर्ताले आफूलाई पार्टीको नेतृत्व गर्न सक्ने भए पनि सभापतिमा उठ्न आग्रह गरेको हुँदा आफू यस पटक सभापति बन्ने बताउनुहुन्छ ।

‘३३ सालदेखि निरन्तर राजनीतिमा छु, शिक्षक संघ १२ औँ र १३ महाधिवेशन प्रतिनिधि हुँदै अहिले पनि पार्टीमा सक्रिय छु, कार्यकर्ताले साझा नेतृत्व खोजेका छन्, त्यसको लागि मेरो आवश्यकता छ,’ आचार्यले भन्नुभयो ‘गुटले पार्टीलाई कमजोर बनाएको छ, यस पटक सर्वसम्मती भयो भने सभापति हुन्छु, चुनाव भए पनि जित्छु, धेरै साथीहरुले पनि सुझाव दिई राख्नु भएको छ, तपाई सभापति हुनुपर्छ ।’ आचार्य पनि देउवा निकट मानिनुहुन्छ ।

प्रकाश पौडेल
निर्वतमान पार्टी सभापति तथा संविधान सभा सदस्य पौडेलले पनि सभापतिमा पुनः आफ्नो उम्मेदवारी दिने चर्चा छ । सामान्य भेटघाट र चिया पसलहरुमा पनि पौडेलले आफू उम्मेदवार भएको बताउने गर्दै आउनुभएको छ । तर, यस विषयमा पटक पटक बुझ्न खोज्दा पौडेलको फोन रिसिभ हुन सकेन । पौडेलले अघिल्लो निर्वाचनमा महासमिति सदस्य जगदिशचन्द्र उपाध्यायलाई समेत सघाएकाले यस पटक पनि उहाँको समर्थन उपाध्यायलाई नै हुने सम्भावना भने प्रबल देखिन्छ ।

चिरञ्जिवी गौतम
नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गौतमले कार्यकर्ता र नेताहरुले सभापतिमा उठ्न आग्रह गरे आफू तयार रहेको बताउनुभयो । उहाँले यस विषयमा कार्यकतासँग छलफल गरिरहेको र सभापति या अन्य कुन पदमा उम्मेद्वारी दिने भन्ने एकिन भइनसकेको बताउनुहुन्छ ।

‘हामी अहिले साथीहरुसँग सरसल्लाहकै चरणमा छौँ, अहिले चुनावमा लडिहाल्ने भन्ने छैन, जिल्लाभरीका सबै साथीहरुसँग छलफल गरेर संगठनलाई मजबुत बनाउनको लागि कुन पोस्टमा चुनाव लड्दा उचित ठान्नुहुन्छ,’ उहाँले भन्नुभयो ‘त्यही अनुसार निर्णय गरेर जाने हो, अहिले भर्खरै यो पदमा चुनाव लडिहाल्ने भन्ने छैन, छलफलकै चरणमा छौँ, १/२ दिनमै कुन पदमा लड्ने भन्ने हामी टुङ्ग्याउँछौँ ।’

सभापति गौतमले कार्यकर्ताले आग्रह गरे आफू जनु पदमा पनि उठ्न तयार रहेको र अहिले महाधिवेशनलाई एकताको महाधिवेशन गराउने हिसाबले लागेको बताउनुहुन्छ । यस पटक कुनै पनि गुट उपगुट बनाउनका लागि आफूहरु नजुटेको उहाँको भनाई छ । उहाँले बुढापाकाले मात्रै नेतृत्व गर्दै आएकोमा त्यसको क्रम भंग गरि आफू क्षेत्रिय सभापति भएको बताउनुभयो ।

‘कार्यकर्ताले आग्रह गरे म जुन पोस्टमा पनि उठ्न तयार छु, अहिले एकताको महाधिवेशन गरौँ भनेर लागेका छौँ, कांग्रेसमा जहिले पनि बुढापाकाहरुले नेतृत्व गर्छ भन्ने थियो, अघिल्लो पटक म आफै त्यसको क्रम भङ्ग गरेर क्षेत्रीय सभापति भएर सुरुवात गरेको थिएँ, अहिले पनि सबै युवा साथीहरुबाट युवाहरुले नेतृत्व गर्नुपर्छ भन्ने आयो भने त्यसको लागि पनि म तयार छु’ गौतमले भन्नुभयो ‘यस पटक कुनै पनि गुट उपगुट नगरौँ भनेर हामी लागि रहेका छौँ, एकताको महाधिवेशनका लागि बाहिर बसेर सहयोग गर्न पनि म तयार, सभापतिमा उठ्नु पर्छ भने पनि तयार, सचिवमा उठ्नु प¥यो भने पनि तयार छु, म क्षेत्रीय सभापतिमा भने दोहोराउने पक्षमा भने छैन ।’ गौतम केन्द्रीय राजनीतिमा संस्थापन पक्ष निकट मानिनुहुन्छ ।

दोर्ण कुँवर
नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति कुँवरले क्षेत्रीय सभापति भएर काम गरि सकेको हुँदा अब जिल्लाको नेतृत्व गर्ने बताउनुहुन्छ । कुँवरले क्षेत्रीय सभापति भएर संगठन विस्तारसँगै मजबुत बनाएको भन्दै अब जिल्लाकै नेतृत्व आफूले लिने बताउनुहुन्छ ।

उहाँले महाधिवेशनका लागि जिल्ला तह, स्थानीय र क्षेत्र तहका नेता तथा कार्यकर्तासँग छलफल भइरहेको र अबको नेतृत्व युवाले लिनु पर्ने बताउनुहुन्छ । कुँवरले कर्ताकर्ताले नै आफूलाई जिल्लाको नेतृत्व गर्नका लागि आग्रह गरिरहेकाले त्यसका लागि नेताहरुसँग छलफलमा जुटेको बताउनुहुन्छ ।

‘क्षेत्रीय समितिका काम गरिसकेको छु, अब जिल्लाको नेतृत्व गर्न चाहानु स्वभाविक हो, क्षेत्रीय समितिमा बसेर काम गर्दा संगठन विस्तार गर्नेदेखि लिएर पार्टीलाई मजबुत बनाउने काम गरेको छु,’ उहाँले भन्नुभयो ‘अब एक पटक जिल्लाको नेतृत्व गर्ने चाहना छ, र मलाई धेरैको सहयोग छ, म सभापति हुनेमा ढुक्क छु ।’ कुँवर कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *