प्रस्तुतिः साधना पन्त
किताबी ज्ञान नभएकै कारण हेपिन नपरोस् भनेर देशका विभिन्न स्थानमा गएर ३ सय भन्दा बढी महिलालाई सिपमूलक तालिम समेत दिनुभएको छ ।
यामकुमारी थापा, बानपा १० भकुण्डे घर भई हाल बागलुङ बजारको गुठीमा बस्दै आउनुभएका थापा हस्तकलामा व्यस्त हुनुहुन्छ । हामीसँग कुराकानी गर्दा पनि हात भने रहरलाग्दो हिसाबले काममै चलाइरहनु भएको थियो । यामकुमारीले आफ्नो संघर्षको कहावत पनि सुनाउँदै हुनुहुन्थ्यो ।
थापाले एकल जिवन बिताउन थालेको १९ वर्ष भयो । उहाँलाई पहिला मानिसहरुले अब यो एक्लै कसरी बस्न सक्दछे ? जिन्दगी लामो छ, एक्लै कटाउन सम्भव हँुदैन भन्ने मानिसहरु धेरै थिए । यस्ता कुरा यामकुमारी सुनेर पनि नसुने झै गर्नुहुन्थ्यो ।
विवाह गरेको ५ वर्षमा श्रीमानले वैदेशिक रोजगारीका लागि मलेशिया जाने भन्दै काठमाण्डौ गएर राहादानी बनाएर फर्किने क्रममा गाडी दुर्घटना भएर त्रिशुली नदीमा परेर मृत्यु भयो । श्रीमानको मृत्यु पछि उनको थप संर्घष र दुःखको दिन सुरु भयो । विहान बेलुका छाक टार्न मात्र होइन, श्रीमानले चिनो छाडेर गएको छोरालाई हुर्काउन, बढाउन, पढाउन र समाजमा आफ्नो नाम स्थापित गर्नका लागी थापालाई ठूलो चुनौती भयो ।
‘अहिले त हाम्रो समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोण परिर्वतन भएको छैन भने आज भन्दा १९ वर्ष पहिले झन् कस्तो हुँदो हो ? हामीले अनुमान लगाउन सक्दछौ,’ यामकुमारी भन्नुहुन्छ, ‘उहाँ जस्ता एकल महिलाहरु हाम्रो समाजको चुनौती, अप्ठ््याराहरु, कुरिति र कुसँस्कारकै जालो भित्र जेलिएर कयौ महिलाहरुको नामहरु यो समाजमा यसै मेटिन्छन् ।’ तर, एकल महिलाकै उपमा बिच यामकुमारी आफुलाई घर, परिवार र छिमेकमा मात्र होइन, देशकै उत्कृष्ट उद्यमी महिलाको रुपमा आफुलाई परिचित गराउन सफल हुनु भयो ।
श्रीमानको मृत्यु भएको १ वर्ष पछि काखको बच्चा च्यापेर बागलुङ बजार झरेकी थापालाई कहाँ बस्ने, के गर्ने, के खाने भन्ने केही बाटो थिएन । सामान्य शिक्षा पनि आर्जन नगर्नु भएकी थापालाई कस्ले दिने जागिर ? श्रीमानलेनै छोडेर गएको चिनो औठी ८ हजारमा बेचेर माइतका बाबाले पेन्शन क्याम्पमा सिलाई कटाइको तालिम लिने व्यवस्थापन गरिदिनुभएको थियो । त्यही तालिमले थापाको जिन्दगीको बाटोले फरक मोड लियो ।
श्रीमानको मृत्यु हुदाँ साथ समाजका मानिसहरुले लगाएको तिता वचनहरु आला नै थियो । बागलुङ बजार झरे पछि थापाको मनमा कुरा खेल्न थाल्यो–‘अरुको पसलमा काम गर्न भन्दा सानो तिनो आफ्नै व्यापार सुरु गर्दछु भनेर झोला बनाउने र रक्सी पारेर आफ्नो गुजारा चलाउन थालेको थापा बताउनु हुन्छ । झोला बुन्दा बुन्दै ६६ सालमा घरेलुमा आधारभुत ढाका बुनाई तालिम सञ्चालन हँुदैछ भन्ने खबर सुन्दा निकै उत्साहित भएर सहभागी भएको थापा स्मरण गर्नुहुन्छ ।
घरेलु तथा साना उद्योग बागलुङमा गएर मलाई पनि ढाका बुनाइको तालिम दिन अनुरोध गरेर ४५ दिने तालिम लिएर आफ्नै ढाकाको पसल सुरु गरेको थापा बताउनु हुन्छ । ‘माइतमा पनि म जेठी छोरी थिए । म भन्दा २ वटा भाई र दुई बहिनी थिए । बुबा आमालाई आफ्नै समस्या थियो । त्यसकारणले मैले सोचे अब आफ्नै पसल खोल्ने,’ उहाँले भन्नुभयो, ‘झोला र रक्सी बेचेर जम्मा गरेको पैसा ढुकुटी खेलेको थिए । ढुकुटी बुझेर ४ लाखको लगानी गरेर १३ हजारमा ढाकाको साडी बुन्ने तान किनेर बागलुङ बजारमै पहिलो ढाकाको कपडा पाउने पसल सौगात कोसेली घर संचालनमा ल्याएको उहाँले बताउनुभयो ।
बागलुङ बजारमै ढाकाको कपडा बुन्ने धागो बेच्ने पहिलो व्यापारी आफू नै भएको थापाको भनाई छ । ‘आफूमा सिप भए पछि कसैको अगाडि हात फैलाउनु पर्ने रहेनछ भन्ने मैले बुझिसकेको थिए । घरेलुले मलाई र मेरो बच्चालाई बाच्ने आधार दिएको थियो । मैले अहिले सम्म पछि फर्केर हेर्नु परेको छैन,’ उहाँ थप्नुहुन्छ, ‘मलाई मेरो श्रीमानको मृत्यु भए पछि २ वर्षको छोरालाई यसले कसरी पाल्छे ? यसले अर्को बिहे गर्छ, यसको त अर्को बिहे गरिदिनुपर्दछ भनेर भन्थे, तर अहिले उनीहरु मलाई देखेर दङग पर्दछन् होला ।’
अहिले थापा संग ६ वटा ढाकाको कपडा बनाउने तान छन् । २ वटा तान घरेलुले आधा मुल्यमा दिएको हो । यामकुमारीले नेपालमा मात्र नभएर अमेरीका, जापान, हङकङमा ढाकाको साडी, ढाकाको कुर्ता, ढाकाको दौरा सुरुवाल, ढाकाको सल, झोला, पर्स, चुत्ता विक्री गर्दै आउनुभएको छ । सिजनमा मैले महिनाकै १ लाख देखि १ लाख ६० हजार सम्मको सामान बिक्री गर्ने गरेको उहाँको भनाई छ । ‘कोरोना महामारीमा पनि अर्डर आइराखेको छ । मैले कोरोना महामारी भन्दा पहिला ४ जना महिलालाई रोजगार पनि दिएको थिए । तर, अहिले कोही हुनुहुन्न । अब कामदार राख्ने सोचमा छु’ उहाँले भन्नुभयो ।
छोरालाई पढाउँदै आफ्नो सिपलाई थप गर्नका लागी घरेलुमा निरन्तर तालिम लिएको थापा बताउनु हुन्छ । घरेलुले सिप सिकाएकै कारण २०७५ सालमा उद्यमशीलताको प्रदर्शनि मार्फत आत्मनिर्भर भएको भन्दै नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले नेपाली महिला उद्यमीको सम्मान पत्र र नगद २० हजार पाएको थापाले बताउनु भयो । थापा भन्नुहुन्छ,–‘सम्मान पत्र पाए पछि थप उर्जा मिल्यो । आफूले तालिम लिएर दक्ष भए पछि देशका विभिन्न स्थानहरुमा गएर ३ सय भन्दा बढी महिलालाई तालिम समेत दिएको छु । म जस्ता अन्य महिलालाई किताबी ज्ञान नभएकै कारण हेपिन नपरोस्, महिला भएकै कारण पछाडि पर्न नपरोस् भनेर आफू जति व्यस्त भएता पनि समय व्यवस्थापन गरेर तालिम दिएको छु ।’
अहिले ढाकाको कपडा बुन्ने र बिक्री गर्ने व्यापारमा महिला दिदी बहिनीको आकर्षण बढेको थापा बताउनु हुन्छ । १ वटा साडीकै १४ देखि १८ हजार सम्म पैसा पर्ने भएकाले यो व्यवसाय गर्न सिप हुने हो भने कमाउन धेरै समय नलाग्ने थापा बताउनुहुन्छ । ‘अहिले पसलमा ढाकाका कपडा देखि लिएर हाम्रै गाउँघरमा उत्पादन भएको लोकल मह, सिस्नोको धुलो र ताराखेलाको चिउरीको हर्बल साबुनहरु बिक्री गर्दै आएको छु’, उहाँले भन्नुभयो ।
‘घरेलुमा तालिम लिएबाटै मनमा आँट आएको थियो । छोराको उज्वल भविष्यको कल्पना गर्न थालेकी थिए । छोरालाई बोर्डिङमै पढाएकी छु । १२ सम्म बागलुङमै अमर आदर्शमा साइन्स विषयमा अध्ययन गराए र अहिले पोखरामा सफ्टवयर ईञ्जिनियर पढाएकी छु’ यामकुमारीले भन्नुभयो,‘छोरालाई देख्दा मन शितल आनन्दित भएर आउँछ । मम्मी म विदेश जान्न, नेपालमै सरकारी जागिर खाने हो भन्छ । खुशी लाग्छ । कुनै समयमा यो समाजले मलाई र मेरो छोरालाई गर्ने व्यवहार र अहिले गर्ने व्यवहारमा आकाश जमिनको फरक छ । कामले रहेछ मान्छेको व्यवहारमा परिर्वतन ल्याउने ।’
अहिले ६ देखी ७ साल सम्मको सामानहरु थापाको पसलमा छ । बागलुङ बजारमा ससुराले घडेरी किनी दिएर सगारीयामा घर बनाएको यामकुमारी बताउनुहुन्छ । आफ्नै घरमा पसल भएर भाँडा तिर्नु परेको छैन । अहिले भइरहेको पसललाई थप व्यवस्थापन गरेर अझै राम्रो बनाउने उहाँको लक्ष्य छ । बागलुङ बजारकै नमुना ढाकाको कपडा पाउने पसल बनाउने अबको उहाँको योजना छ । पसललाई थप व्यवस्थित पारेर महिला दिदी बहिनीहरुका लागि तालिम दिन राम्रो तालिम कक्ष पनि बनाउने चाहाना यामकुमारीको छ । तर, अहिले पैसाको कमी छ । आगामी दिनमा अहिले सोचेको कुरा पुरा गर्नका लागि थप मेहनेत गर्ने उहाँ बताउनुहुन्छ ।