दुर्गमको परिचय बदलेको निसी

डम्मर बुढा मगर, बागलुङ
बागलुङ सदरमुकामदेखि सबै भन्दा दुरमा रहेको गाउँ हो निसी । निसीभन्दा बित्तिकै अझै पनि धेरैको दिमागमा दुर्गम ठाउँ भनेर आउँछ । तर, अब निसी पहिलोको जस्तो निसी रहेन । कम शिक्षित, जनचेतनाको अभाव र सडक सुविधा विकासले नछोएको भनेर चिनिने यो ठाउँ अहिले त्यो भन्दा पत्याउनै नसकिने गरि विकास भएको छ ।

मगर तथा दलित समुदायको बाक्लो बस्ती रहेको निसीखोला क्षेत्रमा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको आगमन सँगै विकास र अवसरको ढोका खुलेको छ । लोकमार्गले जोडिएपछि शिक्षा, स्वास्थ्य लगायत विकासका पूर्वाधारहरु पनि उल्लेख्य निर्माण भएका छन् । आज भन्दा ५ वर्ष अगाडि सम्म निसी, भल्कोटका नागरिकहरु विकासको पहुँचबाट निकै टाढा थिए । भौगोलिक बनावटले मिलेको ठाउँ भए पनि राज्यको नजर नपुग्दा निसीले दुुर्गमकै पीडा भोग्न बिबश थियो ।

अहिले निसीको दुर्गमको परिचय बदलिएको छ । अहिले धमाधम यस क्षेत्रमा कंक्रिटका ठूला–ठूला घर भवनहरु ठडिन थालेका छन् । लोकमार्गले जोडिएका यहाँका कुनै पनि गाउँहरुले अब दुर्गम गाउँ भनेर परिचय दिनु पर्ने बाध्यता छैन । पूर्वमा ढोरपाटन नगरपालिका र पश्चिममा पूर्वी रुकुमको भूमे गाउँपालिकासँग जोडिएको निसीखोला भित्रका आधा दर्जन बढी स्थानमा बजार बन्न थालेको छ ।

वडा नम्बर १ को देविस्थान बजार, वडा नम्बर २ को जुग्जाखोला, वडा नम्बर ३ को ढुँवाखोर, वडा नम्बर ४ को झिवाखोला, कानाबजार, वडा नम्बर ५ को बडावनखोला, निसी र वडा नम्बर ६ को भल्कोट र सिप लगायतका ठाउँहरुले बजारको स्वरुप लिन थालेका छन् । यस क्षेत्रमा पर्ने लोकमार्गको अधिकांश क्षेत्र कालोपत्रे भइसकेको छ । सडक कालोपत्रे भएपछि नागरिकलाई थप सहजता भएको छ ।

निसीखोलाका गाउँहरु लोकमार्गले नजोडिँदा निकै पछाडि परेको र सास्ती खेप्न बाध्य भएकोमा अहिले ती दिन इतिहास बनिसकेको स्थानीय सरोज बगाले बताउनुभयो । ‘अहिले यति धेरै विकास भएको छ, पहिला सुनसान रहेका गाउँहरुमा अहिले चहलपहल निकै बढेको छ, मान्छेहरुमा चेतनाको विकास भएको छ, शिक्षा स्वास्थ्यको राम्रो पहुँच हुने बातावरण बन्दैछ,’ बगालेले पारी तर्फको गाउँ देखाउँदै भन्नुभयो ‘ती गाउँहरुमा २/४ वटा साना छाप्रा थिए, अहिले यति धेरै ठूला–ठूला घरहरु बनेका छन्, गोरेटो बाटा चाक्लो सडकमा परिणत भएको छ ।’

उहाँले शैक्षिक विकासले गर्दा यहाँका नागरिकहरु शिक्षित बन्दै गएको र समाजमा सकारात्मक परिवर्तन हुँदै गएको बताउनुहुन्छ । पछिल्लो समय सडक समेत कालोपत्रे भएपछि निसी क्षेत्रको रुपै फेरिएको उहाँको भनाई छ । पहिलेको तुलनामा धेरै सुधार भए पनि अझै समाजमा केही अन्धविश्वास र परम्परा रहेको हुँदा त्यसको पनि समय अनुकुल परिवर्तन आएको बताउनुभयो ।


निसीखोला गाउँपालिका वडा नम्बर ६ सिपका शेरबहादुर घर्ती मगरले सडकले गाउँमा ठूलो परिवर्तन ल्याएको बताउनुहुन्छ । गाउँ सडकले नजोडिँदा स्थानीयले ठूलो समस्या भोग्दै आएकोमा आधा दशकदेखि आफूहरुको दैनिकी फेरिदिएको बताउनुहुन्छ । उहाँले गाउँमा सडक नआउँदा प्रशासनिक कामले जिल्ला सदरमुकाम जान हप्ता दिन लाग्ने गरेको भन्दै अहिले ४ घण्टामै बागलुङ बजार आउन सक्ने बताउनुहुन्छ ।

‘सडक आएपछि धेरै विकास भएको छ, सामान्य खाद्यान्नदेखि ठूला–ठूला प्रशासनिक कामका लागि धेरै समय लगाएर बजारमा पुग्नु पर्ने अवस्था थियो, जिल्ला सदरमुकाम जाँन हप्ता दिन लाग्ने गथ्र्यो, अहिले एकै दिनमा जान आउन सकिन्छ,’ उहाँले भन्नुभयो ‘सडकले त यस क्षेत्रका नागरिकको जीवननै परिवर्तन गरि दिएको छ ।’

निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले लोकमार्गले निसीखालाको विकासमा ठूलो टेवा पु¥याएको बताउनुभयो । उहाँले सडकले निसीखोला नजोडिँदा यहाँका हजारौँ नागरिकहरुले वर्षौँदेखि समस्या भोग्दै आएकोमा ८/१० वर्षदेखि उनीहरुको समस्या धेरै समाधान भएको बताउनुहुन्छ ।

अध्यक्ष पौडेलले लत्ता कपडा, खाद्यान्न लगायतका दैनिक उपभोग्यदेखि अन्य ठूला ठूला सामानहरु घोडा खच्चड र मान्छेले नै बोकेर उपभोग गर्दै आएको स्मरण गर्दै सडकले जोडिएपछि त्यस समस्या समाधान भएको बताउनुहुन्छ । उहाँले सडकले गर्दा स्वास्थ्य, शिक्षा, विद्युत लगायतका विकासले गाउँहरु सहज रुपमा जोडिएको बताउनुभयो ।

‘सडकले नजोडिँदा हाम्रो क्षेत्र निकै विकट मानिन्थ्यो, यस क्षेत्रका जनताले वर्षौदेखि धेरै संघर्ष गर्दै आएका थियौँ, कयौँ समस्यालाई पार लगाउँदै जीवनयापन गर्नुभएका उहाँहरुलाई सडकले ठूलो सहयोग पु¥याएको छ,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘सडकले गर्दा अहिले दुर्गम भन्ने नामै परिवर्तन हुन थालेको छ, नागरिकहरुले बिस्तारै विकासको अनुभूति गर्न थाल्नु भएको छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *