नरसिंहकाेटमा पर्यटन सम्भावना खोज्दै निसीखोला

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान, प्रचार प्रसार र पूर्वाधार निर्माणमा जोड दिएको छ । पालिका भित्र रहेका सबै धार्मिक तथा पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धनका लागि अभियान नै थालेको छ ।

पर्यटकीय गन्तव्यको विकास गर्ने क्रममा गाउँपालिकाले एतिहासिक नरसिंहकोटलाई समेत प्राथमिकतामा राखेर विकास गर्न थालेको छ । नेपालमा बाइसे चौबिसे राज्य हुँदा बागलुङको विभिन्न ठाउँमा विभिन्न राजाहरुले राज्य संचालन गरेको पाइन्छ । त्यस मध्ये जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ७ राजकुटको नरसिंहकोटमा पनि राजाहरुले राज्य संचालन गरेको बुढापाका बताउँछन् ।

भूरे राजाले राज गरेको यस स्थान अहिले निसीखोला गाउँपालिकाको धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ । तत्कालीन अवस्थामा भूरे राजाले दरबार बनाएर करिब ७/८ वर्ष राज गरेको स्थानीय ८३ वर्षीय टिकाबहादुर कुवँर बताउनुहुन्छ । त्यस क्षेत्रमा राजाले आफू बस्ने दरबार, पौवाहरु निर्माण गरेको र विस्थापित भएपछि दरबार र पौवाहरु जीर्ण भएर भत्किएको उहाँले बताउनुभयो । दरबार तथा पौवा निर्माण भएको स्थानमा केही वर्ष अगाडि सम्म भग्नावशेष भेटिने गरेको स्थानीय बताउँछन् ।

भूरे राजा कुटिएको ठाउँ नरसिंहकोट
नरसिंहकोट र राजकुटको अर्थ बेग्ला–बेग्लै भएको स्थानीय बताउँछन् । ‘राजकुट’ तत्कालीन बाइसे चौबीसे राज्य हुँदा भुरे राजाले बसोबास गरेको हुँदा ‘राजकोत’ भन्ने गरिएको र अहिले आएर ‘राजकोत’लाई राजकुट भन्ने गरिएको स्थानीय ८३ वर्षीय कुँवरको भनाई छ ।

यस्तै ‘नरसिंहकोट’ राजाले पूजा गर्ने नरसिंह देवताको नामबाट नामाकरण हुन पगेको कुँवरको भनाई छ । तत्कालीन समयमा भूरे राजा र प्युठानी राजा बीच युद्ध भएको र प्युठानी राजले भूरे राजाको वंश नाश गरि दिएको र उनका सयौँ सिपाहीहरुको युद्धमा ज्यान गएको कुँवरको दाबी छ ।

कुँवरले प्युठानी राजाले भूरे राजाका धेरै सिपाहीलाई भीरबाट खसालेर मारेको र राजाको वंश नाश गरिदिएपछि उनीहरुको स्मृतिमा हालको नरसिंहकोटमा नरसिंह मन्दिर निर्माण गरिएको बताउनुभयो । उनै राजाले पुज्दै आएको ‘नरसिंह’ देवताको व्यवस्थापनका लागि मन्दिर स्थापना गरिएको हो ।

नरसिंहकोटमा अहिले पनि अहिले पनि मन्दिर छ । जहाँ हरेक वर्षको नव दुर्गाको दिन धुमधामका साथ पूजा आजा गरिन्छ भने पशुपंक्षीको बली पनि चढाइने गरिन्छ । मन्दिरमा बैशाखे पूर्णिमा, मंसिरे पूर्णिमा लगायत चतुर्दशी पूर्णिमामा सोत पूजाआजा हुने गर्दछ । यहाँ पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जन विश्वास छ । बागलुङ, प्युठान, गुल्मी लगायतका विभिन्न स्थानहरुबाट मानिस पूजाआजा गर्न पुग्ने गर्दछन् ।

केही वर्ष अगाडिसम्म उक्त स्थानमा भूरे राजाको दरबारका भग्नावशेष भेटिने गरेको कुँवर बताउनुहुन्छ । अहिले उक्त भग्नावशेष हराउँदै गएको हुँदा फेला पार्न नसकिने स्थानीयको बताउँछन् । राजाले राज गरेको क्षेत्र मध्ये हाल गरिब १०० रोपनी गुठीको जग्गा रहेको छ । त्यस मध्ये केही खेत र केही बाँजो जमिन बताइएको छ । ‘नरसिंहकोट’ क्षेत्र अत्यन्तै रमणिय छ । त्यस क्षेत्रमा मन्दिर र राजाले निर्माण गरेको मौलो (पोखरीको बीचमा रहने बस्तु) समेत छ ।

दरबार क्षेत्रलाई पर्यटकीय गन्तव्य स्थल बनाउँदै पालिका
राजा विस्थापित भए पश्चात निर्माण गरिएको नरसिंहकोट मन्दिरलाई गाउँपालिकाले संरक्षण तथा व्यवस्थापन गरेको छ । राजकुटमा पर्ने नरसिंहकोट गाउँपालिकाको नमुना पर्यटकीय गन्तव्यको रुपमा परिचत छ । यो पहाडीको टुप्पोमा समथर भू–भागमा फैलिएको छ । जसले धेरै पर्यटकको मन लोभ्याउने गरेको छ । यहाँ आउने जोहोकोही यहाँबाट देखिने मनोरम दृश्यले मोहित हुने गर्दछन् ।

यहाँबाट बुर्तिबाङ बजार स्पष्ट रुपमा अवलोकन गर्न सकिन्छ भने बागलुङको विभिन्न स्थान, म्याग्दी, प्युठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाहरु देख्न सकिन्छ भने धौलागिरी हिमाल लगायत दजौनौँ हिम श्रृङ्खलाहरु र उच्च मनोरम पहाडी भेगहरुको अवलोकन गर्न सकिन्छ ।
पछिल्लो समय आन्तरिक पर्यटकहरु समेत बढ्दै गएको र भौतिक पूर्वाधार निर्माणलाई पनि थप व्यवस्थित र पर्यटन मैत्री बनाउन थालेको निसीखोला गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तेजेन्द्र विक्रम कुँवरले (नहकुल) जानकारी दिनुभयो । उहाँले बुर्तिबाङ बजारको नजिक पर्ने हुँदा आन्तरिक पर्यटक भित्राउन सहज भएको बताउनुभयो ।

नरसिंहकोट क्षेत्रमा पुग्नको लागि बुर्तिबाङ बजारबाट गाडीमा १ घण्टामा पुग्न सकिन्छ भैदल यात्रामा साढे १ घण्टामा पुग्न सकिन्छ । त्यहाँसम्म पुग्ने सडक सालजण्डी–ढोरपाटन सडक बाहेक अर्को वैकल्पिक सडक नहुँदा सवारी साधानमा जाँदा केही फेरो पर्छ ।

बुर्तिबाङबाट अधिकांश पर्यटकहरु पैदल यात्रामै त्यहाँ पुग्ने गरेको पाइन्छ । नरसिंहकोटबाट नजिकै रहेको टापुले पनि धेरैको मनलोभ्याउने गरेको छ । नरसिंहकोटमा पुग्ने पर्यटक १५/२० मिनेटमै टापुमा पुग्न सक्छन् । यस क्षेत्रको प्रवद्र्धनका लागि आफूहरु निर्वाचित भएर आएदेखि नै भौतिक संरचना निर्माण र यस क्षेत्रको विकासमा जुटेको वडा अध्यक्ष कुँवरको भनाई छ ।

उहाँले सुरुको वर्ष पर्यटन पदमार्ग निर्माण गरेको र हालसम्म क्रमश पर्यटन पार्क, पाटी, पौवा, मन्दिर व्यवस्थापन, पदमार्ग, घेराबार, झाडी व्यवस्थापन, पुराना संरचनाको पुन निर्माण लगायतका काम भएको बताउनुहुन्छ । उहाँले पहिलेको तुलनामा निकै परिवर्त आएको बताउनुहुन्छ ।

‘यो क्षेत्र आफैमा सुन्दर छ, यसको प्रवद्र्धनका लागि हामी निर्वाचित भएको सुरुवाती दिनदेखि नै लागेका छौँ, पहिले यो ठाउँ पुरै झाडीले भरिएको थियो, अहिले पुरै परिवर्तन भएको छ,’ उहाँले भन्नुभयो ‘मन्दिर पुन निर्माणदेखि पर्यटन पार्क निर्माण, खानेपानी, शौचालय लगायतको व्यवस्थापन भएको छ, अझै केही कामहरु गर्न बाँकी छ, त्यसलाई पनि हामी निरन्तर गर्ने छौँ ।’

नरसिंहकोट क्षेत्रलाई गाउँपालिकाकै आर्कषक पर्यटकीय गन्तव्य भएको हुँदा यसको विकासका लागि सिंगोपालिकाको ध्यान केन्द्रीत भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । उहाँले यसको विकासका लागि गुरु योजना नै बनाएर पूर्वधार निर्माणमा जुटेको बताउनुहन्छ ।

‘नरसिंहकोट हाम्रो पालिकाको एतिहाँसिक पर्यटकीय र धार्मिक क्षेत्र हो, यसको विकासका लागि हामीले पूर्वाधार निर्माणलाई तीव्र रुपमा अगाडी बढाएक छौँ,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘पालिकाको नमुना पर्यटकीय क्षेत्र भएको हुँदा यसलाई रहेक वर्ष बजेट विनियोजन गर्ने र पूर्वाधार निर्माणलाई जोड दिएका छौँ, यसले बागलुङको पर्यटन क्षेत्रलाई ठूलो टेवा पुग्ने अपेक्षा छ ।’

मन्दिर व्यवस्थापन, मन्दिर परिसरमा पर्यटक बस्ने पौवा, भवन, खानेपानीको धारो निर्माण, शौचालय तथा पीकनिक स्पोर्ट निर्माण गरेको र यी संरचनालाई थप व्यस्थित गर्नका लागि गाउँपालिकाले प्रदेश र केन्द्रमा पनि सहयोगको लागि आग्रह गरेको उहाँले बताउनुभयो । पर्यटकलाई पैदल यात्रा गर्नको लागि थप सहज होस भन्ने उद्धेश्यले रेलिङ सहितको पदमार्ग निर्माण गरेको उहाँको भनाई छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले पालिकाको नमुना पर्यटकीय गन्तव्य बनाउनका लागि हरेक वर्ष गाउँपालिकाले बजेट विनियाेजन गर्दै आएको बताउनुहुन्छ । उहाँले पालिकाका अन्य पर्यटकीय गन्तव्यहरुको समेत पहिचान र प्रवद्र्धनमा गाउँपालिका लागेको भन्दै सबैको गुरु योजना निमाण गर्न थालिएको बताउनुभयो ।

शाक्यले निसीखोलाले पर्यटन क्षेत्रबाटै समृद्ध हासिँल गर्न सक्ने भन्दै आफूहरु सो अनुसार पर्यटकीय क्षेत्रको खोजी, प्रवद्र्धन र प्रचारमा जुटेको बताउनुभयो ।

यस क्षेत्रमा करिब ३ सय ७५ मिटर लामो रेलिङ सहितको पद मार्ग निर्माण भएको छ । यसले बुर्तिबाङ बजारबाट दैनिक आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *