सम्पादकीय
नेपाली राजनीति झन् भन्दा झन् प्रदुषित बनिरहेको छ । नेपालमा व्यवस्था त फेरियो तर अवस्था फेरि पुरानै नियतीमा फर्कने खतरा बढ्दो छ । सयौं वर्षको राजतन्त्रात्मक शासन व्यवस्था त ढल्यो । पात्रहरु परिवर्तन भए तर प्रवृत्ति उस्तै दोहोरियो । जसका कारण नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको आगमन सँगै राजनीतिक स्थिरता र समृद्धिको अपेक्षा गरेका नागरिकमा निराशा छाएको छ । पाँच वर्षका लागि अभिमत प्राप्त पार्टी नेतृत्वको सरकार ढलेको छ र प्रतिपक्ष दलको नेतृत्वमा गठबन्धन सरकार बनेको छ । संघीय सरकारमा मात्र बदलाव होइन, गण्डकी प्रदेश सरकार कांग्रेस नेतृत्वमा बनेको छ भने लुम्बिनी प्रदेश सरकार नेकपा माओवादी नेतृत्वमा बनेको छ ।
सत्ता फेरबदलका क्रममा जे जस्ता राजनीतिक परिदृश्य देखिए । त्यो अशोभनीय मात्रै छैन, नेपालको राजनीति कुन हद सम्मको कुरुप अवस्थामा छ, त्यसको प्रष्ट प्रतित हुन्छ । नेपाली राजनीतिमा ‘मुसा प्रवृत्ति’ को चर्चा करीब दुई दशक अघिबाटै हुने गरेको छ । एमालेको समर्थनमा बनेको आफ्नो सरकार ढालेर कांग्रेसको समर्थनमा सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउन कमल थापासहित आफ्नै पार्टीका सांसदले मत दिएपछि तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले चनेका थिए, ‘जहाज प्वाल पारेपछि सबैभन्दा पहिले मुसा नै ज्यान बचाउन हाम फाल्छन् ।’ यसको ताजा उदाहरण लुम्बिनी प्रदेश सरकारमा देखिएको छ । लुम्बिनीमा कांग्रेस, माओवादी, जसपा लगायतको गठबन्धन सरकार बनेको छ । तर, मुख्यमन्त्री कुलप्रसाद केसी नेतृवको मन्त्रिपरिषद्मा मुसा प्रवृत्तिकै सांसदहरु मन्त्री बनेका छन् । ‘मुसो आज आफैं सवार जहाज काटेर अर्को जहाजमा पुगेको छ । त्यो मुसोले भोलि तपाइहरुको जहाजलाई पनि काटेर कुनै पनि बेला दुर्घटना गराउनेछ र आफू भाग्नेछ’ उनले भनेका थिए । त्यतिबेलाको घटना नेपालको राजनीतिमा मुसा प्रवृत्तिको रुपमा परिचित छ । चन्दको अभिव्यक्ति आफ्नो सरकारमा बसेर अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने र मन्त्री बन्न जानेहरुप्रति लक्षित थियो । यो प्रवृत्ति केन्द्र सरकारदेखि प्रदेश सरकार सम्म व्याप्त देखिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था लामो संघर्ष, एकता, गठजोडबाट प्राप्त हो । यो केबल व्यवस्था र पात्र फेर्नेमा मात्र सिमित आन्दोलन र अभियान थिएन । तर, दुर्भाग्य भन्नुपर्छ, पुरानो व्यवस्था परिवर्तन पछि नागरिकमा नयाँ व्यवस्था, राजनीतिक दल प्रति राखिएको ठूलो आशा, भरोसा साढे तीन वर्षकै सेरोफेरोमा बिलय भएको छ । सत्तामा पुगे पछि बिभिन्न स्वार्थमा दलहरु बिभाजित हुने मात्र होइन, आफ्नै नेतृत्वको सरकार ढाल्ने मात्र पनि होइन, सिंगो राजनीति र व्यवस्था माथि नै प्रश्न र निराशा हुने गरी राजनीति गतिविधि भए । राजनीतिमा चरम अवसरवाद मौलायो । राजनीति मूल्यहीन अवस्थामा पुग्यो । सत्ता जोगाउन र गिराउनका लागि जे पनि जायज हुन्छ भन्ने मानक राजनीतिक दल, तीनका नेता र सांसदहरुले स्थापित गरे । यो क्षणिक रुपमा त कुनै दल,नेता र सांसदलाई लाभहानीको विषय बन्ला तर, यसले समग्र व्यवस्था र नेपाली राजनीतिमा पार्ने दुरगामी प्रभाव नमिठो विगत र दुर्भाग्यपूर्ण परिघटनाका रुपमा रहने निश्चित छ ।