अग्रसरको एक दशक यात्रा, चूनौतीपूर्ण तर गौरवमय

सम्पादकीय
अग्रसर एक पाइला, एक अभियान, एक आन्दोलन, एक जागरण, एक रुपान्तरणको उपज हो । यो समाज र देशको सकारात्मक परिवर्तनका लागि अपरिहार्य कदम थियो । र हामीमा समाजमा अग्रसर भएर सचेत पाइला चाल्ने र समाज प्रतिको उत्तरदायित्व बहन गर्ने हुटहुटि थियो । जतिबेला केवल सूचना र ताजा समाचार दिने विषय नै प्रमुख थियो । त्यो बेला २०६८ साल भाद्र ८ गते भिन्न सोच सहित अग्रसर यात्रा आरम्भ गरेका थियौ । अग्रसर जन्मनुमा केवल नागरिकलाई सूचना समाचार दिने मात्र होइन, खोज समाचार र छापा पत्रिका भित्रका अनेक स्वाद दिने कोशिस पनि थियो । जुन धौलागिरीमा नयाँ खालको प्रयास मात्रै होइन, एक किसिमको दुस्साहस पनि थियो । त्यो यात्रा आज १० वर्ष पुरा भएर ११ औं वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा हाम्रा प्रिय पाठक, विज्ञापनदाता, सञ्चालक, कर्मचारी, शुभचिन्तक, शुभेच्छुक सबै महानुभावहरुमा अग्रसर प्रकाशन संस्था आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गर्दछ । अग्रसरको १० औं वार्षिकोत्सव कोरोना भाइरस भयावहले बागलुङमा जारी लकडाउनका कारण खास केही कार्यक्रम गरेनौ । यद्यपि, अग्रसरको एक दशक यात्रा, निरन्तरता, गुणस्तरियताका लागि विगतदेखि वर्तमानसम्म भूमिका खेल्ने, सहयोग, समन्वय, सद्भाव दर्शाउने सबैको योगदान प्रति सम्मान व्यक्त गर्दछौ । आदर्शको मुख्य प्रकाशन धौलागिरी जागरण दैनिक हो । यो २०६३ फागुन २३ गतेदेखि निरन्तर प्रकाशन भैरहेको छ । संस्थाको सहकार्यमा सञ्चालित धौलागिरी टेलिभिजन २०७० असोज १९ गतेदेखि नियमित सञ्चालनमा छ । संस्थाले पछिल्लो समय २०७६ भदौ २१ गतेदेखि आदर्श सञ्चार डटकम (www.aadarshasanchar.com) पनि सञ्चालनमा ल्याएको छ ।

हामीले छापा माध्यमका रुपमा धौलागिरी जागरण दैनिकका साथै अग्रसर प्रकाशन गरे पनि यी दुई माध्यममा दिइने समाचार सामग्री बिल्कुल फरक प्रस्तुतिको कोशिस छ । दैननिदिन भइरहेका घटना, विषय, सवाललाई दैनिक पत्रिका मार्फत आम पाठकलाई समाचारको रुपमा प्रस्तुत गरिरहेका छौ भने अग्रसर साप्ताहिकमा समाजमा भइरहेका सत्कर्म, सत्प्रयास, प्रेरक कर्महरुलाई मुख्य प्राथमिकतामा राखेर समाचार सामग्री पस्किरहेका छौ । जसले आम जनमानसमा उस्तै प्रेरक कर्मका लागि उत्प्रेरित गर्न अग्रसर गराउन भूमिका खेलोस् भन्ने ध्ये छ । भोलीका दिनमा पनि समय सापेक्ष रुपमा पाठकको माग, आवश्यकता, चाहना अनुरुपका पृथक समाचार सामग्री पस्कने हाम्रो प्रयास हुनेछ । तपाई सबैमा यो अपार स्नेह, भरोसा र विश्वासका लागि आभार सहित १० औं वर्षगाठनको शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *