भूजीखोला बाढीको एक वर्षः क्षतिग्रस्त संरचना के बने ? के बनेनन् ?

डम्मर बुढा मगर, बागलुङ
बागलुङको ढोरपाटनमा बाढीले मानवीय सँगै ठूलो भौतिक क्षति भएको थियो । बाढीले क्षति पु¥याएका भौतिक संरचना मध्ये केही निर्माण भइसकेका छन् भने केही अझै निर्माण हुन सकेका छैनन् ।

गत वर्ष भदौ १७ गते राति आएको बाढीले ३७ जनाको ज्यान लिएको थियो भने दर्जनौँ घर, विद्युत गृह, सडक र पुलहरु बगाएको थियो । बाढीले १२७ घरमा पूर्ण क्षति पु¥याएको थियो । जसमध्ये ९७ घर निर्माण भई सकेको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

यस्तै, ११ वटा लघु जलविद्युत आयोजना, एउटा स्वास्थ्य इकाई, ११ वटा झोलुङ्गे पुल, १० वटा काठे पुल, ५ वटा ढलान पुल, दुई वटा विद्यालय, र २० किलोमिटर सडक बगाएको नगरपालिकाको तथ्याङ्क छ ।

बाढीले क्षति पु¥याएको ११ वटा लघु जलविद्युत आयोजना सबै संचालनमा आएको ढोरपाटन नगरपालिकाका सूचना अधिकारी हरिस भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले बगाएका १० वटा काठेपुल मर्मत भएका छन् भने दुई वटा विद्यालय समेत निर्माण भइसकेका छन् ।

बाढीले ढोरपाटन नगरपालिका वडा नम्बर ९ सुप्राङ स्थित जनचेतना आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालय बगाएको थियो । यसैगरी, सालझण्डी–ढोरपाटन सडक खण्ड २० किलोमिटर सडक बगाएको थियो । उक्त सडक पनि मर्मत पछि संचालनमा आइसकेको सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो । बाढीले क्षतिग्रत बनेको स्वास्थ्य इकाई समेत निर्माण भई संचालनमा छ ।

उहाँका अनुसार ११ वटा झोलुङ्गे पुल, १० वटा ढलान पुल भने निर्माण भएका छैनन् । पुल नबन्दा बर्खायाममा आवत जावतमा निकै समस्या भएको स्थानीय लिलमाया विकले गुनासो गर्नुभयो । हिउँदको समयमा जसोतसो खोला पार गरे पनि वर्षात्को समयमा खोलामा पानीको बहाव बढेपछि आवत जावत गर्न समस्या भएको बताउनुभयो ।

‘पोहोर साल बाढीले पुल बगाई दियो, अहिले त वारिपारी गर्न पनि ठप्पै भएको छ, खोला बढेर यति ठूलो भएको छ, हिउँदमा त बरु वारपार गर्न सकिन्थ्यो, अहिले त वारीको मान्छे वारी, पारीको मान्छे पारी भइएको छ,’ विकले भन्नुभयो ‘एक वर्ष भयो, अहिलेसम्म पुल बनेन, अब कहिले बन्ने हो ?’
उहाँले खोला पारी आफ्नो जग्गा भएको र काम गर्न दैनिकजसो जानु पर्ने भन्दै पुल नहुँदा कामकाज पनि गर्न नसकिएको गुनासो पोख्नुभयो । विकले घर पारीको बारीमा जान निकै समस्या भएको बताउनुहुन्छ ।

अर्का स्थानीय गोविन्द पुन मगरले बाढीले बगाएको पुल समयमा नबन्दा सयौँ स्थानीयले सास्ती खेप्नु परेको बताउनुहुन्छ । सरकारले आफूहरुलाई उपेक्षामा पारेको भन्दै वर्ष दिन बितिसक्दा पनि पुल नबन्नु दुखद भएको बताउनुभयो ।

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार पीडितको घर बनाई सकेको र अन्य क्षतिग्रस्त भौतिक संरचना पनि निर्माण गरेको बताउनुहुन्छ । मेयर नेपालीले ९७ परिवारको घर निर्माण गरिसकिएको र सडक, काठेपुल, विद्युत, विद्यालय र स्वास्थ्य इकाई पनि निर्माण पश्चात संचालनमा आएको बताउनुभयो ।

‘हामीले बाढी पीडितको घरहरु निर्माण गर्नुका साथै विद्युत गृह, स्वास्थ्य इकाई र विद्यालय बनि सकेका छन्, पीडितको घाउमा मलम लगाउने कोशिस गरिरहेका छौँ,’ मेयर नेपालीले भन्नुभयो ‘अब बिस्तारै उनीहरुलाई थप व्यवस्थापन गर्ने प्रक्रिया पनि अगाडि बढाउने योजनामा हामी छौँ ।’

उहाँले बाढीले पूर्ण रुपमा क्षति भएका पुलहरु निर्माणका लागि केन्द्र सरकारसँग समन्वय गरिरहेको भन्दै विस्तारै पुलहरु पनि बन्ने बताउनुभयो । अहिले स्थानीयले वारपारमा समस्या रहेको भन्दै अब तत्कालै पुल निर्माण प्रक्रिया पनि थाल्ने मेयर नेपालीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *