डम्मर बुढा मगर, बागलुङ
बागलुङमा २०७६ चैत १५ गते नेपालकै पाँचौँ कोरोना संक्रमित फेला प¥यो । त्यस लगत्तै थप अर्को एक बृद्धामा पनि संक्रमण पुष्टि भयो । जिल्लामा दुई जनामा संक्रमण पुष्टि भएपछि जिल्लाभर भयावह फैलियो । त्यसपछि बाहिरी जिल्ला तथा विदेशबाट आउने नागरिकहरुमा संक्रमण पुष्टि हुन थाल्यो । कम संक्रमित हुँदा जिल्लामा धौलागिरी अस्पतालमा मात्रै उपचार गरिन्थ्यो तर पछि संक्रमणको दर निकै बढ्न थालेपछि धौलागिरी अस्पतालले थेग्न सकेन ।
जिल्लामा अरु स्वास्थ्य संस्थामा उपचार गर्ने वातावरण थिएन र स्वास्थ्यकर्मी पनि त्रसित थिए । तर, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले धौलागिरी अस्पताल पछि संक्रमित राख्ने र उपचार गर्न सुरु ग¥यो । बुर्तिबाङमा संक्रमितको उपचार गर्ने भन्दा धेरै स्वास्थ्यकर्मी र नागरिकहरुमा त्रास समेत बढेको थियो । बुर्तिबाङमै संक्रमित राख्ने र उपचार गर्ने कुरामा धेरै तयार देखिएका थिएनन् ।
धौलागिरी अस्पतालले संक्रमित थेग्न नसक्ने र पश्चिम बागलुङका संक्रमितलाई बागलुङमा ल्याउन समस्या हुने भएपछि स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मिलन मल्लले एक्लै बुर्तिबाङमै संक्रमितलाई राखेर उपचार गर्ने ठूलो साहस सहित एकल निर्णय गर्नुभयो । र आफ्ना सहकर्मीलाई जोखिममा उपचारका लागि विस्तारै प्रेरित गर्ने कार्यमा लाग्नुभयो । आफ्ना सहकर्मीले पनि डाक्टर मल्लको अनुरोधलाई नकार्न सकेनन् ।
अन्ततः २०७७ जेठ महिनादेखि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै संक्रमितको उपचार थालियो । पश्चिम बागलुङबाट धौलागिरी अस्पतालमा आउनु पर्ने बिरामीलाई बुर्तिबाङमै राखियो र उपचार गर्न थालियो । त्यसको ‘लिडिङ’ डाक्टर मल्लले नै गर्नुभयो । उहाँले सहकर्मी, प्रहरी र अन्य केही व्यक्तिले पनि राम्रो सहयोग गरे ।
बुर्तिबाङमा कोरोना संक्रमितको उपचार हुन थालेपनि स्वास्थ्यकर्मी, कार्यालय सहयोगी र स्थानीयमा पनि डर व्याप्त थियो । यद्यपि, डाक्टर मल्ल संक्रमितको उपचारमा समर्पित हुन थाल्नुभयो । दुर्गमको स्वास्थ्य संस्था, त्यसमाथि पनि स्रोत साधान, जनशक्तिको अभाव । र पनि डा.मल्ल कत्ति पनि विचलित नभई आफ्नो दायित्वमा खटिनुभयो ।
डाक्टर मल्लले आफ्नो भूमिका त्यतिमा सीमित राख्नु भएन । पश्चिम बागलुङमा दैनिक सयौँ नागरिकहरु भारत तथा तेस्रो मुलुकबाट आउँथे । उनीहरुलाई क्वारेन्टिनमा व्यवस्थापन गर्ने, शंकास्पद लक्षण देखिएकालाई छुट्टै व्यवस्थापन र अस्पतालको अन्य सेवा प्रवाहमा पनि डाक्टर मल्लको सक्रियता उत्तिकै प्रशंसनीय छ ।
कोरोनाको पहिलो र दोस्रो चरणको संक्रमणकालमा धेरै समस्यासँग जुध्नुपरेको डा.मल्ल बताउनुहुन्छ । ‘स्रोत साधन निकै कम थियो, जनशक्ति पनि उस्तै कम तर पनि हामीले यहीँबाट जनतालाई सेवा दिनु पर्छ, बागलुङ पठाउँदा समस्या हुन्छ भन्ने हिसाबले, संक्रमितलाई राखेर उपचार गर्न थालेका हौँ,’ डा.मल्लले भन्नुभयो ‘मैले नै यहाँ संक्रमितलाई राखेर उपचार गर्नु पर्छ भन्ने हिसाबले लागे, त्यो धेरै कठिन र चूनौतीपूर्ण थियो, अहिले सबै तिर कोरोनाको उपचार गर्ने सामान्य अवस्था बनेको छ ।’
संक्रमितलाई प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गर्दा उहाँहरुमा निकै डर र त्रास भयो । ‘निकै डर थियो, कतै संक्रमित भईहाल्यो भने अरुलाई कसरी जोगाउने ?, उपचारमा आउने बिरामीको कसरी उपचार गर्ने, साह्रै गाह्रो भयो भने उपचार गर्ने ठाउँसम्म पुगिन्न कि भन्ने हुन्थ्यो, सुरुमा त निकै डर थियो त्यसका बाबजुत पनि हामीले संक्रमितलाई उपचार ग¥यौँ ।’
डाक्टर मल्ल संक्रमितले हालसम्म १३० भन्दा बढी संक्रमितको उपचार गरेको बताउनुहुन्छ । ‘सयौँलाई स्वास्थ्य परामर्श दिइयो, संक्रमितको रेखदेख र उपचारमा खटिँदा खटिँदै म स्वयम् संक्रमणबाट अछुतो रहेन । संक्रमण भएको बेला आफूलाई निकै समस्या समेत भयो,’ उहाँले भन्नुभयो । तर, यस्तो कठिन अवस्थामा जोखिम मोल्दा पछुतो नभई संकटमा नेपाली नागरिकको सेवा गर्न पाउँदा सन्तुष्टि मिलेको उहाँले बताउनुभयो ।
‘म पहिलो चरणमै संक्रमित भएँ, त्यस बेला मलाई निकै समस्या भएको थियो, श्वास प्रस्वासमा समस्या आएको थियो, त्यसबेला निकै घरको याद आएको थियो, देख्न पनि पाइँदैन कि जस्तो हुन्थ्यो, बाबा आमाको याद आएको थियो, बाँचिन्न कि जस्तो लागेको थियो,’ डाक्टर मल्लले भन्नुभयो ‘तर केही समयपछि निको भएँ, त्यसपछि धेरैको उपचारमा खटिए ।’
उहाँले स्वास्थ्य केन्द्रमा स्रोत साधानको अभाव र औषधी कम हुँदाहुँदै पनि संक्रमितको उपचार गर्न थालेको भन्दै त्यसबेला आफुहरुले निकै ठूलो जोखिम र समस्या भागेको बताउनु भयो । ‘स्रोत साधान सीमित थियो, जनशक्ति निकै कम तर पनि हामीले हिम्मत हारेनौँ, उपचारमा लाग्यौँ’ डाक्टर मल्लले भन्नुभयो ।
उहाँले जिल्लाको धौलागिरी अस्पताल बाहेक अन्य ठाउँमा उपचार गर्ने वातावरण नभएको अवस्थामा आफूहरुले सुरुवात गरेको र त्यसपछि गलकोट र अन्य प्राथमिक स्वास्थय केन्द्रमा संक्रमित राख्न थालेको बताउनुहुन्छ ।
सुरुमा १० बेड भएको संचालनमा रहेको बुर्तिबाङमा संक्रमित बढेपछि क्याम्पस र स्वास्थ्य केनद्रमा गरि ५० बेडको बनाएर संक्रमितलाई उपचार गरेको उहाँको भनाई छ । उहाँले जनशक्ति अभाव हुँदै दुई वटै आइशोलेसनका संक्रमितको उपचार आफै गर्नु पर्ने अवस्था रहेको उहाँको भनाई छ ।
डाक्टर मल्लले आफूहरुले धेरै संक्रमितको उपचार गरे पनि तीन जनलाई बचाउन नसकेको बताउनुभयो । ‘हामीले अधिक प्रयास ग¥यौँ, उहाँहरुलाई बचाउन सकिएन, स्रोत साधन कम थियो, तर पनि हामीले पछिपछि व्यवस्थापन गर्दै गएका थियौँ, पछिल्लो समय केही सहज बनेको छ ।’
उहाँले दोस्रो चरणको संक्रमणमा पनि आफूहरुले अक्सिजन अभावदेखि विभिन्न व्यवस्थापन पक्षमा अभाव भोग्नु परेको बताउनु भयो ।