एक नर्सः जो ३४ वर्षदेखि स्वास्थ्य सेवामा समर्पित

साधना पन्त
धौलागिरी अस्पताल बागलुङमा दिनहँु ५ देखि ७ जना बच्चा जमिन्छन् । केहीको शल्यक्रियाबाट जन्म हुन्छ, केहीको प्राकृतिक रुपमै डेलिभरी हुन्छ । हजारौ प्रसुति व्यथा लागेर चिच्याएका महिलाको त्यो पीडा नजिकबाट महशुस गर्नुभएकी धौलागिरी अस्पतालका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक देवी भट्टराईका सेवाका अनेकन तिता मिठा अनुभव छन् । ५४ वर्षिया भट्टराई ३४ वर्ष नर्स भएर सेवा गरिसक्नु भएका भट्टराईले बिरामीको आफन्तको मुख हेर्दा आफ्नो मन झसङ्ग हुने गरेको बताउनुहुन्छ ।

“अस्पतालमा दिनहुँ केही न केही घटना घटेकै हुन्छ, सधै राम्रो या सधै नराम्रो हुन्छ भन्ने छैन । तर, कहिलेकाहीँ नयाँ अनुभव तथा घटनाले कयौ दिन निद्रा लाग्दैन” भट्टराईले भन्नुभयो “आज सम्म हजार भन्दा बढी शिशु यही हातले उठाएको छु, हजारौ महिला दिदी बहिनीको व्यथा, पीडा अनि बच्चा जन्मिसके पछि आमाको मुहारमा आएको खुशी आफ्नै आँखा, मन मस्तिष्कले महशुस गरेकी छु, कहिलेकाँही लाग्छ, मैले नर्स पेशा नरोजेको भए यो संसारको सबै भन्दा सुन्दर क्षण मैले हेर्न महशुस गर्न पाउने थिइन होला ।”

अछाममा जन्म भई कक्षा ७ बाट पर्वतको कुश्मा नगरपालिकाको नारायण माध्यमिक विद्यालयमा एसएलसी पास गरी २०४४ सालमा अनमी पढेर विशिष्ट श्रेणी हासिल गर्न सफल भएको भट्टराइ बताउनुहुन्छ ।

पढाईमा निकै रुची राख्ने भट्टराइको सानै उमेर छँदा बुबाको निधन भयो । बुबाको निधन पछि आमालाई रोगले च्याप्यो । आमालाई पिसाबको समस्या रहेको हुदाँ पटक÷पटक अस्पताल र घर धाउनु पर्ने । आमाको पिसाब बन्द भया, म आफै आमालाई अस्पताल लिएर गएको थिए ।

आमालाई पिसाब बन्द भएपछि पाइप राखिदियो, मलाई त्यो समयमा मेडिकल सम्बन्धी जानकारी नभएका कारण मैले केही गर्न सकिन । मैले नर्सलाई आमालाई लगाई दिएको पाइप झरेको बताउँदा नर्सले त्यति पनि तिमीले हेर्न सक्दैनौ भनेको मनमा लागेकाले आँफू स्वास्थ्यकर्मी हुने इच्छा मन भित्रैबाट आएको उहाँको भनाई छ ।

‘आमाले उपचारकै शिलशिलामा भोगेका अनुभवका कारण आफ्नो छोराछोरीमा एक जनालाई नर्स योजना बनाएर मलाइ नै नर्स बनाउनुभएको थियो’ उहाँले भन्नुभयो । २०५६ सालको असारमा आमाको मृत्यु भयो । मंसिरमा भट्टराई नर्सिङ पढ्न पाल्पा जानु भयो ।

‘आमाकी प्यारी छोरी थिए म, हुन त मेरो २ जना दिदी, २ जना दाइ र १ वटा भाइ हुनुहुन्छ, तर मलाई आमाले निकै माया गर्नुहुन्थ्यो, त्यसकारण आमाको सपना पुरा गर्नका लागि पढाइमा मन लगाएर पढेको हुँ ।’ उहाँले सम्झदै भन्नुभयो । अहिले जुन अवस्थामा छु आमाकै देन र मेहनत र सपनाका कारण छु जस्तो लाग्दछ ।

अनमी पास गरे पछि नौं महिना विर अस्पताल काठमाण्डौमा काम गर्ने अवसर मिलेको थियो । काम गर्दै मैले अनमीको कामका लागि लोकसेवा पास गरे लगत्तै जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतमा ५ वर्ष काम गरेको अनुभव समेत उहाँको छ ।

‘२०५० सालमा अहिलेको धौलागिरी अस्पताल र साविक बागलुङ अस्पतालमा काम गर्न आएकी थिए, काम गर्दागर्दै २०५६ सालमा फेरि स्टाफ नर्स पढ्नका लागि पाल्पाको तानसेन नर्सिङ स्कुलमा गए’, उहाँले भन्नुभयो, ‘तीन वर्ष पढेर पास भए पछि नर्सको लागि ६० सालमा फेरि लोकसेवाको परीक्षा दिई पास भएको थिए, पास भए लगतै २०६१ साल माघ ३ गते अछामको मंगलसिंह जिल्ला अस्पतालमा पोस्टिङ भएको थियो, त्यो समयमा २०६२÷६३ को जनआन्दोल थियो, अछाम नेपालको सबै भन्दा दुर्गम ठाउँ भएका कारणले त्यो ठाउँमा निकै कठिन भयो तर नयाँ अनुभव समेत भयो ।’

अछामको मंगलसिंह जिल्ला अस्पतालमा सुरुका केही दिन आफुलाई निकै कठिन भएको उहाँले बताउनुभयो । ‘मैले त्यस ठाउँको भाषा नबुज्दा र सवै भन्दा दुर्गम ठाउँ भएको कारणले निकै कठिन भयो’, उहाँले भन्नुभयो,‘त्यो अस्पतालमा म जाने बेला सम्म एउटा पनि शल्यक्रिया भएको थिएन, त्यहाँ मैले २२ महिना काम गरे, यस अवधीमा मैले अछामको मंगलसिंह जिल्ला अस्पतालको पहिलो शल्यक्रिया आफैले गरेको थिए, त्यो जीवनको एउटा महत्वपूर्ण उपलब्धी भएको ठानेकी छु ।’

तीन दिन सम्म लगातार रक्तश्राव भएकी गर्भवती महिलालाई अन्तिम अवस्थामा ल्याइएको थियो । ‘त्यो अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डाक्टर किरण खनाल ज्यू र एक जना हेल्थ असिस्टेन्ट मिलेर अप्रेसन गर्ने सल्लाह गरियो, संकटकालको समय थियो, उहाँ आर्मीको श्रीमती हुनुहुन्थ्यो,’ नर्सिङ निरीक्षक भट्टराइले भन्नुभयो,‘२०६२÷६३ को जनआन्दोलनको समय भएका कारण आर्मी पुलिसहरु खुलेआम हिँड्न नमिल्ने अवस्था भएका कारण हामीले अन्य अस्पताल पठाउन सम्भव भएन । बिरामीको श्रीमानले यही अप्रेशन गरिदिनु प¥यो, म आफैले शल्यक्रियाको सामानहरु धोइ, उमाली तयारी गरे, मेसु निकै अनुभवी हुनुहुन्थ्यो, त्यसैले शल्यक्रिया सफल भयो तर बच्चा बचाउन सकिएन ।’

त्यो मेरो जिवनको निकै अविस्मरणीय क्षण थियो । बच्चालाई बचाउन नसके पनि आमालाई बचाउन सफल भएका थियौ हामीले । म बागलुङ अस्पतालमा सुत्केरी र अप्रेसनको बारेमा धेरै काम गरेको हुदाँ त्यो ठाउँमा जादाँ आफैले सवै तयारी गरेको उहाँले अनुभव सुनाउनुभयो । ‘मैले डक्टरलाई गर्न सक्दिन भनेको भए सायद त्यो बिरामी बच्न असम्भब हुने थियो होला । २२ महिना काम गरेपछि फेरि धौलागिरी अस्पतालमा आएको थिए, त्यस पछि यही छु,’ उहाँले भन्नुभयो ।

धौलागिरी अस्पतालमा २८ वर्षदेखि निरन्तर सेवा गरिरहनुभएको छ । ‘मलाई यहाँ आएका दिदी बहिनीहरुले बोलाएर चिन्नु भो भनेर सोध्नुहुन्छ तर मैले धेरैलाई चिन्दिन,’ उहाँले भन्नुभयो,‘तैपनि मनमा खुशी महशुस हुन्छ । मैले अप्रेशन गरेर जन्मेका बच्चाहरु अहिले २०÷२२ वर्षका भइसकेका छन् । त्यो देख्दा मलाई आनन्द महशुस हुन्छ ।’

‘म बिदामा बस्न पनी सक्दिन, भाइ बहिनीले मलाई भन्नुहुन्छ आज हजुरको बिदा हो जानुस्, सुत्नुहोस् हामी गर्छौ भन्नुहुन्छ’ उहाँले भन्नुभयो ‘मेरो मन मान्दैन, जब सम्म मालढुङ्गा काटेर जाँदिन, तब सम्म म २४ सै घण्टा अस्पतालमा बिताउन चाहन्छु, मेरो क्वाटर नजिकै छ, त्यसकारण अन्य नर्सलाई बोलाउन भन्दा मलाई छिटो हुन्छ र मलाई काम गर्न मन पनि लाग्दछ ।”

५२ ब्याजका ५ सय भन्दा बढी नर्सलाई नर्सिङ पास गरेर काम गर्न लागेका नर्सहरुलाई उनीहरुले भुलेका कुरालाई ताज बनाउनका लागि नयाँ कुरा सिकाउने काम गरिराखेको उहाँको भनाई छ । बागलुङमा आए यता लामो समय देखि अहिले सम्म अध्यापनको काम समेत गरिरहेको उहाँले बताउनुभयो ।

‘कोरोना नेपालमा आए संगै धौलागिरी अस्पतालमा पनि सुरुमै बिरामी भर्ना गरिराखेको थियौं, त्यो समयमा कोरोना महामारीको विषयमा हामीलाई केही जानकारी नभएको कारण सबै त्रसित थिए,’ उहाँले भन्नुभयो, ‘पहिलो दिन कोरोना संक्रमितलाई कुर्नका लागि नर्स बहिनीहरु रुँदा म र एक जना नर्सले रातभर कुरेर बसेका थियौ, कोरोना संक्रमित गर्भवती महिलाको अप्रेसन गर्नका लागि निकै कठिन भएको थियो । बच्चा र आमाको ज्यानको सवाल थियो । तर, हामीहरुले सफल अप्रेसन गरेका थियौ । अहिले सम्म कोरोना महामारीमा ७ जना कोरोना संक्रमित गर्भवतीको अप्रेशन गरिएको थियो ।

हामीहरु जति पनि अस्पतालमा गर्भवती महिलाको शल्यक्रिया होस् वा सामान्य अवस्थामा निकै ध्यान दिएर काम गर्ने गरेकाले धेरै समस्या आएको छैन तर स्वास्थ्यकर्मीको काम गर्दछौ । किनकि हाम्रा लागि १÷२ जना हुन सक्दछ तर, परिवारका लागि त्यो सबैथोक हो । त्यसकारण हामीहरुले गर्भवती महिला र शिशुको सबालमा कहिलै हेलचक्राई नगरेको उहाँको भनाई छ ।

अन्त्यमा,
देवीको जीवनमा धेरै उतार चढावपूर्ण दिनहरु व्यतित भएको छ । २०४८ सालमा आफ्नै सहकर्मी रामप्रसाद भट्टराई संग अन्तरजातीय प्रेम विवाह गरेर गर्नुभएको थियो । नेवारकी छोरीले भट्टराईसंग विहे गरी भनेर माइतीमा केही समस्या आएता पनि श्रीमानको घरमा भने त्यस्तो केही समस्या नभएको बताउनु हुन्छ ।

‘विवाह गरेको एक वर्षमै छोरा र ४ वर्षपछि छोरी जन्मियो, अहिले आफ्नो आफ्नो काममा व्यस्त छन्’ उहाँले भन्नुभयो । देवीका श्रीमान् नेपालको जागिर छोडेर अमेरिका जानुभएको छ । छोरा छोरी दुवै अस्ट्रेलिया छन् । संकटको समयमा पनि स्वास्थ्य सेवा गर्न पाउँदा र परिवारको तर्फबाट पनि निकै सन्तुष्ट रहेको उहाँ बताउनुहुन्छ । ‘छोराछोरी र श्रीमान्ले अब धेरै दुःख गर्नुभयो, अब जागिर छोड्नुहोस् भन्नुहुन्छ तर, मेरो मन मान्दैन,’ उहाँले भन्नुभयो, ‘मैले पहिला पैसा कमाउन गरे पनि अहिले मलाई यो काम गर्दा सेवा भाव आउँछ, आनन्द लाग्छ, त्यसैले अहिल्यै विश्राम लिन चाहन्न ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *