कांग्रेसमा नेतृत्वको बहस

नेपाली कांग्रेसको १४ औं महाधिवेशनले मुलुकभर भिन्न रौनकता छ । कांग्रेस नेता कार्यकर्ताका लागि त यो एक उत्सव हो नै, कांग्रेस इतरका पार्टी, नेता र नागरिकलाई पनि कांग्रेसले अब कस्तो नेतृत्व छान्छ ? आम चासोको विषय छ । देशको सबै भन्दा पुरानो पार्टी नेपाली कांग्रेस परम्परागत धर्रामै चलेको आरोप र गुनासो व्यापक छ । पुरानै नेतृत्व दोहोरिने, नयाँले स्थान नपाउने, गुट उपगुटले आफैमा विभाजित मानसिकतामा रहँदा पार्टी गतिशील बन्न नसकेको आवाज पनि उठ्दै आएको छ । यस्तो बेला हुन लागेको महाधिवेशनले कांग्रेसजन र आम नागरिकका हकमा के अर्थ राख्छ ? कस्तो नेतृत्व चाहिएको हो ? र अहिले के कस्तो नेतृत्व छनोटको अभ्यास चलिरहेको छ ? धौलागिरी जागरण दैनिकले फरक सोच सहित कांग्रेसमा नेतृत्वको बहस प्रारम्भ गरेका छौ । यही क्रममा आदर्शकर्मी साधना पन्तले गरेको कुराकानीको सम्पादित अंशः

पार्टी निर्माणका लागि समूह होइन, सक्षम नेतृत्व
कल्पना हमाल पाठक
महासमिति सदस्य,नेपाली कांग्रेस, बागलुङ


राष्ट्रियता, समाजवाद र एकतालाई अंगिकार गरेको नेपाली कांग्रेसको कार्यसम्पादन प्रत्यक्ष रुपमा यसको नेतृत्व संग जोडिएको हुन्छ । प्रभावकारी नेतृत्वसंग पार्टीको नीति र सिद्धान्तलाई स्थापित गराउन सक्ने कौशल अपरिहार्य हुन्छ । अझ प्रष्ट रुपमा भन्दा पार्टीको राजनीतिक तथा साङ्गठनिक सफलता यसको नेतृत्व संग प्रत्यक्ष सम्वन्धित हुन्छ । हाल नेपाली कांग्रेको जिल्ला तथा गाउँ स्तरमा पनि पार्टीको नेतृत्व चयनमा नयाँ आयामहरु देखा परेका छन् । अझ १४औं महाधिवेशनको संघारमा आईपुग्दा नेपाली कांग्रेसमा यसको नेतृत्वलाई लिएर अनेक बहसहरु भईरहेका छन् ।
१४ औं महाधिवेशनको दौरानमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु नेतृत्वको लागि निकै अग्रसर भएको देखिएको छ । गाउँ गाउँमा क्रियाशिल सदस्यता प्राप्त गर्न देखिएको होडबाजी पनि नेतृत्व परिवतर्नको संकेत हो । वडा अधिवेसन लगभग प्रायः जिल्लामा सम्पन्न भइसकेको छ । यसबाट वडा कार्यसमिति र क्षेत्रिय प्रतिनिधिमा उल्लेख्य संख्यामा युवा निर्वाचित भएका छन् । अझ विभिन्न पालिका तथा क्षेत्रमा नेतृत्व लिनका लागि दर्जनौ उम्मेदवारी घोषणा हुनुले कांग्रेसको नेतृत्वमा पूनर्जागरण आएको त हैन भन्ने भान भएको छ ।
कुनै समय गाउँ तथा क्षेत्र वा जिल्लामा कांग्रेसको नेतृत्व सिमित व्यक्तिहरुको पहुँच भित्र भएको टिका टिप्पणी हुन्थ्यो तर हाल तमाम कार्यकर्तामा राजनैतिक चेतको विकास भएको छ । गाउँ गाउँबाट १४ औ महाधिवेशनमा विभिन्न समितिको नेतृत्व लिन युवा पुस्ता प्रस्तुत भएका छन् । जसलाई अग्रज नेताहरुले पनि सामान्य रुपमा स्विाकारेका छन् । यो एक पुस्ता हस्तान्तरणको सुरुवात हो कि भन्ने आँकलन गर्न सकिन्छ ।

कल्पना हमाल पाठक महासमिति सदस्य,नेपाली कांग्रेस, बागलुङ

हाल तमाम कांग्रेसी कार्यकर्ता कसैको दबाब तथा प्रभावबाट निर्णय लिन नहुने कुरा गर्न लागेका छन् । यहाँ समालोचनात्मक सोचको विकास आम कांग्रेसी कार्यकर्तामा भएको हो कि भन्ने संकेत देखिएको छ । गुण र दोषका आधारमा विभिन्न समितिको नेतृत्व चयन गर्नुपर्छ भन्ने अठोट अहिले प्रायः प्रतिनिधि साथीहरुमा पाइएको छ, जुन नेतृत्व रुपान्तरणको प्रथम सिढी हो । महाधिवेशनको क्रममा गाउँ पुग्दै गर्दा गुट उपगुट भन्दा पनि नेतृत्व शैली, क्षमता, भिजन र योगदान गरेकाहरु नेतृत्वमा ल्याउनु पर्छ भन्ने व्यापक देखिन्छ । यो केबल बहस मात्र हैन, राजनितिक चेत भएका साथीहरु प्रतिनिधि समेत निर्वाचित भएका छन्, जुन आगामी नगर, प्रदेश क्षेत्र, संघिय क्षेत्र तथा जिल्ला स्तरको नेतृत्व चयनमा प्रत्यक्ष सरोकार राख्दछ ।
अबको कांग्रेस कस्तो ?
१४ औं महाधिवेशनको पहिलो चरण वडा अधिवेशनको परिदृश्यलाई नियाल्दा काँग्रेस रुपान्तरणको चरणमा प्रवेश गरेको अनुभुति हुन्छ । पार्टीमा थुप्रै बेथितिहरु छन्, विधिवत कार्य गर्न अझ धेरै बाँकी छ । तसर्थ अबको काँग्रेसको नेतृत्व व्यापक परिर्वत गराउनु पर्ने अपरिहार्यता हामी माझ छ ।
प्रथमत पार्टी सञ्चालनको मेरुदण्ड विधि हो । अबको नेतृत्वले पार्टीका हरेक काम विधिम्मत रुपबाट गर्नु पर्दछ । तमाम कार्यकर्ताहरुको चाहना, भावना, योगदान, क्षमता तथा आवश्यकतालाई मध्यनजर गर्दै पार्टीको नेतृत्व लिनुपर्ने समय आएको छ ।
अर्काे कुरा पार्टीले ग्रहण गर्ने सिद्धान्त र महत्वपूर्ण सवालहरु जस्तैः धर्म, कुन राजनीतिक क्षेत्र, राष्ट्रियता आदिलाई प्रष्ट पार्ने खालको नीतिगत दस्तावेज ल्याउन सक्ने नेतृत्व अबको काँग्रेसजनले खोजेका छन् । तमाम प्रजातन्त्रवादी आस्थावान साथिहरुले पार्टीको दुःख, सुख, ओराली, उकालीको सहयात्री हुनुपर्नेमा नभएको गुनासो गर्न थालेका छन् । वास्तवमा हुन पनि हो, जतिबेला संगठन, पार्टीको आवश्यकता पर्दछ । त्यो बेलामा काम नलाग्ने नेताको औचित्य हुँदैन ।
पार्टीको आधारशिला वडा तथा गाउँ तह हो । त्यहीबाट पार्टी निर्माणको जग बसाल्ने सक्षम नेतृत्व अबको आवश्यकता हो । यसका अलवा देशमा स्वास्थ्य, शिक्षा, रोजगारी, सुरक्षा विकास लगाएतका महत्वपूर्ण सरोकारवालालाई पनि पार्टीको दुर दृष्टीसँग जोडेर काम गर्न सक्ने नेतृत्व तथा पार्टीको आम जनताले अपेक्षा गरेका छन् । पार्टी भित्र र देशमा व्याप्त बेथितिहरुलाई जरै देखि उखेलेर फाल्ने र विधिको शासनलाई आत्मासाथ गर्दै पार्टी सञ्चालन गर्न सक्ने नेतृत्वनै आजको आवश्यकता हो ।

पार्टी र देश बनाउने उपर्युक्त अवसर
मनिष थापा
स्ववियू सभापति
धौलागिरी बहुमुखी क्याम्पस,बागलुङ


राजनीति सबै नीतिहरु भन्दा माथिको नीति भन्ने गरिन्छ । तर, हाम्रो राजनीतिक आचरणको कारण नेपालको सन्दर्भमा राजनीतिलाई आम नागरिकको तर्फवाट राम्रो नजरले हेर्ने गरेको पाइदैन । नेता नेता जस्तो नहुनुु र राजनैतिक पार्टीको सिद्धान्त दर्शनबाट च्युत भएर निश्चित झुुण्ड र व्यक्तिको स्वार्थमा लाग्नुु वर्तमान राजनीतिको रोग भैसकेको छ । यसै सन्दर्भमा अहिले नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सम्पन्न हुुँदैछ । बागलुङको सन्दर्भमा वडा तहको अधिवेशन सकिएर असोज ९ गते फेरि पालिका स्तरयि अधिवेशन हुँदै मंसिरमा केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्वजानिक गरिएको छ । जुन अधिवेशनले कांग्रेसमा उत्साह थपेको छ । गाउँ तहसम्म नै कांग्रेसजनलाई महाधिवेशनको रौनकले छोएको छ ।

मनिष थापा स्ववियू सभापति धौलागिरी बहुमुखी क्याम्पस,बागलुङ

नेतृत्व चयनमा सबै भन्दा बढी दौडधुप भएको छ । नेतृत्व चयनको विषय व्यक्तिगत गुण, क्षमता, योगदान भन्दा पनि गुुट र समूहको आधारमा आफ्ना नजिकका मान्छेहरु ल्याउने परिपाटीले प्रश्रय पाएका छन् । पाँच बर्ष सम्म गाँउघर पुुगेर कार्यकर्ताको पिर मर्कामा काम गर्ने, कांग्रेसको विचारहरुलाई तल्लो तहसम्म पुु¥याउने, पार्टीको गतिविधि बढाउने, स्थानीय देखि राष्ट्रिय तहसम्म भएका जननिर्वाचित सरकारलाई खबरदारी गरी सहयात्री बन्ने, काम गर्नु नपर्ने । एक्कासी महाधिवेशन हुने समय मात्र आ–आफ्नो झुण्ड लिएर क्षणिक राजनैतिक नारा लिएर कार्यकर्ताको बिचमा पुुग्नुु पक्कै राम्रो पक्ष होइन ।
बागलुुङ जिल्लाको सन्दर्भमा मात्र कुरा गर्ने हो भने यहाँ ४० प्रतिशत भन्दा बढी नयाँ र युवा प्रतिनिधिहरु वडा तहवाट छनोट भएका छन् । जसले वडा भन्दा माथिको तहको नेतृत्व चयनमा मात्र नभई स्वयम् नेतृत्वमा आउन समेत बाटो खुलेको छ । यही समय हो, आम कांग्रेस प्रतिनिधिले सक्षम नेतृत्व चयन गर्ने । नेपालको प्रमुख प्रतिपक्ष नेकपा (हालको नेकपा एमाले) अहिले विभाजनको अवस्थामा छ । विपक्षी किचलो परिस्थितिमा रहेको बेला नेपाली कांग्रेसलाई नेपाली राजनीतिको निर्विकल्प राजनैतिक शक्तिको रुपमा स्थापित गर्ने । नेपालको मात्र नभई विश्वमा नै शक्तिशाली लोकतान्त्रिक पार्टीको सूचिमा शीर्ष स्थानमा दर्ज गर्ने र निर्विवाद पार्टीको रुपमा स्थापित गर्ने मौका छ ।
यो समयमा नेतृत्वमा आउन चाहेको कांग्रेस नेताहरु पनि आफ्नो गुुट सहितको झुुण्ड बोकेर अधिवेशनमा आफ्नो नेतृत्व हत्याउने ध्याउन्नमा मात्र नभई आफ्नो नेतृत्वमा हुने कार्यक्रम, भिजन सहित आम प्रतिनिधिको बिचमा पुुग्नु प¥यो । आफ्नै सबै सम्भावित प्रतिद्धन्दीलाई पनि सँगै लिएर आफ्नो कार्यक्रम र योजनाको बारेमा बताएर सर्वसम्मतको प्रयास गर्नुप¥यो । त्यो सम्भव नभए हार्दिकता सहित अधिवेशनमैत्री बातावरण बनाएर आम कार्यकर्ताको बिचमा फलाना त्यस्तो भन्ने गलत भ्रमलाई चिरेर अगाडि बढ्ने हिम्मत गर्नुपर्छ । संकिर्ण सोचलाई त्यागेर फराकिलो नजर र दिल बनाएर सबैको नेता सबैको सभापति भन्ने गराउनुु पर्दछ ।

समग्रमा अहिलेसम्म जिल्लामा देखिएका र चर्चामा आएका नेताहरुमा त्यो आचारण कमै देखिएको छ । आन्तरिक निर्वाचन संगठन सुदृढिकरणका लागि हो भन्ने हुनुप¥यो । त्यसैले संगठन भित्र फरक मत र विचार राख्नेको समेत कुरा सुनेर उसलाई समेत संगसंगै लगेर बलियो कांग्रेस र सबै कांग्रेसको साझा नेता बन्ने हिम्मत राख्नुपर्दछ । जसका कारण अधिवेशन सकिएर नेतृत्व चयन भएपछि पनि सधैभरी अधिवेशनको इगो हट्न सक्छ । नत्र साना तिना इगोको कारण नेकपाको सरकार र नेकपा पार्टी जस्तो हावाको महल बन्नेछ । आस्था, विश्वास, आत्मसम्मान सहितको राजनीति संस्कार हराउने छ । जसको कारण राजनैतिक पार्टी र नेता मूूल्यहिन अवस्थामा पुुग्नेछन् ।


वैचारिक र जुझारु नेतृत्व आजको आवश्यकता
विशेष पराजुली
क्षेत्रीय प्रतिनिधि
नेपाली कांग्रेस,बागलुङ


राजनीति तर्कहरुको खेल हो अनि महाधिवेशन तर्क जोख्ने तराजु हो । जसमा तर्कहरुलाई तौलिन पर्दछ । जुन तर्कले सबै तर्कहरुलाई झोत्ल्याउन सक्दछ । त्यही तर्कले कालान्तारमा नीति बनेर राज गर्न पाउनु पर्छ । अनि बल्ल राजनीति अरुथोक नबनेर राजनीति बन्दछ । तर, जब महाधिवेशनको केन्द्रमा तर्कको स्थान आस्था, भावना, पैसा, लोभ, गुट, उमेर,भेग, जनै र नाकले लिन पुग्दछ । तब राजनीति आम चलन चल्तीको भाषामा बोलिने फगत एउटा ‘फोहोरी खेल’ बन्न पुग्दछ ।

वैचारिक रुपमा पार्टीलाई नपुंसक बनाएर लाभ उठाइ रहेका पार्टीका बृद्ध नेतृत्व पंक्तिलाई देखेर आफूलाई पनि दलालीको हिस्सा बनाउन एउटा ठूलो अराजनैतिक युवा पंक्तिले डाह र ईष्या बोकेर यस महाधिवेशनमा युवाको नारा घन्काइ रहेका छ्न् । जसले गर्दा तिनै बृद्ध नेतृत्व पंक्ति भित्र डरको वातावरण सिर्जना भएको छ । जसले गर्दा को बुढो र को तन्नेरी भनेर बहस गर्न बाहेक यस महाधिवेशन मार्फत् यी दुवैै पंक्तिले कुनै ठोस सकारात्मक परिवर्तन ल्याउने देखिएको छैन । त्यसैकारण यसरी सांस्कृतिक रुपमा पतन गराइएको पार्टी भित्र केवल युवा र अनुभवको नारा भजाउनु बेकार देखिन्छ ।

विशेष पराजुली क्षेत्रीय प्रतिनिधि नेपाली कांग्रेस,बागलुङ

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पहिलो वार्ड चरण देखिनै विधान विपरित बोर्ड बनाएर सबल कार्यकर्तालाई सिन्डिकेटको राजनीतिको सिकार बनाउने कु–संस्कृतिलाई दोहो¥याइएको छ । फेरि पनि राजनीतिक आन्दोलनबाट ठूलो अपेक्षा गरेका जनता तथा पार्टीमा भरोसा भएका लाखौं कार्यकर्ता निराश भएका छन् ।

राजनीतिको गिरेको साखसँगै कार्यकर्ताको सामाजिक प्रतिष्ठामा पनि आँच आएको छ । पार्टीमा सिण्डिकेटका कारण माथिल्लो जिम्मेवारी पाउन नसकेर उनीहरूको क्षमता अभिवृद्धि हुन नसकेको हिजोको अवस्था झन् भयावह रुपमा देखा परेको छ । यसले उनीहरूमा राजनीति प्रति वितृष्णा जन्माएको छ । पार्टीमा बौद्धिक रुपमा कमजोर, अनुभवका आधारमा कनिष्ठ र नैतिक हिसाबले भ्रष्टहरूको बोलवाला बढ्दै जाँदा कार्यकर्ता पंक्ति असन्तुष्ट बनेको छ । जसको नतिजाले राजनैतिक तथा सांगठनिक आत्मघातको प्रवृत्तिमा व्यापकता ल्याएको छ । यसले पार्टीलाई मात्र कमजोर बनाएको छैन, बरु व्यक्तिको नैतिकता खस्केर समाजलाई समेत गम्भीर असर गरेको छ ।
यी सबै पिडाहरुको बिचमा पनि केही वैचारिक प्रयासहरु भने यस अधिवेशनमा देख्न पाइएको छ ।

विश्व पुँजिबादी व्यवस्थाको नै विकल्पको रुपमा यो पटक नेपाली कांग्रेसका नेता दिनेश सापकोटाद्वारा प्रतिपादित विचार “पार्टी पर्नर्निमाण प्रस्ताव एवम् प्रबुद्ध समाजबादको घोषणापत्र“ लाई कांग्रेस महाधिवेशनको केन्द्र बनाउन बागलुङ कांग्रेसीजन उत्साहित देखिएका छ्न् । गाउँ गाउँमा आयोजना गरिएको वैचारिक प्रशिक्षणबाट प्राप्त प्रष्ट म्यान्डेट बोकी युवा नेता सिद्धान्तकार सापकोटाद्वारा बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत हुने क्षत्रिय अधिवेशन मार्फत् यस विचारलाई साझा प्रस्तावको रुपमा केन्द्रीय महाधिवेशनमा बहस गराउने जमर्को गरिएको छ । जस अन्तर्गत नेता सापकोटा स्वयम् खुल्ला महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिएका छन् । जहाँ पहिलो पटक नेतृत्वले विगतलाई कन्याएर होइन, वर्तमानको चाप र भविष्य प्रतिको समर्पणलाई बुझेर विचारका लागि एक मतको आग्रह गरेका छन्, अर्थात् सत्यको प्रेमपुर्वक आग्रह गरेका छन् ।
अन्तिममा, देशमा अनेकौं समस्याहरु विद्यमान छन् । तीनको समाधानका लागि राजनीतिलाई नैतिक तथा वैचारिक बनाउनु सबै भन्दा पहिलो जिम्मेवारी हो ।

केन्द्रदेखि स्थानीय स्तरसम्म सबल र क्षमतावान् नेतृत्वको स्थापना बिना यो कार्यभार पुरा गर्न सम्भव छैन । त्यसका लागि प्रष्ट समाजवादी विचार लिएर अगाडि बढ्नु नेपाली काँग्रेसको स्थापनाकालीन ध्येय भएकाले प्रत्येक कार्यकर्ताले नेपाली कांग्रेसको आदर्शमा कटिवद्ध भएर यसलाई अझै परिष्कृत गर्दै संगठनलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुपर्दछ । अनि मात्र खराब पात्र र खराब व्यवस्थाको होइन, खराब प्रवृत्तिको परिवर्तन अवश्यम्भावी छ ।

समस्या होइन, समस्यामा समाधान दिने कांग्रेस नेतृत्व
विष्णुराज पौडेल
स्ववियू सचिव
धौलागिरी बहुमुखी क्याम्पस


वीपीको नेतृत्वमा नेपाली कांग्रेस सबैभन्दा राष्ट्रवादी, लोकतान्त्रिक, अग्रगामी र प्रगतिशील पार्टी थियो । अब युवा नेतृत्वमा आए भने कांग्रेस सुधारिएको कांग्रेसको रुपमा स्थापित हुन्छ भन्ने बहस १४ महाधिवेशनमा चलेको बहस हो । युवाको बहस अनुसार गाउँ, नगर हुँदै जिल्ला सम्म युवा नेतृत्व जर्बजस्त स्थापित हुने परिदृश्य त देखियो तर केन्द्रीय नेतृत्वमा पुरानै होडबाजी देखिन्छ । यसपाली पनि युवा नेतृत्वमा पुग्न मुस्किल छ । अहिले सर्वत्र चलेको बहस युवा नेतृत्वको हो । युवा लहर पनि आइसक्यो । युवा नेतृत्वको परीक्षणको घडी गाउँ, नगर र जिल्लाबाट शुरु हुदैछ, कांग्रेसमा उर्जा भर्ने अथवा दुर्घटनामा लैजाने ?
कांग्रेसमा सबै वीपी हुँदैनन् । गणेशमानले जस्तो त्याग, किशुन जीको जस्तो समर्पण, गिरिजाप्रसाद कोइराला जस्तो क्रियाशीलत पनि हुन सक्दैन । अब राजनीतिमा आउने युवाहरुमा पनि त्यो लेभलको नेतृत्व देखिदैन ।

विष्णुराज पौडेल स्ववियू सचिव धौलागिरी बहुमुखी क्याम्पस

राजनीतिमा जति अनुभवी भए पनि निश्चित उमेर पछि क्रियाशीलता घट्छ। आफू भन्दा अर्कोले राम्रो गर्न सक्ने परिस्थिति बन्न सक्छ् । त्यसैले देशको राजनीतिले युवा खोजेको छ । विश्व परिवेश पनि त युवा नेतृत्वमा अगाडि बढिरहेको छ । युरोप र अमेरिकामा युवाले नेतृत्व सम्हाल्दै आएका छन् । युवाले राम्रो भिजन बोकेका पनि छन् र युवा स्वार्थको बाटोमा दौडेका पनि छन् ।
तर, समग्रमा यसपाली गाउँ नेतृत्वमा त करिब ६० प्रतिशत भन्दा बढी युवाहरु कांग्रेस नेतृत्व सम्हालिसकेका छन् । अब संघीय संरचना अनुरुपका नगरपालिका र गाँउपालिकामा पनि सोही अनुपातमा युवाले नेतृत्व लिने वातावरण बन्छ । जिल्ला नेतृत्वमा पनि यसपटक युवाहरुको उपस्थित बाक्लो हुने देखिन्छ । अब कसैले नचाहेर पनि कांग्रेसको नेतृत्व त युवाको हातमा पुग्नेछ । तर, युवा आउँदैमा परिवर्तन हुँदैन । अबको कांग्रेस, समस्या मात्र देखाउने हैन, समाधान दिने, दुःखमा रोइलाउने हैन, सवैलाई साथ दिने सुखी बनाउने, अनुशासित, इमान्दार कांग्रेस नेतृत्वको आवश्यकता हो ।
भ्रष्टाचार, तस्करी, गुण्डागर्दी र ठेकदारीवाला कांग्रेस हैन । हत्या, हिंसा, बलत्कार, अपहरणबाट गुज्रिएको समाज हिंसात्मक र तोडफोडको राजनीतिलाई शान्तिको बाटोमा लैजाने साथै अहिंसाका पुजारीहरु राजनीति भित्र निर्माण गर्ने युवा नेतृत्व आजको कांग्रेसको गन्तव्य हो । विचार शुन्यताबाट व्यक्तिलाई नयाँ विचार र नयाँ परिवर्तनको विकल्प दिने गरी बदलिएको कांग्रेस आजको आवश्यकता हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *