बडा दसैंको शुभकामना

सम्पादकीय
नेपालीहरुको महान पर्व बडादसैंको रौनकता बढेको छ । दुई वर्षदेखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले खुलेर दसैं मनाउन नपाएको नमिठो विगतका बिच अहिले केही सहज अवस्था बनेको छ । यद्यपि, पहिले पहिलेको समयमा जस्तो खुलेर स्वतन्त्र हिसाबले भिडभाड गरेर मनाउन भने अझै जोखिम छ । किनकि कोरोना भाइरसको संक्रमण पूर्णतः नियन्त्रणमा आइसकेको छैन । जे होस् अहिले दसैं मनाउन नेपालीहरु देश विदेशबाट आफ्ना पुख्यौली गाउँ घर आउने क्रम तीब्र छ । शहर बजारमा पेशा, व्यवसाय गरेर बसेकाहरु पनि दसै मनाउन फर्किरहेका छन् । युवाहरुको बढ्दो बैदेशिक रोजगारको मोहले सुनसान बनेको गाउँघरमा चहल पहल बढेको छ ।

बडादसैंका बारेमा अनेकन ऐतिहासिक तथ्य र किम्वदन्तीहरु छन् । असत्य माथि सत्यको बिजयको प्रतिकको रुपमा मनाइने यस पर्वमा मान्यजनबाट टीका जमारा लगाउने, आर्शिवाद ग्रहण गर्ने संस्कारलाई महत्वपूर्ण रुपमा लिइने गरिन्छ । सामाजिक एकता, सद्भाव अभिवृद्धिमा पनि दसंैको छुट्नै स्थान छ । आफ्नो र परिवारको जीविका चलाउन बाध्यता, बिबशता, परिबन्दले परदेशिएकाहरलाई त दसंै देश र घर आउने मिठो बाहना बनेको छ । देश भित्रै बिभिन्न जागिर, पेशा, व्यवसायमा भएकाहरु पनि यही महान पर्वलाई घर परिवार, आफन्त, साथी संगीसँगको भेटघाट र साक्षात्कारको एक अनुपम अवसर बनिरहेको छ । पहिले पहिले दसै आउँला, खाउँला पिउँला, सँगै रमाउला भन्ने चर्चित कथन थियो । अभावले गाँजेको नेपाली समाज, गाउँघरमा अहिले पहिलेको जस्तो अवस्था र बाध्यता छैन । मिठो मसिनो खान दसैं कुर्नु पर्ने संख्या कम हुँदैछन् ।

बडा दसै सामाजिक, साँस्कृतिक, मनोवैज्ञानिक हरेक हिसाबले पृथक पर्व हो । हुन त कतिपयले यसलाई नेपालीहरुको महान पर्व मान्न कञ्जुस्याई गर्छन् । तर, सार र समष्टिगत रुपमा हेर्ने हो भने दसैं हिन्दु धर्मालम्बीहरुका लागि मात्र महत्वपूर्ण होइन । अन्य धर्मालम्बीहरुका लागि पनि दसैंले छुट्टै उत्साह र रौनक लिएर आउने गरेको छ । यो पर्वमा उनीहरुले पनि कुनै न कुनै रुपले दसै सेलिब्रेसन गरिरहेकै छन् । अहिले कोरोना कहरको लामो सकस पछि दसैं मनाउन पाउँदा खुसी, उत्साहित हुनु स्वभाविक हो । कोभिड लगायत अरु खानपान, चोरी, लुटपाटका हिसाबले सैमा केही जोखिम र खतरा पनि छन् । यस विषयलाई बेवास्ता नगरी सुरक्षा सचेतता पनि अपरिहार्य हुन्छ । नत्र दसै दशा बन्न सक्ने परिस्थिति आउन सक्छ । बडादसैंले अनेक किसिमका संकटबाट जोगिएर समस्या, चूनौतिलाई अवसरमा बदल्ने र नेपाल नेपालीलाई सुख, शान्ति, समृद्धि मिल्ने दिशामा एकतावद्ध हुन प्रेरित गर्न सकोस् । बडादसैंका अवसरमा तपाई सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *