प्रेरक पाइलाः जसले डिजिटल हैन,३० वर्ष हातकै औंला चलाइरहे…

प्रस्तुतिः डम्मर बुढा मगर

अहिलेको जमाना ‘डिजिटल’को हो । सूचना, प्रविधिको विकासले हरेक क्षेत्र डिजिटलमय छ । यसले जीवन र दैनिकी सहज र सरल त बनाएको छ नै, समयको गतिसँगै प्रविधिलाई पछ्याउन रुचि र दृढता नराख्नेहरुलाई निकै पछाडि छोडिरहेको पनि छ ।

गाउँदेखि सहरसम्म जताततै डिजिटल प्रबिधिको प्रयोग बढ्दो छ । अहिले अधिकांश व्यवसाय डिजिटलाइज भइसकेको छ । अहिलेको भर्चुअल दुनियाँ र समयको गति नबुझ्नेहरु व्यवसायमा मात्र होइन, हर विषय, क्षेत्र र प्रतिस्पर्धामा कमजोर सावित हुने अवस्था बिद्यमान छ । यद्यपि, यसले हाम्रा कैयन मौलिकता र पृथक बिशेषता बोकेका परम्परागत कला, संस्कृति, व्यवसायहरुलाई धरापमा पार्ने खतरा पनि उत्तिकै छ ।

हरेक व्यक्तिले आधुनिक प्रबिधिको प्रयोग गरेर दैनिकी, कामकाज, व्यापार व्यवसायलाई सहज बनाउने भएकाले डिजिटल प्रविधिको प्रयोग अपरिहार्य जस्तै बनिरहेको छ । तर, बागलुङकै सहरमा एक दुर्लभ पात्र छन्, जसले आधुनिक प्रविधि, विकासलाई नपछ्याएरै तीन दशक अघिदेखि गर्र्दैैै आएको आफ्नै मौलिक कला सहितको व्यवसायलाई नै निरन्तरता दिएर फरक पहिचान कायम गरेका छन् । ती पात्र अर्थात् मछिन्द्र प्रसाद शाक्य । लेखन कलाकारितामा उहाँको पृथक रुपमा स्थापित परिचय चाहीँ ‘रन्तल आर्ट’ ।

No description available.

शाक्यले बागलुङ बजारमा विगत ३० वर्षदेखि ब्यानर, बोर्ड लेखन र चित्र कोरेरै जीवनयापन गरिरहनु भएको छ । सानैदेखि चित्र कोर्ने, पेन्टिङ गर्ने कार्यमा रुचि राख्नुहुने शाक्यले अन्ततः कलालाई आफ्नो व्यवसायको रुपमा अघि बढाउनु भयो ।

पहिलो तस्बिर राजा महेन्द्रको
आफ्नै बाबा पदमप्रसाद शाक्यबाट चित्र कोर्न सिक्नुभएका शाक्यले अहिलेसम्म अनगिन्ती लेखन र तस्बिरहरु कोरिसक्नु भयो, जसको कुनै लेखाजोखा छैन । वि.सं.२०४९ सालदेखि व्यावसायिक रुपमा चित्र कोर्न थाल्नुभएका शाक्यले सुरुमा तत्कालीन राजा स्वर्गिय महेन्द्र शाहको तस्बिर कोर्नुभएको थियो । त्यससँगै उहाँले विभिन्न देवी देवता र प्रकृतिको तस्बिर कोर्नुभयो । शाक्य अहिले उमेरले ५५ वर्ष हुनुभयो तर उहाँको लेखन र चित्रकला प्रतिको भोक, प्यासन, लगाव, समर्पण निकै उत्साहप्रद छ । चित्र कोर्ने, ब्यानर, साइनबोर्ड लेख्ने लगायतका कलाबाटै सिंगो परिवारको जीविका समेत चलाउदै आउनुभएको छ ।

सुरुमा टिनको पातामा चित्र गर्ने गर्नुभएका शाक्यले पछि–पछि कपडा लगायत विभिन्न वस्तुहरुमा पेन्टिङ गर्न थाल्नुभयो । ब्यानर र साइनबोर्ड लेख्न आफ्नो साथीबाट सिक्नुभएका शाक्यले चित्रहरु भने आफै कोर्न सक्नुभयो । अहिले पनि चित्र कोर्ने, ब्यानर र साइनबोर्ड लेख्न र वाल पेन्टिङको काम दैनिकजसो गर्दै आउनु भएको छ । वि.सं.२०४६ सालमा स्नातक पास गर्नुभएका शाक्यले अरु जागिर पनि गर्न सक्ने प्रशस्त सुविधा, अवसर र क्षमता थियो । तर, जीवनमा कला प्रतिको आशक्तिले त्यसबाट बाहिर जाने र सोच्ने कुरा शाक्यका लागि गौण बन्यो ।

शिक्षण पेसा छोडेर कला व्यवसाय
शाक्यले वि.सं. २०४५ सालमा शिक्षण पेसा पनि अङ्गाल्नुभयो । शिक्षण पेसाले पनि उहाँलाई सन्तुष्टि मिलेन । बागलुङ जिल्लाको मालिका माविमा दुई वर्ष शिक्षण पेसा गरेपछि उहाँ काठमाडौँ छिर्नुभयो । वि.सं.२०४६ सालमा बिए पास गरेपछि माथिल्लो तहको पढाईका लागि २०४७ साल तिर राजधानी जानुभएका शाक्यले त्यहाँ विभिन्न आरोह अवरोह र चुनौतिको सामना गर्नुप¥यो ।

No description available.

राजधानीमा पढ्दै बाँच्ने क्रममा आर्थिक अभावका कारण शाक्य एक एक्सपोर्ट कम्पनीमा काम सुरु गर्नुभयो । त्यस समयमा पनि आफूले निकै समस्या भोग्नु परेको अनुभव शाक्यले सुनाउनुहुन्छ । त्यस बखत ठेलागाडामा सामान ओसारपसार समेत गरेको उहाँको भनाई छ । त्यसको केही वर्ष पश्चात बागलुङ फर्किएरै लेखन कला व्यवसाय आरम्भ गरेको शाक्यले बताउनुभयो ।

९ सय रुपैयाँबाट सुरु भएको ‘रन्तल आर्ट’
काठमाण्डौंबाट गाउँ फर्किए पछि शाक्यले २०४९ सालमा बागलुङमा ‘रन्तल आर्ट’ खोल्नुभयो । त्यसबेलादेखि सुरु भएको शाक्यको व्यावसायिक कला व्यवसाय अहिले पनि उत्तिकै उर्जा र उत्साहका साथ निरन्तर संचालनमा छ । ९ सय रुपैयाँबाट व्यवसाय सुरु गर्नुभएका शाक्य लेखन कला व्यवसायबाटै सुविधा सम्पन्न घर सहितको सम्पति जोड्न सफल हुनुहुन्छ । आफ्नै कलामा रमाउने शाक्यलाई घर्किदो उमेरले केही फरक नै पारेको छैन ।

‘बुबाले ९०० रुपैयाँको बेञ्च र टेवल ल्याई दिनुभयो, त्यही बेञ्च र टेवलबाट सुरु गरेको व्यवसाय अहिलेसम्म चलिरहेकै छ,’ शाक्यले भन्नुभयो ‘जहिलेसम्म हातले कलम र मसी समात्न सक्छ त्यसबेलासम्म यो व्यवसाय चल्नेछ, अरु जस्तो दुःख छैन, जतिबेला गरे पनि भयो, आफ्नै हिसाबले काम गर्न पाइन्छ, कसैको दबाब सहनु परेन, आनन्दै छ ।’

No description available.

शाक्यले आफ्नो यही पेसाबाटै दुई छोराको उच्च शिक्षा पढाई सक्नुभएको छ । जेठो छोरो अहिले अध्ययनकै लागि अष्ट्रेलिया पुगेका छन् । परिवारको जीविकोपार्जनसँगै शाक्यको बागलुङ बजारको सिर्जना टोलमा पक्की घर खडा छ । दुई छोरा र श्रीमतिसहित पाँच जनाको परिवार खुसी साथ जीवन निर्वाह भईरहेको शाक्य बताउनुहुन्छ ।

‘अरु पेसामा चासो दिइएन, अहिले ३० वर्ष भयो मैले यो पेसा सुरु गरेको, अहिलेसम्म परिवार खुसी नै छ, सबै जना सन्तुष्टि नै छन्, जीविकापार्जन पनि राम्रै भएको छ,’ शाक्यले भन्नुभयो ‘परिवारलाई खुसी राख्नु नै मेरो दायित्व हो, अहिलेसम्म राम्रै चलिरहेको छ ।’

प्रबिधिको विकासले मौलिक कला संकटमा
बढ्दो प्रबिधिका कारण मौलिक कला संकटमा पर्दै गएको शाक्य बताउनुहुन्छ । उहाँले पहिले अत्यधिक रुपमा हुने भित्ते लेखन, ब्यानर, साइनबोर्ड लेखनहरु अहिले फ्लेक्स प्रिन्टले गर्दा निकै कम भएको बताउनुभयो । ‘पहिल–पहिले भित्ते लेखन, व्यावसायिक साइन बोर्डहरु लेख्नका लागि निकै आउने गर्थे तर अहिले ह्वात्तै घटेको छ, व्यवसायीहरुले पनि फ्लेक्स प्रिन्ट गर्न तर्फ लागे, त्यसले गर्दा यो काम निकै कम आउने गरेको छ,’ शाक्यले भन्नुभयो ‘केही वर्ष अगाडि सम्म त भ्याइनभ्याई हुन्थ्यो, हातले लेख्न कामहरु अहिले बिस्तारै घटिरहेको छ ।’

No description available.

उहाँले आधुनिकताले कला क्षेत्रलाई प्रभाव पारे पनि आफूले यही रुपमै आफ्नो व्यवसायलाई निरन्तरता दिने बताउनुभयो । शाक्यले पेन्टिङले नै आफूलाई चिनाएको भन्दै आफू फ्लेक्स तिर नलागेको बताउनुभयो । ‘मलाई यही कलाले चिनाएको हो, यतिका वर्ष भयो मैले यसैलाई नै निरन्तरता दिएको छु, यो मेरो कला हो, कला बेच्छु,’ उहाँले भन्नुभयो ‘डिजिटल त जसले पनि बनाउन सक्छ, यस्तो कला सबैमा हुँदैन ।’

शाक्यले आफूलाई भगवानले नै गरि खान भनि यस्तो कला दिएकोमा विश्वास छ । आफूले बायाँ हातले नै सबै चित्रहरु कोर्ने र लेख्ने गरेको भन्दै कलाको संरक्षण सबैले गर्नु पर्ने शाक्यको भनाई छ ।

व्यवसायबाट राम्रो आम्दानी
अहिलेको समयमा विश्वास नै गर्न कठिन हुने ९ सय रुपैयाँबाट कला व्यवसाय सुरु गर्नुभएका शाक्यले अहिले वार्षिक १५ लाख बढी आम्दानी गर्दै आएको बताउनुहुन्छ । शाक्यको पसलमा अहिले पनि सयौँ नागरिकहरु चित्र कोर्न र कला सम्बन्धी कामहरु लिएर आउने गर्छन् ।

‘डिजिटल प्रविधिको आगमनले केही प्रभाव त पारेकै छ तर अझै पनि धेरै नागरिकहरु विभिन्न काम लिएर आउने गर्नुहुन्छ, कहिलेकाहीँ भित्ते लेखनको काम पनि हुन्छ, गाउँ गाउँ पुग्छु, यो व्यवसाय अझै पनि राम्रो छ,’ शाक्यले भन्नुभयो ‘कहिले दिनमै २० हजार पनि हुन्छ, कहिले आम्दानी निकै कम हुन्छ तर कमाई भएन भने र निराश हुनु पर्ने अवस्था भने छैन, पहिलेको तुलनामा केही कम भएकै छ, त्यस्तो ठप्पै चाहीँ भएको छैन ।’

No description available.

घर नै ‘आर्ट ग्यालरी’ बनाउने सपना
शाक्यको घर, पसल अर्थात् रन्तल आर्ट पुग्यो भने त्यहाँ दर्जनौ प्रकारका चित्र÷स्केचहरु देख्न सकिन्छ । उहाँले आफ्नो कार्यकक्षदेखि घरका भित्ताहरु पनि आफैले कोरेका आकर्षक चित्रहरु राख्नुभएको छ । जसले उहाँको घरमा प्रवेश गर्दा मात्रै पनि कुनै आकर्षक ‘कला घर’ मा प्रवेश गरेको अनुभूति हुन्छ । डिजिटल बजारको माग र प्रभाव बढ्दै गए पनि आफूलाई मौलिकता र आफ्नो कलामा विश्वास भएकाले आम्दानी र भविष्यमा निराश हुनुपर्ने अवस्था नभएको शाक्य बताउनुहुन्छ ।

‘मलाई आफ्नो कला पौरखमा विश्वास र भरोसा थियो, छ,’ उहाँले भन्नुभयो, ‘आफूले तयार गरेका कलाहरुको पनि असिम माया लागेर आउँछ, अरुले बनाएको कला प्रति पनि उत्तिकै सम्मान गर्न मन लाग्छ ।’ अब आफ्नो घरलाई नै आकर्षक ‘आर्ट ग्यालरी’ को रुपमा सजाउने सपना रहेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *