साधना पन्त, बागलुङ
यो पितृ सतात्मक समाज र देश हो । जहाँ महिलालाई अघि बढ्न फलामको चिउरा चपाउनु जस्तै कठिन हुन्छ । यसमा समाजको तितो यथार्थता र सत्यता त लुकेको छ नै, तर यस बाहेकको सत्य, यथार्थता र महिला स्वयंम्का दृढता, समर्पण र सफलताका अनेक उदाहरणका हिस्सा पनि छन् । यसको एक प्रतिनिधि पात्र हुनुहुन्छ बागलुङ नगरपालिका ३ कि लिलादेवी खड्का ।
लाखौको भिडमा दैनिक आफ्नो गन्तव्य र भविष्य खोज्दै हिँड्ने मानिसहरु असरल्ल छन् । गन्तव्यमा पुगेर पनि मनमा आत्मसन्तुष्टि नभएर भौतारिने मानिसहरुको पनि कमी छैन । आफ्नो र परिवारको सुख, खुशी, आत्मसन्तुष्टीका लागि दौडिनेहरु अधिक छन् । यही भिडमा व्यक्तिगत जीवन स्वार्थ भन्दा माथि उठेर समाजको हितका खातिर बाँच्नेहरु पनि प्रशस्तै छन् । त्यही मध्येको एक उदाहरण खड्का हुनुहुन्छ ।
सरकारी जागिरमा रहँदा र त्यसबाट अवकाश प्राप्त जीवनको अधिकांश समय सामाजिक हित, परोपकारका निमित्त लागिरहेको खड्का बताउनुहुन्छ । उमेरले ५३ वर्ष पुग्नुभएका खड्का विपन्न, दुःखी, असहायहरुलाई देखे पछि केही न केही सहयोग गर्न मन लाग्ने र समाजमा केही गरौैं भन्ने भावनाले आफू र परिवारमै सीमित हुन नसकेको उहाँको भनाई छ ।
बुबा आमाको पुख्यौली घर बागमती प्रदेशको सिन्धुपाल्चोक, तर बुबाको जागिरकै शिलशिलामा बागलुङ बजारमै खड्काको जन्म भयो । एसएलसी विद्या मन्दिरबाट २०४३ सालमा उत्तिर्ण गर्नुभयो । ‘सानै उमेरदेखि केटाको स्वभाव भएका कारण सधै केटाको लुगा लगाएर भिडभाडमा भाषण गर्न र सुन्न पुग्ने गर्दथे, कडा स्वभावको भएका कारणले बुबाले जे काम गर्न पनि हौसला र साथ दिएकै कराणले आज म आजको अवस्थामा आएको हुँ, मेरो प्रेरणाको स्रोत मेरो बुबा हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘१९ वर्षको उमेरमै कोलेनिकामा मुखियाको जागिर सुरु गरेको हुँ ।’ २१ वर्षको उमेरमा बागलुङ बजारका पदम बहादुर खड्कासंग विवाह भए पछि जीवनको बाटो मोडियो । सामान्य परिवारमा हुर्किएकी खड्कालाई विवाह पछि निकै समस्या आइपरेको बताउनु हुन्छ । पढाइमा रुचि राख्ने खड्काले जागिर परिवार र पढाईलाई एकै साथ अगाडी बढाउने निर्णय गरेर तत्कालीन महेन्द्र बहुमुखी क्याम्पसमा कानुन विषयमा भर्ना हुनुभयो । तर, खड्काको पढाई अगाडी बढ्न सकेन । विवाह गरेको डेढ वर्षमा छोरी जन्मेपछि खड्काले पढाईमा पूर्ण विराम लाग्यो ।
पञ्चयती कालमा निर्दल जाने र बहुदल आउनेको समय थियो । छोरी पछि छोरा जन्मियो । बालबच्चा साना, जागिर पनि छोड्न मन थिएन । श्रीमान पनि स्वास्थ्य क्षेत्रमा जागिरे भएकाले परिवारमा बालबच्चा हेरचाह गर्ने कोही पनि भएनन् । परिवारबाट जागिर छोड्न दबाब आउन थाले पछि माइतीमा छोराछोरीलाई राखेर सरकारी जागिरलाई निरन्तरता दिए ।’ ३२ वर्ष नेपाल सरकारको सेवा पश्चात जागिरबाट विदा लिनुभएकी खड्का २०५२ सालबाट समाज सेवामा पनि जोडिनु भयो ।
महिला हित संरक्षक समूहको संस्थापक अध्यक्ष भएर समाज सेवाको यात्रा तय गर्नुभएका खड्काले अहिले दर्जन बढी संघ संस्थामा आवद्ध भएर सेवामा समर्पित हुनुहुन्छ । ०५२ सालमा न्यानो मञ्चको ३ दिने तालिममा सहभागी भई समाज सेवामा झन् रुचि लागेको र त्यसपछि कुनै न कुनै रुपमा सामाजिक गतिविधिमा सक्रिय भएको उहाँको भनाई छ ।
खड्काको अगुवाईमा बागलुङ बजारको गुठीमा मदिरा निषेध क्षेत्र घोषाण गरिएको थियो । खड्का सामुदायिक सेवा केन्द्र बागलुङको अध्यक्ष, महिला हित सहकारी संस्थाको अध्यक्ष, कालिका भगवती गुठीको उपाध्यक्ष, ओसो अमृतम ध्यान केन्द्रको अध्यक्ष, खड्का समाज बागलुङको उपाध्यक्ष, बागलुङ जिल्ला बचत सहकारी संघको कोषाध्यक्षको रुपमा कार्यभार सम्हालि रहनु भएको छ ।
खड्काको नेतृत्वमा महिला हित बचत तथा ऋण सहकारी संस्था गतिशील अवस्थामा छ । यसको अहिले आफ्नै भवन निर्माणाधीन अवस्थामा छ भने सामुदायिक सेवा केन्द्र बागलुङको भवन शिलन्यासको तयारीमा छ । केन्द्रको सामुदायिक पार्क निमार्ण गर्ने योजना पनि छ । कोरोना कहरले गर्दा दैनिक ज्याला मजदुरी गरेर घर चलाउन, चुलो बाल्न कठिन भएको अवस्थामा होस् या अरु अप्ठ्यारामा । बिभिन्न संघ संस्था र निकाय सँग मिलेर राहत सहयोगमा खड्काको सक्रियता उदाहरणीय देखिन्छ । ‘सक्नेले दिने, नसक्नेले लैजाने’ अभियान खड्काकै नेतृत्वमा ६६ दिनसम्म निरन्तर चल्यो । घरेलु हिंसामा परेका महिला दिदिबहिनीको लागि सहयोग, बागलुङ बजार सरसफाई, महिलाहरुको प्रजनन स्वास्थ्य सम्वन्धी तालिम सञ्चालन, महिलालाई आत्मनिर्भर बनाउनका लागि उद्यमी तालिम, जनचेतनामूलक कार्यक्रम, वृद्धवृद्धाका लागि मनोरञ्जनात्मक र खुसी जीवन कार्यक्रम संचालन, कालिगण्डकीमा गिटी कुट्ने महिललाहरुका लागि ध्यान शिविर र सहयोग लगायतका कार्यक्रम पनि गरिएको उहाँ बताउनुहुन्छ । ‘आफू र आफ्नो नेतृत्वमा सहयोग गरेका मानिसहरुले अहिले पनि बाटोमा हिँड्दा बोलाउनुहुन्छ । उहाँहरुको ओठमा मलाई देखेर आउने हाँसोले मेरो मनमा शितलताको अनुभूति हुन्छ ।’
समाज सेवा गर्न एक्लै सम्भव नहुने खड्काको अनुभव छ । यसका लागि परिवार, साथीभाइ र समाजले सहयोग र साथ दिनुपर्ने उहाँ बताउनुहुन्छ । ‘अहिले सम्म मलाई सबै दिदीबहिनीहरुले साथ सहयोग दिएका कारण यतिका काम गर्न सक्यौ,आगामी दिनमा पनि यही किसिमको साथ सहयोग मिल्ने अपेक्षा छ’ उहाँले भन्नुभयो । आफ्नै अगुवाईमा विभिन्न सामाजिक संघ संस्थाहरु संचालनमा ल्याएर समाज प्रतिको दायित्व थोरै भए पनि निर्वाह गर्न पाउँदाको खुसी र आनन्द निकै फरक हुने खड्का बताउनु हुन्छ । ‘समाज सेवा गर्दा पनि धेरै संर्घष गर्नुपर्दछ, सरकार र सरोकारवाला निकायले गर्नुपर्ने काम हामी महिलाहरुले गरेका छौ, हाम्रा कामलाई प्रोत्साहन गर्ने, हौसला दिने अहिले सम्म कुनै सरकारी निकायबाट भएको छैन, तर पनि हामी निस्वार्थ भावनाले सेवामा अगाडी बढेका हौ, निरन्तर अगाडी बढ्नेछौ ।’
खड्का दैवी प्रकोप उद्धार पदकबाट २०६२ सालमा सम्मानित हुनुभएको थियो । सामुदायिक सेवा केन्द्रबाट ३ पटक र खड्का समाजबाट पनि सम्मानित हुनुभएका लिलादेवीले सम्मानका लागि नभई सन्तुष्टिका लागि काम गरेको बताउनु हुन्छ । महिला हितले जीवन जिउन सिकाएको र यसले नै सक्रिय बनाएको उहाँको भनाई छ ।
‘मानिसको जीवनमा जन्मदेखि संघर्ष र दुःख हुन्छ, सुख खुशी आफूले उत्पादन गर्ने चिज हो, आफूले आफूलाई चिन्नु पर्दछ, सहयोगको भावना सदैव मनमा राख्नु पर्दछ, सक्नेले सहयोग गर्ने र नसक्नेले सहयोग लिनुपर्दछ,’ लिलादेवीले भन्नुभयो, ‘मन यसै शान्त हुन्छ, महिला भएर केही गर्न हुँदैन भन्ने सोच राख्नु हुँदैन, केही न केही सानै भएता पनि काम गर्नुपर्दछ र आत्मनिर्भर हुनुपर्दछ, धेरै महत्वकांक्षी भएर दुःख निम्ताउने भएकाले सधै साधारण भएर बाँच्ने हो भने जीवन जिउन सहज हुन्छ ।’
लिलादेवीको आफ्नै केही आदर्श र मान्यता छ,–‘पद जान्छ तर म कही जाँदैन, निरन्तर सेवामा लाग्ने छु, आगामी दिनमा पनि सामाजिक काममा निरन्तरता दिने र महिलाको हक अधिकारको सवालमा सधै आवाज उठाउने छु ।’ सामाजिक काम गर्दा नेपालको धेरै ठाउँमा घुम्ने अध्ययन अवलोकन गर्ने अवसर समेत पाएको र त्यसबाट प्राप्त ज्ञान, सिकाई र उर्जा आफ्नै ठाउँमा अभ्यास र उपयोग गरेर समाजमा थोरै भए पनि योगदान गर्ने उहाँको योजना छ ।