उठ्दैछ रेशको ऐतिहासिक ओदानडाँडा


–खेमराज गौतम, बागलुङ
ऐतिहासिक महत्व बोकेर पनि ओझेलमा परेको काठेखोला गाउँपालिका–७ रेश स्थित ओदानडाँडा स्थानीयको सक्रियतामा कारण संरक्षण थालिएको छ ।

बाइसे चौबिसे राज्य अन्र्तगत भूरे राजाका पालामा आकाशबाट चट्याङ खस्ने क्रममा खसेको कृतिम ओदान संरक्षित गरेर राखिएको उक्त डाँडाको नाम पछि ओदान खसे हुँदै ओदानडाँडाको नामाकरण गरिएको थियो ।

ऐतिहासिक ओदानको संरक्षण गरेर राखिएको उक्त क्षेत्र लामो समयदेखि ओझेलमा परेपछि स्थानीयको सक्रियतामा ऐतिहासिक स्थल ओदानडाँडाको संरक्षण थालिएको छ ।

चट्याङ पर्दा खसेको ओदानको एक खुट्टा खसेपछि दुईखुट्टे ओदान संरक्षण गरेर ओदानडाँडा मन्दिरमा राखिएको छ । उक्त क्षेत्र भौगोलिक हिसावले भीरको छेउमा रहेकाले उक्त स्थान तारबार गर्ने, ओदानडाँडा क्षेत्र विस्तार गर्ने र उक्त स्थानमा पुग्ने पदमार्ग निर्माणकार्य भइरहेको स्थानीयको भनाई छ । यहाँका स्थानीयले ओदानडाँडा मन्दिर तथा संरक्षण नामक संस्था दर्ता गरेको स्थानीय विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो । अहिले ओदानडाँडाको संरक्षणका लागि गाउँपालिकाले गुरुयोजना बनाएर अगाढी बढेको छ ।

ओदानडाँडा पुर्खाहरुको तपोभूमि तथा ऐतिहासिक र धार्मिक तिर्थ स्थलका रुपमा रहेकाले यसको संरक्षण गर्न थालिएको स्थानीय प्रजापती गौतमले जानकारी दिनुभयो । बाइसे चौबिसे राज्यका पालामा राजाले यस स्थानमा कोट निर्माण गर्न थालेपछि गौतम थर गरेका विज्ञ पुजारीले उक्त स्थानमा बज्र अर्थात चट्याङ खस्ने र कोट तथा दरबार क्षती हुँने बताएपछि राजा रिसाएर पुजारीलाई कारवाही गरेको तर उक्त स्थानमा विज्ञले भने जस्तैगरी ओदान सहितको बज्र खस्दा एक खुट्टा भाँचिएको ओदान भेटिपछि त्यसलाई संरक्षण गरी राखिएका कारण उक्त स्थान ऐतिहासिक, पुरातात्विक तथा धार्मिक हिसावले निकै महत्वपूर्ण रहेको स्थानीय यज्ञराज गौतमले जानकारी दिनुभयो ।

“प्रचार प्रसारको अभावमा ओझलेमा परेको स्थान निकै जीर्ण र खण्डहर थियो, स्थानीयको चासोपछि केही संरक्षणको प्रयास थालिएको छ” गौतमले भन्नुभयो “उक्त क्षेत्रमा पदमार्ग, सडकको पहुँच, जग्गा तारबार र क्षेत्रफल बढाउने, पानीको फोहोरा र फूलबारी लगायतका संरचना संगै ओदान राखिएको मन्दिरको त्यही रुपमा स्तरोन्नती गर्ने योजना ओदानडाँडा मन्दिर तथा संरक्षण संस्थाको छ ।”

उक्त स्थानमा अहिले भिरोला जमिन तर्फ पर्खाल लगाउने, ट्रस्टको सत्तल बनिसकेको छ । मन्दिरको नाममा अहिले ११ आना जग्गा रहेपनि उक्त जग्गालाई निःशुल्क लिएर तीन रोपनी जग्गा बनाउने स्थानीय रमचन्द्र गौतमले जानकारी दिनुभयो । उक्त स्थानमा अहले गणेश, ओदान र शिवको मन्दिर रहेको छ । स्थानीयहरुले झण्डै चार लाख उठाएर तारजाली गरेका छन् भने काठेखोला गाउँपालिकाको तीन लाख योजनामा संरक्षणको काम शुरु भएको छ ।

उक्त स्थानबाट रेशको धनिखोरिया जोड्ने झोलुङ्गे पुल निर्माण गरी पर्यटकहरुको आउँजाउँलाई सहज तुल्याउने वडा कार्यालयको योजना रहेको काठेखोला गाउँपालिका–७ का वडा अध्यक्ष पे्रेम लामिछानेले बताउनुभयो । “रेशमा ऐतिहासिक महत्व बोकेको पहिलो ओदानडाँडा र दोस्रो गलैनाको सत्यवती मन्दिर हो दुबैलाई गाउँपालिकाको गुरु योजनामा समावेश गरी विकास गर्न थालेका छौं” लामिछानेले भन्नुभयो “मन्दिर आउनका लागि झोलुङ्गे पुलको योजना रहेको छ जस्मा गण्डकी प्रदेश सरकारले सर्वे गरी बजेट दिने भनेको छ, अहिले प्रभानमन्त्री स्वरोजगार कार्र्यक्रम अन्र्तगत डेढ सय मटिर ढुङ्गा छापेर पदमार्ग बनाउछौं ।”

ऐतिहासिक रुपमा अत्यन्तै महत्वपूर्ण र पुरातात्विक संरचना रहेको ओदानडाँडाको संरक्षण र विकासका लागि जिल्ला प्रशासन कार्यालयमा संस्थानै दर्ता गरिएको छ । उक्त स्थानको संरक्षण र विकासका लागि प्रदेश र संघ सरकार संग योजना समेत माग भइरहेको वडा कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *