फेरिएको भातखानेडाँडा

डम्मर बुढा मगर, बागलुङ
आधा दशक अगाडीसम्म बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर २ भातखानेडाँडा सुनसान थियो । घरहरु पनि १/२ वटा मात्रै थिए । मान्छेहरुको आवतजावत निकै कम थियो । भातखानेडाँडा जंगल जस्तै थियो । सडक संजालले जोडिएको थिएन । अन्य विकासका पूर्वाधारका हिसाबले पनि यो ठाउँ पछाडी नै परेको थियो । सामान्य प्रशासनिक कामका लागि स्थानीयहरु घण्टौँ लगाएर बागलुङ बजार पुग्न बाध्य थिए । दैनिक उपभोग्य सामानहरुको जोहो गर्न पनि गलकोट झर्नु पर्ने अवस्था थियो ।

तर, अहिले भातखानेडाँडाको मुहार पुरै फेरिएको छ । डाँडैभरी घरहरु बनेका छन् । गाउँपालिकाको प्रशासनिक केन्द्र पनि यहीनै छ । गाउँपालिकाको केन्द्रनै भातखानेडाँडामा बने पनि विकासका केही पूर्वाधारहरु निर्माण भईसकेका छन् । केही बन्ने चरणमा छन् । गाउँलेहरुको जनजीवनमा पनि परिवर्तन आएको छ । ठूला सहज बजारमा पुगेर मोटर गाडी देखेका बुढाबापाहरुले अहिले घरै अगाडी मोटर गुडेको देख्न पाएका छन् । सेवा लिइ रहेका छन् ।

गाउँमा यति ठूलो परिवर्तन आएपछि स्थानीयहरु दंग परेका छन् । कुनै समय सुनसान रहेको भातखानेडाँडामा अहिले निकै चहलपहल बढेको छ । यस ठाउँले बजारको स्वरुप लिन थालेको छ । सामान्य सामान किनमेलका लागि गलकोट, बागलुङ धाउने स्थानीयहरुले अहिले यहीबाटै त्यो सेवा लिइरहेका छन् । स्थानीय देवबहादुर खत्रीले गाउँपालिकाको केन्द्र यहाँ स्थापना हुनुभन्दा पहिले भातखानेडाँडामा खास्सै घरहरु नभएको र सुनसान रहेको बताउनुहुन्छ । खत्रीले आफूहरुले भातखानेडाँडाको मुहार फेरिएला भन्ने कल्पना समेत नगेको भन्दै आफरुहरुले सोचेभन्दा बढी परिवर्तन भएकको बताउनुभयो ।

‘अहिले हो यहाँ यस्तो विकास भएको, घरहरु बनेको, पहिले त यो ठाउँ निकै सुनसान थियो, यहाँ वरपर १/२ वटा घरहरु थिए, यो ठाउँ सबै खाली थियो, हाम्ले यस्तो विकास होला, परिवर्तन होला भन्ने सोचेकै थिएनौँ’ खत्रीले भन्नुभयो ‘गाउँपालिका आएपछि विकास भएको हो, यो नभएको भए सायद यत्तिको विकास अझै हुने थिएन होला, गाउँमा यति धेरै विकास हुँदा हामी पनि निकै खुसी भएका छौँ ।’

उहाँले भातखानेडाँडा पहिले जंगल रहेको भन्दै स्थानीय सरकार आएपछि घर भवनहरु बन्न थालेको र विकासले गति लिन थालेको बताउनुहुन्छ । उहाँले पहिले सडक संजालले समेत नजोडिएको भन्दै गाउँपालिकाको स्थापनापछि भातखानेडाँडाको हरेक ठाउँमा मोटरबाटो पुगेको बताउनुभयो । मोटरबाटोले यहाँका स्थानीयको जनजीवन समेत परिवर्तन गरि दिएको खत्रीको भनाई छ ।

‘पहिले भातखानेडाँडो भन्ने गर्थे, यहाँ सबै जंगलहरु थियो, जम्मा एउटा बुकुरो (घर) थियो, सुनसान थियो, यहाँ मान्छेहरुको बसाइँ थिएन, स्थानीय सरकार आएपछि सडक संचालले पनि जोडियो, मान्छेहरुले घरहरु बनाउन थाले, व्यवसाय सुरु गरे,’ उहाँले भन्नुभयो ‘अहिले त यो ठाउँको पुरै परिवर्तन भएको छ, त्यस्तो जंगल अहिले यस्तो बजार जस्तो बन्दै गएको छ ।’

खत्रीले पहिले यहाँबाट प्रशासनिक तथा अन्य कामका लागि बागलुङ पुग्न दिनै भरी लाग्ने गरेको स्मरण गर्दै अहिले ३÷४ घण्टामै पुग्न सकिने बताउनभयो । सडकहरु निकै अप्ठ्यारो र साँघुरो रहेको भन्दै अहिले स्तरोन्नति सहज रुपमा यात्रा गर्न सकिने खत्रीको भनाई छ ।

‘पहिले त हामीले धेरै दुःख भोग्यौँ, कार्यालयहरुको सामान्य कामको लागि पनि बागलुङ पुग्नु पथ्र्यो, बाटोघाटो अप्ठ्यारा थिए, बागलुङ पुग्नलाई दिनभरी लाग्थ्यो,’ खत्रीले विगतलाई सम्झिँदै भन्नुभयो ‘अहिले त सरकारी कामकाज पनि यहीँबाट हुन्छ, बागलुङ जानु परे पनि सडक राम्रो बनेको छ, ४ घण्टामै बागलुङ पुग्न सकिन्छ, विहान गएर काम सकारएर साँझ फर्किन पनि सकिन्छ ।’

अर्का स्थानीय तलिकुमारी रोकाले भातखानेडाँडामा मोटरबाटो जोडिएपछि आफूलाई सामान ढुवानी गर्न र यात्रा गर्न निकै सहज भएको बताउनुभयो । रोकाले यहाँ होटल पसल संचालन आए आएपछि दैनिक उपभोग्य सामान किन्नका लागि घण्टौ लगाएर गलकोटको हटिया, बागलुङ बजार जानु पर्ने समस्या हटेको बताउनुहुन्छ ।

‘यहाँ पहिले यस्तो मोटर गाडी आउँदैनथे, बाटोघाटो थिएन, होटल पसल पनि थिएन, अहिले त जताततै दोकानहरु बनेका छन्, दिनदिनै घरै अगाडी गाडीहरु आउँछन्,’ रोकाले भन्नुभयो ‘धेरै सजिलो भएको छ, चामल नुन बोकेर खान पर्दैन, टाढा हिँडेर जानु पर्देन, मोटरगाडीले धेरै सुविधा ल्यायो, गाउँहरु फेरिए, पहिले जंगल जस्तो यो डाँडो अहिले बजार जस्तो बन्यो ।’

उहाँले पहिले खानेपानीको निकै समस्या भोग्नु परेको स्मरण गर्दै अहिले घर–घरमा धारा बनेको बताउनुहुन्छ । गाउँमा कोही बिरामी परे डोकोमा बोकेर अस्पताल पु¥याउने पर्ने अवस्थाको अन्य भएको भन्दै रोकाले अहिले गाउँमा कोही बिरामी परे एकैछिनमा गाडीमा हालेर उपचार गर्न लैजान सकिने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *