डम्मर बुढा मगर, बागलुङ
कला, संस्कृति, सभ्यता र सम्पदा समाजका अमुल्य पहिचान र सम्पति हुन् । यसले सिंगो समाज र देशको पहिचान, अस्तित्व पृथक रुपमा स्थापित गरे पनि आधुनिकताले संकट तर्फ उन्मुख छ । मानव समुदायको शहरिया र विलासिता तर्फको बढ्दो आकर्षण, पाश्चात्य संस्कृतिको प्रभावले मौलिक संस्कृति, सभ्यता र सम्पदाहरु लोपोन्मुख अवस्थामा पुग्नु देशकै लागि दुर्भाग्यको कुरा हो ।
पछिल्लो समय परम्परादेखि चल्दै आएका चालचलन, रीतिरिवाज र कला संस्कृति भेट्याउन निकै कठिन हुने निश्चित प्रायः छ । पुर्खाहरुले प्रयोग गरेका सामग्री, उनीहरुले मान्ने संस्कृति, रीतिरिवाज, उनीहरु बस्ने घर गाउँ, शहर र पाश्चात्य संस्कृतिको देखासिकी र प्रभावले मौलिकता सहितको घर गाउँ नरहने जोखिम बढ्दो छ ।
आजको समयमा भएका सयांै वर्ष पुराना संरचना र सम्पदा पनि धमाधम भत्काएर नयाँ कंक्रिटको बनाउने लहड चलिरहेको छ । यो कुरामा धेरैले चिन्ता र चासो त व्यक्त गर्छन् यद्यपी, मौलिक सभ्यता र सम्पदाको संरक्षणमा आफै अग्रसर हुने दायित्वबोध र तदारुकता भने राख्दैनन् । तर, पर्वतको कुश्मामा एक युवाले पुर्खौँदेखिको वर्षौ पुरानो घर र मौलिकताको संरक्षणका लागि केही समय यता अभियान नै चलाएका छन् ।
फोटो पत्रकार र कालीगण्डकी दोहन विरुद्ध अभियान छेडिरहेका आरके अदिप्त गिरीले पर्वतको कुश्माको मौलिकता जगेर्नाका लागि कुश्मा कला परियोजना सञ्चालन गर्नुभएको छ । बागलुङ जैमिनीमा जन्मिएका गिरी पछिल्लो समय कुश्मामा बस्दै आउनुभएको छ । कुश्मा नगरपालिका वडा नम्बर ६ माझगाउँमा रहेको ३०० सय वर्ष पुरानो घर सहित मौलिकता बोकेको चौतारा, रुख विरुवाको संरक्षणमा काम गरिरहेको गिरी बताउनुहुन्छ ।
कुश्मा बजार कंक्रिटबाट निर्मित घर भवनहरुले भरिदैछ । त्यही बजारको मध्य भागमा रहेको तीन सय वर्ष पुरानो घर (शताब्दी घर)लाई संरक्षण गरेर यस्ता परम्परागत घर, कला कृतिको संरक्षण गर्न स्थानीयलाई जागृत गर्ने प्रयास गरिएको उहाँको भनाई छ । पुरानो शैलीमा कलात्मक ढंगले बुट्टा भरिएका झ्याल, ढोका । पुरानै शैलीमा लगाइएका घरका पर्खाल । यस घरले बजारमै भए पनि गाउँघरकै झल्को दिलाउने गिरीले बताउनुभयो ।
तीन सय वर्ष अगाडि निर्माण भएको घर अझै पनि उस्तै मजबुत देखिन्छ । यस घरमा प्रयोग भएका काठ, ढुङ्गा, माटो र अन्य सामग्री पनि बलिया छन् । जसका कारण घर अझै धेरै वर्ष टिक्ने देखिन्छ । विरासत बोकेको घर संरक्षणमा जुट्नु भएका गिरी सहितका युवाले घरको मर्मत सम्भार गरि संग्राहलयका रुपमा विकास गर्ने योजना छ ।
घरमा कुश्मा कला परियोजनाको कार्यालय स्थापना गरेर कला, संस्कृति र पुराना सामग्रीहरुको संरक्षण गरिने कुश्मा कला परियोजनाका अध्यक्ष समेत रहनु भएका गिरीले बताउनुभयो । ‘पछिल्लो समय कुश्मा प्राकृतिक र पर्यटनका हिसावले विकास हुँदै गएको छ, यसरी विकासका क्रममा पुराना ऐतिहासिकता, मौलिकता बोकेका धेरै कुरा नाश गर्दै जान थालियो, यसलाई रोकेर मौलिकताको जगेर्ना सहितको विकासका लागि हाम्रो अभियान हो’ गिरीले भन्नुभयो । भौतिक पूर्वाधारको विकास मात्रै विकास भन्ने सोचले गर्दा पुराना मौलिक कला, संस्कृति, सम्पदा लोप हुँदै गएको उहाँको गुनासो छ ।
‘भौतिक विकास मात्रै विकास भन्ने सोचले गर्दा हाम्रा पुराना मौलिक कला, संस्कृति, साहित्य कति लोप भइसके, कति लोप हुने चरणमा छन्, पछिल्लो पुस्तासम्म ठूलो विरासत बोकेका सम्पदाहरु संरक्षण गरि उनीहरुलाई बुझाउन जरुरी छ,’ अभियन्ता गिरीले भन्नुभयो ‘संरक्षण प्रति उनीहरुलाई जागरुक गराउनु पर्छ भन्ने उद्देश्य अनुसार काम गरिरहेका छौँ ।’
कुश्माको शताब्दी घर नाम दिइएको यस घरबाट पहिले भूमि सुधार लगायत विभिन्न सरकारी अड्डाहरु समेत संचालन गरिएको थियो । अहिले तीन तहका सरकारका उच्च पदस्थ व्यक्तित्वदेखि राजनीतिक तहका उच्च पदका नेता, आन्तरिक पर्यटकहरु समेत अवलोकनका लागि आइरहेका छन् ।
यो घरलाई सांस्कृतिक संग्राहलयका रुपमा विकास गर्ने गरि मर्मत सम्भारमा जुटेको उहाँको भनाई छ । तीन तले यस घरमा सिरान तलालाई संस्कृतिक संग्राहलयको रुपमा विकास गर्ने, अन्य केही ठाउँमा पुस्तकालय स्थापना गर्ने र लोप हुँदै गएका सामग्रीहरु संग्रहित गर्ने, विभिन्न जातजातिसँग सम्बन्धित भेषभूषाहरु समेत यहाँ संरक्षण गरिने गिरी बताउनुहुन्छ ।
‘यो पुरै घरलाई नै सांस्कृतिक संग्राहलयका रुपमा विकास गर्ने छौँ, घरमा सिरान तलालाई संस्कृतिक संग्राहलयको रुपमा विकास गर्ने तयारी छ, जहाँ लोप हुँदै गएका सामग्रीहरु संग्रहित हुनेछन्’ गिरीले भन्नुभयो ‘त्यो सँगै विभिन्न जातजातिसँग सम्बन्धित भेषभूषाहरु, उनीहरुको पहिचान बोकेका वस्तुहरु समेत यहाँ संरक्षण गरिनेछ ।’
उहाँले घरको बार्दलीलाई ग्यालरीको रुपमा विकास गर्ने भन्दै त्यहाँ पुराना अत्यन्तै महत्वपूर्ण वस्तुहरु संरक्षित गरिने बताउनुहुन्छ । गिरीले नयाँ पुस्ताले भौतिक पूर्वाधार, विलासिताका आधारमा ठूल्ठूला पूर्वाधारलाई घर मान्दा मौलिकतासँगै हाम्रो परिचय समेत गुमनाम बन्न थालेको बताउनुभयो ।
‘घरको बार्दलीहरुलाई ग्यालरीको रुपमा विकास गर्ने सोँच छ, जहाँ समाजले जुन कुराहरु बिर्सिँदै गएका छन्, ती हाम्रा परिचय थिए जो हामीले यहाँ संग्रहित गर्नेछौँ, कला संस्कृति भनेको हाम्रो सक्कली परिचय हुन्, तिनीहरुले हामी को हौँ भन्ने प्रस्टाइ दिन्छन्’ गिरी भन्नुहुन्छ–‘अहिले त भौतिक पूर्वाधार, विलासिताका आधारमा ठूल्ठूला पूर्वाधारलाई घर भन्ने गर्छौँ, यस्ता विरासत बोकेका संरचनालाई बिर्सियौँ, अहिलेका नयाँ पुस्तालाई पुराना कला, संस्कृतिको बारेमा बुझाउन हामी निरन्तर लाग्नेछौँ ।’